बसन्तको याम
रमाइलो एक साँझ
भाँडाकुटी खेल्दा खेल्दै
दिदीले धुरु-धुरु रुदै भनिन्,
भाइ, अब म जान्छु है!
‘कहाँ जाने’ भनेर सोधिन
तर, मेरो स्विक्रिती थिएन
बरु, दिदीसँगै जान तम्सिएँ
म बिचरा! अवोध बालक ।
उनी निकै हतारमा थिइन्
निकै पारीको डाँडा देखाउदै भनिन्
"उ त्यो 'कोटडाँडा' हो,
अनि चुचुरोको चाँही 'झण्डा' ।"
र, भन्दै गइन्,
“हो, म त्यही कोटडाँडा जान लागेको
त्यही पुरानो झण्डा फेर्नलाई ।"
मैले नियालेर हेरें
र, देखें पनि फर्फर गरिरहेको त्यो
'कोटडाँडाको पुरानो झण्डा' ।
म नराम्ररी तर्सिदै सोधिरहें,
उनी जवाफ दिइरहिन्
किन जाने ?
“झण्डा फेर्न ।“
कसरी जाने ?
“संघर्ष गर्दै ।“
कोसँग जाने ?
“सहयात्रीसँग ।“
अनि के हुन्छ ?
“मेरो प्यारो भाइ,
मान्छे-मान्छे बराबर बन्न
सबै थिचोमिचो हटाउन
हामी स्वतन्त्र र मुक्त हुन
यि सवै तिम्रै लागि गर्दैछु ।"
धेरै नबुझिने केहि सत्य थियो त्यो
गर्नेहरु जती जम्मै नाङा
बाङाहरु सवै चङ्गा
हामी त थिचिइएका-हेपिइएका
सधैं किल्चिइका मिचिइका ।
मैले पनि अड्डी कसें
धेरै जिद्धी गर्दै भनें,
म छोरा हुँ ।
मैले केही पढेको छु ।
म चतुर छु ।
तर, दिदीले भनिन्
म छोरी हुँ ।
म अनपद हुँ ।
म इमान्दार छु ।
तसर्थ,
म त झन जानैपर्छ ।
बलिन्ध्र आसुँ बहाउदै
प्राणलाई हत्केलामा राखेर
खैचडी र मादल झोलामा बोक्दै
अधेरीमै अप्थ्यारो बाटो लागिन्
र, जादा जादै भनी रहिन्,
उज्यालोमा पुतलीको पिछा गर्नेछु
अध्यारोमा जुनकिरीको साथ हिंड्नेछु
जँगलका नरभक्षीलाई जित्दै जानेछु
भाइ! आफ्नो ख्याल गर है
बुवाआमाको राम्रो सेवा गर है
आमालाई नरुन भन्देउ!
बाबालाई पिर नगर्न भन्देउ!
म त चाडै पुग्नुछ
कतै म लक्ष्यमा चुकेछु भने
कतै म पुगिनछु भने
मेरो पाइला पछ्याउदै
तिमी आँफै बाटो खोजेर, खनेर आउ
तिमी आँफै बुझेर, भोगेर आउ
तिमी धेरै पढेर, सिकेर आउ
त्यो कोटडाँडाको झण्डा फेर्नलाई
आउ, तर बचेँर आउ ।
हरेक बिहान, हरेक साँझ
हरेक क्षण दिदीको यादमा
एकोहोरो रुदै रुदै कटाएँ
दिदिको यात्रा सफलताको कामना गरिरहेँ
हरेक क्षण त्यो झण्डालाई चियाउदै
नयाँ झण्डाको प्रतिक्षा गरिरहें
र, एक मिर्मिरेमा
छाँया झै देखिने एक हुल मान्छेहरु
कोटडाँडाको शिखरतिर लम्किरहेको देखें
चुचुरोमा बिहानी उषासँग जम्काभेट गर्दै
कोटडाँडाको पुरानो झण्डालाई उखेलिदिए
क्षितिज भरी सुनौलो किरण फिजाइदिए
र, सफलताको नयाँ झण्डा फहराइदिए ।
अर्को बिहान,
एक बिरंगना युद्ध जितेर आइन्
एक योद्धा उद्देश्य चुमेर आइन्
काखमा क्रान्तिको एक चिनो बोकेर आइन्
बधाई! महान लालयोद्धा
समाज बदल्ने अठोट पुरा गरेकोमा
मान्छे मान्छे बिचको बिभेद हटाएकोमा
रुदिवादी किल्ला तोडेर नयाँ झण्डा गाडेकोमा ।
भाईको लागि त
एक चेली कोशेली लिएर माइत आइन्
तर, मेरी मायालु दिदीकी अनुहारमा
पहिले झै चन्चलता पाउन सकिनँ
उनको उर्बर समय लहलह पलाएको देखिनँ
उस्तै त्यो कल्कलाउदो उमेर पनि भेटिनँ ।
जीवनको प्रिय एक दशक उतै त्यागिन्
साथमा थियो त,
पाहुर भनेर एक सहयात्री हात
क्रान्तिको प्रतिक एक सन्तान
अनी फरक परिचय थियो
समाजकी दिदी, देशकी छोरी,
बर्तमानकी आमा ।
धेरै साथीसँगी उतै छुटेछन्
सन्ते काका, बले दाइ, रामु भान्जा,
गिरमान बाजे, गंगा मामा, दिलमाया भान्जी,..
कोही अल्मलिएछन् बिच बाटोमै
कमरेड बरुण, प्रभात दाइ,.. अरु अरुहरु ।
र आज,
थोरै पढेर, थोरै भोगेर
थोरै सिकेर, थोरै सुनेर
धेरै धेरै सहेर, अलिअलि परेर
दिदीको चिनोलाई साक्षी राख्दै
झण्डाको रक्षक बन्ने कसम खाँदैछु
यदी,
सालीकहरु मालिक बन्न खोजे भने
गिद्धहरु सिद्ध कहलिन थाले भने
आस्थाको झण्डा उखेल्ने दुस्प्रयास गरे भने
निगरानी राख्नुछ जाग्रम रहेर
किन कि,
कोटडाँडाको झण्डा फेर्नलाई
मेरो सुखद बाल्यकाल गुमाएकोछु
कोटडाँडाको झण्डा फहराउनलाई
हजारौको रगत पसिना यिनै आँखाले देखेको छु ।
म चाहन्छु,
मेरी दिदी अब कतै नजाउन
अरु भाइहरुले दिदिहरु नगुमाउन
त्यसैले,
कोटडाँडाको झण्डा बचाउनलाई
म सधैं जाक्तै बसेकोछु, बस्नेछु
अब कोटडाँडाको झण्डा रक्षा गर्नु
मेरो जिम्मा हो, मेरो अधिकार हो
मेरो दायित्व हो, मेरो कर्तब्य हो ।
०५ फेबुररी, २०१०
शान्दोङ, चाइना