Thursday, November 26, 2009

मेरो खबरदारी

एका बिहानै चिल घुम्न थाल्यो
चल्लाहरु डोकामा टोर कान्छा
साँझ साँझै बाघ घुर्न थाल्यो
बाख्राभेडा भित्र हुल कान्छा
दिउसै चोर लाग्न थाल्यो
'गर्लो' राम्ररी अड्काउ कान्छा
बाँदरले बाली नाश गर्न थाल्यो
बलियो बार लगाउ कान्छा
आफ्नैले जग्गा मिच्न थाले
खबरदारी गर कान्छा ।

झलझली सम्झिरहेछु
पुजनीय बुवा-आमा र
आदरनीय दाजुदिदिका
यि आदेश र आज्ञाहरु
तर म 'नोस्ताल्जिक' भएर होईन ।।

हिमालको यार्चा र पाँचऔंले
निर्बाध पल्लोपट्टि पुग्दा
पहाडमा दकमक्क फुलेको गुराँश
लज्जाबोधले ओइलिएर झर्यो
तराइमा लतरम्म फलेको मेवा
अपमानले कुहिएर सुक्यो
तर म नतमस्तक भएर
गमक्क परेर चुपचाप हेरिरहेँ
कहिल्यै सन्ताप गरिन
पिरले शोकमा डुबिन
कसैको मर्म सुनिन
बुझ्न पनि खोजिन
बुझ्दा पनि बुझिन ।।।

छर-छिमेकी राख्नु पर्छ
चाहिन्छन्, मर्दा पर्दामा
समाज यही भन्छ
ईतिहास सहि हुन्छ, साक्षी हुन्छ
दर्शन यही भन्छ
तर, आज
तर आज सुन्दैछु, बुझ्दैछु
ईतिहास नै बङ्याउने दुस्साहस गरिदैछ
साक्षी ईतिहासलाई नै
मुकदर्शक बनाइदैछ
सत्य ईतिहासमा नै
गलत भ्रम पारीइदैछ
ईतिहासको विश्वाश प्रती नै
चरम घाट गरिदैछ
तसर्थ,
ईतिहाससँग जोडिएको
मेरो प्यारो अस्तित्व बचाउन
सम्झिरहेछु ति आदेश र आज्ञाहरु
बदी नोस्ताल्जिक भएर हुँदै होइन
चेतना आएको छ अब त
मेरो देश, म अनि मात्र मेरो सम्पत्ति
ज्ञान भएको छ अब त
मेरो ईतिहास, मेरो माटो अनि मात्र मेरो पहिचान
किन कि,
मेरो देश रुदा
मेरै आसुँ झर्छ
नेपाली अस्तित्व र स्वाभिमान हराउदा
म स्वयम हराउँछु
मेरो माटो चोरीइदा
स्वयम म पनि चोरिन्छु

त्यसैले,
म नोस्ताल्जिक भएर
भावनामा एकोहोरो बहेर
मेरो बुवा-आमा र दाजु-दिदिहरुको
उपदेश र आशिषहरु
सम्झिरहेको हुँदै होईन
बरु, म त अब
आदेश र आज्ञा ठानेर
चुनौती झेल्न चाहन्छु
प्रतिकार गर्न चाहन्छु
खबरदारी गर्न चाहन्छु
तिनै बीश्वासघाटी छिमेकीसँग
तिनी जल्लाद, हेपाहा, पाखण्डी, अबसरवादी,
सामन्त, बिस्तारवादी पिलन्धरेसँग
नेपाली आत्मा चिन्न नसक्ने
काला दिलका ति काला मान्छेसँग ।।

No comments:

Post a Comment