Saturday, November 7, 2009

पुर्खे सुनारकी आमा


मेरा लखतरान पाइलाहरु  
टादाको गन्तब्य पछ्याइरहेछन्
चकमन्न अध्यारो रात
झरी बर्सिरहेको, पहिरो गैरहेको
खोला तर्दै, पहाड छिचोल्दै
अनकन्तार डाँडोमा पुगेछु ।

भोक, प्यास र थकानले आहत म
आफ्नै ठानेर सानो झुपडीमा पस्छु
एक छेउ छाप्रो भट्किसकेछ
अर्को छेउमा बसेकी छिन्
कतै देखे-भेटे जस्तो लाग्ने
बिक्षिप्त बुदी आईमाई ।

निधार खुम्च्याउदै घोरिएर
एकोहोरिएर हेरिरहिन मलाई
एकछिनलाई ओतिनु थियो  
तर,
बादीले छिचोल्दै थियो झुपडी
पहिरोमा पुरिदै थियो झुपडी
भत्किदै-पुरिदै गयो
झुपडी अब झुपडी नै रहेन
र पनि,
चुपचाप बसिरहेकिछिन बुदी आमै
बाहिर निस्कने मेरो आग्रहलाई टारेर  
भनिन् बरु,"म पुर्खे सुनारकी अभागी आमा"  
अनी पल्लो डाँडो देखाउदै ब्यंग गरिन्, शायद  
"बाबु! आज बाटो बिराएर आयौ कि!  
तिमी पुग्नु पर्ने त उ पारी पो होइन र !?"

झल्यास्स ब्युझिन्छु    
मन-मनै सोच्छु
धन्य! फगत सपना पो रहेछ ।

म सानै थिएँ
गाउँमा पहिलो सनसनी मच्चियो
को निर्दल, को बहुदल?
गाउँमा दोस्रो सनसनी मच्चियो
मोटो 'मशाल' कि पातलो 'मसाल' ?
गाउँमा तेस्रो सनसनी मच्चियो
कांग्रेस कि कम्युनिष्ट ?
फेरी अर्को सनसनी फैलियो
पुर्खे सुनारको हत्या भयो ।

भन्नेले त भन्छन्,
टिका मेलाको झडपमा सोझो मान्छे पर्‍यो रे!
कसै-कसैले भन्छन्,
लखेत्दै गर्दा भिरबाट आँफै हामफाल्यो रे!
कसैले भन्छन्,
हातखुट्टा बाधेर छाँगोबाट खसाएको रे!  
कोही-कोहिले भन्छन्,
आफ्नै देश बिरुद्ध बोल्ने देशद्रोही मर्यो रे!
कतै सुनिन्छ पनि,
जनताको मुक्ति चाहने योद्धाको सहादत भयो रे!  
भन्नलाई जसले जे भने पनि
अन्तत: पुर्खे सुनार मरेकै रहेछ ।

सम्झना छ,  
एक्लो छोरा पुर्खेकी, एक्ली आमा
छोरा गुमाएको पिडामा छट्पटिदै
गाउँभरी बिलौना गर्दै तड्पिरहेकी
छोरा छिन्नेलाई आफ्नो पनि प्राण लिन
निसंकोच चुनौती दिदै हिंडेकी  
अनौठो लाग्ने एक दुब्लीपातली
बेदनामा मर्माहत अधबैसे आईमाई
मैले चिनेकी बिर्सू कमेनी
अर्थात् पुर्खे सुनारकी आमा ।

खै कताबाट सुनिछिन्,
न्याय त सदरमुकाममा पाईन्छ रे
रगतले लट्पटिएको छोराको कपडाहरु
धागोको झोलामा बोकेर पुगिछिन् लिबाङ बजार
भावबिह्वल आमाले किटेर नै भनिन् रे  
" फलानो-फलानो हुन्,  
मेरो प्यारो छोरा पुर्खेको हत्यारा ।"
लगातार भट्याइरहिछिन्,  
सम्मानीय न्यायधिषलाई हत्याराहरु  
तर सुनुवाई भएन बर्षौ बित्दा पनि
बिचरीलाई के थाहा थियो र !?  
सुकिला र गाठिलाका न्यायलय हो त्यो त
भोगिरहिन पुत्रशोकको असह्य कसुर
कठै नि! बल्ल चाल पाइछिन    
बिचरा! न्याय त आँफै पनि  
राजधानी र सदरमुकामको कठगरामा बन्दी रहेछ ।

कुन गल्तिको सजायमा मारियो पुर्खे ?
कसको मुक्तिको लागि मरेको हो पुर्खे ?
कस्ले मारेछ, किन मरेछ त पुर्खे ?
बैसमै मर्न मात्र जन्मेको हो र पुर्खे ?
मुटुको टुक्रो प्यारो छोरा पुर्खे !

भेटिएनन दुखिनीको मर्म सुन्ने कोही    
बर्बराउन मात्र सक्छिन् अब त उनी
आँफैलाई सोध्छिन् अनेक प्रश्नहरु
उजुरी गर्छिन्, बहस गर्छिन्,
फैसला गर्छिन्, न्याय पाउछिन्,
फिर्ता ल्याउछिन् निर्दोष पुर्खेलाई
बेस्कन अङालो मार्छिन अर्धचेतमा  
कसैले नसुने पनि
बोलिरहन्छिन छोरासँग
कसैले नदेखे पनि
खोजिरहन्छिन एकनाशले
कसैले नभने पनि
सोधिरहन्छिन एकतमासले
अर्ध होशमै बिर्सू कमेनी  
अर्थात् पुर्खे सुनारकी आमा ।

के पुर्खे देशद्रोही नै थ्यो ?
के पुर्खे देसभक्त नै थ्यो ?
पुर्खे के चाहन्थ्यो, निर्दल कि बहुदल ?
पुर्खे को थियो, कांग्रेस कि कम्युनिष्ट ?
पुर्खेले मृत्‍युलाई जित्यो वा मृत्‍युसँग हार्यो ?  
आखिर पुर्खे नै किन मारिएछ त ?
कारण जान्न र सुन्न चाहन्छिन्
शायद यही सोध्नुछ पुर्खेलाई भेटेर
र पोख्नुछ मनभरिको बेदना
यसरी नै बाँचिरहेछिन आशै-आशमा
बिचरी!
उनै, बिर्सू कमेनी अर्थात् पुर्खे सुनारकी आमा
सहिद पुर्खे सुनारकी आमा ।
18th Oct, 2009
शान्दोङ, चाइना

2 comments: