Monday, November 30, 2009

ए ! देशद्रोहीहरु

ए ! देश लुट्नेहरु
ए ! देश भुट्नेहरु
ए ! देश चुस्नेहरु

मेरो पौरखले देश बाँच्नेछ
तिम्रो अहमले देश पिर्नेछ
मेरो आयुमा देश जित्नेछ
तिम्रो आयुमा देश हार्नेछ ।

म स्वदेश सिँगार्ने सपना बुन्छु
तिमी बिदेशको कल्पना गर्छौ
म देशलाई शीर चदाउने भन्छु
तिमी देशकै शीर काट्ने भन्छौ ।

म आफुलाई देशको सम्पत्ति ठान्छु
तिमी आँफैलाई देशको मालिक ठान्छौ
म आफुलाई देशको सन्तान मान्छु
तिमी आँफैलाई देशको पिता मान्छौ ।

म सगरमाथा अली झुकेको देख्छु
तिमी आफ्नो छाती बदेको देख्छौ
म बुद्धम शरणम गच्छामी भन्छु
तिमी प्रभु शरणम गच्छामी भन्छौ ।

म देशलाई ज्यानको भेटी दिन्छु
तिमी सर्वस्व आफुलाई सोच्छौ
म देश हाम्रो हो भन्छु
तिमी देश मेरो पो भन्छौ ।

तिमी ईतिहासलाई कुल्चन्छौ
म ईतिहासलाई साक्षी राख्छु
तिमी आज मात्र जिउने भन्छौ
म भोलिको लागि जिउने भन्छु ।

म मेरो प्राणमा देश बाचोस् भन्छु
तिमी देशको प्राणमा बाँच्छु भन्छौ
म बलिदान देशलाई चदाउने भन्छु
तिमी देशको बलि आँफैलाई माग्छौ ।

म कानुन पालना गरौ भन्छु
तिमी कानुन तोड्दै हिद्छौ
म समृद्धशाली देश बनाउने सोच्छु
तिमी आफैलाई सम्पन्न पार्छौ ।

म सबैलाई चेतना भर्न खोज्छु
तिमी मेरो कमजोरी ठान्छौ
मेरो धैर्यताको बाध फुट्नेछ भन्छु
तिमी दिवास्वप्न मात्र मान्छौ ।

ए ! मातो बेच्नेहरु
ए ! नदी बेच्नेहरु
खबरदार ! राष्ट्रघातीहरु
म जिउदै छु ,
तिम्रो पाइला पाइला पछ्याइरहेको छु
अब एक एक मुल्य चुकाउनु पर्नेछ ।

ए ! आफ्नै मातृभूमीलाई निसंकोच थुक्नेहरु
ए ! आमालाई निर्लज्ज बलात्कार गर्नेहरु
ए ! सिमा मिच्न मौन अनुमती दिनेहरु
तिम्रो जीवन र मेरो जीवनमा
आगो पानी झै फरक छ
तिम्रो मरण र मेरो मरणमा पनि
धर्ती पातल झै फरक हुनेछ ।
तिम्रो मृत्‍युमा देशभरी
अत्तहासपूर्ण हाँसो गुन्जिनेछ
एउटा मृत्‍यु उत्सव मनाइनेछ
दु:खद ईतिहास सकिनेछ ।
मेरो अन्त्यमा देशभरी
भावपूर्ण सलामी चदाइनेछ
सुखद ईतिहास लेखिनेछ ।

ए ! देश लुट्नेहरु
ए ! देश भुट्नेहरु
ए ! देश चुस्नेहरु
तिम्रो अहमले देश पिर्नेछ
तिम्रो आयुमा देश हार्नेछ
मेरो पौरखले देश बाँच्नेछ
मेरो आयुमा देश जित्नेछ ।
28 Nov, 09

Thursday, November 26, 2009

मेरो खबरदारी

एका बिहानै चिल घुम्न थाल्यो
चल्लाहरु डोकामा टोर कान्छा
साँझ साँझै बाघ घुर्न थाल्यो
बाख्राभेडा भित्र हुल कान्छा
दिउसै चोर लाग्न थाल्यो
'गर्लो' राम्ररी अड्काउ कान्छा
बाँदरले बाली नाश गर्न थाल्यो
बलियो बार लगाउ कान्छा
आफ्नैले जग्गा मिच्न थाले
खबरदारी गर कान्छा ।

झलझली सम्झिरहेछु
पुजनीय बुवा-आमा र
आदरनीय दाजुदिदिका
यि आदेश र आज्ञाहरु
तर म 'नोस्ताल्जिक' भएर होईन ।।

हिमालको यार्चा र पाँचऔंले
निर्बाध पल्लोपट्टि पुग्दा
पहाडमा दकमक्क फुलेको गुराँश
लज्जाबोधले ओइलिएर झर्यो
तराइमा लतरम्म फलेको मेवा
अपमानले कुहिएर सुक्यो
तर म नतमस्तक भएर
गमक्क परेर चुपचाप हेरिरहेँ
कहिल्यै सन्ताप गरिन
पिरले शोकमा डुबिन
कसैको मर्म सुनिन
बुझ्न पनि खोजिन
बुझ्दा पनि बुझिन ।।।

छर-छिमेकी राख्नु पर्छ
चाहिन्छन्, मर्दा पर्दामा
समाज यही भन्छ
ईतिहास सहि हुन्छ, साक्षी हुन्छ
दर्शन यही भन्छ
तर, आज
तर आज सुन्दैछु, बुझ्दैछु
ईतिहास नै बङ्याउने दुस्साहस गरिदैछ
साक्षी ईतिहासलाई नै
मुकदर्शक बनाइदैछ
सत्य ईतिहासमा नै
गलत भ्रम पारीइदैछ
ईतिहासको विश्वाश प्रती नै
चरम घाट गरिदैछ
तसर्थ,
ईतिहाससँग जोडिएको
मेरो प्यारो अस्तित्व बचाउन
सम्झिरहेछु ति आदेश र आज्ञाहरु
बदी नोस्ताल्जिक भएर हुँदै होइन
चेतना आएको छ अब त
मेरो देश, म अनि मात्र मेरो सम्पत्ति
ज्ञान भएको छ अब त
मेरो ईतिहास, मेरो माटो अनि मात्र मेरो पहिचान
किन कि,
मेरो देश रुदा
मेरै आसुँ झर्छ
नेपाली अस्तित्व र स्वाभिमान हराउदा
म स्वयम हराउँछु
मेरो माटो चोरीइदा
स्वयम म पनि चोरिन्छु

त्यसैले,
म नोस्ताल्जिक भएर
भावनामा एकोहोरो बहेर
मेरो बुवा-आमा र दाजु-दिदिहरुको
उपदेश र आशिषहरु
सम्झिरहेको हुँदै होईन
बरु, म त अब
आदेश र आज्ञा ठानेर
चुनौती झेल्न चाहन्छु
प्रतिकार गर्न चाहन्छु
खबरदारी गर्न चाहन्छु
तिनै बीश्वासघाटी छिमेकीसँग
तिनी जल्लाद, हेपाहा, पाखण्डी, अबसरवादी,
सामन्त, बिस्तारवादी पिलन्धरेसँग
नेपाली आत्मा चिन्न नसक्ने
काला दिलका ति काला मान्छेसँग ।।

Thursday, November 19, 2009

खबरदारी गर्न उठौं

शोषनबाट मुक्ति पाउन, मुठ्ठी कसेर उठौं ।
बलिदानको रक्षा गर्न, खबरदारी गर्न उठौं ।

एक नाङ्लो अन्न पाउन, लुगा सिउने कटुवाल बाजे
‘खल’ उठाउन जीवन भरी, फलाम ठोक्ने सुनार बुवा
लोकतन्त्र आईसक्यो, स्वतन्त्र जीवन बाँचौ ।
संबिधानसभा भईसक्यो, न्याय खोज्न हिंडौ ।

जन्मजात मान्छे हुन, ठगिएका दलितहरु
देशको कुना काप्चा, चेपिएका अपहेलितहरु
गरीब भोका नाँगा सारा, अधिकार लिन जुटौ ।
शोषित-पीडित जनता सबै, एकजुट भई उठौं ।

शाहुको तमसुक च्यात्न, कमैया बस्नेहरु
पुष्टौ पुष्टा अशिक्षित, बेरोजगार मान्छेहरु
जाली ऋनमा प्राण फाल्ने, मजदुरहरु जागौं ।
श्रम गरी आधा खाने, किसानहरु बिउझौं ।

जमिन्दार मुखियाको, अत्याचारसँग जुध्नुपर्छ
नेताको मिठो भाषन, स्वार्थी बिचार बुझ्नुपर्छ
परिवर्तनलाई बचाउन, सचेत पाईला चालौं ।
संबिधानमा समान हुन, नागरिक आवाज बोलौं ।

शोषनबाट मुक्ति पाउन, मुठ्ठी कसेर उठौं ।
बलिदानको रक्षा गर्न, खबरदारी गर्न उठौं ।
05 Nov,’09

Friday, November 13, 2009

शब्द धुन

संगीतको धुन
सुरिलो भजन
कलाको दुरुपयोग ।

क्रान्तिकारी नारा
अस्पष्त भिजन
अराजक प्रब्रिती ।

मिठो कबिता
चाप्लुसी गुणगान
शब्दको अनादर ।

न्यायको फैसला
कुतर्क बहस
कानूनी नौटन्की ।

नेताको जय
जनता पराजित
चेतनाको नापतौलो ।

भँगेरा बोली
कछुवा गती
बिकासको रुप ।

जल धनी
प्यासले मृत्‍यु
काकाकुलको हर्ष ।

प्राणको मुल्य
पैसाले राहत
गोहिको आसुँ ।

पशुको जन्तु
हिन्स्रक बानी
राक्षस मान्छे ।

अपुग बजेट
सम्पन्न अगुवा
भ्रश्त राजनेता ।

भिखारीलाई दया
गर्भवती भत्ता
ब्यापारी सांसद् ।

जनताको मुक्ति
मुसालाई दुलो
स्यालको दाउ ।

एक्लो मानवसागर
एकताको सन्देश
भ्रमको खेती ।

हातमा छुरी
रगतको होली
विश्वासिलो शान्ती दुत ।

रसिलो फूल
माहुरीलाई अमन
नेपालीको खुशी ।

मृत्‍युको खबर
अभावको जीवन
कर्णप्रिय गीत ।
09 Nov,09

हिप्पोक्रेट्सको नाउँमा

खोपीका देउता पुज्न भन्दै  
जबर्जस्ती साईत जुराएर पनि   
दक्षिणा र भेटीको थैली पोखाउदै     
भाग्य छोप्छन, मेरा मान्छेहरु ।

म भने आँफैले आफ्नो उद्देश्य रोज्दै   
भबिश्यको एउटा शपथ खाँदैछु ।

हिप्पोक्रेट्स!
सिङो जीवन अर्पण गर्दैछु   
म तिम्रै बाटो पछ्याउदैछु 
मेरो यो अठोट भो!

तर आजभोलि
देखिरहेको छु अचम्म लाग्दा द्रिश्यहरु
सुनिरहेको छु अपत्यारिला कोलाहलहरु
हिप्पोक्रेट्स!
अब लिउन् कि नलिउन् अरुले पनि 
मैले झै शपथ तिम्रो नाउँमा!?

दीन दुखीको सेवक बन्ने संस्कार तोड्दै
इर्श्या र जलनको 'इगो' जन्माएर
आफ्नै ज्ञान र सिपको अहमताले थिचिन्छन 
उदारताको कन्जुस्याइमा रुमलिरहन्छन
हिप्पोक्रेट्स!
के गरुन्, के नगरुन्
खाउन् कि नखाउन् अरुले नि
तिम्रो नाउँमा एउटा झुटो शपथ।?

पेशाको धर्म र मर्मलाई चिता बनाइ  
अनैतीकताको दागबत्तीले जलाइरहेछन  
क्षणिक न्यानोपनले लट्ठिएर
मिठो निन्द्रा निदाउने स्वार्थमा
तछाड र मछाड गरिरहेछन
इमान र विश्वाश बिर्सेंर    
गोजी छामेर रोगको निदान हुँदैछ  
हिप्पोक्रेट्स!
मानव सेवामा ब्यापार गर्नकै लागि 
लिउन् कि नलिउन् अरुले पनि 
तिम्रो नाउँमा एउटा झुटा शपथ!?

सुगम आफ्नो, दुर्गम पराई
धनीको थप आयु, गरीबको मराई
सिमा वारी, सिमा पारी
यि सब छुट्याइन्छ भने
भगवानसँग उदास रोगीहरु 
स्टेथेस्कोपको इन्फेक्सनले
मानव शरणमा झनै पिडा बिसाउदैछ
हिप्पोक्रेट्स!
तिमी स्वयम कठघरामा छौ
मैले नि खाएकै हुनेछु
तिम्रो नाउँमा एउटा खोक्रो शपथ ।

मेरो द्रिड संकल्पलाई
कसैले भुल सोच्दा हुन  
मेरो जिन्दगीको सपनालाई 
कसैले नौटंकी भन्दा हुन
तर यो मेरो रोजाइ हो ।  

जे देखिरहेकोछु ति सबै
भ्रम नै भ्रमको गल्ती हो
पवित्र सेवा नै एक सत्य हो
हिप्पोक्रट्स! तिम्रो नाउँमा
यो मेरो द्रिड अठोट हो
यो मेरो चोखो कसम हो
यो मेरो समर्पणको शपथ हो
यो मैले लिनै पर्ने जीवन-शपथ हो ।
27 Oct 09

शान्डोङ, चाइना 

Saturday, November 7, 2009

बुद्धको देशमा अब

बुद्धको देशमा अब, युद्ध हुनुहुन्न ।
चार जात छत्तिस बर्ण, कोही रुनुहुन्न ।

बुवा आमा मारिएर, टुहुरा छन छोराछोरी
रुदै रुदै बाँचिरा'छन्, सहाराहिन बुदाबुदी
बिधुवाको आसुँ अब, झर्न दिनु हुन्न
एउटै घरमा रुने-हाँस्ने, हामी गर्नु हुन्न ।

बन्दुकको आवाज रोकौं, बारुदको गन्ध
त्यागौ हामी हत्याहिंसा, छाडौं नेपाल बन्द
युवाहरुको रगत अब, बग्न दिनु हुन्न
बलिरहेको दियो अब, निभ्न दिनु हुन्न ।।

हिमाल पहाड तराई हाम्रो, साझा अस्तित्व हो
संसारको शिर हाम्रो, पौरख र स्वाभिमानको
प्रगतिको बाटो अब, आँफै रोक्नु हुन्न
सृजनाको माटो अब, खेर फाल्नु हुन्न ।।।

बुद्धको देशमा अब, युद्ध हुनुहुन्न ।
चार जात छत्तिस बर्ण, कोही रुनुहुन्न ।
21 Oct,’09

पुर्खे सुनारकी आमा

गलेर लखतरान पाइलाहरु सार्दै 
चकमन्न अध्यारो रातमा जबर्जस्त 
झरी, पहिरो र चट्याङको वेपरवाह 
खोला तर्दै, पहाड छिचोल्दै 
क्षितिज पछ्याएर गन्तब्य हिडेको म यात्रु 
अकस्मात अनकन्तार डाँडोमा पुगेछु ।

भोक, प्यास र थकानले आहत म
आफ्नै ठानेर सानो झुपडीमा पस्छु
एक छेउ छाप्रो भट्किसकेछ
अर्को छेउमा टुक्रुक्क बसेकी छिन्
कतै देखेदेखे भेटेभेटे जस्तो लाग्ने
निस्सहाय एउटी बुदी आईमाई ।

निधारका छाला झन् खुम्च्याउदै 
घोरिएर एकोहोरो हेरिरहिन् 
म चुपचाप उनकै शरणमा छु 
भत्किदै-पुरिदै झुपडी 
बादी र पहिरोमा विलीन हुदैथ्यो 
तर निर्धक्क बसिरहेछिन् बुदी आमै
बाहिर निस्कने मेरो आग्रहलाई टारेर भनिन् 
`म पुर्खे सुनारकी अभागी आमा´
अनि पल्लो डाँडो देखाउदै ब्यंग गरिन् 
"बाबु! बाटो बिराएर आयौ कि!  
तिमी पुग्नु पर्ने त उ पारी पो होइन र !?"

म झल्यास्स ब्युझिन्छु   
धन्य! फगत सपना पो रहेछ ।

म सानै थिएँ
गाउँमा एउटा सनसनी मच्चियो
निर्दल कि बहुदल?
गाउँमा अर्को सनसनी मच्चियो
मोटो 'मशाल' कि पातलो 'मसाल'?
गाउँमा फेरि सनसनी मच्चियो
कांग्रेस कि कम्युनिष्ट?
अर्को झनै त्रासद महासनसनी फैलियो
पुर्खे सुनारको हत्या भयो ।

भन्नेले त भन्छन् 
टिका मेलाको झडपमा सोझो मान्छे पर्‍यो रे!
कसै-कसैले भन्छन्
लखेत्दै गर्दा भिरबाट आँफै हामफाल्यो रे!
कसैले भन्छन्
हातखुट्टा बाधेर छाँगोबाट खसाएको रे!  
कोही-कोहिले भन्छन् 
आफ्नै देश बिरुद्ध बोल्ने देशद्रोही मर्यो रे!
गाइगुई सुनियो 
जनताको मुक्ति चाहने योद्धाको सहादत भयो रे!  
भन्नेले जेसुकै भने पनि
अन्तत: पुर्खे सुनारको मृत्युु भएकै रहेछ । 

अझै सम्झिन्छु 
एक्लो छोरा पुर्खेकी एक्ली आमा
छोरा गुमाएको पिडामा छट्पटिदै
गाउँभरी बिलौना गर्दै तड्पिरहेकी
छोरा छिन्नेलाई आफ्नै प्राण लिन चुनौती दिदै हिडेकी 
अनौठो लाग्ने एक अग्लि दुब्ली पातली
बेदनामा मर्माहत अधबैसे आईमाई
मैले चिनेकी बिर्सू कमेनी 
अर्थात् पुर्खे सुनारकी आमा ।

कसैबाट सुनिछिन् शायद 
न्याय त सदरमुकाममा पाईन्छ रे भन्दै 
रगतले लट्पटिएको छोराको कपडाहरु हालेर 
धागो झोलामा बोकेर लिबाङ बजार पुगिछिन्
भावबिह्वल आमाले किटेरै भनिन् रे  
छोरा पुर्खेको हत्याराहरुको सर्जिमन दिइन् रे 
सम्माननीय न्यायाधीश मुसुमुसु हाँस्नुभएछ 
बर्षौ बित्यो तर सुनुवाई भएन 
बिचरी! बिक्षिप्त आमा 
सुकिलामुकिलाको न्यायालयमा 
पुत्रशोकको असह्य कसुर भोगिरहिन् 
कठै नि! न्याय त आँफै 
राजधानी र सदरमुकामको कठघरामा बन्दी रहेछ ।

कुन गल्तिको सजायमा मारियो पुर्खे?
कसको मुक्तिको लागि मरेको हो पुर्खे?
कस्ले मारेछ? किन मरेछ?
जन्मेर अकाल बैसमै मरेको 
आमाकी प्यारो छोरा पुर्खे ! 

दुखिनीले मर्म सुन्ने कोही भेटिनन् 
अनि बर्बराउदै गाउँ ओहोरदोहोर गर्दै 
आफ्नै भाग्यलाई सोध्थिन् प्रश्नैप्रश्नहरु 
उजुरी गर्थिन्, बहस गर्थिन् 
फैसला गर्थिन्, न्याय पाउथिन् 
जीवित पार्थिन् निर्दोष पुर्खेलाई
बेस्कन अङालो मार्थिन् अनि मुस्काउथिन् 
कसैले नसुने पनि
बोलिरहन्थिन् 
कसैले नदेखे पनि
हेरिरहन्थिन् 
मनभरिका कुराहरू सोधिरहन्थिन्  
अर्ध होशमै बिचरी! बिर्सू कमेनी  
अर्थात् पुर्खे सुनारकी आमा ।

के पुर्खे मारिनैपर्ने देशद्रोही नै थियो?
के पुर्खे देशभक्तहरुको अगुवा नै थियो?
पुर्खे निर्दलको थियो कि बहुदल?
पुर्खे कांग्रेस पक्ष कि कम्युनिष्ट?
पुर्खेले मृत्‍युलाई जित्यो वा हार्यो?  
आखिर पुर्खेलाई किन मारियो? 
जान्न र सुन्न चाहन्छिन् आमा 
शायद यही सोध्न मन छ छोरालाई भेटेर 
र पोख्नुछ मनभरिको बेदना
यसरी नै बाँचिरहेछिन् आशैआशमा 
बिरानो भइ सबैको माझमा 
बिचरी!
उनै, बिर्सू कमेनी अर्थात् पुर्खे सुनारकी आमा
सहिद पुर्खे सुनारकी आमा । 

०१ कार्तिक २०६६ 
18th Oct, 2009
शान्दोङ, चाइना 

Tuesday, November 3, 2009

बधाई, बाध्यता र बक्सिस

प्यारी भान्जी!
बधाई छ तिमीलाई
सफल भएर पनि उत्कृष्ट भएछ्यौ
यतिबेला त हामी
संगै बसेर खुशीयाली मनाइरहनु पर्ने हो
इष्टमित्रको लागि
भोजभतेर आयोजना गर्नु पर्ने हो ।

दु:खको कुरा
तिम्रो लागि मैले केही गर्न सकिनँ
तिम्रो सहपाठिले
देश बिदेश सयर गर्न गए होलान्
महँगा बस्तु उपहार पाए होलान्
तर मैले,
तिम्रो हातमा केही ठम्याउन सकिनँ ।

अझै त्यो भन्दा दु:खको कुरा त,
तिम्रो अस्वस्थ्यताको वाबजुद
हामीलाई स्वस्थ परिणाम दिएकाछौ
म धेरै टादा छु
निकै खुशी छु,
र पनि,
तिम्रो अथक परिश्रमको
तिम्रै सामु तारिफ गर्न पाइनँ
तिम्रो सफलतामा एक धाप मार्न पाइनँ ।।

झनै दु:खको कुरा त,
तिम्रै लागि भनेर
एउटा बाटो पनि सम्याउन सकिनँ
सहि र गलत दिशा चिनाउन पनि सकिनँ ।।।

क्षमा गर भान्जी!
म आँफ्नै बाटो खोज्दै गर्दा
आफ्नै भबिश्य सोच्दै गर्दा
तिमीलाई बेलैमा हिंड्न सिकाउन भ्याएन
आँफै अल्मलिउला र बिराउला भन्ने डरले
म मेरै मात्र गन्तब्य पछ्याउदै थिएँ ।

भन्न नहुने तर भन्नै पर्ने भान्जी
हामी त हाम्रो माटो चिन्नलाई 
आफ्नै बाटो खोज्न र लक्ष्य भेट्नलाई
एक तमासले हिंडेर नहुदोरैछ
लगातार कुदिरहनु पर्दो रहेछ
नथाकेर, नआत्तेर, नहारेर,
कठोर यात्रामा होमिरहनु पर्दो रहेछ
न जंगली बाघ-भालुसम्म
हाम्रो पहुच छ
न झाडीका सर्प-बिच्छी जस्तै
हाम्रो बिष नै छ
न त काँडे झारहरुको कपटी ईशाराहरु
बुझ्न सक्ने ज्ञान छ
न त अधेरीमा साथ दिनलाई
छेउमा भरपर्दो कोही नै हुन्छ
तसर्थ भान्जी,
तिनै अप्ठ्यारासँग लड्दै-भिड्दै गर्दा
तिम्रो यात्रा सहज बनाउन चुकेछु ।

मेरी भान्जी!
तिमीलाई मेरो लाख-लाख आशिर्वाद छ
बलियो आत्मविश्वाश लिएर आउ
आई पर्ने ति बाधाहरु सँग
छलिदै, जुद्धै, होसियार हुँदै
ति यावत ब्यबधानहरु बिरुद्ध
सामना गर्दै, जित्दै, बद्ढै
हिमाल, पहाड चड्ने आँट र
तराइका फाँट छिचोल्ने यात्रा थाल
यात्रा सकुशल पुरा गर्न
सके जतिको मेरो साथ रहनेछ तिमीलाई
हामीले भाबी पुस्टाको लागि
सुन्दर र दुरदर्शी लक्ष्य तय गर्दिनुछ
कठिन तर जोखिमरहित मार्ग देखाइदिनुछ
अनि मात्र
आफ्नो बाटो खोज्दै,रोज्दै
अल्मलिदै र भौतारिदै हिंड्नु पर्ने छैन
आफ्नो भबिश्यको लागि कोही पनि
आँफै अन्जान हुनु पर्ने छैन ।

आज म तिमीलाई
एउटा अध्यायको समाप्ती संगै
अर्को नयाँ शुरुवातको उपलक्ष्यमा
अन्तरात्मादेखी बधाई दिन चाहन्छु
मुटुभरिको आशिर्वाद दिन चाहन्छु
तिम्रो लगन र परिश्रमको
मुक्तकन्ठले कदर गर्न चाहन्छु
अझै नयाँ उचाइका लक्ष्य प्राप्तिको
मनभरिको आशिष दिन चाहन्छु
सधैं सफलताको शिखर चुमिरहने
शब्द उपहार दिन चाहन्छु
मदर टेरेसा झै बन्ने तिम्रो आकांक्षा
अझै फुलेको हेर्न चाहन्छु
तिम्रो भबिश्यको
सधैं-सधैं उज्ज्वल कामना गर्न चाहन्छु ।।
july,09

(मुटुको सघन शल्यक्रिया पश्चात पनि एस.एल.सी. मा उत्कृष्ट नम्बर लिउन सफल भान्जी कर्मिता पुन प्रति समर्पित )