Monday, October 19, 2009

आज भाइटिका

हरेक साल तिहार आउन थालेपछि हाम्री दिदीबहिनीहरुले हाम्रो लागि रङिचङी मालाहरु तयार गर्न थाल्थे । भाइटिकाको दिन हामी सबै घर्ती खलकका सम्पूर्ण पुरुषहरु 'बुवा,काका/दाजुभाइ' एउटा घरमा भेला हुन्थ्यौ । फुपु/दिदिबहिनीहरु पनि त्यही आउथे । आफ्नै सहोदर दिदिबहिनी नभए पनि, दाजुभाइ नभए पनि सामुहिक भाइटिका मनाउथ्यौ । सबैलाई एकदम रमाइलो हुन्थ्यो । आजकाल मुख्यतय: बसाइ सराइ, बिदेशिने चलन, जागिरे हुनु लगायतका बिभिन्न कारणवस त्यसरी एकै थलोमा जुटेर एक आपसमा खुशी साट्न सम्भव पनि नहोला ।

दुई दिदी र दुई दाजुहरु हुनुहुन्छ मेरो पनि । हाम्रो परिवार घरमा सबैजना जम्मा भएको अहिलेसम्म मलाई मात्र एक पटक याद छ, ०५३ सालको अघिल्लो महिनाहरुमा । हामी तीन भाइले साथै बसेर दुबै दिदीको हातबाट टिका थापेको अहिले सम्म सम्झना पनि छैन । जेठा दाजु पहिले कालापहाड, अहिले कहिले यू.के. कहिले ब्रुनाइ , माहिला दाजु पनि पहिले मनिपुर-सिलाङ, अहिले कहिले साउदी त कहिले कतार, म पनि अहिले चाइनामा छु । दाङमा स्कुल र काठमाडौं कलेजमा पढिरहेको बेलामा पनि तिहार बिदा ३ दिन मात्र हुने भएकाले रोल्पा गएर आफ्नो दिदीहरुको हातबाट टिका थाप्न सकिएन । अहिले सम्झिदा पनि अनौठो र दु:ख लाग्छ । बिगत ९ बर्ष यता जेठि दिदीको हातबाट एक पटक मात्र टिका लगाएको रहेछु । कान्छी दिदीको हातबाट टिका नलगाएको त १२ बर्ष नै पुगिसकेछ । हामी तीन/तीन भाइ भएर पनि हाम्री दिदीहरु भाइटिकामा अरुले टिका लगाएको टुलुटुलु हेरेर बस्नु परिरहेकोछ । अहिले सामुहिक रुपमा टिका लगाउने चलन पनि त्यती छैन । आफ्नो दाजुभाइ भएर पनि नभएको जस्तो, टिका लगाइदिन र लाउन चाहेर पनि नचाहेको जस्तो । दिदीहरु माफ गर्नुहोला, हामी कुनै पनि दाजुभाइले यसपाली पनि  तपाईंहरुको हातको टिका थाप्न आउन सकेनौ । फेरी अझै अर्को बर्ष दिन गन्दै कुर्नु पर्ने भयो । कसै गरी आश नमार्नुहोला, रहर नहराउनुहोला, एक न एक दिन हामी तिनै भाइ अबश्य पनि टिका थाप्न चौडा निधार सहित आउनेछौ ।
18 Oct, 09

No comments:

Post a Comment