बुवा आर्मी जीवनबाट कती सालमा पेन्सन आउनुभयो, त्यो त ठ्याक्क थाहा भएन तर बुवा पेन्सिन आउँदा म यस्तै तीन बर्ष जतीको हुदो हुँ । बुवाले खक्चड र भरियाहरुलाई भारी बोकाएर ल्याउनु भएको भने याद छ । पछी पछी बुवाले भन्नु हुन्थ्यो, म भरियाहरुको अगाडि हातमा चकलेट र भेली उचालेर एक खुट्टे उफ्रिदै बाहिर भित्र दगुर्थें रे । भरियाहरु रमाइलो मानी मानी भन्थे रे," मगरका छोराहरु यती सानै उमेरमा यस्तो फुर्तिलो हुन्छन् र पो लाहुरे हुन सक्छन । हाम्रा बच्चाहरु त यस्तो उमेरमा पिठ्युमा बोकेर गाउँ पो दुलाउनुपर्छ ।"
बुवा छुट्टीमा घर आउनु भएको याद छैन, सानै उमेर भएर सम्झन नसकेको होला । के-के ल्याउनुहुन्थ्यो र मलाई के-के ल्याइदिनुहुन्थ्यो भन्ने त झन याद हुने कुरै भएन । पेन्सिन आउँदा भने घर आउनु भएको अली अली सम्झना छ तर के के ल्याइदिनु भयो भन्ने चाँही याद भएन । आमा र दिदीले भन्नुहुन्थ्यो, बुवाले मलाई एउटा ज्याकेट ल्याइदिनुभएको थियो रे । कुमदेखी पाखुरी हुँदै नाडीसम्म तीन ओटा सेतो दर्सो भएको मेरो एउटा ज्याकेट थियो । त्यो ज्याकेट गादा निलो रङको थियो । अली ठुलो र चेत हुने भएपछी बुवाले पेन्सिन आउँदा ल्याइदिनु भएको ज्याकेट त्यही हो भनेर बल्ल थाहा पाएँ । मैले केही हिउँद त्यही ज्याकेटले कताएँ, त्यती नै बर्षात पनि शायद । दुबै कुहिनोमा दुलो परेको थियो । त्यही अलिकती मात्र फरक, दाँया कुहिनामा अली धेरै च्यातिएको तर बाँयामा अली कम । खै ! मैले कहिले देखिन् लगाउन छाडेछु, आँफै छाडेको हुँ कि अरु कसैले भनेर । दिदीले नलगाउन भनेर फुकालिदिनुहुन्थ्यो तर म फेरी लगाइहाल्थें । मन परेर हो या बानी परेर हो । पछी जाडोमा गाईहरु हुलेको भुई तलाको दुलोमा देखेको थिएँ । आमाले गाईहरुलाई चिसो हावा पस्छ भनेर दुलो बुझ्दिनु भएको होला । त्यसपछी कता गयो थाहा भएन, देख्न पनि देखिन । त्यसपछी पेन्सन बुझ्न जाने बेला बुवा र आमा सधैं सँगै घोराही जानु हुन्थ्यो । प्राय: ६/७ दिनमा फर्किनु हुन्थ्यो । फर्केर नआउँदा सम्म दिदी र म साँझ बिहान ‘आरन’बाट तलतिर हेर्दै बाटो कुरेर बस्थ्यौ । हुन त धेरै चिज मगाउथ्यौ, सबै नआए पनि केही न केही चाँही सबैलाई सधैं नै ल्याइदिनु हुन्थ्यो ।
बुवा अक्टोबर ३ मा बिरामी पर्नुभयो । अक्टोबर २२ का दिन काठमाडौंको बि. एन्ड बि. हस्पितलमा अप्रेसन भयो । काठमाडौंमा धेरै बस्न नै मान्नु भएनछ । पेन्सन काठमाडौंमा नै बुझ्दा पनि हुन्छ भन्दा पनि मान्नु भएनछ । दुई महिना जती बसेर पेन्सिन बुझ्नु पर्छ भनेर दाङ जानुभयो । केही समय दाङमा बस्नु भयो । आफ्नो पेन्सिन बुझ्नुभयो र औषधी लिएर रोल्पा जानुभयो । रोल्पाबाट बुटवलमा चेक अप गर्न आउनुभयो । डा. नआएकोले दाङ फर्किनु भयो । केही हप्ता पछी बुटवलमै गएर डा. सँग चेक गराउनु भयो । पेन्सिन बुझ्ने समय अप्रिल अन्तिम तिर रहेछ । अब ओहोरदोहोर गर्न झन्झत हुने भएकाले एकैचोटि पेन्सिन बुझेर रोल्पा जाने सल्लाह गर्नु भएछ । रोल्पाको आफ्नो बनपाखा हेर्ने र इष्तमित्र भेट्ने चाहना हुँदा हुँदै पनि पेन्सिनको काम सकाएर जाने नै भन्नुभएछ । तर पेन्सिन समयको लगभग एक महिना अगाडिबाट बिरामीले च्यापेर लिएछ । अन्तत: अप्रिल २ का दिन सधैं सधैंका लागि चिर निन्द्रामा जानुभयो ।
सबै परिवार हर्मेशा जुत्न नसके पनि बुवाको दु:खद निधन पछी भने सबैजना घरमा जम्मा भयौ । बुवाको काजकृया चैत्र २८ गत्ते सकायौ । संबिधानसभा उपचुनावको दिन थियो त्यो । त्यसपछी आमा, सानीआमा, जेठा दाजु र म लिबाङ गएर प्रशासन कार्यालयमा आबश्यक कागजात बनाउन गयौ तर प्रमुख जिल्ला अधिकारी घर बिदामा गएकाले सि. डि. ओ. को सिग्नेचर बाहेक सबै काम गर्यौ । सहायक जिल्ला अधिकारीको सिग्नेचरले नेपालभित्र मात्र काम गर्दो रहेछ । सि. डि. ओ. एक महिना सम्म पनि नफर्किने जानकारी पायौ । हामी घर आउँदा माहिला दाजु पनि साउदीबाट आइपुग्नु भएको थियो । काम नभए पनि कुरा बुझ्नलाई मात्र भए पनि अर्को दिन आमासँग हामी तीन भाई दाङ गयौ । यातायात ब्यबसायीले गाडी बन्द गरेका थिए । नवल भेनाजु, जो रेडक्रसको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । उहाँले एम्बुलेन्सको ब्यबस्था मिलाइदिनु भयो । दाङमा त्यही सि. डि. ओ. को सिग्नेचर नभएकाले पेन्सन पट्टा आमाको नाममा सार्न सकिएन । हामी फेरी एउटा जीप रिजर्व गरेर फरक्क फर्केर घर गयौ । पेन्सन क्याम्पबाट अर्को पटकमा सि. डि. ओ. को सिग्नेचर लिएर आए सरासर काम बन्ने जानकारी पायौ । सबै कगजात पुगेको र मिलेको नै रहेछ । घर पुग्ना साथ जेठा दाजुको परिवार ब्रुनाइ जानु पर्ने, माहिला दाजुहरु पनि दाङमा छोराछोरीको स्कुल भ्याउनु पर्ने र मेरो पनि ६औ सेम्स्तेरको परीक्षा नजिक आइसकेकाले आमालाई घरमा एक्लै छाडेर आउनुपर्यो । हामी सबै परिवार एकै दिन घरबाट निस्क्यौ । माडिचौरसम्म आमा र दिदीहरु सँग साथै आयौ र जेठी भाउजुको माइतमा बस्यौ । अर्को दिन बिहान जीप आयो । नचाहदा नचाहदै पनि बाध्यताले त्यहाबाट छुट्टीएयौ ।
भाइटिकामा रोल्पा फोन गर्दा दिदीले आमा र भेनाजु पेन्सनको लागि दाङ जान लाग्नु भएको भन्नु भएकोथियो । अस्तिको दिन भेनाको मोबाईलमा धेरै पटक फोन गर्दा पनि बिजी थियो । आमाको मोबाईलमा गर्दा स्वित्च अफ थियो । हिजो दिउसो हस्पितल जानै लागेको बेलामा फोन आयो । उठाएको त आमाले गर्नु भएको रहेछ । रोल्पा फर्कि सक्नु भएको रहेछ, भरखर घर पुग्नु भएको रे । पेन्सन पोहोर सालको दिएछ, यसपाली देखिको चाँही अर्को पटकमा एकैचोटि दिने भनेको रहेछ ।
हिजो मेरो अन्तिम बर्षको पहिलो हस्पितल भिजित थियो । म अप्थाल्मो डिपार्टमेन्तमा परेको थिएँ । त्यहाँ आँखाका बिरामीहरुलाई जाँच गर्ने बेलामा एकजना ८४ बर्षका बिरामी पनि थिए । उनलाई देखेर झल्यास्स बुवाको याद आयो । उनको आँखामा मोतिया बिन्दु 'क्यातर्याक्ट' को समस्या रहेछ, जुन बदी उमेरले गर्दा आँखाको लेन्समा प्रकाश राम्ररी पर्न नसकेर हुने गर्दछ । यही समस्या बुवाको पनि थियो । तुल्सिपुर आँखा हस्पितलमा गएर उपचार गरेपछी निकै सफा र प्रस्त देख्छु भन्नु हुन्थ्यो । भावनामा बग्नु भन्दा मन मनै द्रिड भएर यस्ता हजार बिरामी बुवाहरुलाई आफ्नै बुवा सम्झेर उपचार गर्ने प्रण गरें । उनको अनुहारमा कती आश देखिन्थ्यो, आफ्नो आँखाले संसार प्रस्त देख्नलाई । कती विश्वाश झल्किन्थ्यो, एउटा रोगीको अर्को सामान्य मान्छे प्रती । सारा संसारमा यस्तै आशा, माया, विश्वाश, निस्वार्थ सेवा, अरु थुप्रै चिज एकैचोति पाएँ । मेरो वरिपरी जताततै त्यस्तै महशुस गरें ।
झसँग भएर बिउँझीन्छु, यताउती अध्यारो छ । म आफ्नै ओछ्यानमा पल्तिरहेको छु । राम्ररी बिउँझीएर घडी हेरें, ३ बज्न लागेको रहेछ । उठेर एक गिलास पानी पिएँ । सम्झिन खोज्छु, भर्खर एक्लै छाडेर जाने सपनीलाई । आमाले पैसाको बिटा हातमा पक्रिएर 'बत्योगा' डाँडामा उभिराख्नु भएको थियो । आफ्नै लाग्ने मान्छेहरु आमासँग अनायस देउसीभैलोको नाममा पैसा मागिरहेका छन । दाजु भन्नुहुन्थ्यो," चार वटा नोट दिनुस् आमा ।" म भन्दैथिएँ," अरु पनि माग्न आउछन, त्यसैले दुई वटा मात्र दिए पनि हुन्छ होला ।" धेरै मान्छे आइरहे, पैसा माग्दै, लिदै जादै गरे । अचानक 'जङ्वाङ' डाँडामा हेलिकप्टरको आवाज आउछ । हेलिकप्टर बुवाको अन्त्येष्ती गरिएको छेउमै उतर्छ । एक जना परिचित झै लाग्ने मान्छे झालेपाते बर्दिमा हामी भए तिर झर्छ । नजिक आएर सोधेको थियो," भैलेनी तोली हो ?" मैले फर्काएको थिएँ," होइन, हामी घरबेती तोली हो ।" पैसा मागिरहेका मान्छेहरु सबै अलप भएर गए । उसले कसैलाई पनि पैसा नदिन अह्राएको थियो ।"
बुवाले घर पुर्याउन धेरै कर गर्नु भएछ तर झनै च्याप्ला भन्ने डरले दाङमै रहनुभयो । उहाँको पनि पेन्सन बुझेर मात्र घर जाने बिचार थियो । पेन्सन बुझेर गए पछी एक बर्षसम्म दाङ आउनु पनि पर्दैन भन्ने लागेको थियो होला । त्यही पेन्सन बुझ्ने बहानामा काठमाडौंबाट जबर्जस्ती दाङ पुग्नु भयो र पेन्सन बुझ्न कै लागि भनेर दाङमै रोकिनुभयो । तर पेन्सन बुझ्ने दिनको दुई हप्ता अगाडि मात्र उहाँले मानवियी चोलालाई अन्तिम बिदा गर्नुभयो । सबै कुराको मोह हुँदा हुँदै पनि बाध्यताले त्यागेर अद्रिश्य सन्यासी भेषमा जानुभयो । उहाँ दुई हप्ता मात्र रहेको भए थोरै भए पनि खुशीको क्षण हुने थियो । हामीलाई भेट्ने उहाँको चाहना पनि पुरा हुनेथियो, हामीलाई पनि जीबित बुवाको अन्तिम दर्शनको सौभाग्य मिल्ने थियो । उहाँले पेन्सन पनि बुझ्न पाउनु हुनेथियो । अहिले आमाले बुझ्नु भएको पेन्सन बुवाले आफ्नै हातले बुझ्नु हुनेथियो । २२ बर्ष पराइको भुमी रक्षा र शान्तीका लागि गरेको कथिन लगानीको फल अन्तिम पटक आफ्नै आँखाले देख्नु हुनेथियो । आफ्नो युवा कालका अतित अन्तिम पटक सम्झिनु हुनेथियो । पल्टनका नम्बरीहरु सँग अन्तिम पटक भलाकुसारी गर्न पाउनु हुनेथियो । म साँझ बिहान ‘दान्दुङ’ को ओकालो हेरिरहेको हुनेथिए । बुवाले मेरो लागि भनेर घोराही बजारमा एउटा ज्याकेत किन्दिनु हुनेथियो । जुन ज्याकेत जीवनभरी मसँग सँगै हुनेथियो । म सधैं सधैं सम्हालेर राख्ने थिएँ । बुवाको पहिलो पेन्सनको पहिलो चिनो मसँग नभए पनि अन्तिम पेन्सनको अन्तिम चिनो बुवाको यादमा सुम्सुम्याउने थिएँ । दु:ख र अप्ठ्यारामा मेरो सामु राखेर आशिष माग्ने थिएँ । तर बिधाता क्रुरताको खेल त खेल्यो नै अझै ति सब अन्तिम मौका समेट दिन चाहेन । लुट्यो लुत्न पाएकोमा, खोस्न सम्म खोस्यो भएजती र सकेजती ।
बुवा, तपाईंका धेरै अन्तिम इच्छाहरु तुते पनि, आमाले सके जती तुत्न दिनु हुनेछैन । पेन्सन बुझ्ने अन्तिम चाहना चुके पनि आमा चुक्नु भएको छैन । तपाईंको नाममा आएको नासो घरमै ल्याउनु भएकोछ । बिपनामा नभए पनि सपनामा मैले देखिरहेकोछु, आमा घर आइपुग्नु भएकै दिन स्वर्गबाट धर्तिमा तपाईंको यान ओर्लिएकोछ । बाँचुन्जेल तपाईंको खून पसिनाको अधिकार सधैं हामीलाई सुम्पिरहनु भयो तर खाशमा सम्पूर्ण अधिकार तपाईंकै हो बुवा । हामीसँग तपाईंको अधिकार खोस्ने कुनै अधिकार छैन । हामी यसका लागि त्यती लायक पनि छैनौ । बरु प्रयत्न गर्नेछौ, सम्भव भए जतिका तपाईंका अपुरा सपनाहरु पूरा गर्नेछौ । तपाइका ति प्रेरणादायी आँखाहरु हामीबाट कहिल्यै नहताउनुहोला । हामीलाई एक निमेष पनि नछुताइ हेरिरहनु होला, जबसम्म सुखद मिलन बिन्दुसम्म आइपुगेका हुँदैनौ । अनी एउटा हाँसो हाँस्नुहोला, जुनदिन अर्को नयाँ ज्याकेत किनेर तपाईंको हातबाट पहिरिने हुनेछौ ।
28 oct, 09
Thursday, October 29, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment