Saturday, July 25, 2009

नारी पक्षमा

आजकाल गर्मी बिदा छ, त्यसैले रामायण पनि हेरेर खाली समयको सदुपयोग पनि गरिरहेको छु । कारीब दुई बर्ष अगाडि महाभारतको पनि पुरै भाग हेरेको थिए । रामायण हेर्दै गर्दा मेरो मनमा एउटा कुरा खेल्न थाल्यो । आज त्यसैलाइ यहाँ प्रसँग बनाएर उठाउन मन लाग्यो ।

अयोध्याको पहिलो रात सिताले रामलाई कुरेर एक्लै कोठामा बासिरहेकी हुन्छिन् । रामले प्रबेश गर्ने बित्तिकै खुट्टामा ढोग्न पुग्छिन् । अनी रामले "यो के गरेकी ?" भनेर सोद्धा उनको उत्तर हुन्छ ।
आमाले भन्नु भएको, "अब हजुर नै मेरो ईश्वर हो । एउटा नारीको लागि आफ्नो लोग्ने भन्दा ठुलो भगवान कोही हुँदैन । लोग्नेलाई छाडेर कुनै ॠषि र देवताहरुको पूजा गर्नु आबस्यक छैन । आफ्नो ब्यग्तिगत स्वार्थ त्याग गर्दै आफ्नो पतिको भलो हुने काम मात्र गर्नु पर्छ । यही नै पत्निको धर्म हो । "
राम भन्छन, " आमाको उपदेश सुन्यौ, अब मेरो कुरा पनि सुन्ने कि !?"
सिताले टाउको निहुराउदै भन्छिन्, "हजुर भन्नुस् न, म त हजुरको नोकर न हुँ ।"
राम एकोहोरो बोल्न थाल्छन्, "मेरो पहिलो कुरा यो हो कि, तिमी मेरो दासी नबनी देउ । बरु मेरो आधा शरीर आधा आत्मा बनिदेउ मेरी प्यारी । मेरो साँचो संगिनी बनेर सधैं मसँग साथै रहिरह । मेरा हरेक राम्रा कदमहरुमा सहयोग गरिदेउ । यदी तिमीलाई मैले गल्ती गर्दैछु जस्तो लाग्यो भने, मलाई त्यो गर्न बाट रोकिदेउ । यो नै असल संगिनीको कर्तब्य हो ।" अनी अझै थप्छन," माता कैकियले भन्नु भएको, हाम्रो पहिलो भेट अबिस्मरनीय बनाउन केही उपहार दिनु पर्छ रे । मैले त्यो लिएर आएकोछु । बहुमुल्य हिरा-मोती होइन बरु त्यो त हो एउटा कसम । राजाहरुका धेरै जना रानीहरु हुने गर्दछन् तर तिमीलाई आजै बचन दिन्छु कि तिमी बाहेक मेरो जीवनमा दोस्रो श्रीमती बनेर कोही आउने छैन । यो मेरो प्रतिज्ञा हो । "

प्रत्येक धर्म शास्त्र अनुसार नारीलाई कुनै न कुनै अधिकारबाट कि बन्चित गरिएको पाईन्छ या त पुरुष सरह स्थान दिइएको हुँदैन । तर राजकुमार राम कति सह्रिदयी बनेर सितालाई आफु समानको स्थान दिन चाहन्छन । धेरै जना रानी राख्ने कुसंस्कार बिरुद्ध सुरुमै उनले बाचा गरेर चुनौती दिन्छन् । सबैले रामको पदचिन्ह पछ्याएको भए आज नारी र पुरुष बराबरी हुनेथियौ । घरायसी वा बाहिरी व्यबहारमा कुनै किसिमको बिभेद हुने नै थिएन । भनिन्छ संसारमा दुई जात मात्र छन्, नारी र पुरुष । तर बिडम्बना ! त्यही दुई जात पनि शक्ति संघर्षमा लागेर आँफैलाई सत्यानस गर्छन् । अहिले पित्रिसत्तात्मक समाज छ । तर, आदिम साम्यवादी दिनमा सुन्दै असम्भव लाग्ने मात्रिसत्तात्मक दुनियाँ थियो रे ! त्यसैले के भन्न सकिन्छ भने पक्कै पनि शक्ति संघर्ष चल्दै आइरहेको रहेछ । अहिलेकै परिपेक्ष्यमा हेर्दा पनि त्यो अनुमान लगाउन सकिन्छ ।

म सानो छदा हाम्रो गाउँमा पनि नराम्रो प्रचलन थियो । खेत खन्दा होस् वा अरु नै ज्याला मजदुरी गर्दा भए पनि काम नै नगर्ने पुरुष भए पनि बदी ज्याला दिने तर आईमाई भए जती सुकै मरिमरी काम गरे पनि कम ज्याला दिने गरिन्थ्यो । महिलाले नै निकै परिश्रम गर्ने गर्दथे, अती मिहेनेतका साथ राम्रो काम गर्दथे तर लोग्ने मान्छेहरु भने गफ गर्दै जाँड खाँदै थोरै काम गर्ने गर्दथे । यदी कसैले झन्डै-झन्डै पुरुषहरु जत्तिको पैसा पाए ठुलै चर्चा हुन्थ्यो । तर अहिले त्यो सन्कीर्नता हत्दै गएको रहेछ, निकै खुशी लाग्यो । अब गाउँमा लिंग अनुसार ज्याला पाक्दैन, परिश्रम हेरिन थालिएको रहेछ । गाउँमा भएको यो निकै सकारात्मक परिवर्तन हो ।

जसरी रामायणमा मिथिलाका राजा जनक र रानी सुनन्याले सितालाई पतिको नोकर बन्नु नै सबै भन्दा ठुलो धर्म भनेर सिकाउछन । हो, ठ्याकै त्यही थियो मैले देखेको मेरो समाज पनि । तर अहिले आएर धेरै रामहरु जन्मिसकेका छन । सिताहरु पनि सिता मात्र बन्न पनि सक्दैनन । बिहे गर्दा पनि अली अली पढेको केटाले पद्धै नपढेको र अली पढेको केटाले अली अली पढेको केटी बिहे गर्ने परम्परा जस्तै भएको थियो । अब भने नपढेको केटाले पढेकी केटी र पढेको केटाले नपढेको केटी बिहे गरे पनि कुनै अर्थ रहदैन । दिन भरी गाउँ चाहरेर मात्तिदै साँझ घर आएर परिवार कुत्ने बानी सबैले त्याग गरिसकेका छन् । स्वास्नी-चेलीहरु चुलो चौकोमा मात्र सिमीत रहने समय गर्किसकेको छ । परिवारको जिम्मेवारी कुशलतापुर्बक बहन गर्न सक्ने भैसकेका छन् । कथित उपल्लो जातले दलितलाई बिहे गर्‍यो भने जीवन भर दलित नै भएर हेपाइ र अभिशापको दिन कात्नु पर्ने बाध्यता करीब करीब हतिसकेको छ । छोरालाई स्कुल छोरीलाई मेलापात पठाउने संस्कारको अन्त्यै भएको छ । दाईजो प्रथा त पुरै निमित्यान्न नै भैसकेको छ । कोही पनि चेली अब दाईजो नलिएको कारणले पीडित हुनु पर्ने छैन । लोग्ने र स्वास्नी अब मालिक र नोकर होइन, एक अर्काका सहयोगी भएर बाँच्न थालेका छन् । नारीको हरेक प्रयासलाई पुरुषले पनि सके जती प्रोत्साहन गरिरहेका छन् । नारी साँच्चीकै समन्वय र सन्योजनकारी भूमिकामा छाएकै छन् । उनिहरु अब आफुलाई तल्लो स्तरको जात पनि मान्दैनन र पुरुष भन्दा कम पनि ठान्न छाडेका छन् । मेरो गाउँलाई हेर्दा पित्रिसत्तात्मकबाट मात्रिसत्तात्मक पारिवारिक प्रणालिमा जान थालेको जस्तो देखिए पनि उनिहरु सह-अस्तित्व र आदर भावको राम्रै अभ्यास गरेको बुझिन्छ । परिवार सुखी र प्रगतिशिल बन्दै गैरहेको आभास सजिलै पाउन सक्छौ ।

मेरो गाउँको परिवर्तन देखेर म हर्षित छु । फेरिएको मेरो समाजको मुहारले मेरो मुखमा पनि मुस्कुराहत नछर्ने कुरै भएन । तर जसरी मेरो ठाउँ बदलिदै थियो, त्यसै गरी अरु ठाउँ बदलिदै गएको सोचेको थिए तर गलत रहेछ । सुदुर पश्चिममा 'छाउपेदी' प्रथा र पूर्वमा 'देउकी' प्रथा मौलाई नै रहेछ । सिंगो तराइमा 'तिलक'को नाममा अबोध छोरी-चेलीको मोल मोलाई चली नै रहेछ । मानौ, सृस्‍टि चल्न र जीवन बाँच्नलाई सँगिनी नभइ धन चाहिएको हो । एक चेली त धनसँग टाँसिएर आएको अमुल्य दाईजो मात्र हो । सबै क्षेत्रमा महिलाहरुको एक तिहाइ प्रतिनिधित्व भन्दै झुठो आश्वासन दिने गरेको जगजाहेर नै छ । उनिहरुको धैर्यतालाई खिलाँची ठानिएको छ । अझै दु:खको कुरा त, जब सरकार नै समाजमा रहेका सामाजिक कुरिती बिरुद्ध सचेतना फैलाउन बिशेष अभियान चलाउनुको सत्ता क्षनिक र स्वार्थी दाउमा बजेटले सिचाई गर्न खोजिरहेको छ । अन्धविश्वाश र बिसंगति, हाम्रै अगाडि चेतना र शिक्षा अभावले झर्झर बन्दै गैरहेको छ तर त्यसको ठीक उल्तो सरकार उनिहरुलाई कोत्याउने र बल्झाउने खेल खेलिरहेको छ । एकल महिलालाई बिहे गरेको खन्दमा रु. ५०,००० र दलितसँग बिहे गरेको खन्दमा रु. १,००,००० दिने घोषणाले बौदिक बर्गलाई हेरेको हेर्यै पारेको छ । एकल महिलालाई शिप र रोजगारी, सामाजिक सुरुक्षाको ग्यारेन्टि, बाल-बच्चाको पढाई जस्ता कुरामा सरकारले बजेट खर्च गर्न सक्थ्यो । दलितहरुलाई उचित शिक्षाको ब्यबस्था, समाजमा सम्माननीय बातावरण, सबै क्षेत्रमा समान सहभागिता लगायतका कुरामा ध्यान दिनुको बिपरित पैसाको बितो निधारमा तास्ने प्रयत्न गरेर सबै दलित र महिला जाती प्रती नै खेलवाड र घोर अपमान गर्न खोजिएको छ । कसैको आमा, दिदी-बहिनी, छोरीले पति गुमाउना साथ अब पिडाले थिलथिलो भएको जिउलाई पैसाको कलंकले छोपिदिने छ । यहाँ प्रोत्साहन स्वरुप पुरुस्कार दिन नसकिने होइन, सकिन्थ्यो तर प्रमुख होइन कि सहायक कार्यक्रमको रुपमा अगाडि सार्न सकिन्थ्यो । सरकारको यस्तो अबिभावकीय रबैया निकै आपत्तिजनक र खेदजनक छ । यसले पिडितहरुलाइ थप मर्माहत गराउनेछ । यो मेरो ब्यग्तिगत धारणा हो र यसमा म अडिग रहनेछु । एकातिर महिला सशक्तिकरण र दाईजो बिरुद्ध कुरा गर्ने तर अर्को तर्फ महिलालाई अर्को सरकारी दाईजोको दाग लगाउनु थप असहाय र निरिही बनाउनु बाहेक केही फाईदा गर्दैन । यसले घत्दै र हत्दै गैरहेका कुप्रथा र कुसन्सार लाई अरु मलजल गर्ने पक्का छ । यस्तो गैरजिम्मेवारीपूर्ण सरकारी निर्णय र कदमले पछी पछी सम्म पनि दुरगामी असर पार्नेछ र पारिरहनेछ । यसलाई यथाशिघ्र सच्च्याउनै पर्दछ । यसले नारी र पुरुष दुबैको बौदिकताको अबमुल्यन गरिरहेकोछ । रामले सितालाई दिएको झै सम्मान महिलाहरुलाई दिनु पर्दछ र उनिहरुले त्यो पाउनै पर्दछ । उनिहरु देवीका प्रतिमुर्ती हुन । आजका महिलाहरु जेनी मार्क्स र सिता जस्तै आफ्नो पतिहरुसंगै निस्काशित र वनवासको कठोर जीवन भोग्दै गुमनाम बन्न चाहदैनन । बरु, प्रत्येक नारी कथिन परिस्थितीसँग जुद्धै मदर टेरेसा, फ्लोरेन्स नाइटिंगेल र पारीजातको पद चिन्ह पछ्याउन चाहन्छन् । उनिहरुले देखाइरहेको गुण, सक्षमता र कला कौशलले त्यही भबिश्यको संकेत गर्दछ । आजका आदर्श पुरुष रामहरु पनि पैसाको पछी लाग्नु भन्दा आफ्नै स्वबिबेक लगाइ भोग्दै आइएको परम्परागत र अहिले थपिएको सरकारी अन्धबिश्वासको जालोलाई च्यात्न सक्नु पर्दछ । अन्यथा, दशकौ सम्म पनि हामी यही अघोषित दाईजोको भुमरीमा फसिरहनेछौ । नारीहरु थप अरु परिस्क्रित अबहेलना खेप्दै बहिस्क्रित जीवन गुजारिरहनु पर्नेछ ।

2 comments:

  1. hi chandra,maile timro sabai lekh haru padhen,timile lekheka lekhharu atinai sandarvik chhan,sathai lekhan saili pani man pardo chha.asha chha bhabisya ma timi euta best Doctor and writer ko rup ma chinine chhau. waiting for next ....best of luck.

    NARENDRA YADAV, SAPTARI,NEPAL

    ReplyDelete
  2. नरेन्द्र, तिम्रो शब्दहरुले मलाई सधैं उर्जा प्रदान गरिरहनेछन ।
    thank u for loving my way of writing.

    ReplyDelete