आजको यो ईन्टरनेटको दुनियाँमा ब्लग नयाँ र नौलो कुरा होइन तर मेरो लागि भने निस्चित रुपमा नयाँ हो । म कुनै ठुलो उदेश्य लिएर ब्लग बनाउन सोचेको पनि होइन । कहिले काही नेपालमै नाम चलेका र समाजमा आफ्नै बिशिस्त पहिचान बनाएका पारीचित नामहरुको ब्लग पनि चियाउने गर्दथे त कहिले काही अपरिचित मित्रहरुको ब्लगमा पनि सुटुक्क पसेर केही आफ्न मनमा लागेका प्रतिकृयाहरु पनि छाड्ने गर्दथे । बिभिन्न लेखक र सर्जकहरुका लेख रचनाहरु पढेर आफुलाई केही भन्न मन लाग्थ्यो तर भित्रैबाट जती नै भन्न सोचे पनि बाहिर भने शब्दमा त्यती राम्ररी खुलेर तर्क दिन नसक्दा अली आत्मग्लानी हुन्थ्यो ।
स्कुले जीवनमा मैले खुब लेख्ने प्रयास गर्थे । जती माथि उक्लिदै गरे त्यती त्यो म भित्रको कला मौलाउदै जानु पर्ने तर त्यसो भएन । लेखनमा म झन झन छिप्पिदै जानुको सत्ता बदी गुम्सिदै र सन्कुचित हुँदै गएँ । बाल्यकालमा गीत लेख्न खुब प्रयास गर्थे तर ज्ञानको कमी र समाजलाई बुझ्ने सानो कोणले गर्दा एक दुई लाइन लेखेर अलपत्र फ्याक्थे । युद्ध चर्किदै गैरहेको थियो जसले गर्दा गाउँमा पढ्ने बातावरण बिथोलिदै थियो । म पढ्न भनेर सानी भातिजीसंगै दाङ झरे र भर्खरै खुलेको जीप्समा भर्ना भएँ । साहित्यकार श्रिधर पौडेल नेपाली शिक्षक हुनुहुन्थ्यो त्यहाँ । उहाँले सधै साहित्य र साहित्यकारका कुरा सुनाएर प्रोत्साहित गर्नु हुन्थ्यो । पछी गजलकार एवम समालोचक टिकाराम उदासी पनि 'पार्ट टाईम' शिक्षक भएर आउनुभयो । उहाँहरु दुबैले जिल्ला, देश र अन्तरराष्ट्रिय स्तरमा भैरहेको उतारचदावहरुको बारेमा अप्डेट गर्नुहुन्थ्यो । मैले पनि जिल्लामै प्रकाशित प्रतिकाहरु नयाँ युगबोध दैनिक, गाउँघर साप्ताहिक, काठमाडौंबाट जाने कान्तिपुर र अन्य बिभिन्न पत्रिकाहरु पढ्ने गर्थे । जतिबेला र जहिले भेट्दा पनि केही लेख्न र देखाउन भन्नु हुन्थ्यो । मैले भने पूर्ण सन्तोष नहुँदा सम्म केही देखाउन चाहिन । जती सोचेर लेखे पनि, लेखिसकेर हेर्दा केही न केही अपुग भए झै लाग्थ्यो । त्यसैले म देखाउन र छपाउन अघि सर्दै सरिन । उहाँहरुले लगातार प्रोत्साहन दिइरहनु भयो तर मैले स्कुलभित्र भएको प्रतियोगिता जित्नु र केही जिल्ला स्तरीय विभिन्न प्रतिस्पर्धाहरुमा भाग लिनु बाहेक त्यस्तो उल्लेखनीय केही गर्न सकिन । त्यसको वाबजुद म भित्रको साहित्यिक स्रस्ता निकै तेज गतिमा नै अघी बदी रहेको थियो । एस.एल.सी को तयारीमा लाग्नु पर्ने भएकोले यि सब गर्न पूर्ण रुपमा बन्द गरिदिए । ११ मा पद्ढै गर्दा कलेजमै भएको निबन्ध प्रतियोगितामा मेरो निबन्धले पहिलो पुरुस्कार जित्यो । कस्तो सन्जोग परेछ भने, कलेजको प्रिन्सिपल के. पी. गुरुङ हुनुहुन्थ्यो र नेपाली शिक्षक चाँही गायिका लाक्षिमित राई । उहाँहरु दुबै साहित्य पारखी हुनुहुन्थ्यो र बारम्बार केही न केही लेख्न आग्रह गरिरहनु भयो । स्कुल देखी कलेज सम्म नै पुग्दा सबैले मैले लेखेको मन पराइदिनु भयो । साथीहरुबाट पनि उसैगरी हौसला पाउथे । तर वास्तविकता भने अलि भिन्नै थियो । म आँफै पनि त्यती जानकार थिएन कि शब्द संयोजन कसरी गर्ने हो, कथा, कबिता, निबन्ध, प्रबन्ध, गजल, उपन्यासका के कति नियम हुन्छन, हुन्नन् । मैले लेखेको साँच्ची राम्रो भएर मन पराइदिनु भयो या ओठे प्रसंसा मात्र गर्दिनु भएको होला । तर म खुशी नहुने कारण चाँही केही थिएन । म निकै खुशी हुन्थे ।
०५७ सालमा दाजुले (दधि बन्धु) एउटा कबिता संग्रह निकाल्नु भयो, 'जंकोट डाँडाका सुसेलीहरु' । दाजुले सधैं साहित्यिक कुरा गर्नु हुन्थ्यो र नयाँ नयाँ स्रिजना गर्न उक्साउनु हुन्थ्यो । उहाँको कबिता पढेर म उत्साहित त भएकै थिए, अझै प्रोत्साहित भए । कबितामा आफ्नो वास्तविकता र समाजको यथार्तता भएकोले बुझ्न केही गाह्रो भएन । "साहित्य नै हाम्रो जीवन उतार्ने ऐना हो" जस्तो भावना पलायो जसले गर्दा पनि साहित्य बन्न नसकेको मेरो लेखनमा थप बल प्रदान गर्यो र सुन्दर साहित्य प्रति झनै झुकाव बदेर जानु अस्वभाविक पनि थिएन । त्यसै बेला जिल्लामा चर्चित साहित्यकारहरु नबिन बिभास, उदय जी. एम., टिकाराम उदासी लगायत सँग राम्रो चिनजान भयो । बामपन्थी साहित्यकार नारायण प्रसाद् शर्मा जस्तो एक अग्रज हाम्रो घरमै आएर दाजुलाई आँफै बधाई दिन आउनुभयो । प्रत्यक्ष्य रुपमा भेट नभए पनि सुशिल गौतम, अमर गिरी, पुरुसोतम खनाल, के.एल. पीडितलगायतलाई चिन्ने र गोस्ठीमा सहभागि बन्ने मौका मिल्यो ।
यि र यस्ता सामान्य लाग्ने घटनाले नै मलाई कुनै दिन राम्रो साहित्यकार बन्छु भन्ने भावना म भित्र जाग्रित गरायो साथै बलियो आत्मबिश्वास पनि जगायो । नेपाली साहित्यमा केही गर्छु भन्ने भावना त मनमा आयो तर साधना गर्दै उदाउदै जानुको बिपरित म त ओझेल पो पर्दै गएछु । धेरै पछी टिकाराम सर अन्लाईन भेटिनु भयो । एकछिन कुरा गर्यौ । उहाँको प्रश्नले अली गम्भिर बनायो । उहाँले सोध्नु भयो, " चन्द्र, अहिले त तिमीले लेख्न छाड्यौ होला है !" यो प्रश्न सँग झल्यास्स नबिन बिभास दाइलाई सम्झे । उहाँले पनि जहिले लेख्न नछाड्न र डायरी नतुताइ लेख्न भन्नु हुन्थ्यो । अब औपचारिकता निभाउन नै भए पनि उत्तर दिए, "सर, पहिलेको जस्तो चाँही लेख्दिन र सक्दिन पनि । यसो कहिले काही अली अली प्रयास गर्छु ।" उहाँले चिनिया साहित्यको अध्ययन गर्न पनि सुझाउनु भयो । उहाँ हाम्रो क्लासमा पहिलो पटक पसेको याद आयो । आफ्नो सामान्य परिचय पछी साहित्यमा क-कसलाई रुची छ र कस्लाई कथा-कबिता लेख्न आउछ भनेर सोध्नु भएको थियो । सबैले मेरो नाम लिए पछी मैले प्रतिवाद गरे । तर सरले भर्खर अर्को क्लासमा पनि यही प्रश्न गर्नु भएको रहेछ । त्यहाँ पनि मेरै नाम लिएका रहेछन । त्यसपछी टाउको निहुराएर बसेको थिए । फेसबुकमा पनि धेरै अपरिचित मित्रहरु सँग च्याट गरे, धेरैले सोध्नुहुन्छ, मैले कुन बिधामा कलम चलाउछु रे ।? उहाँहरुले फेसबुकको 'स्त्याटस' पढेर अनुमान गर्नु हुदोरैछ । बिडम्बनाको कुरा त, न म मेरा आदरनीय गुरुहरुको असली अनुयायी नै बन्न सके न त मेरो दाइले देख्न चाहेको चर्चित साहित्यकार नै । म त सामान्य लेखक पनि हुन सकिन । मेरो लेखनको लागि जती चिन्ता अरुलाई छ, म स्वयमलाई त्यती छैन । उहाँहरुले मलाई सोच्नु भएको 'हुने बिरुवाको चिल्लो पात' आज खस्रो भएको सुन्दा कती नरमाइलो लाग्दो हो !? कती ठुलो आश गर्नु भएको थियो मबाट तर आफ्नै अघी फोस्रो रुप हिडिरहेको देख्दा कती निराश हुनुहुदो हो !?
त्यसैले मैले सक्दिन नभनी अन्तिम क्ष्यन सम्म सम्भव भए जती लेख्ने प्रयास जारी राख्न ब्लग लेख्ने चुनौती मोले । ब्लग संसारमा धेरै अन्जान कुराहरु पक्कै पनि छन र होलान । र पनि, सिक्दै-जुद्धै भए पनि यो थालनी जारी राख्ने विश्वाश लिएकोछु । जसरी एउटा बच्चा जन्मदा लगभग अचेत नै जन्मिन्छ । बिस्तारै आँखाले वरीपरी चियाउन थाल्छ, जन्म दिने आमा चिन्न थाल्छ, तोते बोली बोल्दै र ताते-ताते गर्दै पाइला चाल्न सिक्छ । त्यसरी नै मैले मेरो ब्लग यात्रालाई लिएको छु । कती निरन्तर हुन्छु, हुँदैन तर यो सुरुवात भने कदापी नरोक्ने वाचा गर्न चाहन्छु भलै मैले महत्वपूर्ण र उपयोगी केही लेख्न नसुकुला ! त्यो भिन्नै कुरो । मैले आफ्नो बाल्यकाल लेखुला, गाउँ र साथीको याद गरुला, थोरै नै भए पनि देखेका-भोगेका कुनै सामाजिक टिकाटिप्पनी गर्ने प्रयत्न गरुला अर्थात सुनौलो भबिश्यको कल्पना सजाउला.. यसलाई अन्यथा पक्कै पनि लिउनु हुन्न किन कि म स्वतन्त्र छु सिक्नलाई । स्वतन्त्रतामै जीवन बदी स्रिजिनशिल हुन्छ भन्ने मान्यता राख्छु मैले । तसर्थ, रचनात्मक आलोचना सुन्ने धैर्यता कहिल्यै गुमाउने छैन । यही गल्ती गर्छु, यही सिक्छु, यही सुध्रिन्छु, बन्न सक्ने जती राम्रो यही नै बन्छु । मलाई लेखेर ठुलो साहित्यकार बन्नु छैन, बरु मैले केही लेख्दैमा खुशी मान्नु हुने सम्पूर्ण महानुभावहरुको मुहारमा खुशी छाएको हेर्न चाहन्छु । हो, मेरो ठुलो स्वार्थ भनेकै त्यती हो, खुशी उहाँहरुकै । जरुर सोध्नु हुनेछ फेरी फेरी । अनि मैले उत्तर फर्काउनेछु, "कृपया, नमिलेका र नराम्रा शब्द र वाक्य नै भए पनि मेरो ब्लग हेर्ने कष्ट गर्नु होला, किन कि तपाईंले हेर्दिनै पर्छ । तपाईंकै प्रोत्साहनको प्रतिफल हो यो ।"
Wednesday, July 22, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment