सम्झन मन छैन र पनि सम्झनै परेको छ त्यो दर्दनाक घटना । लेख्न मन नभए पनि लेख्नु पर्ने भएको छ दु:खको कुरा । ०४८/४९ सालतिर कहिल्यै बिर्सन नसकिने गरी आएको त्यो दिन, त्यो क्षण । जेष्ठ/आषादको महिना, २/३ बजेतिर । पश्चिमतिरको झ्यालबाट चर्को घाम भित्र सम्म नै पसिरहेको थियो । आमा मन्डलमा पल्तिरहनु भएको थियो । छिमेकीहरु कसैले पानी खुवाइरहेको, कसैले उठाउन प्रयास गरिरहेको । याद भएन कसले हो, जेठी दिदीलाई बोलाउन भनिरहेको मधुरो आवाज सुनेको थिए । कसैले तल माडिचौरमा 'मोती मासिका' छ कि छैन हेर्न जान र बिरामी सिकिस्त भएकोले जसरी पनि जाने रे भनेर भन्न माइला दाजुलाई अह्राइरहनु भएको थियो । कसैले मासिकाको बाटो नकुरेर लिवाङ नै बोकेर लग्ने कुरा गर्नु हुन्थ्यो, कसैले मासिका आँफै आउने भए पनि वा उतै बोलाए पनि बोलाउने मान्छे नआउन्जेल पर्खिने कुरा गर्नुहुन्थ्यो । कसैको भनाई भने आजकाल डाक्टर-मासिकाहरु 'नाक तानेर' निकै भाउ खोज्छन । त्यसैले, कुनै पनि हालतमा मासिका नआउने बरु उतै बोलाउला भन्ने अड्कल गर्नु हुन्थ्यो । त्यतिन्जेल जेठी दिदी पनि आइसक्नु भएको थियो । सबै जना रोएको देख्दा म पनि रुन्थे । मेरो आँखाबाट पनि लगातार आसुँका धारा झर्थे । एकछिन पछी मलाई बाहिर खेल्न जान पठाउनु भयो । अरुबेला ठुलाले भनेको खुरु खुरु मान्ने म यतिबेला भने अलि अन्कनाए । म बाहिर नगए आमालाई झनै ज्वरो आउने भनेकाले मन नलागी नलागी पनि ढोकासम्म पुगे तर बाहिर गइन । केही बेर पछी मासिका आउनुभयो । मैले उहाँलाई त्यो भन्दा अघी गाउँमा बच्चाहरुलाई सुइ लगाउन आउँदा दुई पटक जती देखेको थिए । उहाँ अलि मोतो हुनुहुन्थ्यो, त्यसैले सबैले 'मोती मासिका' भनेर चिन्थे । मासिका सँगै म पनि फेरी भित्र आमाको छेउमै गएर बसे । एकैछिनमा आमा फेरी बेहोस् हुनु भएछ । दाई दिदिहरु चिच्च्याउदै रुन थाल्नु भयो । म पनि जोद्ले रुन थाले । मासिकाले दाइदिदीहरुलाई ठुलो मान्छे नै रोए पछी झनै आमालाई ब्यथाले च्याप्ने र हामी साना भाइ-बहिनीहरु झनै रुने भएकाले नरुन सम्झाउनु भयो । सबैजनाको प्रयासमा आमा बिउझिनु भएछ । मासिकाले मलाई देखाउदै सोध्नु भयो," आमा, उसलाई चिन्नु हुन्छ ?" आमाले भित्रबाट सास तानेर 'अँ' भन्नु भयो ।" को हो ?" भन्दा बोल्नु भएन । त्यसपछी उहाँले आमा होसमा आइसकेको हुनाले अब कसैलाई पनि नरुन र जोडले नबोल्न भन्नुभयो । उहाँले आमालाई सुई लगाइदिनु भयो र सलाइन पानी चदाइदिनु भयो । सुई देखेर निकै डराउथे तर पनि हेरिराखे अनि सोचे आमालाई कति दुख्यो होला !? म त्यही छेउमै बसेर तुलुतुलु हेरिरहेको थिए । घरि-घरि सबै जनाले निकै आत्तिदै आमालाई बोलाउनु हुन्थ्यो ।
गाउँमा हैजा आयो भन्ने हल्ला मैले पनि अलि अलि सुनेको अहिले पनि सम्झिन्छु । सबैको कुरा त्यही हुन्थ्यो, फलानो गाउँमा एकै परिवारका यतिजना मरे रे ! फलानो ठाउँमा उति जना बिरामी परे रे । एउटै चिन्ता हुन्थ्यो,"अब यहाँ पनि कुन दिन आइपुग्ने होला !?" अनि मैले त कल्पना गर्थे, त्यो कुनै मान्छे खाने खतरानाक भुत होला तर पछी दाइहरुले पो भन्नु भयो त्यो त रोग पो हो रे ! केही दिन पछी माडिचौरमा धेरै बिरामी परेछन । लोग्ने बिरामी परेर अस्पताल लग्दा स्वास्नी पनि १ बर्ष नपुगेका छोरासहित १०/१२ उमेरका छोराछोरीहरुलाई टुहुरो पार्दै बूदा-बूदीलाई नै हैजाले लगेछ । धन्न! हाम्री आमालाई त मासिकाले बचाउनु भयो र त्यस्तो अप्रिय केही सामना गर्नु परेन । उहाँ सच्चा स्वास्थ्य स्वयमसेवक हुनुहुन्थ्यो र हाम्रो भगवान भएर हामीलाई ठुलो गुण लगाउनु भयो । उहाँको जस्तो कृपालु हृदय र पेशा प्रति कर्तब्यनिष्ठ स्वास्थ्यकर्मी पाएर न हामी भाग्यमानी भयौ । आज त्यस्तै मान्छे पाउन निकै गाह्रो छ । तर दु:खको कुरा, उहाँ आँफैलाई बचाउन सक्नु भएनछ । ०६२/६३ सालतिर उहाँको लागि स्वर्गको दोका खुल्ला भएछ । म गुण तिर्न त सकिन सकिन, जिउदो हुँदा एकपटक भेट्न सम्म पनि पाएन । उहाँको मृत्यु काठमाडौंमा नै भएको रहेछ । तर, म न मलामी बन्न सके न त श्रदान्जलीको एउटा पुष्प चदाउन नै पाएँ ।
केही अपवाद बर्ष बाहेक आमा बर्षाको समयमा जहिले बिरामी पर्नु हुन्छ । पोहोर साल पहिले नै सलाइन चदाउनु भएछ र केही हुनु भएनछ । यसपाली पनि अस्ती झन्डै बिरामी पर्नु भएछ तर चाडै गाउँको शाखा हे.पो.मा लगेर सलाइन चदाएर ठीक हुनु भएछ । फोनमा सफा र तातो पानी खुब पिउन, भान्सा एकदम सफा राख्न, बासी खाना खाँदै नखान, आँगन फोहोर हुनै नदिनु भन्दै सके जतिको सल्लाह दिन्छु । तर पनि खोइ किन हो किन मेरो मनलाई नजानिदो गरी एउटा डरले तर्साइरहेको हुन्छ । बालक मानसपतलमा बिर्सनै नसक्ने नराम्रो छाप बसेकोले होला, कहिले काही अलि धेरै याद र चिन्ता लागेर आउछ । आजकाल समाचारमा जहिले त्यही आफ्नो बाल-मस्तिस्क पढिरहेको हुन्छु ।
मैले माथि आफ्नो बाल्यकालको तितो किन पोखे भन्ने बुझ्न त्यति गाह्रो छैन । राती सुत्नु अगाडि समाचार पढ्छु, जाजरकोट र रुकुममा झाडापखालाले मर्नेको संख्या २०० बदी रे ! बिहान उठ्छु, शुरुमै अन्लाईन खबर खोल्छु, नियन्त्रण हुनु त कहाँ हो कहाँ (!?) थप मृत्युको खबर हुन्छ । अर्घाखाँचीमा पनि ४० जना जती बिरामी परे रे, दाङमा पनि सन्क्रमन देखियो.. रोल्पामा ३ जनाको मृत्यु, पुर्बी क्षेत्र प्रभावित रे । सदरमुकाम लिवाङबाट रोल्पाका पुर्बी गा.बि.स. पुग्न पैदल २ दिन लाग्छ । यातायातको सुबिधा हुने कुरै भएन । त्यहा न त योग्य स्वास्थ्यकर्मी नै खताइएका हुन्छन, यदी भइ नै हालेमा पनि न त उनिहरुसँग उपचारका लागि आबस्यक औषधी चाहिने मात्रामा नै हुने गर्दछ । पठाइसके पछी र हिडिसके पछी दुई दिन लाग्ने बाटो हो तर पहल गर्न र पठाउन नै कति दिन लाग्ने हो (?) त्यो कसैले भन्न सक्दैन । त्यहा सम्म पुग्दा महामारीले धेरै जनाको प्राण खोसिसक्छ । हाम्रो देशमा सरकार छ कि छैन ? जनताको लागि सोच्ने पार्टीहरु छन कि छैनन ? एन.जी.ओ. र आइ.एन.जी.ओ. हरु कति छन ? स्वास्थ्यकर्मीहरु कहाँ के गर्दैछन ? दुर्गम ठाउँका नेपालीले यसको उत्तर खोज्ने र जान्ने उनिहरुको अधिकार भित्र परेन । उनिहरु सिर्फ भोट खसाल्न मात्र उपयोगी छन, अरुबेला भोकले मरुन कि रोगले कुनै महत्व हुँदैन । झादापखालाको लक्षण देखिएको तीन महिना भैसक्यो तर हाम्रो स्वास्थ्य मन्त्री र मन्त्रालय कुम्भकर्णे निन्द्रामा मस्तले निदाइरहेका छन । उनै गरीबहरुले नखाइ नलाई कर तिरेर भरेका दुकुती रित्याउदै उनिहरुकै खुन-पसिनामा रजाई गरिरहनु कति सम्मको नैतिकता हो ? प्रधानमन्त्री, सेनापती, नेतागण, छुट्टा छुट्टै हेलिकप्टर चड्दै मिडिया र अरु मान्छेका आँखामा छारो हाल्ने काम गर्दैछन । औषधी पुर्याउने खर्च भन्दा बदी खर्चमा त आँफै घुम्दैछन । यदी झाडापखाला नियन्त्रण गर्न गम्भिर भएर लागेको भए अहिले सम्म खोइ त कुन रोगले गर्दा यती जना गरीब नागरिकको दु:खद निधन भएको जानकारी दिन सकेको ? झाडापखाला आँफैमा रोग होइन, यो त सामान्य लक्षण मात्र हो । रोग नै पत्ता नलगाइ उपचार कसरी गरिदैछ ? झाडापखाला हुँदा सामान्य रुपमा नून,चिनी र सफा पानीको मिश्रन अत्यधिक मात्रामा पिउनु नै यसबाट बच्ने उत्तम बिधी हो । तर, यसैका कारण अकाल मृत्युले गर्दा कोही बाबु-आमाबिहिन भैरहेका छन, कोही सन्तानबिहिन । कति परिवारका बालबच्चाले घरकै मुली गुमाएर रुवावासी र कोलाहलपूर्ण जीवन भोग्न वाध्य छन । कतिलाई आफ्नो सर्बस्व ठानेका जीवन साथी र प्यारो सन्तान अचानक गुमाउनु पर्दाको पिडाले मर्माहत बनाइरहेको छ ।
देशमा भएका स्वास्थ्यकर्मीहरु पनि बिकट र कम पैसा भएकाले नतमस्तक भएर राजधानी, सदरमुकाम र ब्यापारिक शहरहरुमा कानमा तेल हाल्दै नतमस्तक भएर बसिरहेका छन । बिदेशमा पढेका आफ्नै देशका हुनेवाला डाक्टरहरुलाई प्राक्टिकल गर्न कहिले रोक्ने-छेक्ने त कहिले ढोग्ने-भोग्ने नियम बनाउने स्वास्थ्यकर्मीहरुको संगठन यतिबेला सम्म पनि कता अल्मलिरहेको छ ? सबै पक्षलाई घच्घच्याउनु पर्ने र आँफै केही कार्यक्रम लिएर अग्रसर हुनु पर्ने त अहिले सम्म पनि एउटा लाजमर्दो मौनता साधिरहेछ । चाइना र अरु देशहरुमा सैदान्तिक ज्ञान हासिल गरिसकेर आफ्नै देशमा आएर बिना तलब सेवा गर्छु भन्नु कहाँ निर भुल भएछ ? यतिखेर उनिहरुलाई महामारी फैलिएको क्षेत्रहरुमा पुर्याउन सकेको खण्डमा फाईदा कस्लाई पुग्ने थियो ? विद्यार्थीहरु आँफैले थप सिक्ने मौका त पाउने नै थिए, त्यो भन्दा ठुलो त उनिहरुले संकटको बेलामा आफ्नो देश र समाजका बिरामीको उपचार गरिदिएर देशलाई नै महामारीबाट बचाउने थिए र उचित सदुपयोग र लाभ हुने थियो । उनिहरुले आफ्नो देशको दयनीय स्वास्थ्य अवस्था त अबश्य देख्न पाउने थिए नै, साथै सिकेका कुरा सुरुमै प्रयोग गर्न पाउदा केही गर्न थप प्रोत्साहित र उत्साहित हुने थिए ।
स्वास्थ्यकर्मी जतिसुकै अब्बल भएर सरकारी खर्चमै पढेको भए पनि आफ्नो पेशा प्रति इमान्दार भएन र हुन सकेन भने कुनै अर्थ रहदैन । मुख्यत: उसले आफ्नो पेशा प्रति दायित्वबोध गर्नु हो । समाजका अस्वस्थ मान्छेहरुलाई सन्चो पारेर स्वस्थ देश बनाउन योगदान दिन कत्तिको आफ्नो कर्तव्य ठानेको हुन्छ !? त्यसैमा भर पर्छ । सच्चा जनसेवी भएर चिकित्सा क्षेत्र रोजेको हो वा शहरकेन्द्रित रहेर पैसामा होली खेल्न !? त्यसमा पनि निर्भर हुन्छ । मलाई लाग्छ, मानव सेवा खुल्ला हृदयले गर्नु पर्छ र यो आँफैमा एक धर्म हो । त्यसैले पढेको संस्थाले भन्दा पनि ब्यग्तिगत भावना र इच्छाशक्तिले निर्क्योल गर्ने बिषय हो । बरु सबैको उदेश्य एउटै बनाइ सके जती चाडो निरोगी देश नेपाल बनाउने प्रण गरौ । भावी कर्णदारहरुलाई कुनै बाधा-अबरोध बिना मार्गप्रशस्त गरौ । देश बाहिर र देशभित्र पढेको भन्दैमा बिभेद गर्नु निकै पूर्बाग्रहि सोच हो । हाम्रो देशको कानून र नितीनियम अझै जनमुखी र गाउँमुखी हुन सकेको छैन । दुर्गम गाउँहरुमा एक प्याकेत जीवनजल र पिउने सफा पानीको अभावमा गरीबहरु मरिरहदा राजधानीका महँगा सभाहल र गोस्ठीहरूमा यो गर्छु र त्यो गर्छु भनेर भाषन गर्नुको कुनै तुक छैन । स्वास्थ्यसचिव मन्त्रिको पछी-पछी लाग्न छाडेर पखाला प्रभावित क्षेत्रको बस्तुस्थिती बुझ्न जानु पर्दछ । राज्यको दुकुतिबाट पढेका स्वास्थ्यकर्मीहरु पनि अनिवार्य रुपमा उतैको क्षेत्रमा परिचालन गरिनु पर्दछ । सरकारी कर्मचारीहरु पनि तलब बृदिको माग राख्दै सिंहदरवारमा उफ्रिनु अघी स्वयमसेवक भएर सामाजिक चेतना फैलाउन जुट्नु पर्दछ । साम्यवादको सपना देख्ने कम्युनिस्ट प्रधानमन्त्रिले आफ्नो तलब कताएर औषधी किन्ने आँट राख्नु पर्दछ । सर्बहारा बर्गको मुक्तिदाता ठान्ने नेताले एक छाक भोकै बसेर खाद्यान्न पुर्याइदिनु पर्दछ । नत्र उतिखेर ४० को दशकको नेपाल र यतिखेरको ६० को दशकको नेपालमा के फरक भयो त ? मेरी आदरानीय आमालाई बिउझाउन त दयालु मासिका आइपुग्नु भयो तर अरु बेहोस आमाहरुलाई कस्ले बिउझाउने ? जहाँ लक्षण देखिएको तीन महिना भैसक्दा पनि कुन रोग हो सहि पहिचान गरिदैन र कसरी महामारीको रुप लियो भन्ने कारण खोजिदैन भने मृत्युको मुखमा पुगेका हजार आमाहरुलाई कसरी बचाउने ? जब तीन दशकको अन्तरालमा पनि केही परिवर्तन भएन भने एक्काइसौ शताब्दीका मान्छे भन्दै घमण्ड गरेर मात्र के गर्नु ? त्यही समस्यासँग जुध्न र फेरी त्यही नियती भोग्नु परिरहेको छ । हाम्रो सरकारले स्वास्थ्य र शिक्षालाई आम नागरिकको अत्याबश्यक न्युनतम नंसर्गिक अधिकारको नारा लगाएको पुष्टि गर्नु पर्ने भएको छ । अचेल पनि दिनहुँ म त त्यही डरलाग्दो आफ्नो बाल्यकाल देखिरहेछु, बिर्सनै नसक्ने क्षण झल्झली सम्झिरहेछु । त्यसबेला मेरो परिवार माथि आइपरेको दशा भेटिरहेछु । यि मैले पढिरहेका प्रत्येक शब्दहरुमा कता कता त्यतिबेलाको आफ्नो दुर्दशा भोगिरहेछु । यतै छेउमा कतै उसै गरी आफ्नो आमाको क्रन्दन र आफ्नै परिवारको चित्कार सुनिरहेको हुन्छु । कता कता अनगिन्ती भाइबहिनीहरु अद्रिश्य भगवान र देउतासँग मैले जसरी नै आफ्नी आमाको भिक्षा मागिरहेको देख्छु । म अहिले पनि प्राथना गर्छु, त्यस्तो दिन कसैले पनि कहिल्यै भोग्नु नपरोस । त्यस्तो क्षणलाई हामीले टाढा टाढाबाट पनि नियाल्नु नपरोस । तर, त्यो धेरै पहिले थियो, हामी आज बर्तमानको कुरा गर्नु छ । त्यसैले, त्यो बेला र यो बेलामा केही फरक त हुनै पर्छ । त्यतिखेरको दुर्गम गाउँ र यतिखेरको दुर्गम गाउँमा केही सुगमता त पाउनै पर्छ । त्यो बेला र यो बेला, त्यतिखेर र यतिखेरको तुलना गरौ र आकाश पातलको फरक नभए पनि केही न केही त परिवर्तन हुनै पर्छ । राजधानी-सदरमुकामका नेपाली नागरिक र बिकट कुना-काप्चाका नेपाली नागरिकको आयु बराबरी पार्नै पर्छ । किन कि, त्यो समय हाम्रो थिएन, हाम्रो बेला थिएन । अहिले र आज हाम्रो समय हो, हाम्रो बेला आएको छ ।
Friday, July 24, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment