Friday, April 2, 2010

एक अपवाद भैदिएको भए !

साँझपख अस्ताउने घाम बिहान झुल्के जस्तै
मिर्मिरेमा बिलाउने जून साँझ टल्के जस्तै
मेरो बुवा गएर'नि फेरी फर्की आउने भए,
मैले सधैं धैर्य गर्दै आउने बाटो कुर्ने थिएँ ।

नदीनाला बाफ पछी बादल बनी बर्षे जस्तै
फूलको हाङा रोपेपछी नयाँ बिरुवा उम्रे जस्तै
मेरो बुवा स्वर्गे पछी फेरी बिउँझी उठ्ने भए,
मैले सधैं आशिष र न्यानो काँख पाउने थिएँ ।

पहाडहरु समयसङै समथर मैदान बने जस्तै
मरुभुमी अचानकमै बिशाल सागर बने जस्तै
मेरो बुवा बिधीको बिपरित-दिशा घुम्ने भए,
मैले सधैं दर्शनमा हाँसी-खुशी जिउने थिएँ ।

जङलका रुखहरुले ऋतु-ऋतु रुप फेरे जस्तै
कुहिरोले प्रकृतिलाई एकछिन छोपी खुले जस्तै
मेरो बुवा अलप भएर फेरी सामु आउने भए,
भगवान पूज्न आस्था र विश्वाश राख्ने थिएँ ।

गौतम बुद्ध दरबार त्यागी भिक्षु बन्न हिंडे जस्तै
ज्ञान पाउन सन्त-महान्त भेषधारण गरे जस्तै
मेरो बुवा तथास्तुको वरदानमा मिल्ने भए,
जीवनभरी योगी बनी तपस्यामा लीन हुने थिएँ ।
२० चैत्र, २०६६

No comments:

Post a Comment