Monday, May 2, 2011

दुई बर्ष दुई दिन पछी

बुवाको देहान्त भएको पनि आज दुई बर्ष दुई दिन भैसक्यो । यस अबधीभर हामीले धेरै समय रोएर कटायौ, थोरै समय हाँस्न खोजेर बितायौं । आफुमाथि जे आइपर्छ सो भोग्नै पर्ने र सहनै पर्ने नियतिका कारण असह्य भए पनि जसोतसो जिउन वाध्य भएका छौं ।

मलाई बुवा बिना सुरु भएका ति पिडादायी दिनहरु बिताउन निकै गाह्रो भएको थियो । जतिखेर पनि आँखा अगाडि बुवाको मुस्कुराइरहेको शान्त स्वरुप आउथ्यो, दिमागमा बुवाकै याद मात्र झलझली आइरहन्थ्यो । पढ्न बस्थें, बुवासँग सम्बन्धित रोग र तिनका प्राय लक्षणहरु हुन्थे अनी रुदै-रुदै कम्प्युटर बन्द गरिदिन्थें । मनलाई अन्तै मोड्न र अली शान्त पार्न बाहिर पार्कतिर निस्कन्थें, बाटोको छेउछाउ बुदाबुदी मान्छेहरु तुक्रुक्क बसिरहेका हुन्थे । कोही बुवाहरुले छोराको हात समाएर रमाउदै हिडिरहेका हुन्थे । कोही बुदा मान्छेहरुको अनुहारमा बुवा देख्थें, त कोही बच्चाहरुको अनुहारमा स्वयम आँफैलाई भेट्थेँ । अनी झन मुटु कतक्क खाएर आउथ्यो, दु:ख झन-झन बदेर आउथ्यो । तर पनि आफुलाई सम्झाइरहें, सकी नसकी चित्त बुझाउने कोशीस गरिरहन्थें, गरिरहें ।

मलाई अझै पनि राम्ररी याद छ, बुवाको शोकमा खुशी हराएको बेला बि.बि.सी. नेपाली सेवाले पहिलो खुशी दिलाएको थियो । लगभग दुई महिनाको अन्तरालमा मैले पहिलो पटक खुशीसँग साक्षर गरेको थिएँ । त्यो दिन जेष्ठ १४ गत्ते थियो, लोकतन्त्र दिवसको दिन । बि.बि.सी. ले मेरो टिप्पणीलाई छनौट गरेर आफ्नै आवाजमा प्रसारण गर्ने मौका दिएको थियो । मैले धेरैपछी बल्ल त्यो दिन कता कता अन्तरात्मामा अली अली भए पनि हर्षको अनुभुती गरेको थिएँ । त्यसदिन, मलाई पुराना खुशीका आफ्नै दिनहरुको थोरै स्पर्श र स्मरण भएको थियो ।

मलाई सधैंभरी बुवाको अभाव भौतिक रुपमै खट्किरहेको त थियो नै, मानसिक रुपमा भित्र भित्रै गल्दै पनि गएको थिएँ । त्यो निर्दयी क्षणहरुमा मन मिल्ने एउटा प्रिय साथी नहुँदा म प्रायजसो गुम्सिएर नै बसेँ । मलाई दौतरीहरुको सम्झनाले खुब पोलेको थियो । मनभित्र भावनाको उकुसमुकुस र आलो घाऊको पिडाले निकै मर्माहत र साह्रै कमजोर भएको थिएँ । अहिलेसम्म त्यत्तिको मेरो आत्मबल कहिल्यै घटेको थिएन, त्यत्तिको कमजोर छु भन्ने आफुलाई कहिल्यै लागेको पनि थिएन । मेरो मनमा एउटै कुरा आउथ्यो," भगवान! नेपाल छिट्टै गएर आमासँग हरेक समय सङै बिताउन पाउँ । मेरो आमाको आयु मेरोबाट घटाएर भए पनि अझै धेरै बर्ष थपिदेउ ।" तर समय न चाडो न त ढिलो चल्ने हो । त्यो समय मेरो बसमा थिएन । मलाई आफ्नो अध्ययनको पुरा समय त बिताउनै पर्ने थियो । त्यतिखेरको चरम निराशालाई सान्त्वना दिन फेसबुकले मलाई राम्रो साथ दिएको थियो । शायद मैले फेसबुकमा भेटेका ति पवित्र आफन्तहरुको ऋण कहिल्यै तिर्न सक्ने छैन । म सधैंभरिका लागि आभारी रहनेछु ।
-----------------------------------------
म इन्टर्न्शिप गर्न नेपाल आउने भए पछी बुवा बिनाको घरमा पहिलो पटक कसरी पाइला टेक्ने भन्ने डर थियो । मेरी आमालाई बुवाबिना एक्लो पाउदा कसरी मन थाम्न सकुँला, जस्ता अनेक तर्कनाहरुले पिरोलिरह्यो । मेरै लागि जेठा दाजुले पनि नेपाल आउने योजना बनाउनु भएछ । काठमाडौंमा भेटेर सँग सङै घर जाने सल्लाह भएको थियो । त्यसै अनुरुप उहाँ अप्रिल ३ मा नेपाल आउनुभयो तर मेरो अली नमिल्ने भयो । तसर्थ, मेरो बस्ने ब्यबस्थाहरु मिलाएर दुई हप्ता पछी बल्ल रोल्पा जानुभएको थियो । रोल्पामा आमा हुनुहुन्छ, दिदी भेनाजुहरु हुनुहुन्छ, सबै इष्तमित्र हुनुहुन्छ । आज फोन गर्नुभयो र एउटा खुशीको कुरा सुनाउनुभयो । बुवा स्वर्गे भएको दुई बर्ष पुगेको दिन हाम्रो गाउँको स्कुललाई बुवाको नाममा एक लाख सहयोग गर्दिनुभएछ । यो सुन्दा मेरो छाती घमण्डले होइन गर्वले गमक्क फुलेको थियो ।

एउटा लाहुरे । पैसाको लागि आफ्नो जिन्दगी बन्धकी राखेर प्रदेश पसेको मान्छे । जो कसैको कल्पनामा पनि निर्मम अनी अती क्रुर प्रतिबिम्ब झल्किन्छ । तर त्यसको ठीक बिपरित एउटा सम्बेदनशील मन जंकोटलाई हृदयदेखी माया गरिरहेछ । शिक्षाको सानो बिरुवालाई बचाउन र हुर्काउन कोमोल माली बनेर पानी सिंचिरहेछ । अध्यारोमा निभ्न लागेको मधुरो बत्तिलाई थोरै भए पनि हत्केलाले हावा छेक्न खोजिरहेछ । शिक्षाको ज्योति फैलाउने स्कुलका लागि केही किरण थपिरहेछ । भन्न मन लाग्यो, 'जँकोटको अशली छोरा' । मैले अहिले इमान्दरिपुर्बक भन्नु पर्दा 'मेरै दाजु साइनोको सेन्टिमेन्ट' मात्र छैन, एउटा जँकोट गाउँवासीको नाताले भनिरहेकोछु । अलिक पैसा कमाएर आफ्नो छोरा छोरीलाई शहरबजारका बोर्डिङ स्कुलतिर भर्ना गर्नेहरुले आफ्नो गाउँका ति गरीब आफन्तहरुको बालबच्चाहरुले पढ्ने स्कुल र शैक्षिक स्तरका बारे चिन्ता गर्नु र सकेको योगदान गर्न खोज्नु एउटा गहन जिम्मेवारीपन हो ।

मेरो दाजुले अर्काको मातोलाई आफ्नै जसरी सेवा गरेर कमाउनु भएको पैसा लिएर आफ्नै गाउँ र गाउँलेका लागि थोरै खर्चिनु भयो, एउटा गाउँवासीको नाताले मैले पनि गाउँको लागि केही गर्नु आफ्नो कर्तव्य ठानेकोछु । यो मेरो लागि यो थप हौशला बन्नेछ ।
मेरो दाजुको नाताले जसरी उहाँ अरु लाहुरेले झै ब्यक्तिगत जीवन भन्दा बिपरित गाउँ, समाज र देशको प्रगती र परिवर्तन बारे प्रिथक मान्यता राख्नु हुन्छ, त्यसरी नै मैले पनि गाउँ, समाज र देश बिकासका लागि केही उन्नतिशील कार्य गर्ने प्रण गर्दछु र मेरो जन्मस्थललाई केही न केही योगदान दिनु आफ्नो कर्तव्य ठान्दछु ।
अन्तमा बुवाको मार्गदर्शन अनुरुप हामी सधैं अघी बदिरहौं ।
हाम्रो बुवाको आत्माले सदैव शान्ती पाइरहोस् ।
हार्दिक श्रद्धान्जली !
3rd April 2011

No comments:

Post a Comment