Tuesday, March 30, 2010

कृया-प्रतिकृया

कांग्रेस सभापति एवम भुपु प्रधानमन्त्री तथा उच्च स्तरिय राजनैतिक संयन्त्रका संयोजक गिरिजा प्रशाद कोइरालाको मृत्‍युको दिन मैले एउटा श्रद्धान्जली कबिता ‘श्रदान्जली ! गिरिजाबाबु’ लेखेको थिएँ । त्यही दिन फेसबुकको नोटमा पनि राखिदिएँ । बिभिन्न किसिमका थुप्रै प्रतिकृयाहरु आए । बिशेष गरी फेसबुकमा साथी बने पनि दोहोरो कुरा नभएको मित्र श्रीराम आचार्यको टिप्पणी यस्तो थियो ।

“एक ससक्त राजनितिक पुरुषको मृत्युले जनमानसमा अबश्य पनि बितृष्णा छाउँछ नै तर यति धेरै श्रद्धय र उपनामहरु गिरीजाबाबुको काँधले थाम्दैन । ६० बर्षे राजनिती कालमा उनले देशको लागि के गरे ? देशमा १२ बर्षको प्रजातान्त्रिक कालमा धेरै समय देशको लिड गरेका योद्धाले देश बनाउन के गरे ? जनताले १० बर्ष गृह युद्ध भोगे कस्को कारणले ? आज भन्दा ४० बर्ष अगाडी कोरीया र नेपालको रानैतिक र आर्थिक अबस्थामा केही फरक थिएन । तर अहिले कोरिया कहाँ छ र हामी कहाँ छौ ? नेपाली जनताले उनीबाट केही खुसी पाएनन्, न बिकाश, न त शान्ति नै । मेरो भन्नुको मतलब उनको मृत्युमा खुसी ब्यक्त गरेको भन्ने अर्थमा नलिनु होला, मलाइ पनि दुख छ तर कसैको मृत्यु पछि गुणगान गाउने अनि कर्तुतलाइ भुल्ने चलनले हामीलाइ बिगारेको छ । गिरिजा जस्ता योद्धा जति पनि छन् तर गिरीजा बाबुले त्यो स्थानमा अरु कसैलाई जान नदिनु नै उनको महानता हो ।“
यसमा मिना बान्तवा 'म्रिदु' जीको पनि समर्थन थियो । उहाँको आशय राजनीति एक फोहोरी खेल भएकाले आफुलाई कुनै स्वार्थी नेताको मृत्‍युमा चासो नरहेको बिचार राख्नु भएको थियो । उहाँको भावना बुझ्दा एक सशक्त राजनैतिक प्रतिपक्षी झै लाग्थ्यो ।
उहाँहरुको आपत्ति तिब्बत दर्लामी जीले गिरिजाबाबुको पार्थिब शरीरमा चदाएको श्रद्धान्जलिमा पनि थियो ।

मैले उहाँहरुको भनाइमा प्रतिकृया जनाउ कि नजनाउ भनेर धेरै सोचें र अन्त्यमा आफ्नो बिचार राख्दा उचित हुने सोचेर केही लेखें । त्यही कुरालाई नै यहाँ सारेको मात्र छु ।

श्रीराम जी, गिरिजाबाबुले ६० बर्षे राजनैतिक जीवनमा के के गर्नुभयो अथवा कती राम्रा र कती नराम्रा भन्ने कुरा अबश्य पनि ईतिहासले मुल्याङ्कन गर्ने नै छ । अहिले बिगततिर जान चाहिन तर बर्तमानमा उहाँको जुन आवश्यकता राष्ट्रलाई थियो, त्यो चानचुने नेताले पुर्ती गर्न सक्ने स्थान पक्कै पनि होइन । कांग्रेस पार्टीका सभापति भए पनि सबै दलका साझा अभिभावक, बिदेशीलाई विश्वाशमा लिन सक्ने छबी अहिले उहाँको बराबर अरु कसैको छ जस्तो लाग्दैन । फेरी उहाँ शान्ती प्रकृयाको मुख्य अंश र नेत्रित्व पनि हो । तपाईंले जुन कुरा उठाउनु भएकोछ, त्यसमा म पनि सहमत छु । मृत्यु पछी गुणगान गर्ने सन्स्कारको बिपक्षमै छु । तर आज उहाँको चिता नजल्दै उहाँले गर्नु भएको राम्रो र नराम्रो कार्यको हिसाबकिताव गर्नु उचित ठानिन । तपाईंको सकरात्मक सुझावका लागि आभारी छु ।

हामी कोही पनि मान्छे गुण र दोषरहित हुँदै हुँदैनौ । त्यसैले, उहाँको थुप्रै कमजोरीहरु मध्ये पदिय लोभ पनि एक हो । तर गिरिजा प्रशाद कोइराला कसैको नेत्रित्त्व बिकासमा सडकको पत्थर सरह बनेको बखत अगाडि बद्नेले पत्थर फालेर अघी बद्न नसक्नु बतुवा वा यात्रु स्वयमको पनि कमजोरी हो जस्तो लाग्छ । यस कुरामा शेर बहादुर, सुशिल, रामचन्द्र वा अरु कसैले बिरोध गरेको सुन्ने मौका मिलेन । बरु उनिहरु कसरी हुन्छ गिरिजाको नजिक हुन चाकरी गरेको पो खुब सुन्निन्थ्यो । यस अर्थमा गिरिजाको मात्र कमजोरी भनेर दोष थोपर्नु सहि लागेन ।

मिना जीले बिगतका केही कुराहरु पनि खोतल्नु भएकोथियो जस्तै राजा मरेर गद्धी खाली हुँदैन, बिरेन्द्र मरेर अर्को आयो अर्थात पुष्पलाल, वि. पि. मरेर अरु आएकै छन । ईतिहासका केही अध्यारा पक्षहरु राखिदिनु भयो । आशा छ, अब यसरी नै बर्तमान र भबिश्यका थप अध्यारा- उज्याला कुराहरु पनि शेयर गर्दै जानुहुनेछ । मैले पनि केही नयाँ र सत्यतथ्य कुराहरु बुझ्ने र सिक्ने मौका पाउनेछु । तपाईंले उठाउनु भएको अरु कुनै कुरामा टिप्पणी गर्न चाहिन वा यसो भनौ- मैले सकिन, मेरो बौदिकताले नभ्याएको हुनसक्छ । माफ गर्नुहोला ।

हुन त यसरी भन्न हुन्छ या हुँदैन तर मलाई आफ्नै कबिता बारे केही लेख्न मन लाग्यो । शुक्रवार राती मैले एउटा डरलाग्दो सपना देखेको थिएँ । म लगायत धेरै जना जहाजमा उडिरहेका थियौ तर अरुको अनुहार भने याद गर्न सकिन । जहाज ल्यान्ड गर्ने समय नजिकिदै थियो, तर भुइतिर हेरेको त कालो बादल मडारिरहेको देखें, चट्याङ पनि परिरहेको थियो । तलतिर हेर्दा अध्यारो बादल र चट्याङ मात्र देखिन्थ्यो । हामी त्यस अवस्थामा रहे पनि आत्तिएका भने थिएनौ, बिमान पनि सन्तुलित नै थियो । अब जहाजलाई बैकल्पिक स्थानमा अबतरण गर्न खोज्दै थियौ, तर मेरो मनमा अली अली चिसो भने पसेको थियो । यत्तिकैमा म बिउझिएँ ।

समाचार हेरें, गिरिजाबाबु बेहोस् हुनुहुन्छ भन्ने फ्ल्याशमा देखाइरहेको थियो । आश त मारिनँ तर पनि मन मनै सोचे र साथीहरुलाई पनि भने "अब गिरिजाबाबु बाँच्नु हुन्न" । उहाँको समस्या COPD मात्र नभएर उमेर पनि थियो । दिउसोतिर समाचारमा नआउँदै साथीहरुबाट उहाँको देहान्त भएको दु:खद खबर पाएँ । मेरो सपनाको बिमान र गिरिजाबाबुको मृत्‍युमा शान्ती र संबिधान निर्माण प्रकृया तुलना गरेर हेरेँ, उस्तै उस्तै लाग्यो । अनी त्यसैलाइ एउटा कबिता बनाइ श्रद्दान्जली दिने सोचेर यो कबिता लेखें ।

गिरिजाबाबु राणा, पञ्च र राजतन्त्र बिरुद्ध लड्ने एक योद्धा अबश्य हुनुहुन्छ । उहाँले ६ दशक राजनीतिमा जीवन बिताउनुभयो, ५ पटक प्रधानमन्त्री पनि बन्नुभयो । उहाँको जीवनकालमा बिभिन्न उतारचदावहरु पक्कै आएकै हुन, हामी सबैले उहाँको शासन धेरथोर भोगेकै पनि हो । उहाँले के के र कती राम्रा/नराम्रा कामहरु गर्नुभयो त्यो एउटा बहसको पाटो हुने नै छ र ईतिहासले मुल्याङ्कन गर्ने नै छ । तर मेरो बिचारमा शान्तिप्रकृयामा उहाँले जुन भूमिका खेल्नुभयो, त्यो अबश्य पनि हामीले बिर्सनु हुँदैन । हुन त घटनाहरु परिस्थितीमा भर पर्छ तर पनि ब्यक्तिले पनि प्रभाव पार्ने गर्दछ भन्ने मेरो बुझाई छ । यस अर्थमा, उहाँको सम्मान गर्न म कन्जुस गरेको थिएनँ र गर्ने छैन पनि । शान्तिप्रकृयाको एक धरोहरको मृत्‍युले कतिपय कुरा गोप्य रहे र गोप्य नै रहने भए । उहाँको नेत्रित्वमा सुरु गरिएको शान्तिप्रकृया उहाँकै पालामा एउटा बिन्दुमा पुग्न सकेको भए सजिलो हुनेथियो । ब्यक्ति त उहाँको ठाउँमा अर्को आउँला, अझै सकारात्मक मार्ग भेटिन सक्ने सम्भावना पनि रहन्छ तर उहाँको योगदान पछी पछीसम्म पनि सम्झिनु पर्ने हो जस्तो लाग्छ । मैले शान्ती प्रकृया र संबिधान निर्माण असफल होला, देश बिषम गृहयुद्धमा फस्ला र नेपालीको भबिश्य अन्योल होला भन्ने नागरिक चिन्ता मात्र गरेको हुँ । म कुनै पनि 'वाद' र 'ब्यक्ति'को दास बन्ने कल्पना पनि गर्न सक्दैन । कुनै सिद्धान्तको सीमित घेराभित्र रहनुपर्छ भन्ने पनि लाग्दैन, ति एक कालखण्डमा ठीक थिए तर समय अनुसार परिमार्जन गरिनु पर्ने हुन्छ । कसैको दु:ख र मृत्‍युमा भावनात्मक कुरा पनि स्वत: आउछ नै । यस अर्थमा तिब्बत जीले गिरिजाबाबुको पार्थिव शरीरमा श्रद्दान्जली स्वरुप एक थुङा फूल अर्पण गर्नु भएकोमा खुशी लाग्यो, भलै मलाई त्यो मौका मिलेन ।

बाजे पुष्टाका गिरिजाबाबुको राजनैतिक जीवनमा कलम चलाऊने वा उहाँको राम्रो र नराम्रो पक्ष केलाएर बिश्लेषन गर्न सक्ने क्षमता मसँग छैन । उहाँले अन्तिम क्षणमा जुन भूमिका खेलिरहनु भएको थियो, मेरो लागि त्यो महत्वपूर्ण थियो । मलाई लाग्छ, हामी नेपालीलाई शान्ती चाहिएको छ, त्यो पनि मुर्दा शान्ती होइन । संबिधान चाहिएको छ, त्यो पनि जनताले परिवर्तनको प्रत्यक्ष्य अनुभुती गर्न पाउने खालको । यसमा मेरो मस्तिष्क र दृष्टिले गिरिजाबाबुको आवश्यकता देखेको थिएँ, त्यो पुरा भएन । मेरो सपनाको जहाज र गिरिजाबाबुको मृत्युमा शान्ती प्रकृया तुलना गरेर श्रद्धान्जली दिन खोजेको मात्र हुँ । उहाँको मृत्युपछी अन्ध समर्थन गर्दै भक्ति गाण गरेको होइन ।

कबिता सँग सँगै श्रद्धान्जली अर्पण गर्न हुने अग्रज र मित्रहरुमा हार्दिक आभार प्रकट गर्दछु । फेरी पनि शोक सन्तप्त परिवारजन प्रती हार्दिक समबेदना र गिरिजावाबुको चिरशान्तिको कामना ।
22 March,'10

1 comment: