Wednesday, December 16, 2009

पहिलो दिनको पहिलो च्याट

हाम्रो युनिभर्सिटी नयाँ ठाउँ फुयान्शामा सारीसके पछी रूममा नेटको सुबिधा थिएन । हिजो साँझबाट फेरी आफ्नै रूममा बसेर कम्प्युतरमा नेट चलाऊन पाउदा रमाइलो लागिरहेको छ । धेरै जना फेसबुक मित्रहरुले कता हराउनु भएको भनेर सोध्नु भयो । कसै कसैले फेरी यसरी बेपत्ता नहुन सल्लाह दिनुभयो । यस अबधीमा, संपर्कमा रहेका थुप्रै साथीहरुसँग निरन्तर संपर्कमा हुन नसक्दा अली टाढा पनि भईयो । भनेको समयमा ब्लग अपडेत गर्न, समाचार हेर्न र केही कुराहरु नेटमा खोज्न पनि अली अप्थ्यारो परिरहेको थियो । अब ति सबै समस्या नेटको आगमनमा स्वत: समाधान भएका छन ।

हिजो हाम्रो हस्पितल भिजित थियो । हस्पितलबाट पाँच बजेतिर होस्टेलमा फर्किदा नेट जोड्दै रहेछ । हामीले त आज मात्र आउछ होला भन्ने सोचिरहेका थियौ तर हिजो नै दियो । रात पर्न थालेकाले छिटो छिटो आइ.पि. एड्रेस लिएर आँफैले जोड्यौ । खाना खाएर राती एकछिन फेसबुकमा अन्लाईन बसेको थिएँ । स्कुलको सर श्याम पुन र रोल्पाली पत्रकार मनोज मगरसँग कुराकानी भयो । मनोज माओवादीहरुले भोली पाल्पामा घोषणा गर्न लागेको मगराँत स्वायत्व गणराज्य कार्यक्रमको लागि पाल्पा जानु लाग्नु भएको रहेछ । उहाँले पाल्पाबाट सिधै दाङ गएर विद्यार्थी सम्मेलनमा सहभागि जनाई रोल्पा घरसम्म नै पुग्ने योजना बनाउनु भएको रहेछ । जे होस्, उहाँले एक हप्ताको लागि काठमाडौं बाहिर बिताउने मनस्थितिका साथ आज काठमाडौं छाड्दै हुनु हुदोरहेछ ।

श्याम सरले एक महिना जती अघी "चन्द्र, म तिम्रो स्कुलको स्पोर्टस टिचर । याद छ ?" भनेर म्यासेजसँगै फेसबुकमा एड रिक्वस्ट पठाउनु भएको थियो । तर फेसबुक चलाऊन चाइनामा बन्देज गरिएकाले थाहा भएर पनि एक्सेप्त र रिप्लाई गर्न सकेको थिएन । हिजो बल्ल प्रोक्सी साईटबाट गएर उहाँको एड एक्सेप्त गरे । उहाँको पनि आज बिदा रहेछ, त्यसैले अन्लाईन आउनु भएको रहेछ । शुरुमा नै आफ्नो परिचय दिनुभयो । सम्झना छ कि छैन ? भनेर सोध्नुभयो । उहाँलाई मैले भुलिसके कि ! भन्ने लागेको रहेछ । मैले त झनै बिर्सिने कुरा नै थिएन । उहाँ आजकाल पढाउन छाडेर मकाउमा हुनु हुदोरहेछ । धेरै लामो कुरा गर्यौ, बिशेष गरी जिप्स होस्टेलमा सँगै बिताएका दिनहरुका बारे । उहाँ जिप्समा हुनेबेला स्वास्थ्य तथा शारिरिक शिक्षा पढाउनु हुन्थ्यो । उहाँ हाम्रो होस्टेल वार्डेन पनि हुनुहुन्थ्यो । उहाँले होस्टेल छाड्ने बेला मलाई निकै नरमाइलो लागेको थियो । " श्याम सर र हाम्रो भेट भईरहे पनि अब यही कोठामा यसरी कहिल्यै सँगै हुँदैनौ होला है !" होस्टेलमा उहाँको अन्तिम रात यही कुरा मैले साथीहरुसँग भनेको अझै याद छ । उहाँले हाम्रो भावना राम्ररी बुझ्न सक्नुहुन्थ्यो । उहाँले गल्ती गर्दा सजाय दिने र अशल विद्यार्थीलाई धेरै माया गर्ने गर्नुहुन्थ्यो । ६ र ७ कक्षाका दुई बर्ष एकै भान्छामा पाकेको खाने, एउटै रूममा सुत्ने, सँगै फुटबल खेल्ने गर्थ्यौ । कुरा गरुन्जेल म अझै पनि जिप्सको ६ कक्षामा नै पढिरहेको छु जस्तो लाग्यो । कृष्ण सर र धामी सरको हत्या भएको कुरा आउँदा दुबैलाई निकै भावुक बनायो । पहिले कृष्ण सरलाई भेट्ने निहुमा जिप्समा गैरहन्थे तर उहाँहरुको हत्या पश्चात बाध्यताले तीन चोटि मात्र गएकोछु । जब म जिप्सको गेट भित्रबाट छिर्छु, जताततै कृष्ण सरसँग बिताएका झल्कोहरुले पोल्न थाल्दछ । उहाँहरुसँग मेरो बालस्म्रिती जोडिएको र मेरो जीवनको केही अंश गाँसिएको हुनाले मैले चाहेर पनि बिर्सन सक्दैन । मैले उहाँहरुलाई बिर्सनु मेरो आफ्नै बाल्यकाल बिर्सनु हो र बाल्यकाल बिर्सनु आफ्नै जीवन बिर्सनु हो । उहाँहरुसँग मेरो बालस्म्रिती जोडिएको र मेरो जीवनको केही अंश गाँसिएको हुनाले मैले चाहेर पनि बिर्सन सक्दैन । उहाँले मेरी भतिजी मनिषाको बारे पनि सोध्नु भयो । मनिषा त्यतिखेर नर्सरीमा पढ्थिन् । उहाँलाई अझै पनि नाम याद रहेछ । उहाँले खुब माया गर्नुहुन्थ्यो । साँझ बिहान हातमुख धुन जाँदा आउँदा उनको हातमा समातेर अघी अघी हिंड्नु हुन्थ्यो ।

मैले स्कुलमा केही गल्ती गरेको भए माफ गर्न आग्रह गरें । उहाँले मैले कहिल्यै कुनै गल्ती नै नगरेको जवाफ फर्काउनु भयो । भबिश्यमा धेरै राम्रो गर्दै जान प्रोत्साहन दिनुभयो । मैले पनि उहाँले स्कुलमा सिकाएका साना साना लाग्ने कुराले अहिले धेरै सहयोग पुर्याइरहेको बताएँ । छुट्तिने बेलामा मलाई जती खुशी लागेको थियो, म भन्दा पनि उहाँ धेरै खुशी हुनुहुन्थ्यो । हाम्रो भेट नभएको भए पनि उहाँले हामीलाई धेरै सम्झने गरेको सुनाउनुभयो । उहाँले आजको हाम्रो भेटलाई संयोगले जुरेको भन्नुभयो तर मैले आत्मियताको लगनले जुराएको भने । १२ बजेतिर हामी फेरी कुनै दिन भेट्ने वाचा गर्दै बिदा भयौ ।

हामी लगभग २ घण्टा जती पुराना तिता मिठा तर रमाइला कुराहरु गरेर छुट्टीयौ । उहाँ जानु भयो तर मलाई आफ्नो बर्तमान स्विकार्न अली गाह्रो भयो । म भरखरसम्म त्यो चन्चले उमेरमा डुबिरहेको थिएँ । श्याम सर मेरो लागि सबै सम्झना हुनुहुन्थ्यो । मैले त्यतिखेरका सम्पूर्ण सर र म्याडमहरुलाई सम्झिएँ । प्रिन्सिपल एल.बि. सर, नवल सर, कृष्ण सर, धामी सर, डि.बि. सर, श्रिधर सर, एम.बि. सर, पुर्ण सर, लामा सर, अम्बिका म्याडम, अर्चना मिस, मोहन सर, दुर्गा सर, क्रिष्णा म्याडम, प्रदिप सर, रमन सर, पुनित सर, कैलाश सर, सन्जिव सर, मान सिंह सर, .... सम्झिएँ, राजेन्द्र दाई र लक्ष्मण दाईलाई पनि । भरत दाई, भिम दाई लगायत भान्छाका अरु दाई दिदिहरु, लक्ष्मी दिदी र अन्य आया दिदिहरु । पसलका मोटे बाजे र बज्यै । झलझली याद आयो शुरुको जिप्स । जहाँ, न ब्यबस्थित होस्टेल थियो, न बगैंचा । न किचेन थियो, न त टोइलेट । न बिदामा टि.भी. हेर्न पायौ, न समयमा खान नै । र पनि हामी सन्तुष्त थियौ, एकदम खुशी थियौ । त्यतिखेर थियो त, उजाड डाँडामा तीन तले एउटा लामो स्कुल भवन । भवन अगाडि खुल्ला चौर । हामी सबै त्यसैमा रमाई रमाई कहिले फुटबल त, कहिले क्रिकेत खेल्थ्यौ । कहिले दौड बाजी मार्थ्यौ त, कहिले लुकामारी खेल्थ्यौ । याद आए, बिहान हुस्सुका बिच मार्शल आर्ट्स सिकेका जाडो यामहरु र गर्मीमा कतुवा खोलामा नुहाएका रमाइला साँझहरु । एक एक गरी सम्झे, त्यतिखेर नर्सरी, के.जी. मा पढिरहेका भाईबहिनिहरु देखी लिएर मेरो क्लासका साथीहरु सबैलाई । हाम्रो भेट नभए पनि नजानिदो गरी हाम्रो आत्मा जिप्सले एकै मालामा ऊनिदिएको छ । हामीले जिप्सका शुरुका दिनहरु देखेका छौ, भोगेका छौ । जिप्ससँग लिनुदिनु केही नभए पनि हाम्रो नचुदिने साईनो गाँसिएको छ । मातो खनेर फुल रोपेका थियौ, साना साना रुखका बिरुवामा पानी चारेका थियौ । आज ति सबै पक्कै पनि बदेका छन । हामीले हेर्दा हेर्दै बनेका अनगिन्ती चिज छन, हामीलाई ति सबैको माया लाग्छ । यस अर्थमा, हामी जिप्सका आधार हौ । हामी जिप्सका सन्तान हौ । जिप्सलाई बामे सर्न र बोल्न सिकाउने सुशारे पनि हौ । जिप्सका अशली साक्षी पनि हौ । यसर्थ, जिप्ससँग हाम्रो अगाध माया छ । जिप्सको सम्बन्ध हामीसँग छ । हाम्रो सम्बन्ध एक अर्कासँग छ । जुन सम्बन्ध , कसैले चाहेर पनि भुल्न त्यती सजिलो छैन ।
16 Dec, 09

No comments:

Post a Comment