Friday, October 16, 2009

बालस्म्रिती र तिहार

जब जब कुनै चाडपर्ब नजिकिदै आउछ, तब तब म मेरा ति वाल दौतरीहरुलाई कहिल्यै नछुताइ सम्झिरहेको हुन्छु । उनिहरुको याद र बालापनको दिनहरु सम्झेर एक्लै रोमान्चित बनिरहेको हुन्छु । दशै आउथ्यो, माघी संक्रान्ती आउथ्यो, होली आउथ्यो, हामी खुब खुशी हुन्थ्यौ । बर्षभरी चाड पर्बहरु अनगिन्ती नै पर्ने भए पनि हाम्रो लागि भने तिहार अरु चाडभन्दा अली बिशेष पर्ब हुन्थ्यो । धेरै पर्खाइ पछी दसैं मनाइ सकेर हामी तिहार कहिले आउँला भनी निकै आतुर हुन्थ्यौ । साँझ औंला भाच्दै निदाउथ्यौ, बिहान ओछ्यानमै अब एक दिन कम भएकोमा खुशीले रमाइरहेका हुन्थ्यौ । हाम्रो खुशी नयाँ कपडा, मासुभात वा भाईटिका मात्र हुँदैन्थ्यो । तिहारलाई ब्यग्रतापुर्बक कुर्नुको कारण त गाउँभरिका सबै साथीहरु मिलेर देउसीभैलो खेल्दै रमाइलो गर्न पाउनुमा थियो । एक बर्षमा एकचोटि आउने यो अबसर सके सम्म कसैले पनि छुटाउन चाहन्नथ्यौ । कहिले काही कसैलाई आमासँग मामा घर जानु पर्ने हुन्थ्यो त कसैलाई कुनै त्यस्तै पारिवारिक जमघतका लागि परिवारसंगै जानु पर्ने हुन्थ्यो । तर पनि हामी रोएर भए पनि एक्लै साथीहरुको घरमै बस्ने गरी जिद्धी गर्ने गर्थ्यौ । सबै साथीहरु सँग तिहारको त्यो रमझम मनाउनुमा रमाइलो त हुने नै भयो अर्को कारण पनि हुन्थ्यो । यदी तिहारभरी समुहमा सहभागि भइएन भने पछी साथीहरुले आफुसँग नमिलाउलान भन्ने डर हुन्थ्यो । उनिहरुले सँगै खेल्न नदिलान र को सँग खेल्ने भन्ने चिन्ता पनि हुन्थ्यो । त्यसैले हामी सबैजनाले पहिल्यैबाट घरमा तिहारभरी आफु कतै पनि केही गर्न नजाने बरु जे गर्नुछ तिहार अगावै गर्न तयार रहेको कुरा राख्थ्यौ । जे होस्, जसरी भए पनि हामी साथीहरुसँग नै तिहार मनाउने प्रबन्ध मिलाउथ्यौ । जसोतसो हामीले भनेको जस्तै हुन्थ्यो, जित सधैं हाम्रै हुन्थ्यो । घरबाट पनि सबैनजालाई स्वतन्त्र नै छादिदिनु हुन्थ्यो ।

हाम्रो एउटा ‘बाल संगठन’ थियो । प्रत्येक वडामा एउटा बाल संगठन बनाएका थियौ र ति सबैलाई हेर्ने गरी एउटा ‘मुल बाल संगठन’ बनाएका थियौ । मुल संगठनको काम वडा संगठनको निर्माण र रेखदेख गर्ने, चाडपर्ब अनुसार केही शारीरिक, सांस्कृतिक र साहित्यिक प्रतिस्पर्धात्मक कार्यक्रम 'सेट' गरेर आयोजना गर्ने, गाउँमा एक्लो बुदा-बुदीहरुलाई खेतमा श्रम सहयोग गर्ने र अर्को गा.बि.स. को मुल संगठनसँग सम्बन्ध बदाउने र राम्ररी समन्बय गर्ने । हाम्रो संगठनको प्रमुख उद्देश्य चाँही हामी बालकहरु समाजसेवा प्रती प्रेरित हुनु तथा शारीरिक र बौदिक बिकास गर्नु थियो । सबै जनाको आत्माभित्र ‘हामी भबिश्यका कर्णधार हौ, देशका खम्बा हौ’ भन्ने भावना बलिरहेको हुन्थ्यो । म त्यही मुल संगठनको सचिव थिएँ । हामीलाई सल्लाह र सुझाव दिने गाउँका दाइ-दिदिहरु हुनुहुन्थ्यो । एक पटक गंगा पुनलाई प्रमुख अतिथी बोलाएका थियौ । एक नम्बर वडा (माडिचौर) का अध्यक्ष कुल प्रशाद बुढा थिएँ । दिलमाया पुन पाँच नम्बर (ओङ्वाङ) का सकृय सदस्य थिइन् । उनिहरु तिनै जना अहिले हाम्रो माझमा छैनन् भन्नु पर्दा मलाई निकै दु:ख लागिरहेको छ । यद्धपी उनिहरुले देख्न चाहेका गणतन्त्र, संबिधानसभा र अपुर्ण शान्ती आज देशमा देख्दा औधी खुशी पनि लाग्छ । भन्नै पर्छ, उनिहरुले देशको लागि गरेको धेरथोर योगदान खेर गएको छैन । रगतले लेखिएको यो ईतिहास हामीले यत्तिकै मेटिएर जान दिनु पनि हुँदैन ।

हामीले सबै चाडपर्बमा केही न केही कार्यक्रम त गरिरहेका नै हुन्थ्यौ तर बिशेष गरी तिहारमा हामीले सबै संगठन एउटै समुहमा मिसिएर देउसी-भैलो खेल्ने गर्दथ्यौ । तिहार आउनु केही दिन अघीदेखी नै ‘रिहर्सल’ गर्न सुरु गर्ने गर्थ्यौ । सबैलाई क्षमता अनुसार, घरबाट पायक पर्ने र समयले पनि साथ दिन सक्ने गरि जिम्मेवारी दिइन्थ्यो । कसैलाई खैचडी-मादल तयार पार्ने, कसैलाई भत्याउने तयारी गर्ने, कसैलाई हामी पुग्ने ठाउँमा खाने बस्नेको पहिल्यै ब्यबस्था गर्ने, कसैलाई रातिको लागि लाल्तिन र तर्च खोज्ने, नाँच्ने गाउँनेलाई भने त्यस्तो केही पर्दैनथियो । मेरो भागमा सधैं नै गीत लेख्ने पर्थ्यो । मैले पनि सके जती, आफ्नो बालमस्तिष्कले भ्याए सम्म राम्रो गीत लेख्ने प्रयास गर्दथें । हाम्रो समुह धेरै ठुलो हुन्थ्यो, करिब चालिस पैतालिस जना जति बालबालिकाहरुको बेग्लै देउसी समुह । हाम्रो तोलीका सबै साथीहरु लक्ष्मी पूजाको दिन आ-आफ्नो घरमा खाना खाएर जंकोटमा जम्मा हुन्थ्यौ । सबैले केही न केही जिम्मा लिउनु पर्ने हुन्थ्यो । फुल र पाटी लगाउनेले फुल र पाटी, गीत गाउनेले गीतको कापी, भत्याउनेले भत्याउने लेखिएको कापी, दानदक्षिणा उठाउनेले हिसाबकिताब, झोला सम्हाल्ने, लाल्तिन बोक्ने,.. यस्तै यस्तै । भत्याउनेमा प्राय: कुम बहादुर र नौल सिंह हुन्थे । गीत गाउनेमा श्याम, ज्ञान, बुद्धी, सुशिला, श्यामकला,.. हुन्थे । नाच्नेमा ईन्द्रजीत, अर्जुन, पवित्रा, जुनमाया, सुनु, दुर्गा, डम्बर,.. हुन्थे । मुरली धिरोजले राम्रो बजाउथे । चार दिनका लागि सबैभन्दा राम्रो मादल मेरो जिम्मामा हुन्थ्यो । हात सुन्निएर दुख्नुको सत्ता चिलाउने गर्दथ्यो । त्यसैले झन जोड जोडले थताउने गर्दथे । खैचडी र अर्को मादल अरुले पालै पालो बजाइरहेका हुन्थे । देउसी खेल्दा सबैजनाले एउटा घेरामा घुम्दै खेल्ने र बिच बिचमा नाच्ने गर्दथ्यौ । हामी जहाँ जहाँ पुग्थ्यौ सबैले हामीलाई दियो बालेर स्वागत गर्दथे । केही घरलाई मिलाएर एउटै ठाउँमा खेल्थ्यौ जस्ले गर्दा हामीलाई समयको बचत हुने गर्दथ्यो भने हेर्नेहरुले हामीले देखाएको बाहेक उनिहरुको रोजाइको मान्छेबाट धेरै गीत सुन्न र नाच हेर्न पाउथे । गाउँमा हाम्रो तोली कहिले कहाँ पुग्छ र कहिले उनिहरुको गाउँमा आउछौ भनेर सोधेर कुर्ने गर्दथे । । सानो सानो समुह बनाएर घुम्नु भन्दा यसरी सबैजना मिलेर अर्को बर्ष पनि आउन आग्रह गर्दथे । केस फुलेका बुदाबुदीले समेट मन खुलाएर हाम्रो प्रसंसा गर्दथे । हामीसँगै नाच्दै र गाउदै प्रोत्साहन दिने गर्दथे । दक्षिणा पनि हासिखुशी सबैले सकेजती दिने गर्दथे । हामीले दक्षिणा धेरै दिन कहिल्यै पनि जबर्जस्ती कर गरेनौ । जती जे जे दिन्थे, खुशीले तिहारको आशिष दिन्थ्यौ । हामीले हिडिरहदा गाउँने छुट्टै गीत बनाएका हुन्थ्यौ र बाटोमा हिडिरहेको बेला पनि गाउदै हिंड्ने गर्दथ्यौ । हामीले कुन दिन कुन कुन ठाउँ कहिले पुग्ने र कति समय खर्चिने भन्ने पहिल्यै निश्चित गर्थ्यौ । प्राय त्यसदिन कोर्चाबाङ गा.बि.स.को घापामा बास जान्थ्यौ । अर्को दिन त्यहा सके जती भ्याएर कोतगाउँ गा.बि.स.को माडिचौर बास बस्न पुग्थ्यौ । त्यहाबाट बिहानै उठेर सबैजना आ-आफ्नो घरतिर जान्थ्यौ र भाइटीका मनाइ सकेपछी फेरी माडिचौरमा नै भेला भएर देउसी खेल्न सुरु गर्थ्यौ । कोतगाउँ माडिचौर र जंकोट माडिचौरमा दुई दिन खेलिसकेर चौथो रात जंकोटतिर उक्लिने गर्थ्यौ । अन्तिम दिनको बिहान सधैं बामरुप, ओङ्वाङ र दहखोलाबाङ, साँझतिर जंकोट गाउँमा नै खेलेर रातितिर सम्भव भए साँस्कृतिक कार्यक्रम राख्ने गर्थ्यौ । तिहार सकिसके पछी अर्को दिन भोजको आयोजना गर्ने गर्दथ्यौ । भोजको सम्पूर्ण ब्यबस्था सँगसँगै, खेल्ने, नाच्ने, गफ गर्दै रमाइलो गर्ने र साँझतिर हाम्रो देउसीभैलो बारे समिक्षा हुन्थ्यो । आफुबाट भएका कमी कमजोरी स्विकारेर आत्मआलोचना गर्ने राम्रो चलन पनि बसाएका थियौ । त्यही दिन नै देउसीभैलोबाट उठाएको जम्मा पैसा र प्रत्येक वडालाई कती कती बिभाजन गर्ने र संगठनका लागि के के सामान कती कती मुल्य सम्ममा खरिद गर्ने भन्ने सल्लाह गर्थ्यौ । त्यसपछी अब आउने पर्बमा अझै राम्रो कार्यक्रम चलाऊने सहमतिका साथ हामीहरु छुट्टीन्थ्यौ ।

तिहार अबधी भर निकै रमाइलो हुनुका साथै पैसा पनि निकै उठाउथ्यौ । त्यही पैसाले पछी खेलकुदका सामाग्री किन्ने र अत्ती गरीबहरुलाई सहयोग दिने गर्थ्यौ । यदी कसैले प्रगतिशील विवाह गरेमा केही उपहार लिएर बधाई दिन पुग्थ्यौ । बाँकी पैसा कसैले चलाऊन चाहेमा ब्याजमा ऋन दिन्थ्यौ । गाउँमा हामी सबैको तारिफ हुन्थ्यो । हामी सबै १२ /१३ उमेरमा हिडिरहेका केटा-केटी थियौ । त्यतिबेला ठुलाहरुले "तिमीहरु यती सानो उमेरमा त यस्तो छौ, यसरी नै प्रगती गर्दै गयौ भने पछी धेरै बिकास गर्न सक्नेछौ " भन्ने बेला त्यस्तो खासै केही नगरेको जस्तो लाग्थ्यो तर अहिले आएर सोच्नेबेला केही त गरिएकै रहेछ नि भन्ने लाग्छ । यसरी ति बालापन र दौतरीहरुलाई सम्झिदा अहिले पनि मन खुशीले गदगद हुन्छ । फेरी त्यो प्रयासलाई सफलतातिर दोर्याउदै निरन्तरता दिन नसकेकोमा आँफैप्रती धिक्कार पनि लागेर आउछ । अहिले म यहाँ एक्लै छु, अरु साथीहरु पनि गाउँमा त्यसरी नै देउसीभैलो खेल्दै रमाइरहेका छैनन् । सबैले आ-आफ्नो भबिश्यको जिम्मेवारी बोकेर संसारको कुनाकाप्चा तिर रुमल्लीइ रहेका छन् । अहिले त हाम्रो त्यो गाउँ हामी बालकहरुले हैन कतिपय मेरा दौतरीका लालाबालाहरुले पो भरिपूर्ण बनाइरहेका छन् । सोच्दा पनि कती रोमान्चकारी कुरो !

अहिले सानोमा जस्तो आफ्नो खुशीमा तिहार गाउँमा गएर मनाउन पनि पाइदैन र गाउँ जान सकिए पनि सबै साथीहरु जुतेर भैलो खेल्दै हिंड्ने मौका मिल्दैन । समयले समाजलाई परिवर्तन गरिरहन्छ, मान्छेलाई बदलिसकेको हुन्छ । त्यसरी नै रमाइलो गर्न त्यो बालापन फर्काउन सम्भव नभए पनि अहिले सम्झनालायक बनाएकोमा र केही न केही रुपमा अर्थपूर्ण बनाएकोमा हर्षित छु । हाम्रो बालापनको यो अतित अब मिठो सम्झना बनेर सधैं रहिरहनेछ । दौतरीहरु टाढा-टाढा भए पनि भुल्न नसकिने यस स्मरणले एक्लै हसाइरहनेछ, कहिले काही रुवाइरहनेछ । तिहारको यस पावन अबसरमा मेरो दौतरीहरुलाई जहाँ जस्तो सुकै परिस्थितीमा जीवन संघर्षको खेल खेलिरहेको र जितिरहेको भए पनि यो वालदौतरीले मुटुभरिको सम्झना सहित हृदयदेखी नै दिपावलीको लाख-लाख शुभकामना दिन चाहन्छ । सफलतातिर बदेका कदमहरु निरन्तर अगाडि बदिरहेको हेर्न चाहन्छ । सम्पूर्ण दौतरीहरुले आ-आफ्नो जीवन हाँसि-खुशी बिताइरहेको हेर्न चाहन्छ । अनी आफ्नो मुल्यवान समय खर्चेर मेरो ब्लगमा पाल्नु हुने सम्पूर्ण परिचित अपरिचित दाजुभाइ एवम् दिदीबहिनीहरुमा पनि तिहारको उपलक्ष्यमा जीवनभरी सधैं सुख शान्ति छाइरहोस् भन्ने कामना गर्न चाहन्छु ।
16 Oct,'09

2 comments:

  1. भोको नहोस् कुनै पेट,
    कुनै आङ नांगो नहोस् ।
    नयाँ नेपालको हाम्रो सपना,
    कुकुरको पुच्छरझै बांगो नहोस् ।
    नभिजुन् आँसुले परेलीहरू,
    गर्न नपरोस् अप्ठेरोको सामना ।
    सुखद् रहोस् जीवन सबैको,
    यही छ शुभकामना ।

    ReplyDelete
  2. यात्री जी, पक्कै पनि सबैको चाहना यही नै हो । देशका अगुवाहरुको घैतोमा चाडै घाम लागोस ।

    ReplyDelete