Saturday, August 22, 2020

तीजको शुभकामना

तीजलाई सकारात्मक संस्कृतिका रूपमै ग्रहण र अभ्यास गरौं, बेथितिका रूपमा होईन । बेथितिले सांस्कृतिक पवित्रतालाई नै नष्ट पारिदिने खतरा रहन्छ । 

हिजोको पितृसत्तात्मक समाजमा हाम्री आमा दिदीबहिनीहरुले तीजमा मनभित्र गुम्सिएको इच्छा आकांक्षा र पिर व्यथाहरु पोख्न र सामाजिक असन्तुष्टि प्रकट गर्न तीजलाई सदुपयोग गर्नु स्वभाविक थियो । अब हामीले चाहिँ निर्धक्क भएर नारी हकहित र समानताको सन्देशमुलक गीत गाउँदै समाज परिवर्तनमा जुट्नुपर्छ । 

कोरोना महामारीका कारण एकै ठाउँमा भेला भएर तीज मनाउने अवस्था नभएको हुनाले जो जहाँ छौं त्यहीँ घरभित्रै सामान्य तरिकाले तीज मनाउन र सामाजिक दूरीको ख्याल गर्न पनि अनुरोध गर्न चाहन्छु । 

हामीले अपनाउने सचेतताले कोरोनालाई नियन्त्रणमै राख्न सफल हुनेछौं भन्ने विश्वासका साथ सम्पूर्ण हिन्दु आमा दिदीबहिनीहरुमा हरितालिका तीजको हार्दिक हार्दिक शुभकामना! 

०५ भाद्र ०७७

आफ्नो सुरक्षा आफैंले गरौं

कोरोना महामारीसँग लड्न सरकारको तयारी कस्तो छ भन्ने प्रश्नको जवाफमा मन्त्री भन्छन्, आफ्नो घरमा पाहुना आएकाछन्, हतार छ, बोल्दैन भनेसी बोल्दै बोल्दैन नि!  

चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले संक्रमणको जोखिम कम गर्न पिपिइ माग गर्दा मन्त्री भन्छन्, भान्सामा लाउन समेत पिपिए मागे । 

स्वास्थ्य सामाग्री खरिदमा किन भ्रष्टाचार भयो भन्दा मन्त्री भन्छन्, जवाफ दिन आवश्यक छैन । 

क्वारेन्टाइनलाई व्यवस्थित पारौं भन्ने आवाज उठाउनेहरुलाई मन्त्री भन्छन्, तिनका आँखामा मोतियाविन्दु लागेको छ । 

पिसिआरको दायरा बदाउनुपर्छ, हस्पिटलहरुमा आइसियु र भेन्टिलेटर थप्नुपर्छ भन्दा मन्त्री भन्छन्, पिसिआरको गीत सक्यो अब भेन्टिलेटरको गीत गाउनेहरु गाइरहुन् । 

दिनहुुँ संक्रमित र मृत्यु दर बद्न थालेकाले कोरोना नियन्त्रण गर्न सरकारले अलि गम्भीर र प्रभावकारी काम गरोस् भन्नेलाई छुच्चो मन्त्री भन्छन्, तिनीहरुको मति सुध्रियोस्, शुभकामना छ । 

यी सबैको एकमुष्ट जवाफ प्रधानमन्त्रीले झन् सजिलैसँग दिन्छन्,"भ्रष्टाचार भएकै छैन, मन्त्रीको संलग्नता त झन् छदैछैन । देशमा त रामराज्य चलिरहेको छ ।" जब उनको दाबीलाई घटनाक्रमले गलत पुष्टि गर्दै लान्छ तब तुरुन्तै भन्छन्,"मलाई त थाहै छैन ।" उनी बल्ल सत्य बोल्छन्, हुन पनि आफ्नैं ईमान समेत थाहा नपाउनेबाट अरु आशा राख्नु नि व्यर्थ नै हो । 

हाम्रो समाजमा कथित जातीय अहंकार, सामाजिक विभेद, धार्मिक कट्टरपन्थी सोच, लैङ्गिक हिंसा, रुढीबादी संस्कार, जघन्य अपराध, आर्थिक-श्रम शोषण जस्ता तुच्छ कुराहरुलाई पनि जायज र स्वभाविक ठान्ने एउटा हिस्सा छ । त्यसले आफ्नो स्वार्थपुर्ती गर्न खराबलाई पनि सधैं सहि नै भनिरहन्छ । त्यही एउटा हिस्सा अझै पनि सरकार र मन्त्रीले गरिरहेका अनेकौं कुकर्मका वावजुद गुणगान गाउनमै ब्यस्त छ । तिनले सिर्फ दम्भ प्रदर्शन गर्नु, नीतिगत लुट मच्चाउनु, चलखेल र छलछाम गर्नुलाई नै सबथोक मानेका छन् । 

यतिबेला हामीलाई परिस्थितिले गम्भीर संकेत गरिरहेकोछ । अब उच्च ओहदा र तिनको पहुँचमा रहेकाले सरकारी र निजी अस्पतालहरुमा आफ्नो र आफ्नो परिवारको लागि आईसियु र भेन्टिलेटरहरु छुट्ट्याएर सुरक्षित राख्नेछन् । कोरोना संक्रमित सर्वसाधारण जनताहरु चाहिँ कोही अस्पताल जाने साधन नपाई घरमै टड्पिएर प्राण त्याग्नुपर्नेछ, कोही अस्पतालकै आँगनमा बेड खोज्दाखोज्दै छट्पटिएर मर्नुपर्नेछ । हाम्रै सामुन्ने कसैले आफ्नो आमाबुबा त कसैले छोराछोरी गुमाउनु पर्नेछ या आफैं मर्नेछौं । तर पनि त्यो अनैतिक झुण्डले यी सम्पूर्ण घटनालाई जायज र स्वभाविक नै ठानिरहनेछ । त्यो जमातले हाम्रो मरणमा कुनै सरोकार राख्नेछैन, कुनै पछुतो मान्नेछैन, आत्मग्लानी महशुस हुनेछैन, दु:ख मनाउ गर्नेछैन । उनीहरुको लागि राज्यको गैरजिम्मेवारीपनले आम मान्छे मरिरहनु कुनै समवेदनशील विषय नै हुँदैन । हाम्रो लागि कहालीलाग्दो विडम्बना होला तर तिनीहरुका लागि एक सामान्य परिघटना मात्रै हुनेछ । 

तसर्थ, आफू जोगिने र आआफ्नो घरपरिवार र आफन्तलाई जोगाउने कोशिस गरौं । कोरोनाले रातो बत्ती बालुन्जेल संयमित बनौं, केही समय धैर्यता अपनाऊ । समय कठिन होस् या सहज, सधैंभरी रहिरहदैन । यस सामुहिक युद्धमा तपाई हामी सबैजना उत्तिकै सशक्त योद्धा हौं । सबैले मनोबल उच्च राखौं । ०३ भाद्र ०७७ 

Wednesday, August 12, 2020

आदिवासी जनजाति र युवा दिवस

आदिवासी जनजातिहरुको सदियौंदेखि आफ्नै मौलिक कला, संस्कृति, संस्कार, भाषा, भेषभूषा, भिन्नै खालको परम्परागत मुल्य र मान्यताहरु छन् । अहिले लोपोन्मुख ती सबैको संरक्षण, सम्बर्द्धन र जगेर्ना राज्यको तर्फबाट नै गरिनुपर्दछ किनकि ती राज्य र समाजको साझा सम्पत्ति हुन् । त्यसैले सबैलाई सम्मान, पहिचान र अस्तित्व प्रदान गर्नु राज्यकै दायित्व हो । 

आदिवासी जनजातिको अनुकरण गर्नैपर्ने एउटा कुरा प्रकृति प्रेम पनि हो । प्रकृतिलाई सम्मान गरेर पुज्नुको अर्थ प्रकृतिलाई मानव जननी र सभ्यताको सृष्टिकर्ता ठान्नु देखिन्छ । अहिले विश्वभर कोरोना भाइरसले तहसनहस पारिरहेको बेला प्रकृति र जीवनबीच रहने परस्पर सम्बन्धको सान्दर्भिकता झनै प्रष्ट भएको छ । 

नेपालमा ०६८ को जनगणना अनुसार १६ देखि ४० वर्षका युवावर्गको संख्या ४०.३५ प्रतिशत रहेकोे छ । त्यसैगरी १६ देखि ३५ वर्षका युवा समूह ३४.३६ प्रतिशत रहेको छ भने १५ देखि २९ वर्षका युवा २७.८ प्रतिशत र १५ वर्ष मूनिको जनसंख्या हेर्दा झण्डै ३४.८ प्रतिशत छ ।

तसर्थ, यहीँ उमेर समुहका प्रगतिशील विचार, दृढ़ इच्छाशक्ति र शैलीमा नवीनता भएका युवाहरु नै राष्ट्र निर्माणको महत्त्वपूर्ण आधारस्तम्भ हौं । यहीँ तथ्यलाई सिरोपर गर्दै देश विकासकाे भरपर्दाे ताकत बनेर समृद्द देश बनाउनका लागि युवाहरूलाई बलियाे खम्बा बन्ने प्रेरणा मिलोस् । हामी सम्पूर्ण युवाहरूको एकता र प्रतिबद्धताले देशलाई आवश्यक योगदान पुगोस् । 

हामी सबैको चाहना आधुनिक सभ्य समाज नै हो । मानव र प्रकृतिको सन्तुलनमा मात्रै त्यो प्राप्त गर्न सकिन्छ भन्ने आदिवासी जनजातिहरुको बैज्ञानिक बुझाइलाई आजका युवाहरूले आत्मसात र अनुसरण गर्न जरुरी छ । यस आदिवासी दिवसको अवसरमा हामीलाई महामारीसँग एकजुट भएर लड्ने र परास्त गर्ने प्रेरणा मिल्नेछ भन्ने आशा र विश्वासका साथै पर्व मनाउदै गर्दा कोरोना संक्रमणलाई ख्याल गरेर सजगता अपनाउन पनि आग्रह गर्न चाहन्छु । 

सम्पूर्ण महानुभावहरुलाई २६औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस र अन्तर्राष्ट्रिय युवा दिवसकाे हार्दिक शुभकामना! 

10th Aug 2020

Wednesday, August 5, 2020

राजनैतीक ध्रुवीकरणको आवश्यकता

देशमा आमूल परिवर्तन गर्ने सपना बुन्दै समाजमा व्याप्त सबै खालका उत्पीडनहरुको अन्त्य गर्न आन्दोलनमा होमिएका थुप्रै मान्छेहरुको सामुहिक खुशीहरु मात्रै स्थगन होईन, जीवन नै अवसान भएका छन् । अधिकांशले राजीखुशी मृत्यु स्विकारेका थिए, गोलीले मुटु छेडेर रक्तमुछेल हुँदा पनि हाँसीहाँसी प्राण त्याग्नु चानचुने कुरा थिएन ।

जनयुद्ध र जनआन्दोलनको माध्यमबाट प्रस्फुटन भएको राज्य पुनर्संरचनाको मानसिकतालाई आत्मसात गर्ने कांग्रेसको तत्कालीन नेतृत्वकर्ता गिरिजाप्रसाद कोइरालाको निधन भइसक्यो, नयाँ नेतृत्वले मुद्दाहरुलाई अंगालेर सशक्त भूमिका निर्वाह गर्नै सकेन ।
देशमा राजनैतिक परिवर्तन आवश्यक रहेको यथार्थलाई स्वीकार्ने तत्कालीन एमालेको महासचिव माधव कुमार नेपाल पार्टीभित्रै हतोत्साहित भएर छट्पटिरहेका छन्, उनको उत्तराधिकारीलाई ती मुद्धाहरु प्रति खासै लगाव देखिदैन ।
एक दशक विभिन्न नारा लगाएर युद्धमा होमिएका प्रचण्ड बादलहरु बेथितिका साक्षी र रमिते मात्रै बने, संसदीय खेलमा चुर्लुम्मै डुबेर राजनैतिक कोर्सलाई बदल्ने हिम्मत गर्नै सकेनन् ।
सर्वहारा, श्रमजीवी र उत्पीडनमा परेकाहरुको अधिनायकत्वको वकालत गर्ने मोहन वैध्य किरण, गौरव, बाबुराम, विप्लवहरु छेउ परे/पारिए ।

अन्तमा हामीले यस्ता ऐतिहासिक राजनैतिक उपलब्धिहरु प्राप्त गरेर पनि गुणात्मक फड्को मार्ने अवसरबाट चुक्नुका साथै बाँदरको हातमा नरिवल भन्ने उखान चरितार्थ भइरहेको आभास गर्नुपरेको छ ।

अहिलेका राजनैतिक एजेन्डाहरु प्रचण्ड नेतृत्वको माओवादी पार्टीले जबर्जस्ती स्थापित गराएकै हो । त्यसको लागि उत्पीडित जनताले अपार समर्थन र त्याग पनि गरेकै हुन् । हजारौंको दुःखद् मृत्यु हुनु, अंगभंग हुनु अर्को कहालीलाग्दो पाटो छदैछ । युद्धकालिन घाइते मनहरुलाई अचेल कमरेड प्रचण्डसँंग अनेकौं प्रश्नहरु सोध्न मन लाग्दो हो तर यतिबेला तिनै सुप्रिमो प्रचण्ड निरिहि हुन बाध्य छन् । अहिले परिस्थितिबस् तिनीहरुलाई जवाफ चाहिँ राष्ट्रपतिसँग मिलेर केपी ओलीले निरंकुश तरिकाले रन्थनिने गरि दिदैछन् । यदी यहीँ शैली केही समय निरन्तर रह्यो भने त्यत्रो उत्साहका साथ ल्याइएको व्यवस्था धुजाधुजा हुने निश्चित छ । समाजवादको यात्रामा निस्किएर फेरि सामन्तवादकै आँगनमा आइपुग्दा यो व्यवस्थाका निम्ति रातदिन भोकप्यासै खटिएकाहरुले आफ्नो जवानी र पसिनालाई सम्झिएर गर्व गर्नुको सट्टा कताकता पछुतो पनि मान्दा हुन् । वास्तवमा ती साच्चिकै इमानदार थिए, धोकेवाज त अरु नै निस्किए ।

देशमा अहिले हेर्दा रूपमा अग्रगमन त छ तर सारमा प्रतिगमन भोग्नुपरेको छ । सिद्धान्तमा समाजवाद भनिएको भए पनि व्यबहारमा भने दलाल पुजीवाद हावी छ । लेखिने र देखिनेमा धेरै अन्तर देखिदैछ । बिज्ञान र मार्क्सवादलाई नै निकम्मा पार्ने दुस्साहस हुदैछ । जनताको आशंका, असन्तुष्टि र प्रश्नको भुमरीमा दिनानुदिन व्यवस्था फस्दैछ । हजारौंको योगदान र बलिदानले शासन गर्ने पात्र त फेरिए, चरित्र फेरिएन । व्यवस्था फेरिए पनि गरीब दु:खीका अवस्था भने फेरिएन । सबैभन्दा दु:खको कुरा त नेताहरुले समयको माग अनुरुप देश र जनताको आवश्यकतालाई बुझेर सम्बोधन गर्नै सकेनन् । राज्य हाँक्नेहरुले नै परिवर्तनको मर्म र सामाजिक मनोभावनालाई आत्मसात गर्दै गरेनन् । देशप्रति वफादार र जनताप्रति जिम्मेवार बन्ने छाँट समेत देखाएनन् । तिनीहरु सित्तैंमा झैं पाएको शक्तिको उन्मादले क्रमश: अयोग्य र असफलताको बिन्दुतिर लम्किदै छन् तर पनि अहंकारले फुलेकै छन् । दुक्कै!

राजनैतिक पार्टी र नेतृत्वहरुबाट विगतमा थुप्रै गल्तीहरु भएका छन् । तैपनि जनताले माफी दिदै पटकपटक मौका दिइरहेका छन् । अब पनि निर्मम दंगले आत्मसमिक्षा र आत्मालोचना गरेर सुध्रिने प्रण नगर्ने हो भने निश्चित छ, समय अनुकुल रहिरहने छैन ।

अबको विकल्प कि पार्टीहरु सच्चिने कि त सक्किने बाहेक अर्को छैन । जनताले पनि कि यिनैका विरुद्ध खरो उत्रिने कि त भरोसायोग्य अरु कोहि खोज्ने नै हो । प्रतिगामी, यथास्थितिवादी र प्रगतिशील व्यक्तिहरुको बीचमा ध्रुवीकरण जरुरी भइसकेको छ । निकट भविष्यमा एउटा सचेत किसिमको सामाजिक हलचल अत्यावश्यक छ । भलै एउटा अशल तानाशाहको कल्पना केवल कल्पना मात्रै हुनेछ ।

जनताले बहुला हात्तीको जस्तो अराजकता र गैरजिम्मेवारीपन धेरै सहिसके, अब शायद सहने छैनन् । यस्तो मनपरि सधैं चल्ने सम्भावना पनि हुदैन । मान्छेको चेतना कहिल्यै पनि दहको पानी जसरी यथास्थितिमा जमेर रहिरहन्न । समय सँगसँगै अझ अगाडी बद्ने बाटो खोज्छ खोज्छ नै ।

अति गर्नु, अत्याचार नगर्नु । अति गरे खटी हुन्छ । देश, जनता र स्वयम् उनैको भलाईका लागि बेलैमा चेतना हवस् ।
जय नेपाल!

कोरोना, न्यायलय र नेकपा

स्वर्ग र नर्क रहेछ भने पनि,
अरुको बुद्धिले स्वर्ग पुग्नेहरुभन्दा आफ्नैं विवेकले नर्क टेक्नेहरु नै बढी खुशी होलान् । अरुको हरेक काममा सधैं न्यायाधीश बन्न खोज्ने दुनियाँसँग साच्चिकैमा भने न्यायाधीश बन्ने सामर्थ्य नै हुदैन । आफ्नो जीवनकालमा आफ्नैं विवेक प्रयोग गरेर बाँंच्ने ब्यक्तिहरु नै खास अशल र सफलहरु हुन् ।

मान्छेको जनमदेखी मरणसम्मको अवधी मात्रै आफ्नो हो । तसर्थ, मृत्युको एकछिनअगाडि पश्चाताप गर्नुछैन भने जे गर्ने हो समयमै गर्नुपर्नेछ । समय सीमित छ ।
शुभ दिन! 
२२ जुलाई २०२० 

अन्धा छ कानुन । फैसला अन्धाधुन्ध नै गर्थ्यो । अहिले त त्यसैको निरन्तरता मात्रै हो । आम मान्छेका लागि निष्पक्ष छानबिन र न्यायको आशा त भगवान भरोसा नै थियो ।
आश्चर्य के मान्नु र!?

राष्ट्रपति, प्रधानमन्त्री, न्यायालय, राजनैतिक दल, अख्तियार, प्रहरी, प्रशासन जस्ता राज्यका प्रमुख अंगहरुले क्रमशः बिश्वास गुमाउँदै जानुले व्यवस्था नै पंगु बन्ने खतरा देखिदैछ । बेलैमा शुद्धीकरण थालौं ।

राज्यले नागरिकप्रतिको उत्तरदायित्व र जवाफदेहिता इमानदारीपूर्वक निर्वाह नगर्दासम्म यस्तै चलिरहनेछ । जतिसक्दो चाडो आचरण सुधारौं ।

क्यान्सर लागेपछि तुरुन्तै उपचार गर्नुपर्छ अन्यथा अन्यत्र फैलिएर जीउ नै जोखिममा पर्नेछ । समयमै सचेत बनौं । 
२३ जुलाई २०२० 


मान्छे आफैंप्रति इमान्दार हुनुपर्छ अरुको सामु आफ्नो ईमान प्रमाणित गरिरहनु पर्दैन । अनेकन प्रयत्न त तिनले मात्रै गर्छन्, जो आफैंभित्र गलत छु भन्ने जान्दाजान्दै पनि सहि देखिने स्वाङ पार्नैपर्छ ।

आफ्नो सामुन्ने दुई वटा मात्रै बाटो छन्, दुई मध्ये एउटा बाटो हिंड्नैपर्छ भन्ने बाध्यता छैन । अर्को नयाँ बाटो आफैं खन्न पनि त सकिन्छ । कठिन हुनसक्छ तर अधिक खुशी र स्वतन्त्रता मिल्नेछ । त्यसो गर्दा जीवन खेर जादैन बरु परम सन्तुष्टि प्राप्त हुन्छ ।

यहीँ नै हो जीवन । सार्थक जीवनको प्रयोगात्मक आत्मविश्वास! 
२७ जुलाई २०२० 

विश्वभर महामारीले तहसनहस पारेर हामीलाई खतरापूर्ण घण्टी बजाउँदै गर्दा पनि सिमानामा कडाइ गर्न, लकडाउन पालना गर्न, हस्पिटलमा आइसोलेसन बेड, आइसियु र भेन्टिलेटरहरु थप्न, भौतिक पुर्वाधार, यथेष्ट स्वास्थ्य सामाग्री र जनशक्ति तयारी अवस्थामा राख्न, क्वारेन्टाइन व्यवस्थित गर्न लगायतका पूर्वतयारी गर्ने प्रशस्त समय पाएर पनि सदुपयोग गर्नमा नचुक्नु चुक्यौं ।

प्रकृतिको कृपाले बाँचिरहेका र भगवान भरोसामा विश्वास गर्ने हामीहरु कोरोना नियन्त्रणपछि पनि सबैसँग सकुशल भेट्न पाइयोस् ।
आफू जोगिने र अरुलाई जोगाउने सद्वुद्धी मिलिरहोस् ।
शुभदिन!
२९ जुलाई २०२० 

Sunday, July 19, 2020

नेकपा विवादमा स्ट्याटसहरु

मेरी आमाको आँखाबाट आँसु कहिल्यै नझरोस्, झरे पनि खुशीले झरोस् ।
आमा धर्ती हुन्, प्रकृति हुन्, सृष्टि हुन् ।
सबथोक हुन् आमा । 
11 July 2020 

रामायण र महाभारत इतिहास हुन् कि रचित ग्रन्थ मात्रै हुन् भन्ने यकिन छैन तर प्रधानमन्त्रीले त राम नै यहीँको ठोकुवा गर्दिनुभएछ । तथ्यले पुष्टि नै गर्न सके त झन् गजब हुन्थ्यो ।
अयोध्या र हस्तिनापुर नेपाली भूमिमै पर्छन् भन्ने ऐतिहासिक पुरातात्त्विक प्रमाण जुटाएर दाबी गरौंला, हाम्रै बनाउला पनि तर अहिले चाहिँ अतिक्रमित भूमिलाई आफ्नो बनाउने कुटनैतिक पहल गर्ने बेला हो ।
बादीपहिरो र डुबानमा परेर मृत्यु भएका, घाइते र घरबारविहीन भएकाको चिन्ता र व्यवस्थापन गर्ने बेला हो ।
अब र अर्को बर्षको प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्यूनीकरण, नियन्त्रण गरेर जनधन कसरी बचाउन सकिन्छ, रोकथाम र दीर्घकालीन समाधान कसरी गर्न सकिन्छ भनेर ठोस योजना बनाउनेतिर ध्यान केन्द्रित गर्ने बेला हो ।
ईन्डियाबिरुद्ध बोलेकै भरमा जनसमर्थन पाईने, महान राष्ट्रवादी भइने सोचबाट ग्रसित भएर जे पनि बोल्दिने शैलीले वर्तमानको सिमा सम्बन्धिका बिषय नै ओझेलमा पर्न सक्छ । राष्ट्रिय सरोकार राख्ने गम्भीर सवालहरुमा तथ्य नजुटाई उट्पट्याङ भाषण र उत्तेजना फैलाउने खालका भाषाले कुनै समस्या हल गर्न सक्दैन । राष्ट्रको उच्च ओहदामा बस्ने ब्यक्तिले त अप्ठ्यारो समयमा पनि सहि निर्णय लिन सक्नुपर्छ । अहिले त झनै कठिन परिस्थितिमा जिम्मेवारीपूर्वक कुशल नेतृत्व प्रदान गर्न सम्बन्धित विज्ञहरुसँग अलि बदी छलफल र चिन्तन गर्नुपर्छ ।
हरेक कुरामा आफैं सर्वज्ञाता सर्वज्ञानी सर्वेसर्वा र अन्तिम सत्य भएको भ्रम पाल्ने प्रमप्रति गर्व गरौं कि हीनताबोध? जनताको मनमा यस्तो प्रश्न आउन नदिन प्रम र उनका सल्लाहकारले विशेष सचेत हुन जरुरी देखिन्छ । प्रमबाट पटकपटक उस्तै हर्कत दोहोरिरहनु दुःखद् छ । 
15th July 2020 

कुनै व्यक्तिले आफैलाई प्रधान ठानेर पार्टी र संगठनलाई मनोमानी दंगले संचालन गर्दा, अरुको भूमिकालाई महत्त्व नदिदा, अवमूल्यन गर्दा कस्तो हीनताबोध हुदो रहेछ भन्ने कमरेड प्रचण्डले विगत दुई बर्षमा पक्कै राम्रैसँग अनुभव गर्नुभयो होला ।
नेपाली कम्युनिष्ट आन्दोलनलाई यो उचाईमा पुर्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने पाका नेताहरु मोहन बैध्य क. किरण र गौरव, जनयुद्धमा आफू बराबरकै देन भएका कमरेडहरु डा. बाबुराम भट्टराई र बादल, राजनीति र समाजलाई नै दिशानिर्देश गर्नसक्ने क्षमतावान युवाहरू गोपाल किराँती, आहुती, विप्लवहरु आफ्नैं प्रिय कमाण्डरको साथमा सँगसँगै अगाडि बद्न नसकेर किन छुट्टाछुट्टै बाटो हिड्ने कठोर निर्णय गर्न बाध्य भए ?
जनयुद्धको आदर्श नत्याग्ने अडान राख्ने लक्ष्मण थारूहरु पार्टीबाट किन छुट्टयाइए ?
देशलाई निस्वार्थ योगदान गर्नसक्ने देशभक्त युवाहरूलाई किन भारत, मलेसिया, खाडी मुलुकहरुमा जबर्जस्ती मजदुरी गर्न जान बाध्य पारियो ?
गाउँमा सहिद र बेपत्ता परिवारहरु, घाइते र द्वन्द्व पीडितहरु किन अझैसम्म दयनीय अवस्थामा छन् ? राज्य वा बिद्रोहीको मान्छे भनेर विभेद गर्नुभन्दा आफ्नै नागरिक सम्झेर, मानवीय भावना राखेर अहिलेसम्म समाजमा किन सम्मानित समायोजन, उचित सम्बोधन र व्यबहार हुन सकेन ?
मान्छेको जीवनमा नैतिकतालाई प्राण मान्नुपर्दछ भने अनैतिकतालाई महाअपराध । कसैको खुनपसिना, त्याग र अशल भावनाले प्राप्त सामुहिक सफलतालाई नितान्त निजी खुशी ठान्नु अनैतिक हुनु मात्रै नभएर मानव आचरणबाटै बिचलित हुनु हो ।
आफ्नो राजनैतिक जीवन र हालको परिस्थितिका सम्बन्धमा कमरेड प्रचण्डले पनि पक्कै गम्भीर समिक्षा गर्नुभएकै होला ।
कुनै पनि पार्टी र संगठनमा विधि र प्रक्रिया सबैका लागि र सधैंका लागि समान दंगले लागू गरिनुपर्दछ । आफुले मनपरि गर्दा चाहिँ ठिक, अरुले गर्दा मात्रै वेठिक भन्ने हुनुहुदैन । सम्पूर्ण बामपंथीहरु एकजुट हुने राम्रो उद्देश्य बाहेक नेकपा एमाले र माओवादी केन्द्रको बीचमा भएको एकताको सैद्धान्तिक बैचारिक आधारहरु केके थिए भन्ने प्रश्नको खोजी र अनुसन्धान भविष्यमा अवश्य हुँदै जानेछ । नेकपा अहिले अन्योलमा रहेर कमिटी प्रणालीलाई अनिर्णयको बन्दी बनाइरहनुभन्दा विगतका कमजोरीहरुप्रति सबैले आत्मालोचना गर्दै सच्चिएर विधि र पद्धतिलाई आफैंमाथि पनि लागू गर्ने हिम्मत गर्नुपर्दछ । हामीले लडेर लोकतन्त्र ल्यायौ भनेर गर्वले छाती पिट्ने नेताहरुले नै यस्तो घृणित सामन्ती चरित्र प्रदर्शन गर्नुले लोकतन्त्रकै उपहास भइरहेको छ । अब नेकपा सच्चिने या सक्किने, झुक्ने वा उठ्ने कुन दिशामा जाने हो भन्ने धेरै हदसम्म प्रचण्डले गर्ने निर्णयमै निर्भर रहनेछ । यो मतभेद पार्टीभित्रको आन्तरिक मामिला हो तर देशकै प्रधानमन्त्री मुछिएका कारण संकटको समयमा सम्पूर्ण जनताले दु:ख भोग्नु परिरहेको छ । नेकपाले कि प्रधानमन्त्रीलाई इमानदारीपूर्वक काम गर्न सहयोग र निर्देशन गरोस् कि त ब्यक्ति फेरोस् तर जे गर्ने हो तुरुन्तै गरोस् । आशा गरौं, साझा र सहि निर्णय हवस् ।
केवल सत्ता र शक्तिको लागि पार्टी र नेताहरु नजुटुन्, नफुटुन् । देश र जनतालाई केन्द्रमा राखेर जिम्मेवारीपूर्वक सोचुन् र निर्णय गरुन् । यहीँ नै सबैको हितमा हुनेछ । 
17th July 2020  

विविध अरुका छोराछोरीले आत्मसमर्पण गरे कायर हुने बरु मृत्युु रोज्न आदेस दिने तर आफैंले चाहिँ पटकपटक लतृदै आत्मसमर्पण गर्ने ?
जनयुद्ध हाँक्ने सुप्रिमो कमाण्डर यिनै कमरेड थिए वा अरु नै कोही ?
यस्तो चरित्रलाई गतिशीलता मान्ने वा अस्थिर मानसिकता ?
यसरी लोकतन्त्र र समाजवादको आवरणमा रजाइँ गर्ने धुर्तहरुका विरुद्ध छिट्टै आन्दोलनको आँधी मात्रै होईन, व्यवस्थामै भुकम्प आउने निश्चित छ । 
19th July 2020 

स्ट्याटसहरु

हामीले कोरोना विरुद्ध अब चाल्नुपर्ने कदमहरु;
# दक्षिणी सिमालाई सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेरै भए पनि अझै कडाइ गर्ने ।
# आरडिटिका साथै पिसिआर टेस्टलाई देशव्यापी रुपमा बदाउदै जाने, सम्भावित खतराका लागि आवश्यक तयारी गर्ने
# कोरोनाको उच्च जोखिम भएका ठाउँमा सिल गरेर टेस्ट गर्ने र कम जोखिम भएका ठाउँहरुमा लकडाउनलाई खुकुलो पारेर सजगता अपनाई नियमित कामकाज जारी राख्ने
# दैनिक ज्यालादारी मजदुर, असक्त, विपन्न र बिरामीहरुलाई जहाँ छन् त्यहीँ उचित खानपिन र बस्न ब्यबस्था गर्ने वा संघीय सरकार, प्रदेश सरकार, स्थानीय तहका जनप्रतिनिधि र जिल्ला समन्वय समितीको संयोजनमा सुरक्षित र सतर्कतापूर्वक आफ्नो जिल्ला, पालिका पुर्याई निश्चित अवधी क्वारेन्टाइनमा राख्ने
# शहरबाट गाउँ पसेका श्रमिक र बिदेशबाट स्वदेश फर्केका जनशक्तिलाई व्यावसायिक प्रोत्साहन स्वरुप अनुदान र सुरक्षित वातावरणको ग्यारेन्टी दिदै कृषि कर्ममा आकर्षित र अभ्यस्त पार्दै जाने
अन्तमा:
* दक्षिणको खुल्ला सिमाना दीर्घकालीन रुपमै बन्द गरि काँडे तार लगाएर करेन्ट प्रवाहित गरियोस् । नेपाल-ईन्डिया आवतजावत गर्नेलाई अन अराइभल भिसा लागू गरियोस् ।
* राज्यले रेमिट्यान्समा नभई आफ्नो माटो र नागरिकको पौरखमा बिश्वास गरोस् । अब महामारी पश्चात् आउनसक्ने भोकमरीलाई सामना गर्न कृषि उत्पादन बदाउदै आत्मनिर्भर र सबल अर्थतन्त्रको आधार तयार गर्दै जाने रणनीति अख्तियार गरोस् । 
कोरोना भाइरस मान्छेभित्र बाँच्न चाहन्छ, मान्छेले कोरोनालाई जितेर सुरक्षित रहन ।
मान्छे र कोरोना भाइरस दुबैको लागि यो महामारीको अवस्था हो । यो लडाइँ आआफ्नो अस्तित्वको हो ।
एकाअर्काको सहअस्तित्व स्विकारेपछि चाडै युद्दविराम हुनेछ र दुबै जीवहरु बाँच्ने वातावरण बन्नेछ । त्यसपश्चात् हाम्रो जीवन पुनः सामान्य दंगले अगाडि बद्नेछ ।
सजगतापूर्वक बसौं, धैर्यता राखौं ।
20th April 2020 

कुनै पनि धर्म केवल साधना होइन, आफैंमा एक कर्तव्य हो । भगवानको भक्तिगान मात्रै होइन, कठिन कर्म पनि हो । सामाजिक अनुशासन, त्याग, समता र मानवता नै धर्मको मुल मर्म हो । धार्मिक सहिष्णुता, एकता र सद्भावना नै पवित्र मार्ग हो । धार्मिक ग्रन्थको अध्यारो पाटो र आफ्नो धार्मिक आस्थाको चस्मा उतारेर धर्मको बैज्ञानिकता र व्यावहारिकतालाई अनुसरण गर्यौ भने मात्रै रोग, भोक र शोकलाई जीवनबाट दूर गर्न सक्छौं । यहीँ नै धर्मको सार र सास्वत सत्य हो । यसैमा सम्पुर्ण मानव जातिको कल्याण छ ।

इस्लाम धर्मावलम्बीहरुलाई रमजानको शुभकामना । 
25th April 2020

नेपालको सुखद भविष्यकै लागि थुप्रै रोल्पालीले स्वैच्छिक बलिदान गरे । युद्धकालमा निर्दोष हुदाहुदै पनि रोल्पाली भएकै कारणले जतिबेला पनि मर्न तयार रहनु पदर्थ्यो । अब त अनाहकमा कसैको ज्यान नजाला, देश पनि समृद्ध होला, सबै नागरिक समान दंगले शान्तिपूर्वक बाँच्न पाउलान् भन्ने आशा गर्दागर्दै रोल्पामा फेरि अबोध बच्चाहरुले बिस्फोटमा परि मृत्युदण्ड भोग्नुपरेछ । तत्कालीन बिद्रोही माओवादी पार्टी शान्तिपूर्ण राजनीतिमा आएर स्वयम् पार्टी नै अलप भइसक्यो । तर ती भिरपाखामा अहिलेसम्म पनि बम र बन्दुकहरु बेवारिसे अवस्थामा भेटिनु र पड्केर मान्छेहरु अकालमा मर्न परिरहनु निकै दुःखद् छ । यतिका बर्षसम्म पनि सर्वसाधारणहरु मेलापात जादा एम्बुसमा परिरहेका छन् । यसको जिम्मेवारी बिद्रोही पार्टी वा राज्य कसले लिने हो ? रोल्पामा रगत कहिलेसम्म बगिरहनु पर्ने हो ? अझै कति छोराछोरीहरुको विभत्स हत्यापछि सिंहदरबारको भोग पुग्ने हो ?

विशेषगरी नेतृत्वलाई मेरो बिन्ती छ, देश र जनताप्रति अलि इमानदार बन । समयको आवश्यकता अनुसार कुशलतापूर्वक भूमिका निर्वाह गर । रोल्पालाई पनि सिंहदरबार र बालुवाटार जत्तिकै माया गर । रोल्पाले उप्रान्त रगत होईन, चोखो बिश्वास र शपथ चाहन्छ ।

मृतक भाइबहिनीहरुमा हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना ।
30th April 2020

देशमा चरम वर्ग विभेद छ भन्ने त सबैलाई थाहै छ । स्वास्थ्य सेवामा पनि वर्गीयता चर्कै गरि हावी छ, त्यो पनि विदितै छ । अहिले त झन् लकडाउन पनि त्यस्तै देखिन्छ । पहुँचवालाहरुलाई निजी गाडीमा जताततै सजिलै घुमघाम गर्न छुट दिइएको छ । आफ्नो चाहना अनुसार खान र पिउन पाएकै छन् । गरीब र ज्यामी मजदुरहरु चाहिँ भोकभोकै झुपडीभित्र कष्टकर समय काट्न बाध्य छन् । जतिसुकै कठिन भए पनि सरकारको आदेसलाई अवज्ञा गर्नुहुन्न भन्ने तिनले राम्रोसँग बुझेका छन् । सरकारले लगाएको नियम हाम्रै सुरक्षाको लागि हो भनेर अनुशासित दंगले मानेका पनि छन् ।

नाकाबन्दीका बेला होस् या बन्दाबन्दीका बेला नै होस्, असर त तल्लो वर्गका नागरिकलाई मात्र परेको देखियो । शक्तिमा हुनेहरू र तिनका वरिपरिकालाई चाहिँ कोरोना संक्रमण नहुने, नसर्ने र अरुलाई नसार्ने जस्तो गरिएको छ । भाइरसले त मान्छे मात्रै चिन्छ, उसको शक्ति र सम्पत्ति हेरेर संक्रमण गर्ने कि नगर्ने भनेर त सोच्दैन होला । रोगको प्रकृति पनि त्यस्तो छैन । मेरो अल्पज्ञानले पनि त्यसो भन्दैन ।

अहिलेसम्म लकडाउनको जति हुर्मत लियौ, लियौ अब चाहिँ गम्भीर रुपले पालना गरौं । सरकारले लकडाउनलाई बढी प्रभावकारी बनाउनतर्फ समयमै ध्यान दिन जरुरी छ । बिशेष गरि सिमानामा अझै कडाइ र जोखिमपुर्ण क्षेत्रमा व्यापक टेस्ट गर्दै सम्भावित महामारीलाई पराजित गर्न पूर्वतयारी गर्नैपर्छ । सरकार र नागरिक मिलेर महामारीलाई रोक्नका लागि आआफ्नो तर्फबाट भूमिका खेलौं । कसैले पनि नजरअन्दाज गर्ने भुल नगरौं । अरुका लागि खतरा नबनौं ।
६ मे, २०२०

कार्ल मार्क्स र गौतम बुद्धले अपनाएको बाटो फरक थिए तर उद्देश एउटै थियो - मानवीयता । मार्क्सले वर्गसंघर्ष र मुक्तिको कुरा गरे । बुद्धले अध्यात्म र मोक्षको कुरा गरे । मार्क्सले बाहिरको बाटो रोजे भने बुद्धले भित्रको मार्ग हिडे । संसारमा प्रेम स्वतन्त्र र सर्वत्र छ, हामी आफैं त्यसको सुत्र र स्रोत हौं भन्ने पुष्टि गरे ।
बिश्व शान्तिका लागि हरेक व्यक्तिले भिक्षु बन्नैपर्ने वा अस्त्र बोक्नैपर्ने अपुरो बुझाई त्यागेर मार्क्सको संश्लेषण र बुद्धको ज्ञानलाई अनुसरण गर्दै ब्यबहारिक जीवनमा लागु गर्नसके त्यहीँ नै महान क्रान्ति हो । बिचार, धर्म, स्वतन्त्रता, समानता, सुख, शान्ति, खुशी सबै त्यसैमा अन्तर्निहित रहेको छ ।
जीवनमा तटस्थ भाव नै दु:खको निराकरण हो र अन्तरात्माबाट प्रकट हुने मानवतावादले नै सामाजिक बिद्रोहको आगो निभाउन सक्छ । दुबैको गन्तव्य सभ्य समाज निर्माण र सारमा शान्ति स्थापनार्थ नै थियो ।
यी महामानवहरु प्रति सदैव उच्च सम्मान रहनेछ ।
८ मे, २०२०

यो कलियुग हो । बिश्वास वा धोका परिस्थितिले निर्धारण गर्छ । अशल वा दुष्ट समयले चिनाउछ । सम्बन्धको परिभाषा स्वार्थले खुलाउछ । तसर्थ, कलियुगमा खराब मध्येमा कम खराब चिनेर संगत गर्न सक्नुपर्छ ।
अचेल व्यक्ति होस् वा राष्ट्र, सकुन्जेल कमजोरलाई हेप्ने, थिच्ने, मिच्ने सबैसबै अति गर्छन् नै । स्वाधीन, स्वतन्त्र र शक्तिशाली हुनलाई आफू आत्मनिर्भर बन्नुको विकल्प छैन । अन्यथा, हरेकले ईमान कमजोर भएको जुग त भोग्नैपर्छ ।
१२ मे, २०२०  

कोरोना कहर

संसारमा शान्तिले जीवन बाँच र बाँच्न देउ भनेर बुद्धले अर्ती दिनुपर्ने, प्रकृतिसँग मिलेर बस भनेर सद्गुरुले हात जोडेर बिन्ती गर्नुपर्ने, आफ्नै देशमा आत्मनिर्भर बन्नुपर्छ भनेर महावीर पुनले विनम्र वचनले सम्झाइदिनुपर्ने, बिजुलीको अभावले भन्दा घुस खानेका कारणले देश अन्धकारमा रहेको तथ्य कुलमान घिसिङले बुझाइदिनुपर्ने, स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नगरे गरीबले पढ्न र उपचार गर्नै सक्दैनन् भनेर डाक्टर गोबिन्द केसीले पटकपटक अनशन बसिदिनुपर्ने ।

यतिबेला संसारभरी कोरोना भाइरसको महामारी छ । नेपालमा पनि अहिले समुदायस्तरमा फैलिन थालिसकेको छ । अब निकट भविष्यमै यसले भयावह स्थिति आउनसक्ने संकेत दिइरहेको छ । देशको हरेक क्षेत्रलाई सवल पार्नुपर्ने बेला महावीरलाई महामुर्ख र जिद्दी भन्दै सराप्नु आफ्नो जित ठान्यौं । कुलमानलाई भ्रष्ट र रुञ्चे भनेर खुब गाली गर्दै आनन्द लियौं । डा. गोबिन्द केसीलाई उल्टै माफिया र पागल भन्दै उनको मृत्युको कामना गर्यौं ।

यतिबेला देशमा महामारी आउदा महावीरले पिपिइ बनाउदै नि:शुल्क वितरण नगरेको भए स्वास्थ्यकर्मीहरुको मनोबल कस्तो अवस्थामा हुन्थ्यो होला ? कुलमानले लोडसेडिङ हटाएर चौविसै घण्टा बिजुली उपलब्ध नपारेको भए घर र हस्पिटलहरु कसरी चलिरहदा हुन् ?

डा. गोबिन्द केसीले स्वास्थ्य क्षेत्रको निजीकरणलाई निरुत्साहित गरेर बिस्तारै सरकारीकरण गरौं भनेका थिए । राजधानीमा केन्द्रित व्यापारमुखी हस्पिटलहरुलाई सेवामुखी पार्दै दुर्गममा पनि सक्दो सरकारी हस्पिटल स्थापना गरौं भनेका थिए । स्वास्थ्यमा हुने राजनितीकरण रोकेर थिति र प्रणालीमा चलाऔं भनेर ज्यानकै बाजी थापेका थिए । स्वास्थ्य सेवामा वर्ग बिभाजन हुनुहुन्न भनेरै समग्र स्वास्थ्य नीति सुधारको माग राखेका थिए । अब कोरोनाबिरुद्ध हाम्रो स्वास्थ्य प्रणालीको अग्नि परिक्षा सामुन्नेमा छ र कति दयनीय अवस्थामा रहेछ भन्ने चाडै उदाङ्गिने क्रममा छ । विश्व महाशक्ति राष्ट्रहरु नै लगभग लाचार र निरही जस्तै अवस्थाबाट गुज्रिरहदा हामी जवर्जस्ती युद्धको तयारीमा जुटिरहेका छौं । आफैं बाँचिने कि मरिने हो भन्ने अनिश्चित र त्रसित मानसिकतामा छौं । जजसले गोबिन्द केसीलाई कन्दनी कसेर बिरोध गरेका थिए, भित्रभित्रै पश्चतापले पोल्न शुरु गर्यो कि अझै छैन होला ? आर्थिक लाभका लागि मेडिकल माफियाको इशारामा अनशन बसेको आरोप लाउनेहरुले आफैं कति अर्थलाभ गरे होलान् ? आफू निर्देशित बनेर अरुलाई कठपुतली ठान्नेहरुको दिमागमा अहिले चाहिँ चेत खुल्यो कि खुलेन होला ? यो कोरोना कहरमा यस्तो सोच्दासोच्दै आफैंलाई छट्पटी हुन्छ ।

यतिखेर महामारीलाई परास्त गर्न राज्यको नेतृत्वमा नागरिकले साथ दिएर लड्नुको विकल्प छैन । हरेक व्यक्ति र समुदायहरु एकाअर्कासँग सहकार्य गर्दै मिलेर लड्यौ भने मात्रै मानवीय क्षति कम गर्न सक्छौं । यो कोरोना युद्धमा हामी सबै लडाकु हौं, हामी सबै स्वास्थ्यकर्मी हौं । यस संवेदनशील समयमा हामीले गर्नसक्ने उत्तम उपाय भनेकै आफू जोगिने र अरुलाई जोगाउने नै हो । यदी कोरोना संक्रमण भइहाल्यो भने पनि लाग्दैमा मरिहालिन्न भन्ने आत्मविश्वास गुमाउनु हुँदैन । सबैले सक्दो सावधानी अपनाएर अशल नागरिकको भूमिका निर्वाह गरौं । कोरोना युद्ध जितेपछि अरु समिक्षा गर्दै गरौंला जुन दीर्घकालीन राष्ट्र हितका लागि जरुरी पनि छ ।
जय नेपाल!
25th May 2020 

सोती घटना र हाम्रो मानसिकता

हाम्रो नग्नतालाई एक फन्को खास्टोले छोप्नुभन्दा सिलाइएको लुगाले छोप्नु नै उपयुुक्त हुन्छ ।
समाज सुधारक योगमायाहरु अरुण नदिमा हाम्फालेर सामुहिक देह त्याग गर्नु र प्रेमी नवराजहरु भेरीको बहावमा विलीन हुनुमा धेरै समानता र थोरै मात्रै भिन्नता छ ।

राज्यको स्वरुप र मनोविज्ञानले शासन संचालन र सामाजिक चरित्र निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्दछ ।
मानवीयता, वर्गीयता, जातीयता, प्रचण्डपथ, हिंसा-प्रतिहिंसा र रुकुम रोल्पाको सवालहरु अंशअंशमा अन्तर्सम्बन्धित छन् । त्यो बहस र समिक्षा पनि जरुरी छ ।

मान्छेले अर्को मान्छेलाई अमानवीय हर्कत गर्नु जघन्य अपराध त हुँदै हो, यस्तो गम्भीर अपराधलाई दाकछोप गर्न खोज्नेहरु पनि अपराधी नै हुन् । कानुनमा व्यवस्था भए अनुसार दोषी जति सबैलाई हदैसम्मको सजाय हुनैपर्छ ।
फेरि पनि भन्छु, हाम्रो नाङ्गो जीउलाई सधैंभरी एक सरो खास्टोले छोपेर मात्रै उपती लाग्दैन, लुगा सिलाएरै दाक्नुपर्छ । सामाजिक न्याय र समानताको अभ्यास अपरिहार्य भइसक्यो । समयमै होश खोलौं । अन्यथा, एकाइसौं शताब्दीमा भएर पनि यस्तै बर्बर र क्रुर नरसंहारहरु दोहोरी नै रहनेछन् । 
२७ मे २०२० 

माननीय प्रभाकरलाई पत्र

माननीय प्रभाकर ज्यू, रुकुमको जनप्रतिनिधि भएको नाताले आफ्नो क्षेत्रमा भएको दुःखद् घटना सम्बन्धि सदनबाट जनतालाई सत्यतथ्य जानकारी दिन खोज्नु अत्यन्तै जायज हो । तर दलितको कारणले घटना भएको, लकडाउन टोडेको, वडा अध्यक्षले प्रहरी बोलाए, युवाहरू भेरी नदीमा हाम्फाले भन्ने जस्ता झूटो कुरा चाहिँ तपाईंलाई कसले सुनायो ? एक प्रष्ट वक्ताले सदनमै कसरी यस्तो आधारहीन कुराहरु बोल्नुभयो ?

तपाईं आगामी निर्वाचनमा वडा अध्यक्षको प्रत्यासी होईन । जनताको नजरमा तपाईं एक कुशल कमाण्डर, सफल उर्जामन्त्रीका साथै आशा गरिएका थोरै युवा नेता मध्येमा गनिनु हुन्छ । जनताले त तपाईंलाई भविष्यमा प्रधानमन्त्रीको जिम्मेवारीमा देख्न चाहेका छन् । राज्यलाई नै चुनौती दिदै अन्यायका विरुद्ध बन्दुक पड्काउन आँट गर्नेले अहिले आएर पीडितहरुको आलो घाउमा नुनचुक छर्किने दुस्साहस कसरी गर्नुभयो ? यस्तो विभत्सपूर्ण हत्याकाण्डमा जवान छोरा गुमाउने आमाहरुका आँसुप्रति कसरी यति निर्मम बन्न सक्नुभयो ? युद्ध लड्नेहरु सबै हिंस्रक भएर होईन बरु कोमल हृदय भएर अत्याचार सहन नसकी प्रतिकारमा उत्रिन बाध्य पारिइएका पनि हुन सक्छन् भन्ने मेरो अल्प बुझाई थियो तर त्यो बुझाईलाई गलत सावित गर्दै तपाईं किन मानवीयतालाई भुलेर समवेदनाहीन बन्दै हुनुहुन्छ ? तपाईंकै पार्टीका दुई चार कार्यकर्ता सजायको भागिदार बन्न सक्लान् तर तपाईंले घटनाको निष्पक्ष अनुसन्धान गर्न सहयोग गर्नुपर्छ । तपाईंको सकारात्मक भूमिकाले अपराधीहरु उम्किन पाउने छैनन् । तपाईंले अभिभावकको रूपमा पनि कसैगरी न्यायलाई मर्न दिनुहुन्न जुन तपाईंको कर्तव्य पनि हो ।

देशभरमा तपाईंको लाखौं शुभेच्छुक छन् । दुनियाँले घटनालाई मात्रै होईन कि तपाईंलाई पनि नियाली रहेका छन् । यहाँ न्यायले जितेको खण्डमा तपाईंले समेत अझै केही लाख समर्थकको मन जित्न सक्नुहुनेछ । यस घटनापश्चात् पनि एउटा दृढ़, जुझारु र आशालाग्दो युवा नेताको छवि कायमै राख्नुहुने विश्वास छ । यदी न्यायप्रेमी जनताको आशा र विश्वासमा ठेस लाउनुभयो भने त्यो तपाईंकै राजनैतिक पाइलामा ठेस लगाए सरह बन्नेछ र इतिहासले तपाईंलाई एक कलंकित पात्रको रूपमा चित्रण गरिरहनेछ ।

कृपया, भेरी नदीमा आफैं हाम्फाले भन्नेहरुको कुरामा भन्दा यहीँ एउटा फोटोमा बढी भर गर्नुहुन विनम्र अनुरोध गर्दछु । धन्यवाद ।
२७ मे, २०२०
Image may contain: one or more people

बाबुराम र वरियता

जो कसैलाई डाक्टर बाबुराम भट्टराई बन्न निकै कठिन छ । उनको विचार, संस्कार र व्यबहारसँग थुप्रैका सहमति र असहमतिका थुप्रो पक्कै होलान् तर नेपालको राजनीतिमा उनी एक दुर्लभ पात्र भने अवश्य हुन् ।

निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ताको क्रममा उल्लेख गरिएको उनको वरियताका सन्दर्भमा समर्थकहरुभित्र उनको भविष्यको चिन्ता र सुषुप्त अवस्थामा रहेको पदिय आसक्ति प्रकट भइरहेको छ भने बिरोधीहरुलाई उनको अपमान गरेर आफ्नो मान बदेको भाण परिरहेको छ । उनको राजनैतिक उतारचढावलाई महान त्यागको जलप लाउनु वा खिसिट्युरी गर्ने र खिल्ली उडाउने दुवै प्रवृति चटके बाँदरले आफैं आफ्नो मजा लिए जस्तो मात्रै हो । बाबुराम आजकाल चल्तीका कयौं नेताभन्दा देशलाई बढी चाहिने नेता हुन् । अहिले देशमा आएको परिवर्तनका लागि उनले गरेको योगदान र निर्णायक भूमिकालाई यति चाडैं भुल्ने चेष्टा गर्नु उनीप्रति गरिएको अन्याय नै हो । कुनैदिन इतिहासले उनको समग्र जीवनकै तटस्थ मूल्यांकन पक्कै गर्ला नै ।

मुख्यतः अग्रगमन हार्दै जानु र प्रतिगमन हावी हुँदै जानुको नियति एक व्यक्तिले मात्रै होईन, सिङ्गै देश र सारा जनताले क्रमश: भोग्दै जानुपर्ने हुन्छ । सवाल केवल परिस्थितिको हो, अरु त समयले छर्लङ्ग पार्दै जाने निश्चित छ ।
8th June, 2020 

एमसिसी सम्बन्धि

- राष्ट्रिय स्वाधीनतासँग जोडिएर जनस्तरमै गम्भीर प्रश्नहरु उठिसकेपछि सम्बन्धित व्यक्तिहरुले आशंकालाई प्रष्ट पार्ने र छलफल गरेर विवादलाई साम्य पार्नुनुपर्नेमा उल्टै संसदबाट पारित गर्न हतारो गर्नुले नियतमा केही खोट छ कि भन्ने आशंका गर्न सकिन्छ । 
- एमसिसिलाई जसरी पनि पास गर्नुपर्छ भन्नेहरु नै कतिपय बुदामा रहेका शब्दप्रति विश्वस्त रहेनछन् जुन आफैंले स्वीकार्छन् । बिरोध गर्नेहरुको माग भनेकै सम्झौतामा जति पनि अमुर्त कुराहरु छन्, स्पष्टसँग ब्याख्या गरिनुपर्छ भन्ने छ । केही बुदाहरु संशोधन नभएसम्म जनता सजिलै आश्वस्त हुने आधार पनि देखिदैन । यहि अवस्थामा जनता खारेजीकै पक्षमा देखिन्छन् । कसैले भिख दिए पनि त लिन्न भन्न मिल्छ भने संसदले त झन् जनभावना प्रष्ट रूपमा बोल्नुपर्छ ।
- राष्ट्रघाटी महाकाली सन्धी गर्न मुख्य भूमिका खेलेकाहरु नै एमसिसी पारित गर्न लागिपरेको देखेर धेरैजसोलाई अझै बदी ससंकित बनाएको छ । यता शेर बहादुर र केपीले छिटो पास गरौ भन्ने उता अमेरिकाले नेपाल चिनको प्रभावमा पर्नुहुन्न, सहयोग नलिइ हुन्न भन्ने आशय प्रकट गर्नुले धेरैको मनमा चिसो पसेकोछ ।
- राष्ट्रियता र दीर्घकालीन असर पर्ने सवालमा एकाध राजनैतिक पार्टी वा व्यक्तिको चाहनालाई प्रमुख मानेर स्वेच्छाचारी र हुकुमी निर्णय गर्न खोज्नु सर्वथा गलत छ ।
- बिदेशी सहयोग लिनुपर्छ तर दाताले अशल भावनाका साथ दिएको हुनुपर्छ । हामीलाई आबश्यक परेकोछ भन्दैमा जस्तोसुकै शर्त स्विकारेर भए पनि लिनैपर्छ भन्ने बाल हठ राख्नु बेठीक छ । केही रकमका लागि देश नै बन्दकी राख्न कुनै पनि नागरिक तयार हुँदैन ।
- यत्तिको इच्छाशक्ति र प्रतिबद्धता त बरु आफैंले देश बनाउनमा प्रयोग गरेको भए देश उहिल्यै बन्थ्यो होला, देशभर जयजयकार पनि हुनेथ्यो ।
- आफैं चाहिँ केही नगर्ने, सधैं अरुको मात्रै आश गरिरहने परनिर्भर मानसिकता नत्यागेसम्म मुलुक समृद्ध पार्ने जतिसुकै भाषण र जति वटा सम्झौता गरे पनि त्यो फगत भ्रमजाल मात्रै हुनेछ ।
- हाम्रो खोपडीमा लागेको बिर्को खोल्न दिला भैसकेको छ । अब चाहिँ जतिसक्दो चाडो विवेकको दकनी खोल्ने प्रण गरौं । 

प्रतिनिधि सभाबाट जसरी संविधान संसोधन विधेयक सर्वसम्मतिले पारित गरेको ऐतिहासिक दिनमा सम्पूर्ण नेपालीलाई गौरवान्वित महशुस भएको थियो । सांसदहरू संसदमा बोलिरहदा हामीलाई कुन नेता कुन पार्टीको भन्ने हेक्का समेत भएन । सबै हाम्रै हुन् भन्ने भावना जागृत भएको थियो । सांसदहरूको बोलीमा जस्तै व्यबहारमा पनि एकरुपता र इमानदारीता कायम रहोस् । जनताले सधैं दृढतापूर्वक साथ दिनेछन् । 
हाम्रो भूमी फिर्ता ल्याउन जनताहरु एकजुट र एकमत भएर बल सुन्दर दंगले सटिक पास मिलाई दिएका छन् । अब सरकारले गोलपोष्टमा चाडै कुटनैतिक बल प्रहार गरेको र गोल भएको हेर्न चाहन्छन् । एमसिसीका सन्दर्भमा पनि त्यस्तै राष्ट्रिय एकता झल्कियोस् । 

सबै नेपाली आशावादी छौं । 
19th June, 2020 

Friday, July 10, 2020

नेकपाको आन्तरिक कलह र वर्तमान सरकारको औचित्य

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावको पूर्वसन्ध्यामा गरेको गठबन्धन अन्ततः पार्टी एकतासम्म पुगेकोछ । राजनैतिक तरलताले आजित जनताहरुले स्थिर सरकारको पक्षमा खुलेरै भोट दिए पनि । करीब दुई तिहाई जनमत प्राप्त कम्युनिष्ट सरकारले अब राष्ट्रिय हितमा धमाधम काम गर्ने अपेक्षा थियो । तर यथार्थमा भने त्यसो हुन सकेको छैन ।

दुई वटा कम्युनिष्ट पार्टी मिलेर बनेको नेकपामा नेताहरुको सम्बन्ध घरी सुमधुर हुने र घरी चिसिने क्रममा अहिले फेरि आन्तरिक कलहले उत्कर्ष रुप लिदैछ । एकता अगावै अधिकांशले नेकपाभित्रको सम्भावित आन्तरिक शक्ति सन्तुलन सम्बन्धि गरेको अनुमान अहिले आएर मेल खाएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपि ओली पार्टीभित्रका हरेक कमिटीमा अल्पमतमा परेका छन् । मुख्यतः उनको आफ्नै शैली र स्वभावकै कारण अप्ठ्यारोमा परेका हुन् । सरकारमाथी अहिले तित्राको मुखै बैरी भन्ने उखान चरितार्थ भैरहेको छ ।

नेकपा नेतृत्वको झण्डै दुई तिहाई बहुमत प्राप्त सरकारलाई थुप्रै जनपक्षीय काम गर्नसक्ने ठुलो अवसर जुरेको थियो । ६ वटा प्रदेशमा आफ्नो एकल सरकार, कमजोर प्रतिपक्षी, मधेसी दलको साथ र जनताको अपार समर्थनले गर्दा बाताबरण अत्यन्तै अनुकुल हुदाहुदै पनि जनसरोकारको सवालमा शुरुदेखी नै चुक्दै जादा जनतामा असन्तोष र आशंका बद्दै गएर बिस्तारै गुनासो र बिरोध हुन थाल्नु स्वभाविक थियो । सरकारले जनताको समस्यालाई बुझेर सम्बोधन गर्दै जानुपर्नेमा उल्टै विभिन्न आक्षेप लाउने, बिल्ला भिराउने, अपत्यारिलो गफ हाँक्ने गर्नाले सकारात्मक आलोचना गर्ने तप्कालाई आक्रोशित पार्दै लग्यो । बेला कुबेलाका असान्दर्भिक चुट्किला र टुक्काहरुले पनि मनोरञ्जन दिनुको सट्टा बरु तितोपिरो पार्दै गयो । समयक्रममा आफ्नै पार्टीभित्र पनि त्यो असन्तुष्टि चुलिदै गएर अहिलेको परिस्थिति उत्पन्न हुन पुगेको हो । पार्टीभित्र छलफल र सामुहिक निर्णय गर्दै सोही अनुसार अगाडि बदेको भए यो अवस्था नआउन सक्थ्यो तर त्यसो हुन सकेन । त्यसैले प्रधानमन्त्री अहिले भित्र र बाहिर सबैतिरबाट आक्रमणको तारो बन्न पुगेका छन् जुन निश्चित थियो ।

बिश्व नै कोरोना महामारीको संकटबाट गुज्रिरहेको बेला नेपाल अछुतो रहने सम्भावना थिएन । कोरोनासँग जुध्नका लागि स्वास्थ्य मन्त्रालय मार्फत आवश्यक पूर्वतयारी खासै केही गरिएको थिएन । जब संक्रमण देखिन थाल्यो तुरुन्तै देशभर लकडाउन गरियो, जुनबेला कुर्सी हल्लिरहेको संयोग पनि परेको थियो । जनताहरु केही दिन धैर्यतापूर्वक बसे तर संक्रमितहरु बद्न थाले । लकडाउन चाडै खुल्ने सम्भावना थिएन, यता दैनिक ज्यालादारी गरेर परिवार पाल्नेहरु ठुलो समस्यामा परे । कोहि बच्चा बोकेरै चैत बैशाखको चर्को घाममा अत्यन्तै कष्टकर यात्राका वावजुद भोकभोकै हिडेरै आफ्नो थातथलो फर्किन बाध्य हुनथाले । सबैले देखेका त्यत्रो हुलका हुल मान्छेलाई नदेख्ने सरकारले उनीहरुको पिडा सुन्ने र बुझ्ने सामर्थ्य राख्ने कुरै थिएन । लकडाउन गरेर कोरोना नियन्त्रणमा अहोरात्र खटिनुपर्ने र जनजीवन सहज पार्न कोसिस गर्नुपर्नेमा सरकार भने अचानक पार्टी फोर्ने अध्यादेश जारी गर्ने, बन्दाबन्दीमै सांसद र पूर्व आइजिपीलाई तराईतिर झारेर अर्को पार्टीको सांसद उठाएर ल्याउन निर्देशन दिने, बालुवाटारबाट बीचबीचमा फोन गर्दै आश्वासन बाँड्ने, निवासमै भोजभतेर र सांगीतिक कार्यक्रममा झुम्ने, सिमानामा आएकालाई सुरक्षित तरिकाले प्रवेश गराउन अनिच्छा गर्ने जस्ता कार्यहरु गरिरह्यो । स्वास्थ्य सामाग्री खरिदमा अनियमितता, प्रधानमन्त्री निकटका व्यक्तिहरु अनुचित आर्थिक कारोबारमा संलग्नता, जताततै भ्रष्टाचारको दुर्गन्ध फैलिरहदा प्रम भने कानुनी रूपमा छानबिन गर्नतिर लाग्नुभन्दा बचाउ गर्दै पारदर्शीताको आवाज उठाउनेलाई तीखो कटाक्ष गर्न थाल्दा उनको बोली निरस र फिक्का सुनिदै गयो । सरकारको बेमौसमी योजनाहरु एक पछि अर्को असफल हुँदै जानु र अलोकपृय गतिविधिहरुमाथी प्रश्न उठ्न थालेसँगै नैतिक रूपमा गिर्दै गएको सरकार आफ्नै कारण पार्टीभित्रै संख्यामा पनि कमजोर बन्न पुग्यो । सरकारले प्रभावकारी काम गर्न नसकेकै कारण नेकपाको जनमत घट्न थालेको अनुमान लाउन सकिन्छ ।

वाइडबडी काण्डमा जनताले प्रश्न उठाउदा स्पष्ट पार्नुभन्दा कुनै छानबिन नगरिकन मन्त्रीलाई निर्दोष करार गर्ने, सुन काण्डमा ब्यापारीसँग मिलिमतो गरेर अनुसन्धान प्रतिबेदन नै सामसुम पार्ने, गोकुल फोन काण्डमा पैसा बुझेको प्रमाण खोज्ने, ओम्नि र यतिसँग रातारात सेटिङ मिलाउने तर संसद र पार्टी बैठकमा आफुले नाम नै नसुनेको, थाहै नपाएको, विधि सम्मत निर्णय गरिएको, मन्त्री संलग्न नरहेको अन्तसन्त कुरा गर्दै हिड्ने गर्नाले समस्या झन् बल्झिदै गयो । रुकुममा भएको सामुहिक नरसंहार, अव्यवस्थित क्वारेन्टाइन, क्वारेन्टाइनमै बलात्कार, झाडापखालाकै कारण उपचार नपाई छट्पटिदै प्राण त्यागेका, सिमाना र सडकमा भोकै मरेका जनताका बारे बेखबर रहे झैं केही शब्द बोल्न आवश्यक नठान्ने जस्ता शैलीले नागरिक चिदिदै जानुका साथै आफ्नो सरकार छ भन्ने कतै पनि महसुस गर्नै सकेनन् । तर प्रधानमन्त्री संसदको रोष्ट्रममा बसिबसि विवादित एमसिसीको पक्षमा कुर्लिने, बेसार बारे धारा प्रवाह प्रवचन दिने, सरकारको गुणगान गाउने, राष्ट्रपतिको भरमग्दुर बचाउ र विपक्षीलाई ओठे जवाफ फर्काएर मक्ख पर्ने मात्रै नभएर सरकारले बलात्कार गरेको हो र? यसोउसो गर्न सिकाएको हो र? मारेको हो र? भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिदै सरकार सफल भएको जबर्जस्ती मान्दिनैपर्ने, नमान्ने जतिलाई गणतन्त्र बिरोधी, कसैबाट परिचालित हुल र उच्छृङ्खलको उपमा भिराइदिनमै ध्यान केन्द्रित गरिरह्यो । यसले आउने दिनका बारे राम्रो संकेत गरिरहेको थिएन ।

लकडाउनको बेला ड्युटीबाट फर्किरहेका स्वास्थ्यकर्मी र औषधी किन्न निस्किएका सर्वसाधारणलाई प्रहरीले लठ्ठी बर्साउने र लात हान्ने, डायलाइसिस गर्नैपर्ने बिरामीलाई समेत बाहिर निस्किनै नदिने, गरीबहरुले भोकै मर्न थाल्यौं भन्दा राहत उपलब्ध गराउनु पर्नेमा बाँचे भोलीपर्सी नि खान पाइन्छ भनेर भित्रै थुनेर राख्ने तर सरकारका मान्छेहरु भने तराई पहाड मनपरि डुलिरहने, तन्नेरीका हुललाई कहिले वकिल कार्यालय त कहिले प्रहरी कार्यालयतिर गएर नारा लाउन आदेस दिने कामहरु जायज थिएनन् । राष्ट्रपति चाहिँ खुल्ला सडकमा अगाडि पछाडी दायाँबायाँ सेना प्रहरीको ताँती लगाएर राजसी ठाँटमा साइरन बजाउदै संसद भवन सवार हुने अनि भुइँ टेक्नै नमिल्ने झै गरेर सेनाद्वारा रातो कार्पेट विछ्याउनै पर्ने, शितल निवासमा करोडौंको गलैँचा र साजसज्जा, मन्त्री क्वाटरमा जिमखाना जस्ता गतिविधि देख्दा धेरैलाई फ्रान्सका सम्राट न्युरोकै याद दिलाइरह्यो । राष्ट्रपति एउटा ब्यक्ति मात्रै होईन, सम्मानित संस्था हो । संवैधानिक संस्थाहरु पंगु हुँदै जानुको अर्थ शरीरको अंगहरु क्रमशः फेलियरतिर गएर मान्छेको मृत्यु हुनु जस्तै हो । त्यतातिर गम्भीर भएर समयमै होश पुर्याउन जरुरी छ ।

भारतले हाम्रो भुभाग समेत राखेर नक्सा प्रकाशित गरेपछि सरकारलाई जनताले हाम्रो देशको नक्सा पनि तुरुन्तै जारी गर्न ६/७ महिनादेखि निरन्तर दबाब दिइरहे तर प्रधानमन्त्रीले नक्सा त जत्ती पनि छाप्न सकिन्छ नि भन्ने हलुको टिप्पणी गर्ने, जग्गा नै फिर्ता ल्याउने हो भनेर टारिरहने, नीति तथा कार्यक्रममा समेत नक्साको बिषय नराख्ने तर सचिवालयले राख्नैपर्ने अडान लिएपछि बल्लतल्ल अन्तिम समयमा समेटिएको कुरालाई चाहिँ आफुले गरेको भन्दै एक्लै जस लिनखोज्ने आत्मकेन्द्रित र ब्यक्तिवादी सोचलाई विवेकशील कसैले पनि अशल मान्न नसक्ला । कम्युनिष्ट पार्टीमा त झनै ब्यक्तिभन्दा पार्टी प्रधान हुन्छ । भलै यसको श्रेय जनताले प्रधानमन्त्रीलाई नै दिएका छन् र इतिहासले पनि उनैलाई दिइरहनेछ ।

केपी ओलीको आफ्नै विशिष्ट गुण र वैगुणहरु छन् । परिस्थितिको अनुकुलता र प्रतिकुलतालाई आकलन गरेर बोल्ने उनको स्वभाव देखिन्छ । बरु त्यहीँ कुरा त्यहीँ दिन अर्को ठाउँमा गएर ठ्याक्कै उल्टो कोणबाट पनि बोल्दिन धक मान्दैनन् । तर यसपाली एकरुपता देखाएका छन् । आफ्नै नेतालाई भारतीय एजेन्ट करार गर्ने र व्यबहार पनि सोही अनुसार गर्ने । सकेसम्म पार्टीलाई बेवास्ता गर्ने, बैठक राख्दै नराख्ने, पार्टीका बहुमत सदस्यले गरेको निर्णय नमान्ने अर्थात नसुन्ने, थकाउने, गलाउने र आफुले चाहेकै जसरी सम्झौता गराउने । त्यसो हुन नसके पार्टी नै फुटाउने । त्यहीँ रणनीति अन्तर्गत स्थायी कमिटीको बैठकलाई खुल्ला चुनौती दिइरहेका छन् । आफ्नै सरकारी निवासमा चलिरहेको पार्टी बैठकमा उपस्थित नहुने, नेताहरूको कुरा सुन्न चासो नदिने तर विपक्षी दल, अख्तियार प्रमुख र प्रधानन्यायाधीशलाई रातिराति बोलाएर भेट्ने, लकडाउन लागू नहुने गरि केही युवाहरुलाई अरुको लागि निषेधित क्षेत्र घोषणा गरिएको माइतीघर मण्डलामा समर्थनमा नारावाजी गर्न लगाउने, अहिलेको पार्टी फोरेर पूर्वपार्टी चलाउने मनसायले आफू निकटका व्यक्तिहरुलाई निर्वाचन आयोगमा दल दर्ता गर्न पठाउने क्रियाकलापहरु निर्धक्क भएर गरिरहेका छन् ।

संसद अधिबेशन अन्त्यको निर्णय गर्न समेत सभामुखसँग परामर्श गर्न आवश्यक ठानेनन् । आफ्नै पार्टीमा छलफल त के जानकारी नै दिएनन् । प्रतिपक्षीले त झन् कुनै सुइँको नै पाएनन् । बिहान पार्टीको अर्का अध्यक्षसँग संसद चालू राख्ने सहमति अनि प्रतिपक्षीलाई राति संसदमा मिलेर एमसिसी टेबल गर्न आग्रह गर्ने तर हठात अर्को दिन मन्त्री परिषद बैठकमा मन्त्रीहरू आइनपुग्दै संसदलाई रत्यौली खेल्ने थलो नबनाउने भन्दै अध्यादेशको दोका खुल्लै राख्न संसद अन्त्यको निर्णय गर्न हिच्किचाएनन् । अध्यादेश ल्याउन, फिर्ता गर्न र संसद अधिबेशन अन्त्यको निर्णय जति हतारमा भएको थियो, त्यत्तिकै तेज गतिमा राष्ट्रपतिको अनुमोदन पनि भएकोछ । यसो हुनुमा एउटै मात्र कारण प्रधानमन्त्री र राष्ट्रपतिको नियमित भेटघाट र सहकार्यको प्रतिफल हो । बालुवाटारले सकेसम्म आफैले गुट भेला गर्ने, फकाउने, लोभ्याउने, धम्क्याउने र नसके शितल निवास रिफर गर्ने कार्य नाजायज र खेद्जनक छ । यसरी राष्ट्रकै उच्च र सम्मानित पदको गरिमा र मर्यादा कायम रहिरहन्छ भन्ने ठान्नु आपत्तिजनक छ ।

मानौं, यतिबेला सरकारमा अरु नै कोही रहेका हुँदा हुन् त प्रधानमन्त्रीले कति जोडतोडले छिर्केमिर्के कटाक्ष गरिरहेका हुँदा हुन् ? पार्टीमा उनी विपक्षमा रहेको भए उनी संयमित हुँदै वार्ता गरिरहेका हुन्थे होलान् ? सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा उनको बहुमत हुदो हो त अहिलेसम्म के कस्ता निर्णय गरिसकेका हुन्थे होलान् ? अहिले पार्टी गणित त्यस्तो छैन तसर्थ अनुमान मात्रै लाउन सकिन्छ । आफुलाई जबजको उत्तराधिकारी ठान्ने तर जवजकै आधारभूत मान्यतालाई व्यबहारमा नमान्ने अराजक, अलोकतान्त्रिक, अहंकारी, स्वेच्छाचारी र ब्यक्तिवादी सोचाइले देश, पार्टी, विचार र स्वयम् आफैलाई पनि फाइदा गर्दैन ।

कांग्रेस नेतृत्वको सरकारले नेपालमा संविधान जारी गरेकोमा असन्तुष्टि प्रकट गर्दै भारतले नाकाबन्दी गरेको थियो । मधेसवादी दलहरु आन्दोलनमा थिए । लगत्तै केपी ओली प्रधानमन्त्री भए । नाकाबन्दीको मुकाबिला देशभक्त जनताले डटेर गरिरहेका थिए । प्रधानमन्त्री ओली भने कुटनैतिक पहल गरेर स्थितिलाई सामान्य बनाउन तत्परता देखाउनुभन्दा कुर्सीमा बिराजमान भएर मधेसी र पहाडी भनेर उत्तेजना फैलाउन उद्दत थिए । मधेसमा गोलीले युवाहरू दल्दै गर्दा रुखबाट पाकेका एकदुई आँप झर्नु नौलो कुरा नभएको बताउथे । ईन्डियासँग चाइना कार्ड प्रयोग गर्थे तर व्यबहारमा भने कुनै औपचारिक प्रक्रिया थालेनन् । फलस्वरूप देशमा जातीय दंगाको खतरा बदिरहेको थियो भने दुबै छिमेकी मुलुकसँगको परराष्ट्र सम्बन्ध छिन्नभिन्न अवस्थामा पुग्दै थियो । संघ, प्रदेश र स्थानीय तहको निर्वाचन अनिश्चित थिए । आफ्नै पार्टी नेताहरूले पहल गरेको र साक्षी बसेको सत्ता साझेदारी दलसँगको आलोपालो लिखित सम्झौतालाई पनि नेताहरुको आग्रहका वावजुद अस्वीकार गरिदिए । परिणामस्वरूप संसदमा अविश्वास प्रस्ताव दर्ता भएसँगै अघिल्लो पटकको उनको कार्यकाल टुङ्गिएको थियो । नेकपाभित्रको आन्तरिक मामिला छिट्टै साम्य नहुने हो भने पुनः त्यस्तै पुनरावृत्ति हुने सम्भावना देखिदैछ । नेकपाका नेता कार्यकर्ताले प्रस्तुत गर्ने उदारता र संयमताले नै नेकपाको भविष्य निर्धारण गर्नेछ ।

सुर्य अब पश्चिमबाट उदाउछ, नेपाललाई वार्षिक सवा अर्ब फाइदा आउछ, महाकाली सन्धि राष्ट्रिय हितमा छ भन्दै सन्धि गरेर संसदबाट अनुमोदन गर्न प्रमुख भूमिका खेल्नेहरु नै पुनः एमसिसी सम्झौता मार्फत मुलुक समृद्ध बनाउने जिद्दी गर्नु, सित्तैमा त्यत्रो पैसा आइरहेको भनेर र्याल चुहाउनु, अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रन्छ भन्ने पिरले सार्वभौम र स्वाधीनताको ख्याल नगरी जसरी नि पास गर्न तम्सिनु कुनै अनौठो भएन, आश्चर्य त जब यिनै मान्छेहरु संसद र सडकमा खुंखार देशभक्त र खाटी राष्ट्रवादी कहलिन्छन् । यिनकै समर्थनमा सडकमा होहल्ला गर्दै केही थान जवानहरु प्रदर्शनमा कुर्लिन्छन् । सरकार गठन भएदेखि नै जनताप्रति उत्तरदायी बन्न जाँगर नदेखाएकै कारण मुख्य जिम्मेवारीबाट सरकार चुक्दै गयो । देश बिदेशमा रहेका नेपालीले देशलाई आर्थिक र बौद्धिक सहयोग गर्न जुटिरहदा सरकार भने एकपछी अर्को भ्रष्टाचार काण्डमा फसिरह्यो । महामारी संकटमा समेत स्वास्थ्य सामाग्रीमा कमिसनको खेल खेल्छ, विपत्तिमा उद्द्वार गर्नुपर्ने नागरिकमाथि व्यापार गर्छ । जसको कारण केही मन्त्रीले गरेका राम्रा कामहरू पनि ओझेलमा परिरहे । समग्र मूल्याकंन गर्दा मुलुकमा सुशासन कायम गर्न सरकार असफल भएकै हो ।

कोरोना महामारी पश्चात् देशमा बेरोजगारी र भोकमरीले विकराल समस्याको रुप लिने निश्चित छ । गरीबहरु बादीमा बग्ने, पहिरोले पुरिने, घरबारविहीन हुने र शीत लहरले मृत्युु हुने जस्ता सधैंको समस्या दोहोरिने नै छ । हरेक वर्ष उस्तै प्रकृतिको समस्या दोहोरिइरहदा पनि रोकथाम, नियन्त्रण र क्षति न्यूनीकरण गर्न आवश्यक योजना बनाउन सकेका छैनौं । अबको तहसनहस अर्थतन्त्र उकास्न, जनताका समस्या हल गर्न, छिमेकीसँग बिग्रदो कुटनैतिक सम्बन्ध सुधार्न, कोरोना बिरुद्ध लड्न, अनिकालको सामना गर्न, रोजगारी सिर्जना गर्नका लागि कुनै स्पष्ट र ठोस योजना नै बनेको छैन । सरकार बेकारमा तथ्यहिन कुरालाई प्रमाणित गर्नमै सकेजति शक्ति खर्चिरहेको छ । तसर्थ वर्तमान सरकारको औचित्य लगभग सकियो । अबको कठिन परिस्थितिलाई सम्हालेर नेतृत्व प्रदान गर्नसक्ने ब्यक्तिको आगमन नै अहिलेको आवश्यकता हो ।

सक्षम र योग्य कमान्डरलाई चिन्ने लडाइँको मैदानमै हो । तसर्थ केपी ओलीलाई प्रधानमन्त्रीका रूपमा चिन्ने उपयुक्त समय यहि नै थियो । अध्यक्षबाट हटाउने नहटाउने उनको पार्टी नेकपाको नितान्त आन्तरिक बिषय हो । सांगठनिक विधी नमान्ने र अनुशासन उल्लंघन गर्नेलाई पार्टीको निर्णय नै सर्वोपरि हुनसक्छ । विधि र प्रक्रियाको वकालत गर्ने तर विधि लागू गर्न हिम्मत नगर्नेहरु पनि उत्तिकै जिम्मेवार छन् । कुनै ब्यक्तिकै कारण संस्थाले क्षति व्यहोर्नुपर्छ भने त्यो दुर्भाग्यपूर्ण हुनेछ । नेकपा फुट्ला भन्ने चिन्ताले देशलाई भड्खालोमा हाल्ने र जनताहरु सती जानुपर्ने कुरामा कदापी सहमत हुन सकिन्न ।

आम जनताले देशको निम्ति कसैले इमान्दारीपूर्वक जादु गरोस् भन्ने चाहेका छन् । त्यो सम्भावना त छैन तै पनि जनताले खोजेको बेला सरकार भएको अनुभुति हुनुपर्छ । नेतृत्वको अग्निपरिक्षा संकटको घडिमै हुने हो । यथास्थितिमा रुमल्लिएर बेथितिलाई मौलाउनु दिनुभन्दा नयाँ विकल्प खोजिनु पर्छ । केपी बसेको कुर्सीमा अर्को कोहि ब्यक्ति आउने बित्तिकै चमत्कार हुने होईन तै पनि बीसको उन्नाइस पो हुन्छ कि भन्ने आशा गर्नुपर्छ । अर्को आउनेले पनि सुशासन दिन नसकेको खण्डमा फेरि अर्को उत्तम विकल्पको खोजी गरिनैपर्छ । जबसम्म साच्चिकैको सहि नेतृत्व भेटिदैन तबसम्म अनेक विकल्पमा जानैपर्छ । यदी निस्वार्थ नेतृत्व चयनमा लाग्यौ भने स्वभाविक रुपले एकदिन स्थायी वा स्थिर सरकार या सजिलैसँग फेरबदल नहुने जनताको सरकार पक्कै पाउनेछौं । अहिले तुरुन्तै चाहेर मात्रै त्यो सम्भव छैन तर आम जनताले सचेत दंगबाट व्यवस्था र नेताको खोजी भने निरन्तर जारी राखिरहनु पदर्छ ।
२६ असार २०७७ 

Sunday, June 28, 2020

उनीलाई

बदलिएछ कि समय
बदलिछु आफैं
भिन्नै उमंग छ मनमा
खोजीरहेको अमुल्य चिज भेटाए झै
मुल बाटो भेट्न हतारिएको बटुवा झैं
कस्तो अनौठो व्यग्रता
कस्तो चन्चल प्रतीक्षा
धर्तीआकाश नै मुस्कुराइरहे झैं ।

एकै उद्देश्य
एकै गन्तव्य
समाहित भएछु निसन्देह
एक सहयात्री
एक सारथि बनेर
उप्रान्त
हिड्नु छ तिमीसँगै निरन्तर
र पुग्नुछ धेरै पर परसम्म
संघर्षको कष्टकर यात्रामा हाँसीखुशी ।

हाँस्दै साथमा
रुदै काखमा
हरपल हरक्षण
जीवन जिउने अभिलाषाले पुलंकित स्वप्नहरु
दकमक्क फुल्दैछन् यामहरु छोपिने गरि
पलाउदै छन् बाह्रैमास सुगन्ध छर्ने यादहरु
लालायित अन्तर्मनका मीठो तरंगहरु
मेरी तिमीलाई ।

तिम्रो एक इन्च उचाई अझै बद्छ भने
तिम्रो पाइला एक फड्को अघि सर्छ भने
तिम्रो खुट्टालाई निसंकोच काध थाप्न के भो र!

मभित्रै बसेकी छ्यौ सधैं सधैंलाई
जिन्दगीभर सुखदुःखको साक्षी बन्ने मान्छे
जुनी जुनीलाई पुग्ने अजम्बरी प्रण मेरो
मबाट हामी भैसकेको छु
तिम्रो सेतो जुत्ताको हिफाजत गर्न सकूँ ।

चित्रविचित्र सम्बन्धहरु
टक्टकाएर झर्ने पाइतलाको धुलो
बैँसमै वइलाएर झर्ने शिरफूल
विश्वासको अग्लो चुचुरो अट्ने तिम्रो दिल
तिमी भएरै
निकै फरक लाग्दैछ समय
उस्तै फरक लाग्दैछ मेरो जिन्दगी नै ।
१३ असार, २०७७

Saturday, June 13, 2020

गाउँतिर फैलिदै कोरोना

अहिले विश्वभरी महामारीको रुप लिएको कोभिड-१९ नयाँ कोरोना भाइरस त हो तर कोरोना भाइरस भने नयाँ होईन । योभन्दा अगाडि मानव जातिले धेरै प्रकारका कोरोना भाइरसको सामना गरिसकेका छौं । यस अघिका सार्स र मर्स कोरोना भाइरसको मृत्युदर क्रमशः ~१०% र ~३५% थियो जुन निकै उच्च दर हो जब कि कोभिड-१९ को संक्रमणले हुने मृत्युदर जम्मा २-४% मात्रै देखिन्छ । यसरी मृत्युदरलाई तुलना गरेर हेर्दा अहिलेको भाइरसलाई पहिलेको भन्दा कमजोर मान्नुपर्छ तर हलुको रूपमा लिएर लापरबाही गर्ने भुल भने गर्नुहुदैन ।

बिश्वमै उत्कृष्ट स्वास्थ्य प्रणालीको अभ्यास गर्ने भनिएका देशहरू नै कोरोनाका सामु घुँडा टेकिरहेको सन्दर्भमा नेपालमा कोरोना भाइरस संक्रमित भेटिन थालेसँगै सरकारले लकडाउन घोषणा गर्नैपर्ने बाध्यता थियो किनकि कोरोनासँग जुध्नलाई आवश्यक मानसिक र भौतिक पूर्वतयारी पर्याप्त मात्रामा गरिएकै थिएन । अरु देशहरूले पनि कोरोना नियन्त्रण गर्न यहीँ उपाय अपनाइरहेका थिए । लकडाउन हुनेबित्तिकै देशैभरी मान्छेहरुमा भाइरसले अब सखाप पार्नेभयो भन्ने अल्पबुझाई र चेतनाको कमीले गर्दा गाउँशहर जताततै त्रसित वातावरण बन्न पुग्यो । अहिलेसम्म समाजमा त्यो सन्त्रास कायमै छ जसले धेरैलाई रातदिन विक्षिप्त हुनेगरी सताइरहेको छ । यी सम्भावनालाई ध्यान दिएर नै मैले लकडाउन लगत्तै कोरोना सम्बन्धि केही जानकारीसहित फेसबुकमा आफ्नो नम्बर पनि शेयर गरेको थिएँ । अहिले मान्छेहरुमा रोगको बारेमा थुप्रै चेतना त आएको छ तर अझै पनि धेरै व्यक्तिहरुमा अस्पष्ट र अन्धाधुन्ध बुझाई रहेकाले निकै आतंकित भएको पाइएको छ । विशेषगरी जोखिम समुहहरु नै रोग बारे अनविज्ञ रहदा भोलिका दिनमा स्थिति नियन्त्रण बाहिर गयो भने अकल्पनीय मानवीय क्षति हुन सक्दछ । सामाजिक सन्जाल, टिभी, रेडियो, पत्रिकामार्फत कोरोना बारे लगातार प्रसारण भइरहेको हुनाले मलाई केही लेखिरहन जरुरी लागेको थिएन तैपनि लकडाउन खुकुलो भएसँगै पहाडी क्षेत्रमा पनि संक्रमितको संख्यामा वृद्धि हुँदै गइरहेकाले आफुलाई लागेको कुरा लेख्दा अलिकति भए पनि कोरोना नियन्त्रणमा सहयोग पुग्छ कि सोचेर लेख्ने निधो गरेकोछु ।

नेपालमा लकडाउनले शुरुका दिनदेखि नै ज्यालादारी गर्ने श्रमिक र  विपन्न वर्गलाई प्रत्यक्ष असर गरेको भए पनि यस अवधीभर पहाडी र हिमाली जिल्लाहरुमा जनजीवनलाई भने त्यति असर पुर्याएको थिएन । गाउँमा सबैको घरमा खानलाई भकारीभरि अन्न, बारीमा तरकारी, धारामा पानी भएकाले केही नुनतेल बाहेक अरु चिज खासै जोहो गर्न कठिनाई भोग्नु परेन । अरु बेलामा जस्तै अर्मपर्म, खेतीपाती र मेलापात निरन्तर चलिरहेकै थियो । तर शहरबजारमा करीब असी दिन कर्फ्यु सरह लागू भएको लकडाउनको प्रतिक्रिया स्वरुप लकडाउनको अन्य विकल्प खोज्नुपर्ने दबाबका कारण सरकारले नै अब खुकुलो पार्दै जाने भएपछि चाहिँ पहाडी र हिमाली भेगतिर पनि संक्रमितहरुको आवतजावत हुनसक्ने सम्भावना भएकाले सबैजना सचेत र समवेदनशील हुन अति जरुरी छ । अब लकडाउन खुकुलो भएसँगै गाउँघरतिर पनि संक्रमण फैलिनसक्ने र संक्रमितको संख्या बद्न सक्नेछ ।

अधिकांश मान्छेहरुलाई आजकाल स्वास्थ्यमा देखिने अन्य समस्यालाई पनि कोरोनाले पो छोयो कि भन्ने भ्रमले गर्दा छट्पटी बदेको देखिन्छ । एलर्जी, रुघाखोकी, सिजनल फ्लू र कोरोना भाइरसका लक्षणहरु एक अर्कोसँग मेल खाने भएकाले आम मान्छेले फरक छुट्याउन नसक्दा अनावश्यक मानसिक तनावबाट गुज्रिनु परेको छ । तसर्थ यी लक्षणहरु थाहा भयो भने केही तनाव कम हुनसक्छ भन्ने हेतुले छोटकरीमा लक्षणहरु उल्लेख्य गर्नु उपयुुक्त ठानेकोछु ।
एलर्जी: सुख्खा खोकी, हाच्छ्यु आउनु, नाकबाट पातलो सिंगान बग्नु, आँखा चिलाउनु र आँखाबाट पानी आउनु
रुघाखोकी: खोकी, हाच्छ्यु, घाँटी बस्नु, नाकबाट पानी बग्नु
फ्लू: खोकी, नाक र घाँटीमा म्युकस जम्नु, जीउ दुख्नु, टाउको दुख्नु, मन्द ज्वरो आउनु
कोरोना: उच्च ज्वरो, सुख्खा खोकी, हाच्छ्यु आउनु, नाक बग्नु, थकाइ महशुस हुनु, टाउको दुख्नु, घाँटी बस्नु, सास फेर्न अप्ठ्यारो हुनु
यदि कसैलाई यस्तो लक्षणहरु देखिएमा स्वास्थ्यकर्मीलाई तुरुन्तै खबर गर्नुपर्छ । उहाँहरुको सल्लाहअनुसार उपचारको जरुरत पर्नसक्छ वा आफैं होम क्वारेन्टाइनमा बस्नुपर्ने पनि हुनसक्दछ ।

सर्वसाधारणले के गर्ने र के नगर्ने:
नगर्नुपर्ने:
- भिडभाडमा नजाने, पूजापाठ र भोजभतेर नगर्ने
- अनावश्यक हिडडुल नगर्ने
- हात नमिलाउने, अंकमाल नगर्ने
- हातले नाक, मुख र आँखा नछुने
- शाकाहारी भोजन गर्ने वा माछामासु तथा अण्डा राम्ररी पकाएर मात्रै खाने
- पशुपंछीबाट सक्दो टाढा रहने
- क्वारेन्टाइनमा बसेकालाई शंकास्पद र हेयको नजरले नहेर्ने

गर्नुपर्ने:
- नियमित साबुनपानीले हात धुने
- सम्भव भएसम्म मास्क, पन्जा र चस्मा लगाउने
- हाछ्यु गर्दा कुहिनो वा रुमालले नाक मुख छोप्ने
- गाउँमा सामुहिक धारा प्रयोग हुने हुनाले टुटीलाई साबुनपानीले नियमित पखालिरहने
- दुई मिटर जतिको भौतिक दुरीलाई सदैव कायम राख्ने
- खानपिनमा मह, लसुन, अदुवा, बेसार, मिठी, धनिया, कागतीमा जोड दिने

क्वारेन्टाइनमा बस्नेहरूले:
- देशको परिस्थितिलाई बुझेर सरकारी चिज निशुल्क पाइन्छ भन्ने सोचले अनावश्यक सुविधाको माग नगर्ने, अधिक अपेक्षा नराख्ने
- आफ्नो सीप अनुसारको सिर्जनात्मक काममा व्यस्त रहने
- ध्यान र योग अभ्यास गर्ने
- धेरैजसो स्कुलहरुलाई नै क्वारेन्टाइन स्थल बनाइएको हुनाले त्यहाँ स्वविवेकले सरसफाइ गर्ने, बगैंचा बनाउने
- पिसिआर टेस्ट नेगेटिभ आएपछि मात्रै घर जाने मानसिकता बनाउने र घर गएको एक हप्तासम्म पनि घरमै सेल्फ आइसोलेसनमा बस्ने

जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुले:
- उचित खाने, बस्ने, पानी, साबुन र शौचालयको व्यवस्था गरिदिने
- जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुले क्वारेन्टाइन स्थलमा नियमित निरीक्षण, हेरचाह, परामर्श र उत्प्रेरित पार्ने खालको कुराहरू गर्ने
- पिसिआर टेस्ट गरेर मात्रै घर पठाउने व्यवस्था मिलाउने
- संक्रमित संख्यालाई ख्याल गरेर अतिरिक्त क्वारेन्टाइन तयारी अवस्थामा राख्ने

बिशेष अभियान:
- पालिका, वडा कार्यालय, स्वास्थ्य चौकी, क्लब, स्कुल र युवाहरू मिलेर भौतिक दुरीलाई ख्याल गर्दै टोलटोलमा मनोबैज्ञानिक परामर्श र सचेतना अभियान संचालन गर्ने । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षित र सचेत तप्काको सूचनामूलक कुरालाई सुनेर सर्वसाधारणको आत्मबलमा अधिक वृद्धि हुनेछ ।
- जोखिम समुहलाई बढी ध्यान दिने: बिश्वभरिको तथ्यांकले जेष्ठ नागरिकहरु र दिर्घरोगीहरुलाई तुलनात्मक रूपमा सजिलैसँग संक्रमण र मृत्यु भएको देखाएकोछ । तसर्थ, साठी बर्षभन्दा बढी उमेरका र सुगर, प्रेसर, दम, मुटु, मृगौला, क्यान्सर लगायतका बिरामीहरुलाई सक्दो अरुको सम्पर्कमा नजान सल्लाह दिने, संक्रमण भएमा हुनसक्ने खतराको बारेमा जानकारी दिने ।
- नगरपालिका र गाउँपालिकाहरुले चेकजाँच छिटोछरितो बनाउन साझेदारीमा पिसिआर मेसिन खरिद र स्वास्थ्य जनशक्ति थप्नका लागि सामुहिक छलफल गरेर उचित विकल्प निकाल्ने
- फ्रन्टलाईनमा खटिने स्वास्थ्यकर्मीहरुलाई सम्भावित भयावह स्थितिका लागि मौजदात राख्न ध्यान दिने

बैज्ञानिकहरुद्वारा कोरोना भाइरस कोभिड-१९ को संक्रमण चमेरा वा अर्को कुनै वन्यजन्तुबाट भएको अनुमान गरिएको छ । चीनबाट संक्रमण हुन शुरु भइ युरोप र अमेरिकी शक्तिशाली मुलुकहरूलाई तहसनहस पार्दै महामारीको रुपधारण गरि पुनः एसियामै प्रवेश गरेको छ । ईन्डियामा भाइरस फैलिन थालेसँगै उता रहेका नेपालीहरु घर फर्किने क्रम ह्वात्तै बद्नु स्वभाविक थियो । सरकारले नेपालमा पनि भाइरस फैलिनसक्ने सम्भावनालाई हेरेर तुरुन्तै लकडाउन गर्ने सहि निर्णय गर्दागर्दै पनि स्वास्थ्य क्षेत्रमा आवश्यक प्राविधिक तयारी गर्न चुक्नु र सिमानाका सामुदायिक भवन र होटेलहरुलाई धमाधम सुविधाजनक क्वारेन्टाइन बनाउदै परिस्थिति अनुसार व्यवस्थित नयाँ क्वारेन्टाइन निर्माणमा लाग्नुपर्थ्यो । सिमानामा जथाभावी आवातजावतलाई कडाइ गर्दै व्यबहारिक रूपमा प्रवेशको प्रबन्ध गर्नुपर्थ्यो । नेपाल भित्रिएकालाई केही समय क्वारेन्टाइनमा राखेर पिसिआर जाँच गर्दै स्थानीय तह र प्रदेशको समन्वयमा सुरक्षित दंगले घरघरमा पुर्याउनु पर्थ्यो । यदि त्यसो गरिएको भए हाम्रो गाउँहरु पुरै सुरक्षित रहने र जनजीवन सामान्य अवस्थामै चलिरहने सम्भावना थियो तर सरकारले विपत्तिको बेला आफ्नो देश भित्रिन चाहने आफ्नै जनताहरुलाई उतै रोक्ने र छेक्ने कठोर नीति मात्रै लिने गल्ती गर्यो । जसले गर्दा नागरिकहरु सिमापारी कष्टकर समयमा आफुलाई अनाथ महसुस गर्नुपर्यो । देशको सिमानामा मात्रै नभएर देशभित्रै पनि पहुँच हुनेहरूलाई लकडाउन कडाइका साथ लागु हुनसकेन, केवल पहुँच नभएका गरिबहरुलाई मात्रै निर्ममतापूर्वक लकडाउनको पालना गर्न बाध्य पारियो । दैनिक ज्यालादारीमा पेट पाल्नेहरु भोकभोकै बच्चा च्यापेर हप्तौं हिडेर आफ्नो थातथलो जानुपर्ने परिस्थिति आइपर्यो । सिमानाबाट रातारात हजारौं मान्छे नेपाल पसेर बिना चेकजाँच आफ्नो गाउँगाउँ पुगे, बजारमा पावर हुनेहरु मनपरि यताउता गरिरहे । नागरिकहरुलाई गरिएको यस्तै असमान व्यबहारले गर्दा असन्तुष्टि चुलिदै गएपछि सरकार रक्षात्मक हुनुपरेको छ । सरकारसँग जनतालाई भोकको विकल्पमा राहत दिने सामर्थ्य छैन । लकडाउन लम्बिदै गएर निम्न मध्यम वर्गलाई असर गर्न थालेपछि उनीहरु बिरोध गर्दै बाहिर निस्किन थाल्दा लकडाउन खुकुलो पार्नैपर्ने अवस्था आउने निश्चित थियो । लामो समयसम्म देश नै बन्दाबन्दीमा राख्नु उचित र सम्भव पनि थिएन किनकि औषधी तुरुन्तै पत्ता लाग्ने सम्भावना अत्यन्तै न्यून छ । यस अघिका सार्स र मर्स कोरोना भाइरसहरुको पनि कुनै खोप वा औषधी अहिलेसम्म पत्ता नलागिसकेको हुनाले अझै कहिलेसम्म कुर्नुपर्ने हो भन्ने कुनै ठेगान छैन । स्वास्थ्यकर्मीहरुले बिरामीलाई अहिले गर्नसक्ने भनेको जे जति औषधी र उपलब्ध प्रविधि छ त्यसैमा निर्भर रहेर उपचार गर्ने मात्रै हो । बिज्ञानले अन्तर्महादेशीय मिसाइलको बिकास त गर्यो, अर्को ग्रहमा पुग्नसक्ने यान पनि आविष्कार गर्यो, पृथ्वीलाई नै कयौं पटक ध्वस्त पार्नसक्ने अस्त्रशस्त्रको निर्माण त गर्नसक्यो तर प्रकृतिको सामु सधैं लाचार हुनुपरेको छ । प्रकृतिलाई अज्ञानताबस चुनौती दिएकै कारणले सिङ्गो मानव जातीले यस्तै कहालीलाग्दो परिणाम बेलाबखत भोग्नुपरेको छ । त्यसैले लकडाउनले संक्रमणलाई जित्न असम्भव थियो । यो त केवल महामारीको समयलाई केही दिलो गराएर तयारी गर्ने सुनौलो अवसर मात्र थियो ।

सरकारले लकडाउन गरे सँगसँगै महामारी नियन्त्रणका लागि शहर र सिमामा व्यवस्थित क्वारेन्टाइन तयार पार्न नसक्नु, सरकारी अस्पतालमा आइसोलेसन वार्ड, आइसियु र भेन्टिलेटर थप्न नसक्नु, निजी अस्पताललाई प्रयोगमा ल्याउन नसक्नु, स्वास्थ्य सामग्री खरिदमा दिलासुस्ती गर्नु, सम्भावित जोखिमको सामना गर्न प्रष्ट मोडालिटी बनाउन नसक्नु, तिनै तहका सरकारका बीचमा आपसी समन्वय र सहकार्य हुन नसक्नु, स्वास्थ्यविदहरुको सुझावलाई बेवास्ता गर्नु, चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई संकटमा परिचालन गर्ने निश्चित पद्धति तयार नपार्नु जस्ता लापरबाहीले गर्दा संक्रमणकालमा सरकार आफैं झन्झन् अकर्मण्यतामा फस्दै गयो । संघीय सरकारको यस्तो रवैयाका वावजुद स्थानीय तहमा खटिएका जनप्रतिनिधिहरुले निर्वाह गरेको भूमिका भने असाध्यै सराहनीय र तारिफयोग्य छ ।

यतिबेला हामी गम्भीर परिस्थितिबाट गुज्रिरहेका छौं । कोरोनाका कारण हाम्रो अस्तव्यस्त स्वास्थ्य प्रणालीमा रहेको प्वाल मात्रै नभएर राज्य संचालन गर्ने शैलीमै भ्वाङ देखिने डर छ । अहिले संसारका सम्पूर्ण मान्छेहरु सामाजिक, मानसिक, आर्थिक सबै हिसाबले खल्बलिएका छौं । तर कठिन समयसँग भिड्ने र उम्कने जुक्ति नगरी धरै छैन । पहाडी र हिमाली भेगका लागि लकडाउनभन्दा लुजडाउन बदि खतरनाक सावित हुनसक्छ । कोरोनालाई समुदाय स्तरमा फैलनबाट रोकेर मानवीय क्षति कम गर्न सजगता अपनाउनु सबैको जिम्मेवारी हो । नागरिक र सरकारले हातेमालो गर्दै कोरोनाबिरुद्ध लडेर मात्रै महामारीलाई चाडै परास्त गर्न सफल हुनेछौं । यस्तो अवस्थामा आफू रोग सर्नबाट जोगिने र अरुलाई सार्नबाट जोगाउने नै उपयुक्त उपाय हो । आफू बच्नु र अरुलाई बचाउनु सबैको कर्तव्य र धर्म हो । त्यो भनेको सामाजिक र भौतिक दुरी कायम गरेर आफ्नो दैनिकी जारी राख्नु हो । त्यसो त कोरोना लागेको व्यक्तिसँग सम्पर्क हुने बित्तिकै सरिहाल्ने र रोग लाग्दैमा मरिहाल्ने पनि होईन । जुनसुकै रोगलाई जित्न पनि आत्मबल नै बलियो शक्ति हो । गाउँमा मान्छेहरुको जीवनशैली राम्रो छ, खानपिन स्वच्छ छ र घरहरु पनि केही दुरीको फरकमा हुनाले अझै फाइदा हुनेछ । सबैभन्दा मुख्य अस्त्र चाहिँ व्यक्तिगत सावधानी नै हो । तसर्थ, आफ्नैं लागि आत्मघाती नबनौं र अरुको जीवनको लागि पनि खतरा नबनौं । यहि नै अचुक मन्त्र हो । 

Sunday, May 31, 2020

बालापन बाँच्न खोज्दा

बिहान ह्वामा धुरी हेर्यो
साँझ थुर्पा धुरी हेर्यो
फुला उठेको मकै खादै
भुक्क फुलेको रोटी च्याप्दै
दिनभरि रमाई रमाई गाउँ डुल्यो ।

अति रमाइलो थ्यो घामपानी
औधी पृय थिए इन्द्रेणी फूलहरु
धापालसँग टाँसिएको आकाश छुने
कस्तो अदभूत थ्यो रहर पनि ।

मनभरी बोल्दा नि हुने
पेटभरी माग्दा नि पाइने
सुते पनि, उठे पनि
रोएरै जिते पनि हुने ।

उहिले खास नभए पनि
सवैसवै भए जस्तै
अहिले सबै भएभए जस्तो
तर केहि खास हराए जस्तो ।

आफ्नै मर्जीले नबिउँझीन उर्दी छ
मनको कुरा नबोल्न आदेस छ
गरिबीकै मुनि चिनेको अक्षरहरु
जान्ने भएर नलेख्न हुकुम छ ।

देश भताभुङ्ग छ
व्यवस्था लथालिङ्ग छ
कसैलाई छाती चिथोर्नुछ
कसैलाई मंश लुछ्नु छ
कसैलाई मुटु चाख्नु छ
हेर्दाहेर्दै
देश निरस निरस हुँदैछ
राष्ट्रियता खोक्रो खोक्रो हुँदैछ
सरकार भने तिनैलाई भाला ठमाइरहेछ
आफैंले जथाभावी छुरी चलाइरहेछ ।

समाज हेर्छु
खलवल खलवल देख्छु
सरकार हेर्छु
धरमर धरमर देख्छु
गाउँ हेर्छु
सुत्केरीहरु दोकोमै मरिरहेको देख्छु
शहर हेर्छु
रोगीहरु ठेलामै टड्पिरहेको देख्छु
गरीवीले थिचिएर थिलथिलो निधारहरु
कुपोषणले चाउरिएका शिशुहरु
कतै कठ्याङ्रिएका लाशहरु
कतै पहिरोले पुरिएका परिवारहरु
करोडौको हेलिकप्टर भने राजधानीमा जगेडा हुन्छ
उता जनताहरु मलामी गइरहेका छन्
यता शासकहरु सलामी थापिरहेका छन्
प्रशासन हेर्छु
ज्यानमारासँग चियर्स गर्दैछ
अदालत हेर्छु
भ्रष्टचारीकै पक्षमा फैसला सुनाइरहेकोछ
लेखेर के नै हुन्छ र सोच्छु
बोलेर छुच्चो नबनु सोच्छु
मुर्दासँग जीउँदो बात नगरुँ भन्छु
बरु बालापनमा फर्किन खोज्छु
दौँतरीसँग बेस्सरी दगुर्ने मन गर्छु
तर उसैगरी रमाउनै नसक्ने भएछु ।

अक्षर चिनाउने निरक्षर मेरी आमा
च्याटिएको लुङिलाई नमन
माटो प्रेम चिनाउने मेरो बुवा
प्रदेशमा थापेको छातीप्रति सलाम
देशभक्ति बुझाउने मेरो दाजु
सामाजिक मनप्रति कृतज्ञ छु
न्याय सिकाउने मेरी दिदी
जीवन संघर्षप्रति गर्व छ ।

उखुबारीमा दिनहुँ
बहिनी निर्मलाहरुको सास थुनिन्छ
भेरी नदीको वहावमा
दिउँसै नवराजहरु बिलिन हुन्छन्
कतै वर्गीय खाडल देख्छु
कतै अधर्मको चीत्कार सुन्छु
कतै जातीय क्रन्दन
कतै लिङ्गीय दमन
कतै हिंसाको डमडमी छ
कतै आस्थाको विचलन छ
शहरभरी महँगा स्कुलहरु छन्
चोकचोकमा निर्दयी अस्पतालहरु छन्
अनाथ अनागरिक अमान्छेहरु
शिक्षाको भिक्षा चाहिरहेका छन्
ओखतीको आश गरिरहेका छन्
स्वतन्त्र र स्वाधिन राज्य खोज्दै
राज्यसँग न्यायको भिख मागिरहेछन्
निउरोहरु बाँसुरीको धुनमा मस्त छन्
गोयवल्सहरु सारंगीको तालमा लट्ठ छन्
नसुने झै म कसरी गरुँ
नदेखे झै म कसरी गरुँ
बोल्नै नआए झै मौन म कसरी रहूँ
बरु शिर झुकाएरै बिन्ती गर्न बाध्य छु
सरकार! जवाफ देउ
सरकार! इन्साफ देउ ।

अचेल मेरो दैनिकी बदलिएको छ
हरेक दिन नयाँ अवतार फेरिएकोछ
म बुद्ध भएर जन्मिन्छु
गान्धी भएर हुर्किन्छु
दिनभर मार्क्स भएर जिउछु
राती स्टालिन र हिटलर भएर मर्छु ।

मैले बाँचिरहेको दुनियाँ अर्कै छ
म बाँच्न चाहेको समाज झन् भिन्नै छ
देश बुझाइमै बिशाल अन्तर परेछ
जनजनकै भोगाई असमान भएछ
म एकदिन लेख्न बोल्न छाड्नेछु शायद
र चुपचाप पाइलाहरु चाल्न थाल्नेछु ।

सुदुरपश्चिम भोकमा छ
सुदुरपूर्व रोगमा छ
दरवार अझै प्यासमा छ
शितल निवास गहिरो शोकमा छ
देशको दुर्दशाले म आहत छु
मभन्दा बहुत दुखेकोछ सिंहदरवार बालुवाटार
यसर्थ कि
समय उसको बिरुद्धमा छ
अर्को चुनावमा जिन्दावाद र मुर्दावाद भन्नेहरु मर्दैछन्
पार्टीको चिन्हमा सरासर ल्याप्चे ठोक्नेहरु मर्दैछन्
खाडी गएर रेमिट्यान्स पठाउने कामदारहरु घट्दैछन्
सचेतहरु मासुभात र रक्सीमा बिक्न इन्कार गर्दैछन्
म तिनको झुटा सपना बोक्ने भरिया बन्न राजी छैन ।

Friday, May 22, 2020

दुष्ट छिमेकी

छिमेकीले
मेरो आँगनलाई रछ्यान बनायो
चुपचाप सहेर बसें ।

अस्तितिर चल्ला हरायो
बाख्रो हरायो
पानी हरायो
पिंदीको दुङ्गा हरायो ।

काँडेबार लाउँ
पिर मान्छ कि सोच्छुँ
बोलचाल रोकूँ
मर्दापर्दा चाहिएला सोच्छुँ
हुदाहुदै
हिजो त दिउसै दोका नै फोरियो ।

आज त झन् सबेरै
घरभित्रैबाट छोरी चोरियो
बाहिर
बारी चोरियो
माथि
लेकै चोरियो
वल्लो गाउँ नै चोरियो ।

कपटी!
खुल्ला दिललाई घात गर्दैछस्
कठै!
तेरै अहंकारले आफैं जल्दैछस् ।

कसरी सोचिस् तैले
मेरो पुर्ख्यौली नासो हडप्ने
कसरी आँट्न सकिस्
मेरो पुस्ताको छाती चिथोर्ने
कत्रो दुस्साहस गरिस्
स्वाभिमानी इतिहास मेट्ने
कस्तो छली नियत तेरो
नेपाली बंशज सखाप पार्ने
तेरो तिखा दाह्रा नङ्राहरु विरुद्ध
मैले अझै प्रतिकार गर्न नहुने!?

छिमेकी सम्झेर सहनु सहियो
मेरो सर्वस्व लुटिन खोजियो
दुष्ट छिमेकी!
अब त मेरो सबथोक फिर्ता चाहियो ।
२०७७/०२/०७