Sunday, July 19, 2020

कोरोना कहर

संसारमा शान्तिले जीवन बाँच र बाँच्न देउ भनेर बुद्धले अर्ती दिनुपर्ने, प्रकृतिसँग मिलेर बस भनेर सद्गुरुले हात जोडेर बिन्ती गर्नुपर्ने, आफ्नै देशमा आत्मनिर्भर बन्नुपर्छ भनेर महावीर पुनले विनम्र वचनले सम्झाइदिनुपर्ने, बिजुलीको अभावले भन्दा घुस खानेका कारणले देश अन्धकारमा रहेको तथ्य कुलमान घिसिङले बुझाइदिनुपर्ने, स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नगरे गरीबले पढ्न र उपचार गर्नै सक्दैनन् भनेर डाक्टर गोबिन्द केसीले पटकपटक अनशन बसिदिनुपर्ने ।

यतिबेला संसारभरी कोरोना भाइरसको महामारी छ । नेपालमा पनि अहिले समुदायस्तरमा फैलिन थालिसकेको छ । अब निकट भविष्यमै यसले भयावह स्थिति आउनसक्ने संकेत दिइरहेको छ । देशको हरेक क्षेत्रलाई सवल पार्नुपर्ने बेला महावीरलाई महामुर्ख र जिद्दी भन्दै सराप्नु आफ्नो जित ठान्यौं । कुलमानलाई भ्रष्ट र रुञ्चे भनेर खुब गाली गर्दै आनन्द लियौं । डा. गोबिन्द केसीलाई उल्टै माफिया र पागल भन्दै उनको मृत्युको कामना गर्यौं ।

यतिबेला देशमा महामारी आउदा महावीरले पिपिइ बनाउदै नि:शुल्क वितरण नगरेको भए स्वास्थ्यकर्मीहरुको मनोबल कस्तो अवस्थामा हुन्थ्यो होला ? कुलमानले लोडसेडिङ हटाएर चौविसै घण्टा बिजुली उपलब्ध नपारेको भए घर र हस्पिटलहरु कसरी चलिरहदा हुन् ?

डा. गोबिन्द केसीले स्वास्थ्य क्षेत्रको निजीकरणलाई निरुत्साहित गरेर बिस्तारै सरकारीकरण गरौं भनेका थिए । राजधानीमा केन्द्रित व्यापारमुखी हस्पिटलहरुलाई सेवामुखी पार्दै दुर्गममा पनि सक्दो सरकारी हस्पिटल स्थापना गरौं भनेका थिए । स्वास्थ्यमा हुने राजनितीकरण रोकेर थिति र प्रणालीमा चलाऔं भनेर ज्यानकै बाजी थापेका थिए । स्वास्थ्य सेवामा वर्ग बिभाजन हुनुहुन्न भनेरै समग्र स्वास्थ्य नीति सुधारको माग राखेका थिए । अब कोरोनाबिरुद्ध हाम्रो स्वास्थ्य प्रणालीको अग्नि परिक्षा सामुन्नेमा छ र कति दयनीय अवस्थामा रहेछ भन्ने चाडै उदाङ्गिने क्रममा छ । विश्व महाशक्ति राष्ट्रहरु नै लगभग लाचार र निरही जस्तै अवस्थाबाट गुज्रिरहदा हामी जवर्जस्ती युद्धको तयारीमा जुटिरहेका छौं । आफैं बाँचिने कि मरिने हो भन्ने अनिश्चित र त्रसित मानसिकतामा छौं । जजसले गोबिन्द केसीलाई कन्दनी कसेर बिरोध गरेका थिए, भित्रभित्रै पश्चतापले पोल्न शुरु गर्यो कि अझै छैन होला ? आर्थिक लाभका लागि मेडिकल माफियाको इशारामा अनशन बसेको आरोप लाउनेहरुले आफैं कति अर्थलाभ गरे होलान् ? आफू निर्देशित बनेर अरुलाई कठपुतली ठान्नेहरुको दिमागमा अहिले चाहिँ चेत खुल्यो कि खुलेन होला ? यो कोरोना कहरमा यस्तो सोच्दासोच्दै आफैंलाई छट्पटी हुन्छ ।

यतिखेर महामारीलाई परास्त गर्न राज्यको नेतृत्वमा नागरिकले साथ दिएर लड्नुको विकल्प छैन । हरेक व्यक्ति र समुदायहरु एकाअर्कासँग सहकार्य गर्दै मिलेर लड्यौ भने मात्रै मानवीय क्षति कम गर्न सक्छौं । यो कोरोना युद्धमा हामी सबै लडाकु हौं, हामी सबै स्वास्थ्यकर्मी हौं । यस संवेदनशील समयमा हामीले गर्नसक्ने उत्तम उपाय भनेकै आफू जोगिने र अरुलाई जोगाउने नै हो । यदी कोरोना संक्रमण भइहाल्यो भने पनि लाग्दैमा मरिहालिन्न भन्ने आत्मविश्वास गुमाउनु हुँदैन । सबैले सक्दो सावधानी अपनाएर अशल नागरिकको भूमिका निर्वाह गरौं । कोरोना युद्ध जितेपछि अरु समिक्षा गर्दै गरौंला जुन दीर्घकालीन राष्ट्र हितका लागि जरुरी पनि छ ।
जय नेपाल!
25th May 2020 

No comments:

Post a Comment