Sunday, May 31, 2020

बालापन बाँच्न खोज्दा

बिहान ह्वामा धुरी हेर्यो
साँझ थुर्पा धुरी हेर्यो
फुला उठेको मकै खादै
भुक्क फुलेको रोटी च्याप्दै
दिनभरि रमाई रमाई गाउँ डुल्यो ।

अति रमाइलो थ्यो घामपानी
औधी पृय थिए इन्द्रेणी फूलहरु
धापालसँग टाँसिएको आकाश छुने
कस्तो अदभूत थ्यो रहर पनि ।

मनभरी बोल्दा नि हुने
पेटभरी माग्दा नि पाइने
सुते पनि, उठे पनि
रोएरै जिते पनि हुने ।

उहिले खास नभए पनि
सवैसवै भए जस्तै
अहिले सबै भएभए जस्तो
तर केहि खास हराए जस्तो ।

आफ्नै मर्जीले नबिउँझीन उर्दी छ
मनको कुरा नबोल्न आदेस छ
गरिबीकै मुनि चिनेको अक्षरहरु
जान्ने भएर नलेख्न हुकुम छ ।

देश भताभुङ्ग छ
व्यवस्था लथालिङ्ग छ
कसैलाई छाती चिथोर्नुछ
कसैलाई मंश लुछ्नु छ
कसैलाई मुटु चाख्नु छ
हेर्दाहेर्दै
देश निरस निरस हुँदैछ
राष्ट्रियता खोक्रो खोक्रो हुँदैछ
सरकार भने तिनैलाई भाला ठमाइरहेछ
आफैंले जथाभावी छुरी चलाइरहेछ ।

समाज हेर्छु
खलवल खलवल देख्छु
सरकार हेर्छु
धरमर धरमर देख्छु
गाउँ हेर्छु
सुत्केरीहरु दोकोमै मरिरहेको देख्छु
शहर हेर्छु
रोगीहरु ठेलामै टड्पिरहेको देख्छु
गरीवीले थिचिएर थिलथिलो निधारहरु
कुपोषणले चाउरिएका शिशुहरु
कतै कठ्याङ्रिएका लाशहरु
कतै पहिरोले पुरिएका परिवारहरु
करोडौको हेलिकप्टर भने राजधानीमा जगेडा हुन्छ
उता जनताहरु मलामी गइरहेका छन्
यता शासकहरु सलामी थापिरहेका छन्
प्रशासन हेर्छु
ज्यानमारासँग चियर्स गर्दैछ
अदालत हेर्छु
भ्रष्टचारीकै पक्षमा फैसला सुनाइरहेकोछ
लेखेर के नै हुन्छ र सोच्छु
बोलेर छुच्चो नबनु सोच्छु
मुर्दासँग जीउँदो बात नगरुँ भन्छु
बरु बालापनमा फर्किन खोज्छु
दौँतरीसँग बेस्सरी दगुर्ने मन गर्छु
तर उसैगरी रमाउनै नसक्ने भएछु ।

अक्षर चिनाउने निरक्षर मेरी आमा
च्याटिएको लुङिलाई नमन
माटो प्रेम चिनाउने मेरो बुवा
प्रदेशमा थापेको छातीप्रति सलाम
देशभक्ति बुझाउने मेरो दाजु
सामाजिक मनप्रति कृतज्ञ छु
न्याय सिकाउने मेरी दिदी
जीवन संघर्षप्रति गर्व छ ।

उखुबारीमा दिनहुँ
बहिनी निर्मलाहरुको सास थुनिन्छ
भेरी नदीको वहावमा
दिउँसै नवराजहरु बिलिन हुन्छन्
कतै वर्गीय खाडल देख्छु
कतै अधर्मको चीत्कार सुन्छु
कतै जातीय क्रन्दन
कतै लिङ्गीय दमन
कतै हिंसाको डमडमी छ
कतै आस्थाको विचलन छ
शहरभरी महँगा स्कुलहरु छन्
चोकचोकमा निर्दयी अस्पतालहरु छन्
अनाथ अनागरिक अमान्छेहरु
शिक्षाको भिक्षा चाहिरहेका छन्
ओखतीको आश गरिरहेका छन्
स्वतन्त्र र स्वाधिन राज्य खोज्दै
राज्यसँग न्यायको भिख मागिरहेछन्
निउरोहरु बाँसुरीको धुनमा मस्त छन्
गोयवल्सहरु सारंगीको तालमा लट्ठ छन्
नसुने झै म कसरी गरुँ
नदेखे झै म कसरी गरुँ
बोल्नै नआए झै मौन म कसरी रहूँ
बरु शिर झुकाएरै बिन्ती गर्न बाध्य छु
सरकार! जवाफ देउ
सरकार! इन्साफ देउ ।

अचेल मेरो दैनिकी बदलिएको छ
हरेक दिन नयाँ अवतार फेरिएकोछ
म बुद्ध भएर जन्मिन्छु
गान्धी भएर हुर्किन्छु
दिनभर मार्क्स भएर जिउछु
राती स्टालिन र हिटलर भएर मर्छु ।

मैले बाँचिरहेको दुनियाँ अर्कै छ
म बाँच्न चाहेको समाज झन् भिन्नै छ
देश बुझाइमै बिशाल अन्तर परेछ
जनजनकै भोगाई असमान भएछ
म एकदिन लेख्न बोल्न छाड्नेछु शायद
र चुपचाप पाइलाहरु चाल्न थाल्नेछु ।

सुदुरपश्चिम भोकमा छ
सुदुरपूर्व रोगमा छ
दरवार अझै प्यासमा छ
शितल निवास गहिरो शोकमा छ
देशको दुर्दशाले म आहत छु
मभन्दा बहुत दुखेकोछ सिंहदरवार बालुवाटार
यसर्थ कि
समय उसको बिरुद्धमा छ
अर्को चुनावमा जिन्दावाद र मुर्दावाद भन्नेहरु मर्दैछन्
पार्टीको चिन्हमा सरासर ल्याप्चे ठोक्नेहरु मर्दैछन्
खाडी गएर रेमिट्यान्स पठाउने कामदारहरु घट्दैछन्
सचेतहरु मासुभात र रक्सीमा बिक्न इन्कार गर्दैछन्
म तिनको झुटा सपना बोक्ने भरिया बन्न राजी छैन ।

No comments:

Post a Comment