Tuesday, February 3, 2015

चिंहानको खोजी

स्वप्नदोष हो कि
कल्पदोष मेरो
वा दृष्टिदोष हो  
जीवन पाउन कठिन 
जिउन झन कठिन ।  

एउटा सत्य नि दाइ  
म मरेको दिन 
दिदीले चुल्होचौको छाड्नुहुनेछ 
वहिनीले एकदिन 
पानी भर्न धारामा जानुपर्नेछैन 
कान्छाले पनि एकदिन 
स्कुल विदा पाउनेछन 
तर, मलाई भन्नुस त दाइ   
मेरो मृत्‍युपछी   
मेरो लागि कुन ठाउँ खाँली छ ?  
मेरो लाश राख्नलाई  
धरतीको कुन भाग खाँली छ ? 
अर्थात 
हामीलाई फाल्न, गाड्न वा जलाउन 
हाम्रो सुरुक्षित जमिन कहाँनिर छ ? 
भन्नुस त मेरो दाइ  
पृथ्वी हाम्रो साझा स्थल होइन र ?       

मर्नु त छदैछ अबश्य 
तर पनि वाँचुन्जेल किन  
यि सत्यहरु सत्य हुँदैनन !?

जिउदो छदै चिंहान खोज्नु पर्ने
खोजेर पनि नभेटिने  
हाम्रो भुई कसले चोर्यो दाइ ?   
हाम्रो भुई खै कहाँ छ दाइ ? 

२०७१/०९/२१ 
घोराही, दाङ 

मेरी आमा उकाली चढिरहेछिन

म ऐलेको छोरो
प्यारो कुमारीत्वसँग साटिएको
एउटा भ्रुण हुँ ।

उस्तै प्रिय हुदो हो  
मेरी आमालाई’नि अरुलाई झै
आफ्नो अस्मिता । 

अर्पण-हरण कति विपरित है!

राजीखुशीको समर्पणमा 
गर्भभित्र सिर्जाइएको त्यो
खुशीको भ्रुण
सपनाको भ्रुण
जीवनको भ्रुण ।

‘भ्रुण’ अब ‘म’ भैसकेको छ 
ति जम्मै 'म' भैसकेका छन  
सवै-सवै अब 'मेरा' भैसकेका छन । 

अचेल मेरी आमा,  
मलाई नै आफ्नो खुशी सोच्छिन
मलाई नै आफ्नो सपना ठान्छिन  
मलाई नै आफ्नो जीवन भन्छिन
मलाई नै आफ्नो आत्मा मान्छिन ।
     
एउटा खुशीसँग अर्को खुशी खोज्छिन
एउटा सपनासँग अर्को सपना देख्छिन
एउटा जीवनसँग अर्को जीवन रोज्छिन
एउटा आत्मासँग अर्को आत्मा जोड्छिन ।

मैले हिंड्ने बाटोलाई सम्याउदै
मेले देख्ने सपनालाई अंगाल्दै
मैले रोज्ने जीवनलाई अन्माउदै
मेरो सफलटा देख्ने आशामा
दिनमा पनि सपना बुन्छिन
रातमा पनि जाक्तै बस्छिन 
सपनाकै यान वनाइ
मलाई काखमा च्यापेर शयर गर्छिन
मलाई अग्लो चुचुरो देखाउदै माथि-माथि   
झन-झन शिखरतिर लम्किरहेछिन      
मेरी आमा, 
मेरी बुदी आमा उकाली चढिरहेछिन ।  
२०७१/०९/०३ 

घोराही, दाङ   

कफी र मङ्सिर

मङ्सिर त पोहोर साल पनि आएकै हो 
परार साल त झन चिसो मङ्सिर भोगेको हो  
तर न्यानो गरी आएकोछ यसपालिको मङ्सिर 
सङ-सङै लिएर एक जोडा मान्छेहरु    
अनि, अगाडि एक जोर कफी कपहरु ।    

वरीपरी सारा बहार छाएकोछ  
कफीहरु बयेली खेलिरहेछन  
उनी मन्द-मन्द मुस्कुराइरहेछिन 
प्रफुल्ल मुद्रामा शिर झुकाएर        
म अनायस कफीको चुस्कीहरु लिइरहेछु ।  

पानी, ताप र कफीको मिश्रण सरी      
सपनीमा थोरै बिपना सजाउदै 
बिपनीमा केही सपना मिसाउदै 
मधुरो धुनमा जूनलाई साक्षी राखेर   
जीवनभरको तरंग भर्नलाई    
एक सिप आशाको 
एक सिप खुशीको 
अर्को सिप विश्वाशको ………
अर्को उत्साहको गर्दै     
पुरै कप रित्तै पारीदिएँ । 

तातो कफीको उमंग र स्पर्श        
जिउभरी ल्याएको नौलो अनुभुति    
स्तनपानपछी हाँस्ने शिशु ओठहरु झै  
बेस्सरी बुर्कुसी मारिरहे भित्रभित्रै ।   

लुलायो कि झै भो ह्रिदय तब                
मङ्सिर तुषारोको महिना हो - भन्ने नै भुलेछु 
जिउ नै भिजाउने सीत पर्छ - भन्ने नै बिर्सेंछु ।  

क्षणभरमै अहा!     
पुरानै चिसो मङ्सिरले अँगालो हाल्यो  
कठ्याङ्रिएर मन लकलक काप्यो  
मेरो प्रिय मंसिर! 
म पनि उसैगरी पो रित्तिएछु  
जसरी रित्तिएका थिए हाम्रै सामु  
भरिएका एक जोर कफीका कपहरु ।  

मेरो प्यारो मङ्सिर!  
यि रित्ता कपहरु त छिन-छिनमै भरिनेछन 
तर कठै!  
मेरो यो रित्तो मन फेरी कहिले भरिएला!  
उस्तै गरी यो जिन्दगी कसरी भरिएला!?  
०१ मङ्सिर,
२०७० तुल्सिपुर, दाङ