Wednesday, November 17, 2010

अन्तिम रात

आमा!
मेरो बिन्ती छ
म, छोरोलाई
बिजयको आशिष दिदै
सफलताको टिका लाइदिनुहुनेछ ।

सन्तानहरु
निर्दयी र कुपुत पनि हुन्छन रे
तर
आमाहरु सधैं आमा नै हुन्छन
यसर्थ
मलाई विश्वाश छ
मेरो बिदाइमा ति आँखाहरुबाट
बिछोडको आसुँ झर्ने छैन
बियोगले छट्पटिनु हुनेछैन ।

राम्ररी थाहा छ
सधैं उज्यालो र सम्पन्न चाहने
आत्मा र पाखुरीका ग्रहणलाई
र, बुदी आमैकी दु:खलाई
नबिराएर सबै हर्नुपर्थ्यो मैले
तर, एक्लै छाडेर जादैंछु
कर्तब्य भुलेको सोचेर
बचन नाघेको ठानेर
हुर्किएर कष्ट बिर्स्यो नभन्नु ।
तड्पिएर सराप लागोस नभन्नु ।

आमाहरुको,
दिनभरीको पसिनाहरु माटोमै सोसिएर गैरहदा
काँडा टेक्ने नाङा पाइतलाहरु सुम्सुम्याउदै
रातभरी जाग्राम यथार्थलाई जाक्तै नियालिरहन्छु
आधा पेट र आधा जिउ बाँचेर भए पनि
सन्ततिलाई दिएको पूर्ण जीवन भोगिरहन्छु
अभाव र अपमानको घाउलाई जबर्जस्ती पुरेर
बिहानै मुसुमुसु हाँसेको देखिरहन्छु
यि देख्दा देख्दै पनि
आमा!
म कर्तब्यबाट पन्छिएको होइन
आमाको सपनालाई तुहाएको पनि छैन
बरु, आमाहरुलाई सताइरहने
तानाशाही नियतिका बिरुद्ध लडेर
जितको खुशी दिलाउन चाहेको हुँ ।
सुखको ओछ्यान बिछ्याउन चाहेको हुँ ।
तसर्थ
आज आमाकै आशिर्वाद चाहेको हुँ ।

आमा!
अमृतरुपी स्तनपान गरिसकें
ताटेटाटे पाइला चाल्न सिकिसकें
तोते बोली बोल्न पनि जानिसकें
अब त मलाई
आगोको लप्का खाने हिम्मत चाहिनेछ
छाङोको बाटो हिंड्ने साहस गर्नुछ
साझा आवाज गर्जिने ताकत देखाउनुछ
र, उप्रान्त
आमा-छोरोको सम्बन्ध पनि तोदिनेछ
म आमाको छोरो रहनेछैन
आमाहरुको छोरो हुनेछु
आमा, धेरैको आमा बन्नु हुनेछ
म गलत भएछु भने
मेरी आमा!
अर्को प्रसब पिडालाई सहिदिनु ।

आमा!
दुनियाँमा उल्तो-सुल्तो छुट्याउन गाह्रो भो
सत्य-असत्य खुट्याउन झन गाह्रो भो
त्यही रितितिथीलाई सुल्ताउन नै
अहिले यो यात्रा थाल्दैछु
मैले झुकेर 'हुन्छ' भनेर मात्र भएन
जोडले 'हुन्न' पनि भन्नुपर्छ
टाटे-टाटे गर्दै अब बेस्सरी कुद्नु पनि पर्छ
बाधाहरु छल्दै अब जुध्नु पनि पर्छ
धैर्यताको शिर मिचिदा, ताकेर प्रहार पनि गर्नुपर्छ
हैन भने त,
बिबेकशील मान्छेहरु पशु बन्दो रैछन
अबिबेकी पशुहरु पो मान्छे चलाऊदोरैछन ।

आमा!
शासक नयाँ आए, शासन उस्तै चल्यो
शोषक अर्कै आयो, सधैं शोषित नै रह्यौ
उत्थानकै शोषनकारीसँग
आशा निकै गर्यौ, अब पहल गर्नैपर्छ
सहनु जती सह्यौ, अब बिद्रोह गर्नैपर्छ
सुख मागी रह्यौ, अब शान्ती पनि लिउनैपर्छ ।

बालाई सामुन्नेमै छप्कायो
आगो लगाइ घरलाई चिता बनायो
हेर्दा हेर्दै पुरै गाउँ नै खरानी पार्यो
जलाउनेलाई चिन्दा चिन्दै
"किन जलायो?" प्रश्न गरिनँ
दाइलाई मार्यो, दिदीको अस्मिता लुट्यो
"किन गर्यो?" मैले सोधिनँ
मेरो किताब च्याट्यो, निधारमा राइफल ताक्यो
धुरुधुरु रोएँ, केही बोलिनँ
आमालाई लछार्दै कपडा खोस्यो
टुलुटुलु हेरेँ, माग्नै सकिनँ
तर अब
नसोधिएका प्रश्न सोध्नलाई
नबुझिने भाषा बुझ्न जाँदैछु
नमागेको चिज माग्नलाई
नखोलिएका पर्दा खोल्न जाँदैछु
निर्दोष चिहानहरुको दोष खोज्ने, र
चेलीहरुको आसुँ असुल्ने अठोट लिएर
मैले यो अन्तिम निर्णय लिदैंछु ।

आज म निर्धक्क घोषणा गर्न सक्छु
युगौ युग रगत चुस्नेहरुको छातीमा
रक्तमुछेल होली खेल्न हिच्किचाउनु
त्यो कोमोलता होइन, मेरो कायरता हो ।
शालीनताको उत्कर्स झै
आक्रोसको चरमता जन्माउनु
त्यो हिंसा होइन, मेरो कर्तब्य हो ।
एक न एक दिन
'म' या 'उ' एक त ध्वस्त हुनैपर्छ
एउटा अस्तित्व अबश्य सखाप हुनैपर्छ
यो नै मेरो अन्तिम उद्देश्य हो ।
आमाको काखमा एकलौटी
यो नै मेरो अन्तिम क्षण हो ।
आमाको अङालोमा छोराको
यो नै अन्तिम रात हो ।
Nov ‘10

2 comments:

  1. kabita ta nikai nai bhabuk po rahichha...
    padhda padhdai ankha rashauna thale..

    ReplyDelete
  2. A sensetive and powerful blending of unique insight of the heroic son is clearly expressed.
    Good luck!

    ReplyDelete