मैले कहिले काही लेख्छु भनेर लखेको हुँदैन, लेख्नै मन लागेर पनि लेखिरहेको हुँदैन तर कतिपय अतितका घटना र कुराहरु सपनी बनेर यसरी आइदिन्छन् कि निन्द्राबाट नबिउझिदै मलाई ठहरै बनाइदिन्छन् । मैले कयौ पटक त ओछ्यानमै रन्थनिएको तितो अनुभव गरेको छु । अनी वाध्य भएर असन्तुलित र बिक्षिप्त हुँदा हुँदै पनि केही लेख्न बस्छु । खै! किन हो, यो नियती पटक पटक दोहोरिइ नै रहन्छ ।
आज पनि बुवासँग सपनीमा भेट भयो । मैले राम्ररी खुट्याउन नसकेको कुनै ठाउँमा थियौ, उतै गाउँतिर । बुवाको देहान्त हुँदा दाँया शरीर जसरी चल्थेन, त्यसरी नै दाँया भाग नचलेर दलिरहनु भएको थियो । आमा छेउमै हुनुहुन्थ्यो । कान्छी दिदीले चाँही बुवालाई फकाउदै कमिजको बटनहरु खोलिदिदै हुनुहुन्थ्यो । म नजिकै उभिएर टुलुटुलु हरिरहेको थिएँ । बुवाले बाँया हातले कपालहरु माथि उठाउएर भन्दै हुनुहुन्थ्यो," मेरो कपाल लामो भयो ।"
अहिले सम्झिरहेको छु । बुवालाई छोटो चिटिक्क परेको कपाल मन पर्थ्यो, लामो कपाल पटक्कै मन पराउनु हुन्थेन । त्यसैले, अलिकती बदेर केसका टुप्पाले कान छुन थाल्यो भने कि त खौरिनु हुन्थ्यो कि छोटो गराउनु हुन्थ्यो । भादगाउँले टोपी भने सधैं नै लगाउनुहुन्थ्यो । गाउँमा खोजेको बेला कहिले कैंची नहुने, त कहिले कपाल काट्ने मान्छे हत्पत्ती नभेटिने भएकाले सधैं कैंची आफुसङै राख्नु हुन्थ्यो । उहाँलाई राम्रोसँग होइन आफुलाई सजिलोसँग सरोकार थियो । त्यसैले, बिदामा जादा मलाई नै काट्न भन्नुहुन्थ्यो । मैले पनि सकेजती मिलाएर काटि दिन्थें । कैंचीको धार भुट्टिएर लाग्न छाड्यो भने कि तुरुन्तै मगाउनु हुन्थ्यो कि त दाङ पेन्सन बुझ्न आउँदा नयाँ किनेर लग्नु हुन्थ्यो । छिमेकीहरुलाई पनि चाहिदा त्यही कैंची मागेर काम चलाऊनुहुन्थ्यो ।
मेरो उमेर र बुवासँग बिताएका समय दिनकै हिसावले गन्ने हो भने मैले त्यती धेरै सङै बस्न पाइनँ । म सानो छदा उहाँ पल्टनमा हुनुहुन्थ्यो । मेरो सम्झनामा भए अनुसार बुवालाई पहिलो पटक देखेको उहाँ पेन्सन आएकै दिनमा होला । त्यसदिन बुवाको अनुहार राम्ररी याद नगरेको भए पनि दुई वटा घोडालाई सामन बोकाएर भरिया लिएर आउनु भएको राम्ररी सम्झिन्छु । मेरो दुबै हातमा चकलेट र घुर 'भेली' लिएर उफ्रिदै गरेको भर्खर जस्तै लाग्छ । अरु के के ल्याइदिनु भयो थाहा भएन तर पाखुरीबाट नाडीसम्म सेतो तीन धर्के एउटा निलो ज्याकेट मैले पछीसम्म लगाएको याद छ । मलाई त्यो खुब परेको थियो । त्यसपछीका दिनहरुमा बुवा र आमा सधैंजसो गाईहरुसङै कहिले पोतल र बिचिबाङ, कहिले दिमखोला मान्डलिपतिर त कहिले गाईहरुसँग गोठ र खेततिर नै रहनुभयो । जुन मलाई मन पर्थेन तर पनि मेरो बसमा थिएन । मलाई पनि चल्लाहरु माउसँग पखेट्टाभित्र लुट्पुतिए झै लुट्पुतिन रहर हुन्थ्यो तर पुरा हुँदैन्थ्यो ।
म १४ बर्षको हुँदा दाङ झरें । त्यसपछीका दिनहरुमा त झन दशै बिदाका केही दिन बाहेक बुवालाई देख्ने-भेट्ने एक बर्षमा एक मौका मात्र मिल्थ्यो । प्राय फाल्गुनतिर दाङमा पेन्सन बुझ्न आउनुहुन्थ्यो । बिहानै म स्कुल गैहाल्थें, साँझ चाडै सुट्नै पर्थ्यो । यसरी नै ४/५ दिन बित्थ्यो अनी उहाँले पेन्सिन बुझिसकेर रोल्पातिर फर्किनु हुन्थ्यो । मनभरी जमिरहेका आसुँहरु लुकिछिपी बहाउथें, हजारका केही पैसाका बिटोले मेरो मन कहिल्यै शान्त पार्न सकेनन् ।
बुवाआमा फर्किनुको अघिल्लो रातभरी भोली छुट्टीइदा आसुँ नझार्ने प्रण गर्थें तर जती बिहान छिप्पिदै जान्थ्यो त्यो भन्दा धेरै मेरो मन भित्र भित्रै थिलथिलो हुँदै जान्थ्यो । खान मन नलाई नलाई भए पनि खाना खाइसकेर तयार हुन्थें । स्कुल जाने समय हुन्थ्यो, मेरो अशली मुटुलाई एकातिर लुकाएर रुन्चे हाँसो हाँस्दै दोग्न पुग्थें तर आँखाबाट आसुँ झरिसकेको हुदो रहेछ, थाहै हुँदैनथ्यो । थाहा पाइसकेर पनि केही गर्नै सक्दैनथे, रुक्दै रुक्दैनथ्यो ।
बिहान स्कुल जादा रुदै रुदै जान्थें । दिनभरी मन मनै बुवा-आमालाई फेरी घरमै भेट्न पाए हुन्थ्यो भन्ने कल्पना गरेर बस्थें । बल्लतल्ल ४ बज्थ्यो । मनिषासँग बुवाआमाहरु अझै हुनुहुन्छ कि जानुभयो(!?) भन्ने बाजी मार्दै हतारिदै घरमा छिर्थ्यौ तर मुल गेटमा नटेक्दै हिजो अस्तिको जस्तो उज्यालो र चाहलपहलको बातावरण हुन्नथ्यो । तै पनि, दगुर्दै माथिल्लो तलामा पुग्थ्यौ । बिहानसम्म हसिलोखुशिलो देखिने भाउजु पनि बरण्डामा एक्लै झोक्राएर बसिरहनुहुन्थ्यो । मलाई विश्वाश नलागे झै गरी सोध्थें,"भाउजु! बुवाआमा गैसक्नु भयो?" भाउजुको मन्द जवाफ हुन्थ्यो," केही दिन यतै बस्नुस् भन्दा मान्नुहुन्न क्या र! घरै सुनसान बनाएर जानुभयो ।" हाम्रो त्यत्रो आशा भर्खरको भर्खरमै निराशामा परिणत भैदिन्थ्यो । कोठातिर ड्रेस फेर्न जादा जादै मनिषाले सुस्त स्वरमा भन्थिन्," बाजेबज्यैहरु, सधैं हामीसँग यही नै बसे हुन्थ्यो नि है अंकल!" म छिन्नभिन्न हुन्थें । म सम्हालिदा सम्हालिदै पनि लथालिङ हुन्थें । खाशमा, उनले उनकी बाजेबज्यैलाई गर्ने माया भन्दा धेरै माया मैले मेरो बुवाआमालाई गर्ने गर्थें अनी मैले मेरो बुवाआमालाई गर्ने माया भन्दा धेरै उनले उनकी बाजेबज्यैलाई गर्ने गर्थिन् ।
हामीले कपडा बदलि सकेपछी भाउजुको छेउमा आएर टुक्रुक्क बस्थ्यौं । हाम्रो मुख अबश्य निन्याउरो हुन्थ्यो नै त होला । उहाँले १००/१०० को नोट झिकेर हामीलाई दिदै आजको खाजा भनेर बाजेबज्यैले छाडिदिनुभएको भन्नुहुन्थ्यो, शायद खुशी पार्नलाई होला । चाउचाउ खान्थ्यौ, जुस खन्थ्यौ । पेटको भोक त अबश्य भरिन्थ्यो तर मन भने अह! अलिकती पनि भरिन्नथ्यो । बरु झन यादले सताइरहन्थ्यो । त्यो पैसा खर्च गर्नै मन लाग्दैनथ्यो । बरु, बुवाआमालाई सम्झिएर सुम्सुम्याउथें, सम्हालेर राख्थें ।
सुरुमा पनि भनें, यो मैले लेख्न सोचेर लेखेको होइन । सपनाले दुखायो अनी पिडा यहाँ पोखाएको हुँ, बेचैनिले थकायो अनी मात्र यहाँ बिसाएको हुँ । बिपनाले पोल्छ, सपनाले घोच्छ । दिनले त रुवायो, सपनाले पनि रुवायो । दशै नजिकिदैछ तर म घर जान पाउदिनँ । घर गएर पनि बुवा हुनुहुन्न । माफ गर्नुस् बुवा! हामी सङै हुँदा मैले एउटा कैंची दिन सक्ने नै भएको थिएन तर अब अबश्य चदाउनेछु । सपनीमा देखें, कपाल लामो भएछ तर मैले अब छोट्याइदिन नसक्ने भएछु । बुवा! हजुर त पित्री भैसक्नु भयो, म त भर्खर मान्छे हुँदैछु । कहिले काही घाऊ भन्दा पनि खट बल्झिदा बदी दुख्छ भन्ने मलाई थाहा थिएन, आज भोग्दैछु । अहिले त म सपनीले निथ्रुक्क रुझेको छु । आँखाको बलेसीले लपक्क भिझेको छु । माफ गर्नुस्, बुवा!
01 Oct,’10
Friday, October 1, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment