- २२ सेप्टेम्बर, ०९
रातभरी राम्ररी निन्द्रा लागेन । मनमा नानाभाँटी कुराहरु खेलिरहे । दाजुभाउजुले ब्रुनाइबाट पठाउनु भएको पार्सेल आज मात्र पाएकोछु तर खोल्ने साहास गर्न सकिन, त्यसैले जस्तो आएको थियो त्यस्तै राखेकोछु । शायद मेरो बदलामा अरु कोही भैदिएको भए हतार हतार खोलेर हेर्ने थियो होला । यदी फरक समय र फरक पार्सेल भएको खण्डमा मैले पनि मेरो हात पर्ना साथ खोलेर हेर्ने थिएँ होला । मान्छेको बिबशता पनि कस्तो कस्तो हुदो रहेछ । समयसँग जुध्न कति गाह्रो रहेछ, समयलाई स्विकार्न निकै कठिन रहेछ । राती एक बजेसम्म जाक्तै थिएँ, कोल्ते फेर्दा फेर्दै कतिबेला निदाएछु ।
- २३ सेप्टेम्बर, ०९
बिहान ५:४५ तिर उठेर हात-मुख धोएँ । हिजो मात्र पाएको त्यो पार्सेल वा बुवाको फोटो प्याक गरिएको बन्द खाम खोल्ने आँट गरेँ । खोलेर सादर दोघ गरेँ, सफा र चिल्लो सतहमा हात घुमाएँ अनि मेरो सामुन्ने टेबलमा सजाएँ । सधैं झै चार वटा धुप बालेर अगाडि राखिदिएँ । धुप सँग सँगै मेरो मन पनि जल्न खोज्यो, धुपको उडिरहेको त्यो धुवा सँगै कता कता मेरो मन पनि उड्न खोज्यो तर संयमित भएर आँफैले आँफैले रोकेँ । गह भरी आसुँ भरिए तर बग्न दिएन । एक गिलास चिसो पानी पिउने सोचें, सम्झिए बुवाको त्यो अन्तिम चित्कारमा आमाको क्रन्दन । दिमखोलाको चिसो पानी खाने सधैं सधैंलाई अपुरो भैदिएको बुवाको अन्तिम इच्छा । अरु दिन झै चाइनिज चियामा तातो पानी हालेर खान तम्सिएँ । फेरी झलक्क सम्झिएँ, बुवाले बिहान उठ्ने बित्तिकै तातो फिका चिया कहिल्यै नतुताइ सधैं खाने गर्नु भएको । स्याउ झिँके, दुध झिँके, केही कुनै पनि मुखमा हाल्न सकिन । मेरो आत्माले मलाई केही खाने अनुमती नै दिएन । बुवाको हातमा यि सब सुम्पिन मिल्ने भए ! मसँग भएका सबै खानेकुरा बाँडेर खान मिल्ने भए ! बुवाको आँखा एकोहोरो मतिर हेरिरहेका थिएँ । मेरो मन मान्दै मानेन, मलाई हेरेर टोलाई रहेका बुवाका ति दुई आँखाहरु अनि मन्द मुस्कान छरेर बोलाइरहेका झै लाग्ने बुवाका ति ओठहरु, बुवाको अती सुन्दर तस्बिरलाई जसरी हेर्दा पनि मलाई नै चियाइरहे जस्तो लागेर आयो । उहाँले बाँया हातमा लगाउनु भएको घडि, जुन उहाँको अबशेष र चिनोको रुपमा मात्र मसँग मेरो साथमा छ । पहेलो रङको कुर्चिमा बसेर आशिर्वाद दिइरहे जस्तो, गलत कुराबाट सचेत बनाउदै सहि बाटो देखाइरहे जस्तो । मेरै सामु बसेर दिब्य उपदेश दिइरहे जस्तो लाग्यो । मेरो अघिल्तिर मेरो अतितका कल्पना अनायास दोहोरिएर घुम्न थाल्यो । कुनै दिन सोचेको थिएँ, "समयले साथ दियो भने म मेरो बुवाआमा लगायत हाम्रो सम्पूर्ण परिवारलाई चाइना घुमाइ ल्याउनेछु । मैले पढेको क्लास रूम, म बसेको कोठा, सुतेको बेड, फोनमा उहाँहरु सँग कुरा गर्दा हिंडेका बाटा, घुमेका पार्क र ठाउँहरु देखाउनेछु । 'ग्रेट वाल' चदाउनेछु ।" समयले साथ नदिए पनि, भाग्यले घाट गरे पनि आज बुवाको तस्बिर यहाँ सम्म आएकोछ । फोटो मात्र भए पनि मेरो कोठामा आइपुगेकोमा साँच्चीकै बुवा नै आउनु भए जस्तो भाण भैरहेकोछ । मैले चाहेको पनि यही हो तर समय कति क्रुर, कति निर्मम हुदोरहेछ । कस्तो कस्तो अकल्पनिय दुर्दशा भोग्न वाध्य पार्दो रहेछ । भौतिक सम्पन्नता र सक्षमताले बलवान भन्दा पनि सर्बशक्तिमान त समय रहेछ । समयसँग आएको दुर्घटना रहेछ, दुर्घटनाको चोट रहेछ, चोटलाई सहनै पर्ने बिबशता रहेछ, बिबशतालाई जित्न सक्ने सिर्फ मन रहेछ । मनलाई पनि जित्न सक्ने आत्मबल मात्र रहेछ, केवल आत्मबल ।
बिहान क्लास थियो, क्लासबाट आएर मेरो सिरानीको ठीक माथि कार्ल मार्क्सको फोटो राखेँ । मार्क्सको दाँया बाँया माओत्से तुङ, मदर टेरेसा, गान्धी, चे ग्वभेरा, नेल्सन मण्डेला, शेक्सपियर लगायतका मेरा आदर्शहरुको फोटो टाँसे । कार्ल मार्क्सको सिधा माथि बुवाको फोटो राखेँ । विश्वका ति महामानवहरु लाई धेरैले आदर्श ब्यक्ति मान्छन् तर मेरो बुवा त मेरो लागि अनेक कोणबाट सबै भन्दा अग्लो, चौडा र ठुलो आदर्श हुनुहुन्छ । मेरो आदर्शहरु भन्दा पनि धेरै माथि म मेरो बुवालाई पाउछु । जती धेरै ति संसारकै आदर्शहरुबाट सिक्न सक्छु, त्यो भन्दा कयौ गुणा म मेरो बुवाबाट सिकेकोछु र सिक्छु । उनिहरुको जस्तै निश्चित सिद्दान्त र दर्शनका कुरा नहोला तर म मेरो बुवासँग सामाजिक व्यबहार बदी लिएकोछु । मैले सिद्दान्त र दर्शनका कुरा सामाजिक व्यबहारका एउटा भाग मात्र ठान्छु । मेरा ति आदर्शहरुको जीवनीबाट मैले जती प्रोत्साहन पाउछु, त्यो भन्दा धेरै माथि म मेरो बुवाको जीवनीमा पाउछु । मेरो बुवा मेरो लागि संसारका मेरो आदर्शहरुमा पनि आदर्श पुरुष हुनुहुन्छ, तसर्थ मेरो बुवाको तस्बिर सबैभन्दा ऊच्च स्थानमा राख्नु अनुचित हो जस्तो लाग्दैन । मैले सधैं मेरो मुटुको धद्कन सुन्ने गरेकोछु, मेरो आत्माको आज्ञा पालन गर्ने गरेकोछु । मेरो आत्मा यही भन्छ, "मेरो बुवा संसारका मेरा आदर्शहरुमा पनि आदर्श हुनुहुन्छ ।" उहाँको जती प्रभाव मेरो दैनिक जीवन र व्यबहारमा परेको छ, त्यती अरु कसैको पनि परेको छैन र पर्न सक्ने पनि छैन । उहाँको स्थान मेरो मन, मस्तिष्क र मुटुको ऊच्च सिहाँसनमा सधैं आसिन रहि रहनेछ र म आफ्नो सौभाग्य सम्झेर जीवनभरी निरन्तर पुजिरहनेछु ।
Tuesday, September 29, 2009
Subscribe to:
Post Comments (Atom)
मन छोयो भाइको भावपूर्ण लेखले! यो जिन्दगी यस्तै छ, निर्मम र निर्दयी छ। आफ्ना आदरणिय प्रियजनका सम्झनाहरु संगालेर जीवनको यात्रालाई अगाडि बढाउनु बाहेक अरु बाटो पनि छैन।
ReplyDeleteभाइको बुवालाई मेरो पनि श्रद्धाञ्जली!
अरुलाई दु:ख परेको बेला आफ्नो मुटु बलियो बनाएर आशु पछीदिने गरे पनि आँफै माथि पर्दा भने कता कता असह्य नै हुदो रहेछ । आँफैलाई मात्र परे जस्तो, आँफैलाई मात्र दुखे जस्तो, आफु मात्र अभागी जस्तो,.. प्रश्न नै प्रश्नको चाङ्, पिडा नै पिडाले भरिएको मन ।
ReplyDelete