Sunday, February 7, 2010

गजल

फुसुफुसु सास फेर्नु मात्र, जिन्दगी हो भन्दिन म ।
घुमन्ते झै आफ्नै जीवन, लीलाम गर्न सक्दिन म ।

देशको लागि जन्मेको म, देशकै लागि जिउछु भन्थें
तर आज भुवा जस्तो, जीवन जिउन सक्दिन म ।

सबैका लागि लडिकन, अमर सहिद बन्छु भन्थें
तर आज पहिचानहिन, सहिद बन्न सक्दिन म ।

अन्यायलाई पछारेर, न्यायमुर्ती हुन्छु भन्थें
तर आज कुतर्कको, बहस गर्न सक्दिन म ।

देशलाई हाँक्ने स्वाभिमानी, प्यारो मान्छे बन्छु भन्थे
तर आज अभिमानहिन, भ्रष्ट बन्न सक्दिन म ।

सूर्य जस्तै सदाबहार, उज्यालो पो बाड्छु भन्थें
तर आज शान्त तालको, बिम्ब हुन सक्दिन म ।

तिर्खालुका प्यास मेट्न, स्वच्छ मुल बन्छु भन्थें
तर आज दुर्घन्धित, दल बन्न सक्दिन म ।

अध्यारोलाई चिर्न सक्ने, नौलो बिहान बन्छु भन्थें
तर आज कुहिरोको, प्रकाश बन्न सक्दिन म ।

कहिल्यै कतै नरुकिने, सफल लक्ष्य लिन्छु भन्थें
तर आज क्षणमै थकित, यात्री बन्न सक्दिन म ।

गरीबका झुपडीको, सुन्दर गजुर बन्छु भन्थें
तर आज कपटीलाई, हजुर भन्न सक्दिन म ।

युगौ युग आस्थाको, आदर्श जीवन बाँच्छु भन्थें
तर आज दाममा बिक्ने, पशु बन्न सक्दिन म ।
05 Feb,’10

2 comments:

  1. http://www.facebook.com/profile.php?v=app_2347471856&ref=profile&id=628643762#!/note.php?note_id=287649321443

    ReplyDelete