Thursday, August 20, 2009

आज बुवाको मुख हेर्ने दिन

"I want to be like my father ."

केही दिन अघी फेसबुक स्ट्याटसमा मैले यही कुरा लेखेको रहेछु । बुवाको मुख हेर्ने दिन आउँदैछ भन्ने सम्म पनि 'याका' थिएन तर अहिले आएर पो थाहा भयो त्यो लेख्ने उपयुक्त दिन आज पो रहेछ । हुन त आजकै दिन मात्र बुवाको मुख हेर्ने, आदर गर्ने, आशिर्वाद थाप्ने, केही उपहार दिने, मिठो खुवाउने, बुवालाई खुशी पार्ने दिन होइन । जन्म दिने बुवालाई हामी सधैं सम्झिरहेकै हुन्छौ, तर पनि आज बिशेष दिन तोकिएर त्यही रिती चल्दै आए पछी अली आज नै बुवालाई सम्मान गर्ने बिशेष दिन हो जस्तो लाग्दोरहेछ । हिन्दू धर्म अनुसार आज कुशे औंसी पनि हो, जसलाई चाड पर्बहरुको आगमनको रुपमा पनि हेरिन्छ । तर अहिले यहाँ मैले कुनै आउन लागेको उत्सब या रमझमको बारे लेख्न गैरहेको होइन ।

देश बाहिर आएको पनि तीन बर्ष पुग्न थालेछ । नेपालमा हुँदा पनि म पढाईका कारण प्राय: बाहिर नै हुन्थें, सानैमा दाङ झरियो, त्यसपछी काठमाडौं । घरमै हुने बेला पनि यस्ता कुराहरुको महत्व त्यती हुँदैनथ्यो तर आफ्नो परिवार र घरदेखी टाढा भए पछी बल्ल सानातिना कुरा पनि निकै ठुलो र महत्वपूर्ण लाग्दो रहेछ । मैले पनि दशैतिहार र माघी संक्रान्ती बाहेक अरुलाई त्यती महत्व दिएन । बुवाको मुख हेर्ने, आमाको मुख हेर्ने दिनहरु त स्कुलमा पनि त्यति राम्ररी थाहा थिएन, मनाउने पनि गरिएन । तर अहिले बिरानो ठाउँमा आफ्नो परिवारको याद निकै हुदोरहेछ, चाहे सानै चाड किन नहोस् । 'एकछिन भए पनि आफ्नै घरमा सबै परिवारसँग हुन पाए हुन्थ्यो' भन्ने लाग्दो रहेछ । बिगत तीन बर्षदेखी यि दिनहरु मेरो लागि घर फोन गर्ने अबसर बन्दै आइरहेका छन । आज पनि उठेर धुप बाल्दै बुवालाई सम्झिएँ । बुवा र आमाको जोडी फोटो हेरेर एक्लै भावबिह्वल भएँ । आमाको दिर्घायुको कामना गरेँ, सम्पूर्ण परिवारको सुख शान्तिको आशिर्वाद मागेँ । आज बिहान सिनियर ब्याचलाई अर्को होस्टेलमा सार्दैछ । त्यसैले, दाइहरु रत्न, सरोज, बिनोद, देव र भान्जाको सामानहरु ट्रकसम्म पुर्याउन मद्दत गरेँ । अनी आएर दाइलाई ब्रुनाई फोन लगाउन धेरै प्रयास गर्दा पनि लाग्दै लागेन । घरतिर दिदीलाई गरे, तर त्यता पनि लागेन । दाङ माइला दाजुलाई गरेँ, त्यहा पनि लागेन । रोल्पा जेठी दिदीलाई गरेँ, त्यहा पनि लागेन । हाम्रो नेपालको नेट्वोर्क बारे राम्रै ज्ञान भए पनि ब्रुनाईले पनि नेपालकै सिको गर्न थालेछ सोचें, अनी हरेश खाएर फोन गर्नै छाडिदिएँ । आज साँच्चीकै जिन्दगीले चोट दिदैछ या भाग्यले धोका! कुनै भेउ नै पाउन सकिनँ ।

साँझ फुटबल खेल्यौ र त्यहीबाट सन्तोषसँग रनिङ गयौ । आजको खाना पनि बाहिर नै खायौ । कोठामा आएर ब्रुनाई दाइलाई फोन गरेर नुहाएँ । कता कता टाउको भारी भैरहेको थियो । जिउ पनि तातिरहेको थियो । चिसो पानीमा निकै बेर नुहाएँ । नुहाउदा बुवाको मात्र झल्झली सम्झना आइरह्यो । आज दिनभरि पनि दिन नै कस्तो कस्तो नरमाइलो लागिरह्यो । बिहान धेरै प्रयास गर्दा पनि परिवारको एकजना सँग पनि कुरा गर्न सकिनँ । साँझ नै भए पनि मेरो बुवाको अर्को रुप दाजु-भाउजुसँग कुरा गरेर केही जिउ हलुङो भएको महशुस गरेँ । सोध्नुभयो, मैले आज बिहान फोन गरेको थिएँ कि भनेर । ६ वटा मिस् कल भएको रहेछ । सबैतिर फोन गर्नु भएछ तर कसैले पनि नगरेको भने पछी मैले नै गरेको अड्कल काट्नु भएको रहेछ । "किन फोन गरेको ? केही सन्चो बिसन्चो ?" दाजु र भाउजु दुबैको पहिलो प्रश्न यही थियो । मेरो मनमा जती सुकै भुकम्प गैरहे पनि, आधी हुरी चलिरहे पनि आज बुवाको मुख हेर्ने दिन भनेर भन्न उचित ठानेन । लाग्यो, आज बुवाको मुख हेर्ने दिन थाहा नहुन सक्छ त्यसैले मैले त्यसो भनेर सम्झाइदिए भने उहाँहरु बुवाको यादमा तड्पिनु हुनेछ । एकछिन नै भए पनि बिर्सिरहेको पुरानो अतित सम्झाउनु आलो घाऊ कोट्याएर दु:खाउनु सरह लाग्यो । सबैजना टाढा भएको बेला प्रत्यक्ष बोल्न पाउनु नै ठुलो कुरो सोचेर आफ्नो चित्त आँफैले बुझाएँ । यसैमा सन्तोष हुनु बाहेक अर्को बिकल्प पनि त थिएन । सम्झिएँ, बुवाको संघर्षमय जिन्दगी । म जे छु, हाम्रो परिवार जे छ, सबै उहाँकै देन हो । जीवनभरि नै हाम्रो खुशीको लागि बाँच्नु भयो, हाम्रै प्रगतिको चाहना गर्दै जानुभयो । उहाँले अन्तिम क्षणसम्म पनि हामीलाई खोज्नु भएको थियो रे । छिन छिनमै सोध्नु हुन्थ्यो रे," कहाँ आइपुगे, कति बेला आइपुग्छन ? मेरो छोराहरु चाडै बोलाइदेउ ।" बुवाले आफुले सके जती पर्खेर पनि हामी अभागीहरु कोही पनि पुग्न सकेनौ । हामीलाई भेट्ने धेरै चाहना हुँदा हुँदै अन्तिमा घडिमा बुवाले कालको अगाडि हार मान्न वाध्य हुनुभयो । जब अन्तिम क्षण बोल्नु भयो, उहाँलाई हामीहरु पुगेको भ्रम भएछ । कान्छा भेणालाई अँगालो हालेर धुरु-धुरु रुदै भन्नु भएछ," बाबु हो! मेरो लेखेको त यत्ती नै रहेछ । मेरो त जाने बेला भैसक्यो । म नभए पनि राजा राख्नु, पञ्च राख्नु, गाउँघर-इष्टमित्र राख्नु । धेरै गरी रहनु, धेरै खाइ रहनु, इज्जत-इमान सधैं खुब राखी रहनु । कोही कसैभन्दा कहिल्यै कम नहुनु । बाँच्न मन त खुबै लागिरहेको छ तर मिति पुगिसकेछ । अब त मैले नसक्ने भएँ ।"

मैले आज यो लेखिरहदा धेरै पटक सम्हालिएँ । आँखामा अनायास छचल्किएर आएका आँशुलाइ रोक्न खोजेँ । म रुनु हुँदैन, पिरमा हताश हुनुहुदैन तर पनि मन त्यती सजिलै कहाँ मान्दोरहेछ र ! मुटुमा भाला रोपे झै चसक्क-चसक्क घोचिरहन्छ, झिरले उने झै उनिरहन्छ । सहेर पनि नसकिने, कहिल्यै सन्चो पनि नहुने यो पिडा आँफैमा चोट बनेको छ । आज बुवाको मुख हेर्ने दिन, कसैलाई असीमित खुशी भएर आएकोछ त कसैलाई असह्य रोदन । बुवा हुनेहरुले आज बुवालाई पुजेर आशिर्वाद थाप्दै होलान, टाढा भएकाहरुले पनि फोनबाट नै भए पनि दर्शन गरे होलान तर.. तर म जस्तै बुवा गुमाएकाहरु बुवाको यादमा छिया छिया छाती भैइरहे ता पनि मैले जसरी नै अरुलाई शुभकामना दिदै होलान । यतिखेर, उनिहरुले मनभित्रको ब्यथा र पिडा कसरी लुकाइरहेका होलान !? निकै गाह्रो हुदोरहेछ । भर्खर बुवा गुमाएका सन्तानहरुको झनै के दशा भैरहेको होला !? अनुमान लाउन पनि सक्दैन । बिधाताको खेल जती नै क्रुर भए पनि चुपचाप सहिरहनु र सहि दिनु नै एउटै उपाय रहेछ । बरु अब शोकलाई शक्तिमा बदल्न बुवाको अमृतबाणी सम्झिनु पर्ने रहेछ र सम्झिरहेकोछु । यसरी नै प्रोत्साहन लिन वाध्य छु किन कि मेरो बुवा त कहिल्यै फर्केर नआउने यात्रामा गैसक्नु भयो, कहिल्यै नबिउँझीने गरी चिर निन्द्रामा लीन हुनु भएको हो, कहिल्यै नभेटिने गरी अलप हुनु भएको हो, कहिल्यै नसुनिने गरी अन्तर्ध्यान हुनु भएको हो । मैले स्विकार्न नचाहे पनि मान्न तयार नभए पनि आखिर सत्य त सत्य नै हो ।

आज बुवाको मुख हेर्ने दिन त हो तर म हरेक दिन हरेक पाइला मेरो बुवाको याद गरिरहेको हुन्छु । मेरो प्रत्येक गन्तब्य पनि उहाँकै मार्गदर्शनमा चलिरहेको हुन्छ । मेरो बुवा भन्दा उच्च आदर्श अरु कोही छैन । म मेरो सफलतामा बुवाको आत्मा भेट्छु, अघी बद्ने मेरो सबै कदममा बुवाको आशिर्वाद लिन्छु । मैले देखेका सपनामा बुवाको धाप पाउछुँ । बुवाले हामीलाई छाडेर जानुभएकै हो भन्ने अझै पनि कत्ती विश्वाश लागिरहेको छैन । मलाई लाग्दैन, उहाँ मेरो मानसपटलमा धुमिल हुनु भयो, म भन्दा टाढा जानुभयो । बरु आज मात्र होइन, म रहुन्जेल मेरो बुवा मेरो साथै रहनुहुनेछ । उहाँको आक्रिती दिन दिनै मेरो आँखाको नानीमा हेरिरहनेछु । मलाई पूर्ण विश्वाश छ कि उहाँ हामीसंगै हाम्रै माझमा रहेर हामीलाई हेरिरहनु भएको छ, आशिर्वाद दिइरहनु भएको छ भगवानको अबतारमा, देवता झै अद्रिश्य रुपमा ।
20 Aug, 09

2 comments:

  1. KB dai, its not my words which made u cry but its ur greatness that shed tears in my words..
    thank u so much..

    ReplyDelete