Friday, August 14, 2009

सुनेको रामायण हेरें पनि

एक बर्ष अगाडि साथीहरु सँग महाभारत हेरेको थिएँ । अहिलेको यो गर्मी बिदामा रामायण हेर्यौ । शुरु गरेको करीब दुई हप्ता पछी आज रामायण हेरेर पनि सकाइयो । हेर्न थाले देखी दैनिक ४/५ घण्टा लगातार हेर्यौ । केही दिन बिरामी भएर बिचैमा रोकिनु पनि पर्‍यो । रामायण र महाभारत जस्तो ज्ञानबर्दक खुराक मैले कहिल्यै कतै भेट्न सकिन । नयाँ बिषयमा निकै राम्रो डकुमेन्त्री या फिल्म बनाएको द्वाङ फुक्ने कलाकारहरु प्रती भित्रै देखी दया जागेर पनि आयो । जब वाल्मिकीले रामलाई नायक बनाएर यो बिशाल कृति लेख्न सक्थे भने कलियुगका कति वाल्मिकी र कति पुरुषोतम रामहरु बिलिन भएर गैरहेका होलान । उनिहरुले पनि रामायण लेख्न सक्नु पर्छ र रामहरुको आदर्श युगौ युग बचाउनु पर्छ । प्रत्येक मान्छेले जीवन बुझ्न यि दुई कृति पढ्न या हेर्न छुताउनै नहुने जस्तो लाग्यो । यसमा यि यि चिज छन भनेर लेख्न सम्भव छैन र तिनिहरुलाई व्याख्या गर्न त सकिदैन तर मानव जीवनमा जान्नै र बुझ्नै पर्ने धेरै कुराहरु यसमा समेतिएका छन । आकाश, धर्ती र पातल त्रिलोक नै छन् । भुत, बर्तमान र भबिश्य यसैमा भेट्न सकिन्छ । जीवन, मृत्‍यु, धर्म, कर्म, तन, मन, बचन, उपदेश, त्याग, बलिदान, परिवार, पराई, प्रतिज्ञा, दया, माया, बियोग, सुख, दु:ख, मिलन, बिछोड, खुशी, रोदन, क्रन्दन, प्रेम, इश्वर, भक्त, कर्तब्य, पराक्रम, मान, मर्यादा, ज्ञान, गुण, मित्रता, पाप, पुण्य, मार्गदर्शन, गुरु, चेला, स्वार्थ, परिवार, शोक, वर, सराप, उदारता, महानता, अहन्कार, सत्य, भ्रम, जित, हार, .................., सबै दर्शन यसमा छन । जे चाहन्छौ त्यो निश्चय नै यसमा पाउनेछौ ।

रामायण साथीहरु सँग संगै बसेर कोठामा आफ्नै कम्प्युतरमा हेरेको त पक्कै हो तर मैले सुनिरहेँ जस्तो पनि लागिरह्यो । म अहिले पनि सम्झिन्छु, मेरो त्यो बाल्यकाल । आमाले जहिले जहिले बाकस खोल्नु हुन्थ्यो म उहाँले खोलेको त्यो बाकस भित्र हात घुसार्थे । मैले पैसा चोर्नु र नयाँ कपडा छान्नु मेरो चाहना हुन्नथ्यो । त्यहाँ एउटा मोतो मोतो किताब थियो । त्यो भित्र मैले भगवान र राक्षसका अलौकिक चित्रहरु, उनिहरु एक आपसमा लडिरहेको द्रिश्य निकै चाख लिएर हेर्ने गर्दथे । मैले अक्षरहरु बिस्तारै भए पनि पढ्न सक्ने भएको थिएँ । आमाले भन्नुहुन्थ्यो," यसभित्र भगवानको बारेमा लेखिएको छ । पढ्ने हो भने त शुरुबाट अन्तिमसम्म सकाउनै पर्छ रे ।" तर म त्यतिबेला त्यत्रो मोतो पुस्तक पढेर सकाउन सक्ने कुरै थिएन । त्यो पुस्तक त्यसै गरी बाकसमा थन्किरह्यो । स्कुलमा पढिरहेको बेला मैले पढ्ने सोचे तर समय मिलाउन सकिन । बुवाले साँझ साँझ रामायणका कथा सुनाउनु हुन्थ्यो । ति कथाहरु सुन्न मलाई एकदम रमाइलो लाग्थ्यो । रामायण आँफै नपढे पनि धेरै भाग बुवाको मुखबाट, कुनै कुरा पढेर र सुनेर ज्ञान भैसकेको थियो । जब मैले रामायण हेर्ने निधो गरेर हेर्न शुरु गरे तब बुवाले घरमै साँझपख उसैगरी सुनाइरहेको कता कता आभास भैरह्यो । बेला बेला त आँफै झुक्किन्थे, रामायणको त्यो द्रिश्य मेरो कम्प्युतरमा अगाडि बदिरह्यो वा बुवाले साक्ष्यात आँफै मेरो सामु बसेर सुनाइरहनु भएको हो ? विश्वाश लागिरहेको छैन कि, हेरेको त हो तर मलाई बुवाले नै सुनाउनु भएको झै लागिरहेको छ । अझै लागिरहेछ, बुवाले कथा भनिरहनु भएको, म उही सानो बबुरो चुल्होको एक छेउमा बसेर सुनिरहेको छु । तर तितो यथार्थ फरक थियो । मैले मान्नै पर्छ कि त्यो शौभाग्य मैले सादे चार महिना अघी नै गुमाइसकेको छु । त्यसरी बुवाको मुखबाट रामायण सुन्ने अबसर अब मैले कहिल्यै पाउने छैन । हो, मैले अब यसरी नै पुराना सम्झनामा आफ्नो बुवाको आवाज खोजेर सुन्नु पर्छ । बेदनामा पनि उहाँको आत्माको खुशी भेट्नु पर्छ । यस्तै तीता मिठा अतितमा आफ्नो भगवान बुवाको दर्शन पाउनु पर्छ ।

महाभारत र रामायणको सि.डि. उपलब्ध गराएर पनि संगै बसेर हेर्न साथ दिने साथी नरेन्द्रको सहयोग म कदापी भुल्न सक्दिन । शुरु देखी अन्त्य सम्म हामीसँगै रहेका साथी रिबेश, उत्साहका साथ भ्याए जती हेर्न रुचाउने रत्न दाइ लगायत सबै साथीहरुलाई धन्यवाद । म एक्लै शायद हेर्न सक्दिनथे होला किन कि दुई हप्तासम्म दिनको लगातार ५ घण्टा एक्लै बसेर हेर्नु साह्रै कथिन थियो । रामायण हेरेर समयको नाश गरेको जस्तो रत्तिभर पनि लागेको छैन । बरु राम्रै सदुपयोग गरे जस्तो लागिरहेको छ । बाल्यकालदेखी नै देखेको सपना र रहर अहिले आएर बल्ल पुरा भएको छ । आशा गरौ, हामीले नौलो ज्ञान सिकेका छौ र हाम्रो जीवनमा केही न केही छाप रहनेछ । यसलाई हामी हाम्रो दैनिक जीवनमा पनि उतार्ने प्रयत्न गर्नेछौ । यसमा रहेका राम्रा कुराको अनुसरन गर्न सकु र नराम्रा पक्षबाट सधैं सावधान रहु । मेरो स्वर्गिय बुवाको चाहना पनि त्यो भन्दा भिन्न थिएन ।
जय श्री राम !
जय सिता !
जय रामायण !
14 Aug,'09

2 comments:

  1. ya i am agree with u.Bhagwan le hami ma pani Ram,Sita ra unka bhai-bandhu tatha sathiharu haru ko jasto charitraban ra gynban banne sakti deun.jay siya-ram.

    ReplyDelete