Thursday, September 4, 2025

देशको हाल र अवको विकल्प

"आफ्नो जनतालाई चाहिँ पानी पनि खुवाउन नसक्ने तर बिदेशीसँग भिख मागेर आफ्नो सेवासुविधा भने थपिरहने सरकार र पार्टीहरुको काम छैन, विघटन गरौं । प्रधानमन्त्री, मन्त्री, नेता, कार्यकर्ता र आम सर्वसाधारण जनताले श्रम गर्नैपर्छ, श्रम नगरि देश बन्दै बन्दैन ।" - मेयर हर्क साम्पाङ
"सरकार चलाउने गोक्तेकाजीहरु र प्रशासन चलाउने महाफटाहा सचिवहरुले अनुसन्धान र आविष्कारको महत्त्व नबुझेकै कारण देश बिकास हुनसकेन । अब बृहत आन्दोलन गरौं ।" - डाक्टर महावीर पुन
"यति राम्रो देशले अशल नेता नपाएकोमा अत्यन्तै दु:ख लाग्छ ।" - डाक्टर सन्दूक रुइत
यी त प्रतिनिधि पात्रहरु हुन् । अधिकांश नागरिकको निष्कर्ष यस्तै यस्तै छ । खास जनताको वास्तविक आवाज पनि यहीँ नै हो । चुनावदेखि चुनावसम्म र फेरि सत्ता र भत्ताको खेलले देश अस्थिर बनेको छ । जनताले जति सहनु सहिसके उप्रान्त सहने धैर्यता नराख्लान् । अब छिट्टै मौन बिद्रोहको अवधी सकिदैछ । राजनीतिक दलहरूले आजै अहिल्यैबाट आफुभित्रको फोहोर सफा गर्दै सच्चिन र सुध्रिन थालेनन् भने बदारिनुको विकल्प छैन । त्यो बेलामा प्रभुले समेत राम राम भन्नु सिवाय काँध थाप्ने अवस्था रहन्न । थोरै समय छदै चेत खुलोस् ।
भवतु: सब्ब मंगलम् ।

 हरेक बिहान उठेपछि देशमा कुनै भ्रष्ट, अपराधी र गुण्डाले सजाय पाएको, जनस्तरबाट बहिष्कार गरेको सुन्न पाउने आशा हुन्छ ।

तर उनीहरुलाई फूलमालाले स्वागत र सम्मान गरेको पढ्न, सुन्न र देख्नुपर्छ । यस्तो दृश्य मनमा झल्झली सम्झिदै दिनभरि ड्युटी गर्नुपर्छ ।
समाचारमा बरु घाउमा टांका लगाइरहेका स्वास्थ्यकर्मीको घाँटी अठ्याएको, बिरामी हेर्दै गरेको डाक्टरलाई हुलले हातपात गरेको, भिड जम्मा गरेर अस्पतालमा आक्रमण गरेको, ज्यान मार्ने धम्की दिइएको सुन्नु र देख्नुपर्छ ।
एउटा चिकित्सकका लागि सबै बिरामी बराबरी हुन्छन् । आफ्नै परिवारको जीवन र प्राण जस्तै अरुको पनि उत्तिकै प्यारो हुन्छ ।
देशमा जताततै अति हुदैछ । समाजमा अराजकताले सिमा नाघ्दैछ ।
निमुखाहरु निरही भएर कति दिन बस्नु!
कति सहनु, कति लुटिनु, कति कुटिनु र तर्सिनु!?
एक व्यक्तिका लागि थुप्रै सजिला विकल्पहरु हुन्छन् । तर सबैभन्दा कठिन विकल्प रोजेर बिरामीको उपचारमा खटिरहेका चिकित्सक र बिरामीको बीचमा दुरि बदिरहदा राज्य भने रमिते बनेको छ । अस्पताल, बिरामी र नागरिक सबै सशंकित र असुरक्षित महशुस गर्नुपरेको छ । यति संवेदनशील बिषयमा राज्य मुकदर्शक बनिरहदा कालान्तरमा चिकित्सक र देशकै दुरि बदाउने निश्चित छ । राज्यले कम्तीमा पनि सत्यतथ्य, सहि र गलत, न्याय र अन्याय छुट्ट्याएर अभिभावकीय भूमिका खेलिदिनुपर्छ । एउटा घटनामा कुनै एक पात्र बिशेषको कमजोरी हुनसक्छ तर जुन मनोबिज्ञान, प्रवृत्ति र संस्कारको बिकास हुदैछ यसले देशलाई ठुलो हानी गर्नेछ । देश सुधार्न सरकार र जनता सबै जिम्मेवार बन्नुपर्छ, सच्चिनुपर्नेमा सच्चिनु पनि पर्छ ।
मलाई धेरैले लेख्न र बोल्न नछाडेर पुनः निरन्तरता दिन सुझाउछन् । मलाई बोलेर र लेखेर केहि हुँदैन भन्ने लागेरै चुपचाप छु । यो गलत हो भन्नेमा पनि विश्वस्त छु । मलाई लाग्छ, अब त मैले धेरै कुरा पचाउन र सहनसक्छु । यस्ता दुःखद् घटनाहरु सुन्नुपर्दा तैपनि बेलाबेलामा बिथोलिन्छु ।
मानवीयताको मैन बाल्दाबाल्दै कहिलेकाही त हनुमानले लंका भस्म बनाए झैं बेइमानहरुको स्वर्ग र अपराधीहरुको अखडामा आगो झोस्न मन लाग्छ । शायद, अब त्यस्तै गर्नुपर्ने परिस्थिति नजिकनजिकै आउदैछ ।
सबैलाई शुभदिन ।
28 sep 2023
पुराना पार्टीहरुको रवैयाले आजित जनताहरु सुशासन र समृद्धिका लागि विकल्पका प्यासी थिए । तिनको चाहना मलिलो माटो सिंचाइ गर्न मुलको पानी कुलो खनेर ल्याउनु थियो तर धुमिल छबिका खहरे रबिहरु गड्गडाउदै आएर वास्तविक स्वतन्त्रहरुको आकांक्षामा तुषारापात गरिदिए । दलहरूले गलत गर्दैथिए, रबिहरु पनि अशल नियतले आएका थिएनन् । रबिहरुको मारुनी सपनामा झुम्दै भ्रमको डुंगामा शयर गरेर पुगिने त फेरि रसातलमै हो । अहिलेसम्मको उकुसमुकुसलाई बिथोल्नसक्ने ठूलो उथलपुथलको विकल्प कि आत्मविश्वासपूर्वक आफैं बन्ने हो कि त सचेततापूर्वक अझै खोज्ने हो ।

प्रधानमन्त्रीकै सामुन्ने आत्मदाह गर्ने युवाको बकपत्र आफुसँगै जलेर नजावस् ।
उनको उर्जामा पानी खन्याउनेहरुलाई राज्यले विभूषण दिएर सम्मान नगरोस्, निष्पक्ष छानबिन गरेर कारबाही गरोस् ।
जनताले अब भाषणमा होईन शासनमा बिश्वास गर्छन् भन्ने प्रधानमन्त्री र मन्त्रीहरुलाई हेक्का रहोस् ।
प्रेम आचार्यलाई पोल्ने आगोले सबै अपराधीहरुलाई पनि भतभती पोलोस् ।

भीषण हवाई र सडक दुर्घटना । बादी, पहिरो र डुवान । असिना, पानी र खडेरी । लू र शीतलहर । आगलागी र भोकमरी । महामारी र भुइँचालो । यी बारम्बार दोहोरिरहन्छन् । थुप्रैका थुप्रै प्यारा मान्छेहरुको अकालमै जीवन टुङ्गिन्छ । हामीलाई पिराउछन्, रुवाउछन् र बिक्षिप्त बनाउछन् । स्तब्ध हुन्छौं, भावुक श्रद्धाञ्जली दिन्छौं र सधैं झैं एकदुई दिनमै शोकलाई सजिलै भुलिदिन्छौं । राज्य र सरोकारवालाहरुको तर्फबाट क्षति न्यूनीकरण र रोकथाम गर्न पूर्वतयारी पुगिरहेको छैन वा हेलचेक्र्याई भइरहेको हो? यदी त्यसो हो भने दोषी को? हामी साच्चै भगवान भरोसामै बाँचिरहेका छौं । कहिले हो सोच्ने, कहिले हो चेत्ने? अमुल्य जीवन किन यति महत्वहिन हुदैछ!?
आज भएको विमान दुर्घटनामा ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरुको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
नेताहरूले लोकतन्त्रको हुर्मत लिनसम्म लिएर अहिले मिलिजुली गणतन्त्रलाई पंगु बनाउदैछन् । हजारौं छोराछोरीले रगत बगाएर ल्याएको व्यवस्थामा हेर्दाहेर्दै एकदिन सबथोक सखाप पार्ने छन् ।
नेताहरु राजनेता बन्लान् भन्दाभन्दै भष्मासुर पो बन्न थाले ।
विश्वास र अविश्वासको दु:ख!
`राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन´ र `राजनीतिमा जे पनि जायज छ´ भन्ने मान्यता स्थापित हुँदै जादा नेताहरुले सत्ताको लागि जस्तोसुकै अनैतिक हर्कत गरिरहे पनि स्विकार्य बनिरह्यो । बुदाहरुको यस्तो रवैयामा युवाहरूले सहि थाप्दै `हो मा हो´ मिलाउनाले राजनीति झन्झन् विकृत हुँदैगयो ।
जनताको चाहना र देशको आवश्यकता गौण भए । बिचार र सिद्धान्त अलपत्र हुँदा आदर्श, ईमान र निष्ठा अलप हुँदैगयो । यिनको खोजी नगरी राजनीति सहि दंगले अघि बढने र दलहरु सुध्रिने सम्भावना शून्यप्रायः छ । विकल्प भनिएकाहरु विकल्प बनुन्, हेरौं ।
सांसदहरुको शपथ;
प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सुशासन, सामाजिक न्याय, सवल अर्थतन्त्रलगायत जनजीविकाका सवालमा संसद भवनभित्र र बाहिर माननीयहरुको बुलन्द आवाज र प्रष्ट अडान सुन्न पाइयोस् ।
देश र जनताप्रति उत्तरदायी रहनुहुने अपेक्षासहित पुनः हार्दिक बधाई एवं शुभकामना!
कांग्रेसको चौधौं महाधिवेशनमा पार्टीका नेताकार्यकर्ताले र भर्खरैको निर्वाचनमा आम मतदाताले पुस्तान्तरण र रुपान्तरणको पक्षमा खुलेरै मतदान गरे । कांग्रेसका माननीयहरुलाई संसदीय दलको नेता चुन्दा परिवर्तनको पक्षमा उभिने त्यस्तै ऐतिहासिक अवसर थियो । देश, पार्टी र जनताको जीवनमा उल्लेखनीय फेरबदल हुनसक्थ्यो सक्थेन तर उहाँहरुले विवेकपूर्ण निर्णय गर्दा अहिलेको राजनीतिक दिशाले अलिकति भए पनि कोल्टे भने अवश्य फेर्नेथ्यो । शेरबहादुर देउवाले जित्ने र गगन थापाले हार्नेभन्दा पनि सक्षम युवाहरूले यथास्थितिका विरुद्ध उभिने र हस्तक्षेप गर्ने प्रयास गर्नु सराहनीय कार्य हो । अन्य पार्टीभित्रका युवाहरुले पनि प्रयत्न गरुन् । शुभेच्छा छ ।

आगोको लप्का नै निल्नुछ भने
चिसा चिसा कोइलाको अपेक्षा व्यर्थ छ
बरु राता राता फिलिङ्गोमा टेकेर मुकाविला गर्ने र जित्ने हो
सामर्थ्य हुनेले त गर्ने हुन् संघर्ष
काल्कुट विष जो कसैले कहाँ पिउन सक्छन् र!

हिजो र आज:
राजनीति अन्योलको भुमरीमा छ । समाजमा अराजकता व्याप्त छ । यी दुबै विघटनको संघारमा छन् । राज्य मनमौजी छ । जनता अर्को आन्दोलनको द्विविधामा छन् । हिजोको राजा र प्रजा प्रथा आज नेता र जनताको आवरणमा निरन्तर रहिरहन असम्भव छ । समय गतिशील छ । नयाँ सोच, विचार, शैली र आचरणको खोजी हुदैछ । समयमै गतिशीलतालाई आत्मसात गर्न नसके भीमकाय संस्थाहरु चाडै डायनोसर बन्नेछन् ।

हरि दाइ

जिन्दगीमा आउने हर कठिन परिस्थितिले नवीन मार्गको दोका खोलिरहेको हुन्छ । तपाईं एक साहसी योद्धा मात्रै नभएर सबैको प्रेरणाको स्रोत पनि हुनुहुन्छ । सगरमाथाको शिखर चुम्ने मिसन सफलतापुर्बक सम्पन्न भएको हेर्न पुरै संसार पर्खिरहेको छ । शुभकामना हरि दाइ ।

 "कुनै पनि खेल खेल्दा चोटपटक लाग्नबाट जोगिनुपर्छ । अझै आर्मीहरुको त खुट्टामा केहि भयो भने प्रोमोसनको चान्सै हुँदैन ।"

सन् २००५ तिर जावलाखेल फुटबल ग्राउन्डमा फूटबल खेल्दैगर्दा हाल्फ टाइमको बेला हरि दाइले यस्तै भन्नुभएको थियो ।
विडम्बना! २०१० मा अफ्गानिस्तान जादा एम्बुसमा परेर उहाँले दुबै खुट्टा गुमाउनु पर्यो ।
जबसम्म उहाँसँग आफ्नो खुट्टाहरु थिए, उहाँले केवल एउटा अफिसरको सपना देख्नुभएको थियो, पल्टनमा सीमित जुनियर्सका सलाम खाने सोच्नुभएको थियो ।
जब उहाँले होशियारीपूर्वक जोगाएर राखेका आफ्ना ती खुट्टाहरु गुमाउनुपर्यो तब उहाँले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा टेक्ने सपना देख्नुभयो र सफल हुनुभयो ।
जिन्दगीमा यस्ता थुप्रै कमा र पूर्णबिराम आउँदा रैछन् । कसैले यात्राको अन्त्य गर्छन्, कसैले नयाँ शुरूवात । कोहि रोकिन्छन् त कोहि अझै अघि बढने आँट गर्छन् । जीवनमा अनपेक्षित दुर्घटना, अप्ठ्यारा र चुनौतीलाई अवसरमा परिणत गर्नसक्ने साहस र सोच यसैगरी अरु अरुहरुमा पनि छर्दै जानुहोला हरि दाइ ।
यो संघर्ष र सफलताको कथा लेखिने क्रम जारी रहिरहनेछ । आज पुरै दुनियाँले तपाईंबाट प्रेरणा लिइरहेकोछ, सिङ्गो संसारले सलाम ठोकिरहेकोछ । म एउटा भाइ, एउटा रोल्पाली र एउटा नेपालीको नाताले गर्व गरिरहेछु । अबका थप उर्जाशील दिनहरूका लागि हार्दिक शुभकामना छ हरि दाइ ।
20 Feb 2024

पवित्र सम्बन्ध

 दिब्य लिम्बु । घर झापा । कलेजको साथी । होस्टेलको एउटै रूममा बस्थ्यौं । कलेजपछि आआफ्नो भविष्य खोज्दै छुट्टाछुट्टै देश पुग्यौं । करीब अठार बर्षपछि संजोगले आफ्नै देशमा भेट भयौं । कलेजका ती रमाइला दिनहरू एकएक गर्दै याद गर्यौ । अरुअरु साथीहरूलाई पनि सम्झियौ ।

यस अन्तरालमा मेरो कालो कपाल केही सेतो भएछ, उनको कपाल टाउकोमै केही अंशबण्डा भएछ । उचाई चाहिँ उनको पनि बदेनछ, मेरो पनि बदेनछ । जस्ताको तस्तै रहेछ । अनि आत्मीयता पनि अझै उस्तै नै ।
हामी कलेजको फुटबल टिममा थियौं । कहिलेकाहीँ दुईजना मात्रै पनि अभ्यास गर्थ्यौं । मैले आफूलाई डेभिड बेख्याम झैं ठान्थें, बल पनि त्यसैगरी कर्लिङ्ग क्रस गर्न खोज्थें । उनले पनि शायद आफूलाई जिडान नै सोच्दा हुन्, जोडजोडले एक्कुरेट हेडिङ गर्ने प्रयास गर्दथे । फुटबलप्रति हाम्रो रुचि र माया उस्तै थियो । फुटबल खेल्नु हामी दुबैको शोख भए पनि प्रोफेसनल खेलाडी भने बनेनौं । हाम्रो सम्बन्धमा सुमधुरता थप्न शायद फूटबलले पनि मद्दत गरेको थियो ।
बर्षौपछी उनले आफ्नै घरमा बोलाए । खुवाए, घुमाए र परिवारसँग चिनजान गराए । म पश्चिम रोल्पाको, ऊनी पूर्व झापाको । मान्छेको सम्बन्ध बाँचिरहे कुनै पनि बेला भेट जुर्ने रहेछ । भेटिएर छुटेको माया प्यारो भन्थे, छुट्टीएर भेटिएको माया झन् प्यारो हुदोरहेछ । अब पनि यसरी नै छिट्टै भेट्ने बाचा छ । कलेजका ती अन्य साथीहरु पनि थपिने आशा छ ।
अध्ययनको सिलसिलामा गाँसिएको चोखो मित्रता सधैंभर कायमै रहिरहनेछ साथी । धन्यवाद यस्तो पवित्र मित्रताका लागि ।
24 Feb 2024
एउटै स्कुल, एउटै कक्षा कोठा । एउटै डाइनिङ हल, एउटै परिक्षा हल ।
एसएलसीपछि ठूल्ठूला सपना बोकेर स्कुलको एउटै गेटबाट बाहिर निस्किएका हामीहरु बीस बर्षपछि अर्कै गेटबाट भित्र छिरेर बल्ल आआफ्ना अनुभवका पोकाहरु साट्न पायौं ।
गोर्खा स्कुलका ती रमाइला क्षणहरु पुनः स्मरणमा आए । धेरैजस्तो अतितका कुरा भए । अलिअलि वर्तमान र थोरैथोरै भविष्यका कुराहरु पनि । सम्झनामा भएका सबै सबैलाई खुबै सम्झियौं ।
9 March 2024
नदि जस्तै रैछ जीवन मौसमअनुसार बहनुपर्ने
रुख जस्तै नि रैछ जीवन ऋतुअनुसार फेरिनुपर्ने
समयलाई सम्झनासँग साटासाट गर्दै निरन्तर हिडिरहनुपर्ने..
प्रेम त म सबैलाई गर्छु नै, यहाँ त अझ बिश्वास र समर्पण थियो । यस ठाउँमा आफ्नोपन र सम्बन्धमा आत्मीयता पनि थियो । यहाँको बसाइँमा भेटिएका अशल मन र सुन्दर पलहरु सधैंभर सम्झनामा रहिरहने छन् ।
यहाँहरुको साथ, सहयोग र असीम मायाका लागि धेरैधेरै आभारी छु ।
सबैको आगामी दिनहरु शुभ रहोस् । पुनः भेटिने आशा सहित..
21 Jan 2024
बीस बर्षपछि स्कुलमा एउटै कक्षामा पदेका साथीहरू भेटियौं । चैत्र मास बेस्सरी परिरहेको पानीसँगै स्कुलबाट छुटिनुअघि र पछिका दिनहरू सम्झियौं ।
उतिबेला बच्चै थियौं । अहिले अलि जवान भएछौं । जीवनका उकालीओराली छिचोल्दै भोगेका तितामिठा अनुभवहरु पनि साट्यौं । हाम्रो बसमा समय थिएन तर कतिपय अवस्थामा समयको बसमा हामी पनि त थिएनौं । सबैका बेग्लाबेग्लै कथा थिए । संघर्ष, उतारचढाव र अनुभव आआफ्नै थिए ।
अन्तमा फेरि पनि यसरी नै भेटिने वाचा गर्दै पुनः छुट्टिनु त छदैथियो, छुट्टियौं । एकअर्कालाई अंकमाल गर्दै स्कुल जाने बाटो हाम्रो एउटै थियो तर अफिसको बाटो भने फरकफरक भइसकेछ ।

त्यहाँ उपस्थित नभएका सबै साथीहरूलाई धेरैधेरै सम्झना छ ।
कुनैकुनै सम्बन्ध यति सरल हुन्छ कि जसको बर्णन गर्न निकै कठिन हुदोरहेछ ।
मित्रता अनन्त कालसम्मलाई हो, एक दुई बीसको के गन्ती गर्नु र!

बिहानी किरणले उत्साह भर्छ । साँझको जूनले शीतलता छर्छ । प्रकृति जीवन हो भने सम्बन्ध आत्मा हो ।
जीवन र सम्बन्ध जोडिदा विशाल उर्जा पैदा गर्छ, टुंगिएपछिको शून्यता र रिक्तता निकै भयावह हुन्छ । प्रकृति र सम्बन्धको मौनता शान्ति र बिद्रोहको सोच र खोज हो । जीवन र जगतलाई बुझ्ने र हेर्ने धेरै कोणहरु छन् तर सत्य भने सधैं एक सत्य नै रहिरहन्छ । त्यस सत्यलाई आत्मसात गर्नु नै जीवनको महाज्ञान र महाबिज्ञान हो ।
भवतु: सब्ब मंगलम् ।

राजनीति : अनुमान र अनुभव

राजनीति आफैंमा फोहोर होईन तर दुर्घन्धित मान्छेहरूले राजनीतिलाई डम्पिङ साइत बनाइदिए । देश र जनताको हितमा काम गर्न सत्ता साधन मात्रै हो, साध्य होईन भन्ने तथ्यलाई बिर्सेर सत्ताप्राप्तिलाई सबथोक ठान्नथाले । राजनीति गर्नेहरू नै राजनीतिक बुझाइमा प्रष्ट भएनन् । नागरिकका लागि देशको समृद्धि र सुशासन प्रमुख हो । पार्टीको बिचार र व्यक्तिको व्यबहार महत्त्वपूर्ण हो । जसरी पनि पद पाउने र कुर्सीमा पुग्ने प्रवृत्ति रहुन्जेलसम्म पार्टी र पात्र जति फेरिए पनि जनमुखी सरकार बन्दैन र त्यसले बिशेषगरी तल्लो बर्गका जनताको जीवनमा खासै फरक पार्न सक्दैन ।

अब मुलतः
कांग्रेस, एमाले र माओवादी केन्द्र (आंशिक) - लोकतान्त्रिक धार
माओवादी केन्द्र, बिप्लव र अन्य कम्युनिष्ट घटक - माओवादी धार
राप्रपा र अन्य दलहरू - राजतन्त्र र हिन्दुराज्यको वकालत गर्ने धार
अब राजनीतिक स्थायित्वका लागि मुख्यतः यिनै तीन धारमा आधारित पार्टी निर्माण गरिनुपर्छ । प्रत्यक्ष निर्वाचन प्रणालीको ब्यबस्था गरेर मुद्दाअनुसार चुनावी प्रतिस्पर्धामा जानुपर्छ । अहिलेको अस्थिरतालाई निकास दिन जतिसक्दो चाँडै ध्रुवीकरण भएकै उचित हुनेछ । देशको लागि अभिशाप बनेको दलीय खुद्रा ब्यापारलाई सधैंका लागि अन्त्य नगरी नहुने भयो ।
जनता सुध्रिनुछ, नेता झन् धेरै सुध्रिनुछ । अन्यथा भविष्यमा पनि यहीँ दुष्चक्र दोहोरी नै रहनेछ ।
6th March 2024

क्रपु डाँडा

 डाँडैभरि फुलिरहेकी

गुराँस रानी!
नतमस्तक छ
प्रकृति पनि ।
साँच्न सक्छु
न चुँडाल्न नै
हेरिरहनु.. मेरो नियति भैगयो
वइलाएको तिम्रो वैंश ।
बस्,
म यत्ती चाहन्छु
झरे, बनैमा सजियोस्
टिप्नेले मनैमा सिउरियोस् ।
क्रपु डाँडा, कास्की ।
19 Apr 2024

श्रमिक दिवस

 म श्रम बेच्ने ब्यक्ति हुँ, त्यो पनि रातदिन । मैले जस्तै अधिकांशले सामान्य जीवनयापनका लागि आफ्नो समय, स्वास्थ्य र सबथोक बेच्नुपर्छ ।

केवल एकछाक खान, जिउ छोप्न, सुरक्षित बस्नकै लागि जीवनभर संघर्षरत रहनुपर्छ । बिरामी पर्दा उपचार गर्न र स्कुल पद्न त झन् अलि परको कुरा भयो ।
परिवर्तनको आशामा धेरै आन्दोलन भए । रगत धेरै बग्यो । धेरैको सहादत पनि भयो । जोजो आए अनुहार मात्रै नयाँ आए, मानसिकता उस्तै पुरानो लिएर आए । गरिखानेहरु दु:ख र अभावमै मरिजाने, खुनपसिना चुस्नेहरु मोटाउदै जाने परिपाटीको अन्त्य हुनै सकेन ।
शासन सत्तामा पुग्नकै लागि दलिय पसल थाप्नेहरुले समाधानका लागि ठोस पहल थाल्न छाडेर मजदुर दिवसमा भाषण र वक्तव्यवाजी गरिरहनुको कुनै औचित्य छैन ।
कहाँ छ श्रमको मुल्य? कसले गर्छ श्रमको सम्मान? खोइ श्रमिकहरुको आत्मसम्मान? यस्ता थुप्रै प्रश्नहरुले उत्तर पाउने र श्रमजीवीहरुको अपुरो र अधुरो सपना पुरा हुने वातावरण सिर्जना गर्नतिर राज्यले उपयुुक्त कदम चाल्नैपर्छ ।
म दिलैदेखी श्रममा विश्वाश गर्ने, श्रममै बाँच्ने एक श्रमिक हुँ । सम्पूर्ण श्रमिकहरुलाई मेरो पनि शुभकामना छ ।
1 mAY 2024

जन्मदिनको शुभकामना

 मान्छे बिरामी पर्दा

म डाक्टरलाई सम्झिन्छु
देश अस्थिर बन्दा
म राजनीतिज्ञलाई सम्झिन्छु
मान्छे रोगी भए, परिवारले दु:ख पाउछ
देश रोगी भए, जनताले दु:ख पाउछन्
रोगी देश सम्हाल्ने गहन जिम्मेवारी
रोग सन्चो पार्ने पवित्र कर्तव्य
समाज र देश बदल्ने सुनौलो सपना
यी सबैसबै अठोट सोचिरहदा
म सधैंसधैं गर्वले तिमीलाई सम्झिरहन्छु..
तिमीले रोजेको कठिन यात्रामा तिम्रो जन्मदिनले थप उर्जा प्रदान गरोस् र आउने दिनहरू अझै अर्थपूर्ण बन्दै जाउन् ।
सहयात्राको साथ असीम शुभकामना!

मैले प्रेम, बिश्वास र सम्बन्ध रुचाउँछु र त निर्धक्क भएर तिमीलाई रोजे । समय, संघर्ष र संस्कार मन पराउछु र त जीवन समर्पण गर्ने हिम्मत गरे । सामाजिक यात्रा कठिन र गन्तव्य टाढा होला तर भरपर्दो सहयात्री बनेर हरेक पाइलामा साथ रहिरहनेछु ।
तिम्रो उर्जा, निष्ठा र कर्म सधैंभरि यस्तै कायम रहिरहोस् । बरु तिम्रो स्वच्छता, धैर्यता र इमान्दारीताले मलाई पनि एउटा अशल मान्छे बन्ने प्रेरणा मिल्दै जावस् ।
तिम्रो खुशी, प्रगति र सुस्वास्थ्यको धेरैधेरै शुभकामना ।

राजनीतिक भस्मासुरहरु

 जनयुद्ध कालमा ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्डको युद्ध रणनीति सफल मानिएको थियो । उनलाई एउटा चमत्कारिक, आँटिलो र कुशल नेतृत्व कला भएको विद्रोही नेताको रूपमा लिइएको थियो । संसदीय राजनीतिमा आइसकेपछि कमरेड किरणको जनबिद्रोह र डाक्टर बाबुराम भट्टराईको शान्ति र संविधानको डुङ्गामा सयर गर्दैगर्दा त्यति चुनौतीपूर्ण र अप्ठ्यारो परिस्थितिसँग जुध्नु परेको थिएन । आन्तरिक कलह र आपसी असमझदारीले पार्टी फुट्ने र नेताकार्यकर्ता छुट्टिने क्रम जारी रहे पनि उनलाई एकजुट र मजबुत माओवादी पार्टी बनाइराख्न खासै चासो र चिन्ता भए जस्तो देखिन्थेन । पार्टीभित्र उनको एकाधिकार चलिरहेकै थियो, पार्टीकै नेताकार्यकर्ताको कुरालाई बेवास्ता गरेर अरुसँग गरिने सहकार्य उनी र उनका केहि निकट ब्यक्तिहरुलाई फापिरहेकै थियो । जसरी पनि सत्तामा पुग्ने आकांक्षाले कालान्तरमा न आफ्नोहरु आफ्नो रहे न त अवसरबादीहरु सँगै भए । जब चुनावमा कम अंक आउन थाल्यो त्यसपछि भने प्रचण्ड र माओवादी पार्टीको सहज सत्तारोहण भइरहे तापनि प्रचण्डको चमत्कार, उथलपुथल, क्रमभंग क्रमश भुत्ते सावित हुँदै गएको छ । त्यसो हुँदा उनले उठाउदै आएका मुद्दाहरु ओझेल पर्दै जानू र उनीप्रतिको जनविश्वास घट्दै जानू स्वभाविक थियो । उनीबाट जनताले धेरै आशा राखेका थिए, देशले धेरै चिज पाउने संभावना पनि थियो तर आफैं दायाँ र बायाँ गर्दै समय र अवसर खेर फालिरहे ।

नेपालमा प्रजातन्त्र पुनःस्थापनपश्चात् राज्यको हरेक निकायमा रजगज गर्दै आएका पुराना संसदबादी दलहरूको पृष्ठभुमि, इतिहास र वर्तमान तथा माओवादी पार्टीको अहिलेको यात्रा लगभग उस्तै नै रह्यो । पन्चायत कालमा राज्य दोहन र शक्तिको दुरुपयोग गरिरहेका राजावादी र मण्डलेहरुको समुहमा ०४६/०४७ पछि बहुदलबादी दलहरु थपिए । ०६२/०६३ पछि गणतन्त्र प्राप्तिसँगै सत्ताको लुछाचुडी र भागबन्डामा नयाँ दल माओवादी आएर मिसियो ।
यसैगरी आलोपालो सत्तामा रजाइँ गर्ने दल र नेताहरु फेरिदैरहे तर समय र जनताले चाहे जसरी देशको काँचुली फेरिनै सकेन । उप्रान्त ओलीको बयलगाडामा गेयर बदेको छ र उनको भाषणमा उखानटुक्का र रामायण, महाभारतका कथाहरु, काल्पनिक र बकम्फुसे कुराहरु हावी हुन थाल्नेछन् । सम्भवतः हामीलाई यस्तायस्तै हर्कत झेल्ने वा मजा लिने बानी परिसकेको छ ।
सत्तामा जुनसुकै पार्टी र कुर्सीमा जोसुकै नेता बसे पनि सुशासन कायम गर्ने, जनताप्रति उत्तरदायी बन्ने, समृद्ध मुलुकको खाका कोर्ने र राज्य संचालन गर्ने कार्यशैलीमा भने खासै भिन्नता देखिदैन । राजतन्त्र, प्रजातन्त्र र गणतन्त्रको युगमा सर्वसाधारणको जीवनमा भने खासै अन्तर केहि देखिएन । यिनै ब्यक्तिहरु पटकपटक सत्तामा पुगे, उनीहरुको अनुहार बाहेक अरु त्यत्ति फरक परेको अनुभुति गर्न पाइएको छैन । हो, भन्न जति सजिलो छ, गर्न त्योभन्दा कयौं गुणा कठिन छ । जनतालाई अहिले त्यहीँ कठिन कार्य गर्नसक्ने अशल र दुरदर्शी राजनेता चाहिएको छ जसले कम्तीमा पनि देशको आवश्यकता र जनताको अपेक्षा सम्बोधन गर्ने इमानदारीताका साथ प्रयत्न गरोस् ।
जसलाई बिश्वास गरे, नागरिकको सहनशीलता र क्षमाशीलतामाथि बारम्बार घात गरिएको छ । अनेकौं विडम्बनापूर्ण अवस्थालाई समेत टुलुटुलु हेरेर बस्नुपरेको छ । जनताहरु बाढी पहिरोको वितण्डामा परेर जिउज्यान र घरबारी गुमाइरहदा नेताहरू भने सत्ताको रत्यौलीमा रमाइरहेका छन् । जनवाद र समाजवाद त जनतालाई दाट्ने र छल्ने मोहरा मात्रै भएको छ ।
जनताले निर्वाचनको बेलामा मासुभात, पेट्रोल, गाडी, जागिरको लालचमा मत हाल्नुको परिणामस्वरूप पुस्तौंदेखि यस्तै नियति भोग्नुपरेको छ ।
राजनीतिक दल र नेतृत्वमा आएको सैद्धान्तिक विचलन, नैतिक पतन र आत्मकेन्द्रित मनोविज्ञानकै कारण लामो समयदेखि देशले राजनीतिक अस्थिरताको सामना गर्नुपरिरहेको छ ।
नेताहरुले सत्तामा पुगेपछि आफ्नो आस्था र आदर्शलाई भुल्नु, आचरणमा चुक्नु र इमानदारीताबाट च्युत हुँदै जानु नै यसको मुल कारण हो । राजनीतिमा सबभन्दा सम्मानित, नैतिकवान, बुद्धिमान, क्षमतावान र उन्नत सोंच भएका ब्यक्तिहरु सक्रिय रहनुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन ।
अहिलेको समस्या ब्यक्तिभन्दा प्रवृत्तिमा छ । संस्थाहरुमा भन्दा पनि संस्कारमा छ । प्रमुख पात्रभन्दा राज्यको चरित्रमा छ । जबसम्म समाज र जमात दोंगी बनिरहन्छ तबसम्म जतिसुकै रवि र छविहरु आए पनि परिबर्तन सम्भव हुने देखिदैन । मुख्यतः जनताहरु राजनीतिक डन र सत्ताको शिकारीहरुबाट देशको भलो हुँदैन भन्ने यथार्थलाई प्रष्टसँग बुझ्नैपर्छ र आफैं परिबर्तन हुने र गर्ने आत्मविश्वास राख्नुपर्दछ ।
अबका प्रधानमन्त्री र मन्त्रीहरुले पनि मिडियामा पहिलेकाले भने जसरी नै आफू फोटो टाँस्न मात्रै नआएको, असफल हुने छुट नभएको, जनताको पक्षमा काम गर्न आएकोजस्ता अनेक वचनबद्धता जाहेर गर्नेछन् । आशा गरौं, ती सबै काम र व्यबहारबाटै प्रमाणित हुनेछन् ।
भुटानी शरणार्थीको छानबिन बालकोट र बुदानिलकण्ठतिर पुगेर अलप भएको कुरा सुनिएको थियो अब यो सरकारले त्यहीँ बिन्दुबाट सुशासन र भ्रष्टाचार नियन्त्रणको शुरूवात गरोस् र जनतामा बिश्वास र भरोसा आर्जन गरोस् । कामना गरौं, गठबन्धन सफल हवस्, सरकार झनै सफल हवस् । त्यो सफलता देश र जनताको बन्न सकोस् र आम नागरिकले गर्वका साथ हाम्रो सरकार भन्न सकौं ।
संसदमा बिश्वासको मत लिदै गर्दा प्रचण्डले भन्दै थिए,"जनता जाग्नुस्, आफ्नो शक्ति देखाउनुस् ।"
हो, उनले सहि कुरा भनेका हुन् । तर प्रचण्डहरुको स्वार्थपुर्तिका लागि नभई तमाम राजनीतिक विकृति र विसंगतिका विरुद्ध सचेत जनताहरु साच्चिकै जाग्ने र शक्ति देखाउने बेला भइसकेको छ ।
15 July 2024
स्यालहरु चुनावमा सन्त बन्छन्, चुनावपछि महासामन्त ।
नेपालको सन्दर्भमा चुनाव स्यालहुइयालाई अनुमोदन गर्ने दिन जस्तै भएको छ ।
जहिलेसम्म जनतामा सुदृढ राजनीतिक चेतना बिकास हुँदैन तबसम्म सामाजिकआर्थिक र राजनीतिक परिवर्तन सम्भव छैन ।
देशको समुन्नतिका लागि सचेत र जागरुक जनता नै आजका आवश्यक औजार र आधार हुन् ।
कुनै भ्रममा नपरौं बरु आँट गरौं ।
आन्दोलन:
परिस्थितिले विद्रोही बनाउछ । आवश्यकताले नेता जन्माउछ । त्यो कसैको चाहनाले नभई समयले निर्धारण गर्दछ ।

असमाज

 साथी भन्दै अंकमाल गर्छन्

साथीलाई नै असफल पार्न लागिपर्छन्
साथीकै असफलतालाई आफ्नो सफलता ठान्छन्
धुर्त मान्छे एकाएक कहलिएको नेता बन्छन् ।
रोग धेरै बुझेका भाइरल डाक्टरहरु छन्
रोगी बुझेका अशल डाक्टरहरु ओझेल पर्छन्
बिरामीले शरीर सुम्पिन्छन्, भएजती सम्पत्ति अर्पिन्छन्
सास रहुन्जेल आश, आश मारेपछि रित्तै हृदय गाउँ फर्किन्छन् ।
दिब्य ज्ञान भन्दै दोंगीहरुले शास्त्रीय प्रवचन दिन्छन्
धर्म, नैतिकता सबै खोपडीबाट खोपीमा थन्काउछन्
भगवानको बहानामा अन्धभक्तहरु अर्धपागल झैं उफ्रिन्छन्
अध्यात्म र अहिंसाका नाउँमा कपट र हिंस्रक मन्त्र जपिरहन्छन् ।
राष्ट्रियता एकै भएका जनताहरु छन्
देश एकै भएका फरकफरक नागरिकहरु छन्
चार बर्षमा एकदिन एक निमेष होश गुमाउछन्
भोट हाल्ने दिनबाहेक चारै बर्ष बर्बराइ रहन्छन् ।
मन मुटु दिन्छु भन्नेहरूले नै मुटु छिनेर जान्छन्
रोग सन्चो पार्छु भन्नेहरुले नै असह्य पीडा थपिदिन्छन्
मानवता जोगाउछु भन्नेहरुले नै मानव धर्म ध्वंस गर्छन्
विभेद मेट्छु भन्नेहरुले नै बर्ग बिभाजनको बिउ रोप्छन्
जाग, मेरो समाज!
मेरो देशैभरी यसैगरी
घुमाइफिराई सधैं उनैले उनैलाई रजाइँ गरिरहन्छन् ।
12 Aug 2024

लटरम्मै फल्यो रे झुटको खेती
हिजो जस्तै बेमौसमी
आज त फल्यो, फलेछ
भोलि पो फल्ला कि नफल्ला!?
अस्थिरहरुले ल्याउने स्थिरता
बेइमानहरुले पदाउने नैतिकता
पुनः सुनिश्चित भो अर्को झुट
चर्को सत्तापक्ष, चर्कै प्रतिपक्ष
गनेर समृद्धिको अंक
घोकेर सुशासनको पाठ
खेर हुने सधैं नागरिक भोट
फेरि मीठो सपनामा तुषारापात
यसरी त देश कहिलेसम्म चल्ला!?
सतिले सरापेको बहानामा
धर्म छाडे, रजगज गरे
नालायक सन्ततिहरु हावी भए ।
नफल्ला कि अब त घरिघरि
भोलि र पर्सीदेखि
झुटैझुटको निकृष्ट खेती ।
3 July 2024

सेटिङ

 देशमा जताततै सेटिङ चल्छ भन्ने आम बुझाइ छ । सत्तामा, भत्तामा, अड्डामा । तर दैवीप्रकोप र महामारीमा भने जनताको जीवन बचाउने सेटिङ कहिल्यै चलेन । नागरिकहरु बाढीमा बगिरहे, डुवानमा परेर, पहिरोमा पुरिएर अकालमै ज्यान गुमाइरहे । देशमा अकल्पनीय जनधनको क्षति भयो । हाम्रो अव्यवस्थित बिकासको वितण्डामा हारगुहार चलिरह्यो तर राज्य भने विपद् व्यवस्थापनमा तदारुकताका साथ खटिनेभन्दा मुकदर्शक भएर टुलुटुलु रमिता हेरिरह्यो ।

लोकतन्त्रमा जनता सर्वोच्च र सर्वोपरि हुनुपर्नेमा सधैं प्राथमिकताको पिंधमा परिरहे । देशकै मुटु मानिने राजधानीमा समेत त घण्टौसम्म प्रभावकारी दंगले उद्धार हुन सकेन भने दूरदराजका जनताले दुर्घटनाका बखत धेरै आशा राखिरहनु बेकार हुनेरहेछ ।
तैपनि राजकीय दायित्व भुल्ने निकम्मा सरकार र संयन्त्रप्रति प्रश्न गर्नुको सट्टा हामीले बरु समर्थन, बचाउ र गर्व गरिरहन्छौं ।
आफैंलाई नपर्दासम्म केहि हुँदैन तर जब अभर पर्छ तब सबथोक सकिन्छ । यस्तो चरम कुशासन र बेथितिको विकल्प सोच्नु पनि हामीलाई अपराध सरह भएको छ । अब चाहिँ समयमै चेत्न, सुध्रिन र सुधार्न अति जरुरी भइसक्यो ।
सबैले आत्मवोध गरौं ।
3 sep 2024
सवारी हुँदा सडक खाली हुनैपर्ने । सडक वरिपरिका जनताले कुटाइ खानुपर्ने । कुटाइ खाने जनता डाक्टर परे अस्पताल बन्द गर्नुपर्ने । हुकुम शिरोधार्य गरे बापत ड्युटी गर्ने प्रहरी निलम्बित हुनुपर्ने ।
कोरोना महामारीमा समेत अगुवा पछुवा प्रहरीका लावालस्कर लाएर शीतल निवासदेखि बानेश्वरसम्म बुलेट प्रुफ गाडीमा हुइकिने राष्ट्रपति कसका राष्ट्रपति थिए?
`धान खाने मुसा, चोट खाने भ्यागुता´ परिपाटीले त कहिल्यै समाधान दिदैन नि महामहिम । समाजवादको खोक्रो आवरणमा सामन्तवाद अझै कहिलेसम्म भोग्नुपर्ने!?

राजनीति फोहोर छ । अधिकांश राजनीतिज्ञ त ह्वास्सै गन्हाउने खालका नै छन् ।
हामीहरु चाहिँ सफा कहलिएर अछट्टै बसिरहेको भ्रममा छौं ।
समयक्रममा तिनैले हामीलाई त्यहीँ फोहोर खोरमा हुलेर मनपरि शासन गर्नेछन् । तर पनि हाम्रो चेत किन कहिल्यै नखुलेको होला है!?
शिक्षकले स्कुल, डाक्टरले अस्पताल, व्यवसायीले उद्योग, किसानले खेतीपाती, अदालतले न्याय.... सरकारले सुशासन र समृद्धि ।
अनि जनताले चेतना ।
देशमा खुल्नुपर्ने सबथोक बन्द नै बन्दको प्रतिस्पर्धामा छन् ।
अब त बन्दको क्रमभंग गरेर खुल्ला अभियान थालौं ।

एन्निभर्सरी ट्रेक

 यात्रामा कोहि धेरै अघि पुगेकाहरु भेटिन्छन्

कोहि सँगसँगै हिडेकाहरु छुट्टिन्छन्
भलै गन्तव्य एकै होला
तर फरकफरक हुन्छ जिम्मेवारीको झोला
र मनभित्रको गहिरो अनुभुति ।
कठिन नै त हुन्छ लक्ष्य
घरीघरी उकालो चढ्दा र ओरालो झर्दा
घरीघरी चिसो हुँदा र थकाइ लाग्दा
रोक्नुहुन्न पाइलाहरु काँडा बिझाए पनि
सम्झिएर टलक्क टल्किने हिउँ हेर्ने रहर
अनि भञ्ज्याङ्मा उभिएर सूर्योदयको सुन्दरता हेर्ने अठोट ।
यात्राको लामो दुरि नाप्न
उद्देश्यको अग्लो उचाई भेट्न
खुट्टाको जुत्ता फाटे पनि
सत्य चुक्नुहुन्न
शिरैको शिरफूल झरे पनि
इमान गुम्नुहुन्न
अरुको सुखदुःख औल्याउँदै हिड्ने तिम्रो एक कदम
अरुकै पिडाको निदान खोज्दै हिड्ने मेरो अर्को कदम
लो क्याम्प, हाई क्याम्प र बेस क्याम्प हुँदै चुचुरो पुग्नेछ जरुर
बस्, जारी राख्नुपर्छ यात्रा
जीवित राख्नु है आशा
विश्वस्त छु, नयाँ बिहानी हेर्नलाई
तिमीले जस्तै सपना देख्ने एक स्वप्नद्रष्ता ।
11 Dec 2024

जनयुद्धका कायरहरु

 कलो घरको खाने, सेवा अर्कोको गर्ने । लडाइँ एउटा बर्गले लड्ने, रजाइँ अर्को बर्गले गर्ने ।

पार्टीलाई मलजल गरीबको खुनपसिनाले गर्दिनुपर्ने तर फल चाहिँ सामन्तका मुखमा हाल्दिनुपर्ने ।
जनयुद्ध व्यवस्थाबिरुद्धको विद्रोह थियो तर जनयुद्ध हाँक्ने कमाण्डरहरु आफैं रुपान्तरण हुँदै मनयुद्ध र अझै विकृत भएर धनयुद्धमा विलीन हुँदैजानुको परिणाम सिङ्गै पार्टी र समुदायले भोग्नुपरेको छ । ति निस्वार्थ त्याग र इमान्दार बलिदानप्रतिको धोका त हो नै, समयप्रति घोर अन्याय पनि ।
नुन र चिनीले आफ्नो गुण तथा सुन र पित्तलले आफ्नो अशली पहिचान नगुमाएसम्म तिनको अस्तित्वको चर्चा र भिन्नता छुट्याउने बहस थाल्नु नै निरर्थक हुन्छ । जब अविश्वास र आशंका उत्पन्न हुन्छ तब प्रश्नहरु स्वतः उठ्न थाल्छन् । जनयुद्ध हिंसा थियो वा क्रान्ति, सवाल त्यहीँ नै हो ।
इतिहासमा परिवर्तनको एजेन्डा बोकेर संघर्ष गरेका स्थापित पार्टीहरुको बैचारिक सिद्धान्तमा विचलन र नेताहरुको व्यवहारमा स्खलन हुँदै गएपछि समयक्रममा यस्तैयस्तै विचित्रको नियतिहरु दोहोरिने रहेछ । नैतिकता र चेतना समाजको मेरुदण्ड हो र हुनैपर्छ । अहिलेको समस्या मुलतः ईमान र आस्थामा अडिग रहन चुकेकै कारणले उब्जिरहेका हुन् । नेता, पार्टी, जनता सबैसबैले आत्मसमिक्षा गरौं र मिलेर अघि बदौं ।
सबैको सधैं भलो हवस्, जय हवस्!
14 Feb 2025
उहिले रोल्पालीले भटमास र टिमुर लगेर ब्यापारीसँग चामल र नुन साट्ने गर्दथे । अहिले नेताका छोराछोरीले सहिदका खुनसँग सुन साटासाट गर्न थालेछन् ।
कहिले खुनले नाम कमाउने, कहिले सुनले बदनाम कमाउने ।
रोल्पाले शान सोच्ने, आफूले चिहान खोज्ने!
यो पनि एउटा उथलपुथल र क्रमभंग नै होला ।
चाइनाबाट सुन होईन सत्बुद्धि ल्याउ ।

कृष्ण बहादुर महरा माओवादी आन्दोलनको शालीन बिम्ब हुनुहुन्थ्यो । युद्ध अघिदेखि युद्धअवधि र युद्धपछि धेरैको आदर्श पात्र पनि बन्नुभयो । विडम्बना! मुक्ति र मृत्युको कफन बाँधेर सिंहदरबार कब्जा गर्न निस्किनुभएका महरा सर उल्टै सिंहदरबारको कब्जामा पर्नुभयो ।
एउटा त्यस्तो अशल गुरुको रुपान्तरण यस्तो स्खलित स्वरुपमा होला भन्ने धेरैलाई कल्पनामा पनि थिएन । बिधि र पार्टीभन्दा ब्यक्ति र प्रवृत्ति हावी हुँदा कुनै पनि सुखान्त यात्रा वियोगान्त कथामा टुंगिने रहेछ । अहिलेको नेपाली राजनीतिमा मुख्यतः सुधार्नुपर्ने र सदाका लागि अन्त्य गर्नुपर्ने पक्ष यहीँ नै हो ।

हिजो जनयुद्ध दिवस, आज प्रणय दिवस ।
प्रेम मनले गरिन्छ भने युद्ध बिचारले । समाज र सभ्यता रहुन्जेल
यस्ता प्रेम र युद्धहरु भविष्यमा पनि जारी रहनेछन् । विवाद र बहसहरु पनि अवश्य भइरहेकै हुनेछन् । सर्वसम्मतिले हुने प्रेम र युद्ध बिरलै हुन्छन् ।
मुख्यतः जीवनमा प्रेमको अर्थ प्रेमीले र युद्धको सान्दर्भिकता योद्धाले व्यबहारबाट आफैं पुष्टि गर्नुपर्ने हुन्छ । एकपटक मात्रै नभएर पटकपटक, निरन्तर ।
आम रूपमा प्रश्न त्यतिबेला उठ्नथाल्दछ जतिबेला प्रेमीहरु सम्बन्धको समवेदनाबाट र योद्धाहरु आस्थाको आदर्शबाट आफैं चुक्न थाल्दछन् । जब कोहि आफ्नो कसम र प्रतिबद्धताबाट च्युत भएर आफैंलाई धोका दिन्छन् तब आफ्नो अस्तित्वमाथि सबैभन्दा ठुलो खतरा उत्पन्न हुन्छ नै ।
हरेक क्रिया र प्रतिक्रियालाई बाह्यभन्दा आन्तरिक कारणले नै बढी प्रभावित पार्दछ । संसारभर प्रेम र युद्ध सँगसँगै चलिरहेकै हुन्छ तर ती सकारात्मक उर्जा प्राप्ति र समाज बिकासका लागि भने हुनैपर्छ । कुनै पनि घटनाको रूपभन्दा सार नै महत्त्वपूर्ण हो । सबै सबैको प्रतिवाद गरिरहनुभन्दा समय छदै प्रमाणित गर्नु सहि समाधान हो । जग चाहिँ ईमान र इमान्दारिता, चाहे प्रेममा होस् या युद्धमा ।
सबैलाई प्रेमिल शुभकामना ।
14 Feb 2024

माओवादी र जनयुद्धप्रति एकपक्षीय दंगले गरिने दानवीकरण र देवत्वकरण दुबै बुझाइ गलत हुन्छ । तत्कालीन अवस्थामा विद्रोहको आवश्यकता, आदर्श, उद्देश्य र परिणामको समिक्षा बेग्लै पाटो हुनसक्ला । केही व्यक्तिहरु रातारात खाओवादीमा परिणत भए होलान्, केही धनयुद्धमै लागेका पनि देखिएका छन् तर युद्धले पारेका सकारात्मक र नकारात्मक प्रभावहरु कसैले आँखा चिम्लिदैमा निमिट्यान्न भएर जादैनन् ।
सरकारले दिएको एकदिन बिदा कसैको जय र पराजयको विषय हुँदै होईन । एकदिने बिदाले इतिहासको औचित्य पुष्टि हुने र बिदा नदिदैमा ध्वस्त हुने कदापि होईन । दशक लामो गृहयुद्धका कारण पाउने भन्दा गुमाउने धेरै छन् । ती बेसहारा आमाबुबाहरु, विधुवा दिदिबहिनीहरु र टुहुरा छोराछोरीहरु कोहि पनि पराइ होइनन्, सबै हाम्रो आफ्नै हुन् । बन्दुक हानाहान गरेर मर्न मार्न तम्तयार वैरी दुश्मनहरु एकै परिवारका हुन् । मुख्य सवाल त युद्धमा राज्य र माओवादी दुबै पक्षबाट सहिद, घाइते र बेपत्ता पारिएकाहरुको सपना साकार पार्नु र परिवर्तनको लप्काले पोलेका आहत जीवनहरुमा मल्हम पट्टी लाउनु हो । सहिद हुने र अंग गुमाउनेहरुको जिन्दगीको क्षतिपूर्ति सम्भव नभए पनि सुनौलो भविष्यको सुनिश्चितता खोजिनुपर्दछ ता कि पटकपटक निहत्था गरीबका छोराछोरीहरु अनाहकमा मर्नु नपरोस् । शोषक र सामन्तीका बिरुद्ध बैचारिक नाराको नाउँमा भावनात्मक खेलबाड गरेर नयाँ सामन्तहरुको उदय हुनुहुँदैन । नैतिक रुपले पतित र स्खलित पात्रहरु नौलो अवतारमा झुल्किन दिनु हुँदैन । यसका खिलाफमा देशका सम्पूर्ण जागरुक नागरिकहरु एकजुट र समवेदनशील हुनैपर्दछ । विशेषगरी युद्धका कमाण्डर कमरेड प्रचण्डहरु बढी जिम्मेवार र इमान्दार बन्नुपर्नेथ्यो, अझै बन्नुपर्दछ । देशमा अस्थिरता सिर्जना गरेर गरीबहरुको चितामा आफ्नो स्वार्थको रोटी सेक्ने र पुनः नेपाललाई बधशाला बनाउने शक्तिकेन्द्रहरुको चाहना पुरा हुन दिनुहुँदैन ।
नेपाल युद्ध स्थल र मानव शिकार क्षेत्र नभई शान्ति क्षेत्र बन्न लायक मुलुक हो । बुद्धको जन्मभूमिबाट बिश्वलाई शान्तिको सन्देश फैलाउने अभिभारा हामी सबैको हो । सोचौं ।
13 Feb 2023

शिक्षक आन्दोलन

 विद्यार्थीको भविष्य अन्योलमै छाडेर

शिक्षकहरु सडकमा
बिरामीको ज्यान अलपत्र पारेर
डाक्टरहरु सडकमै
कर्मचारी, व्यवसायी, पत्रकार, ..
सबै पालैपालो सडकमै ।
सरकार अन्धो भो
बिरामी बाँचे बाँचुन्, मरे मरुन् नि भन्दो हो
सदन बहिरो भो
विद्यार्थीले पढे पढुुन्, नपढे नपढुुुन् नि भन्दो हो
प्रतिपक्षी चर्को भो
सकभर त सरकारै ढालुन् नि भन्दो हो
सवाल जीवनमरणको हुने भो
बिद्यालय र अस्पतालमा राजनीतिकरण धेरै भो
देशमा सधैं जिन्दावाद र मुर्दावाद मात्रै हुने भो
आदरणीय गुरुवर र चिकित्सक गण,
मेरो सादर अनुरोध छ
अब सडकबाटै फ्याट्टै एउटा घोषणा गर्दिनुहोस्
अलिकति त्यागी बनिदिनुहोस्
आआफ्नो गोजीको पार्टी सदस्यता च्यातिदिनुहोस्
र, सडक आन्दोलनलाई सधैंका लागि समापन गर्दिनुहोस् ।
26 April 2025

नेपाल शिक्षक महासंघको आह्वानमा देशैभरीका शिक्षकहरु राजधानी केन्द्रित आन्दोलनमा होमिएको १९औं दिन पुगेको छ । सरकार `नसुने झैं गर्ने´ र महासंघ पनि सरकारले `नसुनी धरै छैन´ भन्ने खालको आआफ्नै मनोबिज्ञानमा अडिग देखिन्छन् ।
आन्दोलन शालीन र शान्तिपूर्ण देखिन्छ । अरुबेला जस्तो चर्को नाराजुलुस, घम्साघम्सी, तोडफोड केहि पनि छैन । बरु विद्यार्थी भर्ना र बार्षिक पठनपाठनमा असर पर्नसक्ने कुरामा शिक्षकहरुको चिन्ता झल्किन्छ । सरकारले छिटोभन्दा छिटो आफ्नो माग सम्बोधन गरिदिए हुन्थ्यो भन्ने चाहना छ । सुदूरपश्चिमको देउडा, मध्य नेपालको झ्याउरे र पुर्बेली लोकभाकाले शिक्षकहरुबीच एकापसमा सामीप्यता बदाएको देखिन्छ । साँस्कृतिक महोत्सवको झल्को दिए झै अनुभुति जो कसैलाई पनि हुनेरहेछ ।
मुगु जिल्लाबाट आउनुभएका शिक्षकहरुको गीत पनि उस्तै शालीन, संयमित र आग्रहपूर्ण सुनिन्छ ।
रारा तालमा पानी छ
अधिकार खोज्ने बानी छ..
देशका महत्वपूर्ण अंगहरुमा आवद्ध पेशाकर्मीहरु बारम्बार पेशागत माग लिएर सडकमा ओर्लिनुपर्ने अवस्था आउनु दुःखद् छ । अहिले शिक्षा, स्वास्थ्य, कृषिजस्ता क्षेत्रहरूलाई सीमित जनशक्तिले मात्रै जेनतेन धानिरहेको तितो यथार्थ छ । यस्तो चुनौतीपूर्ण अवस्थालाई मध्यनजर गर्दै जतिसक्दो चाडो समस्याको दीर्घकालीन समाधान निकाल्न उपयुक्त नीतिनिर्माणकार्यमा लाग्न सरकार गम्भीर बन्नैपर्छ ।
राज्य सबै नागरिकको अभिभावक हो, अभिभावकीय भूमिका निर्वाह गर्नैपर्छ । नागरिकको आत्मसम्मानमा ठेस पुर्याएर संसारको कुनै पनि सरकार सफल हुनसक्दैन । राज्यले उल्टै घुर्की लाउने, बेवास्ता गर्ने, टार्ने, पन्छिने वा पन्छाउने मानसिकताबाट कदापी प्रेरित हुनुहुदैन । सहिलाई `हुन्छ´ र गलतलाई `हुन्न´ भनिदिनुपर्छ ।
राज्य संचालनका लागि पारित हुनुपर्ने आवश्यक कुनै पनि ऐन सडकमा नभई सदनमा गुन्जियोस् । जायज मागको सुनुवाइ र सकारात्मक परिणामका लागि सरकारले फास्ट ट्र्याक बिधि अपनाउने साहस पनि गर्नुपर्छ । यति धेरै शिक्षित जमात र सबल सुरक्षाकर्मी सडकमा हप्तौंसम्म समय खर्चिरहदा देशलाई ठुलो क्षति पुगिरहेको छ । हरेक पेशालाई जिम्मेवार बनाउन कडाइसाथ नियमन हवस् तर सम्मानित र मर्यादित बनाउन राज्यले कुनै कन्जुस्याइँ नगरोस् । शिक्षकहरुलाई पार्टीको कार्यकर्ता वा आन्दोलनकारी नभई विद्यार्थी र समाजकै आदर्श गुरु बन्ने उपयुक्त बाताबरण सिर्जना गरियोस् ।
सरकार र शिक्षक महासंघ दुबैलाई उचित निकासका लागि शुभकामना!
20 April 2025