Friday, February 3, 2012

लज्जावोध

मेरो आङ दाक्न
अथवा, मेरो लाज छोप्न
मसँग छ एउटै छोटो भोटो ।

सर्माउनुको अर्थ छ
र नै बिकल्पहिन म
भिडको बिचमा
न उठेर हिंड्न सक्छुँ
न त बसेर रात काट्न नै ।

टाउकोको तोपी
खुट्टाको जुत्ता
शिरदेखी पाउसम्म
जिउभरिको बस्त्र
लीलाम भैसकेछ
'ड्राई क्लिनर्स' मा ।

निर्लज्जहरु
हिंडेका पनि छन
बिना हिच्किचाहत
छतमा, बाटोमा
तर
मैले नसक्ने भएँ
नाङै डुल्न ।

म कष्ट गर्दैनँ
बालुवामा दुलो खनेर
गुम्सिएर बस्न
अह, सक्दैनँ
चिटिक्क पार्न
तुफान नछेक्ने भित्ता
बर्षा नरोक्ने छानो
घामसँग नजुध्ने घर ।

बिन्ती छ
पूर्बीय संस्कारयुक्त
ओ! आधुनिक सुन्दरी
मेरा लाजहरु टोलाउन छाडेर
अर्थात
आँखा चिम्लिनुको साटो
तिम्रै हातले एक फुर्को टालो देउ
हुरी-बतास जित्न सक्ने
घरको जग चाडै म खार्नेछु
प्रतिष्ठाको बस्त्रले छाएर
आँगनसम्म बिछ्याएर
सुहाग तिमीसँग नै मनाउनेछु ।
31 January 2012

No comments:

Post a Comment