प्रिय साथी!
म सकुशल छु र कुशलताको कामना गर्दछु ।
मैले तिमीलाई अकस्मात यो चिट्ठी लेखिरहेकोछु तै पनि कुनै आश्चर्य त मान्ने छैनौ होला तर जुन भिन्न बिषयमा लेखिरहेको छु यसले अबश्य अचम्म पार्नेछ । म स्वयम पनि अचम्मित छु किन कि यसरी मनका भावनाहरु चिट्ठीमा पोख्नु पर्ला भन्ने कहिल्यै कल्पेको पनि थिएनँ । म नेपाल आउनु भन्दा अगाडि मसँग धेरै सपनाहरु थिए र ठुलै आत्मबिश्वास थियो । अर्काको सम्पन्न मुलुकमा रहेर आफ्नो मातृभूमीको दुर्दशा टुलुटुलु हेरिरहनु पर्दाको अवस्था निकै पिडादायी हुदोरहेछ, त्यो मैले राम्ररी अनुभव गरें । त्यसैले, म स्वदेश फर्केर केही गर्छु भन्ने द्रिडता लिएर नै आएको थिएँ । मैले कुनै दिन एउटा निस्वार्थ भावना लिएर चालेको कदममा मेरो साथीहरुले, मान्छेले, सरकारले र पुरै देशले सहयोग गर्नेछ भन्ने लागेको थियो तर मैले आशा गरे जसरी साथ पाउन सकिरहेको छैन । मसँग निश्चित उद्देश्य छ तर कोसँगको सहकार्यमा विश्वाश गरुँ !? म बर्षौ प्रदेशमा पिरोलिएर बिताएँ तर स्वदेश आएर पनि दैनिकी उसै गरी पत्यार लाग्दो गरी बितिरहेकोछ । हरेक बिहान कोठा बाहिर निस्किनु भन्दा अघिसम्म निकै 'फ्रेश' हुन्छु तर जब बाहिर निस्किन्छु, तब मैले देख्नै नचाहेका मान्छेहरुलाई देख्नु पर्ने हुन्छ । मैले बोल्नै नचाहेका मान्छेहरुसँग बोल्नु पर्ने हुन्छ र जोसँग हिंड्न पनि 'सिकसिक' लागिरहेको हुन्छ, तिनीहरुसङै हिंड्नु पर्ने हुन्छ । तिमी भन्छौ, "के तिम्रो साथी, तिम्रो मान्छे र तिम्रो तोल खराब छ र ?" त्यस्तो कदापी हुँदै होइन । मलाई उनिहरुसँग केही पनि गुनासो छैन । बरु गुनासो त यहाँको धुलोसँग छ, हल्लासँग छ, भिडसँग छ, जो मेरो आफ्नै हुन्, जहाँ म घुलमिल भएर बाँच्नु परिरहेको छ ।
तिमीलाई थाहै छ, म स्वार्थी र छली मान्छेहरुसँग फोस्रो मित्रता र सहकार्य गर्न रुचाउदिनँ । तर, बिडम्बना! मैले नचाहेर पनि उनिहरुसँग देखावटी मित्रता कायम गर्न र सहकार्य गर्न वाध्य छु । मेरो हृदयलाई निमोठेर पनि उनिहरुको सामु शिर निहुराएर 'हजुर' भन्दै मान दिन बिबश छु । मेरो सपनाहरुलाई ठाँती राखेर आज राम्ररी महशुस गरिरहेकोछु, मान्छे, समाज र देश बदल्न त्यती सजिलो रहेनछ जती मैले सोच्ने गर्दथें भलै त्यो सकरात्मक दिशामै किन नहोस् । यहाँ एउटा मान्छेले अर्कोलाई आदर गर्ने चलन नै लगभग हराईसकेछ, न त आत्मअनुशासन नै बाँकी छ । सबैले आँफैलाई महान ठान्छन्, अरु कसैको अस्तित्व स्विकार्न तयार छैनन् । एक अर्काप्रतिको इर्श्याले जल्नु र घमण्डले फुल्नु नै उत्तम मान्छन् । मान्छेहरु कसैले पनि आफ्नो कर्तब्य र जिम्मेवारी बुझ्नु पर्छ भन्ने मान्यता राख्दैनन् । हरेक ब्यक्तिको सोचाइमा अधिकार र स्वतन्त्रताको आबरणभित्र अराजकता लहलह हुर्किरहेकोछ, दलालहरुकै हालिमुहाली छ । मान्छेहरुको भावना अपराधिक र दिमाग भ्रष्ट हुँदै गैरहेको छ । नियम, कानुन के हो र राज्यको उपस्थिती कहाँ छ केही पत्तो छैन । सबैले आदर्श फलाक्छन तर व्यबहारमा ठ्याक्कै उल्तो गरिरहेक हुन्छन् । आदर्श र व्यबहार तालमेल गराउन नसकेकै कारणले यि यावत समस्याहरु निराकरण गरिनुको साटो झन झन झाङिदै गैरहेका छन । युवाहरुमा तुलनात्मक रुपमा हेर्दा चेतना त आएको छ, खुब आएकोछ तर स्वतन्त्र रुपमा स्वबिबेक प्रयोग गर्न सकिरहेका छैनन । देशप्रती इमान्दार रहेर हृदयदेखी नै निर्णय नगर्दासम्म हप्तादिनको चर्को कृयाकलापको कुनै औचित्य पनि छैन । देशलाई अग्रगमनतिर डोर्याउने भए सचेत युवाहरुले एउटा पहलकदमी त लिनैपर्छ, चाहे जस्तोसुकै जोखिम मोल्नु किन नपरोस । तर अहिले त्यो सम्भावना न्युन देख्छु । अचेल अधिकांस ब्यक्ति आँफैप्रती पनि पारदर्शी र इमान्दार छैनन । साथी! मेरो देशको यस्तो हालत देखेर ब्यग्तिगत रुपमा जती नै आहत भए पनि त्यो हाम्रो साझा समस्या हो । एक दुई जनाको प्रयासले देखिने गरी केही गर्नै सकिदैन । मलाई लागेको थियो, मैले कठोर निर्णय गरेर थुप्रै पटक विद्रोह गर्नु पर्ने पनि हुनसक्छ, आँफैसँग, म बाँचेको समाजसँग र गलत राज्य प्रणालीसँग । तर कसका लागि, किन कैले भन्ने अन्योलले पिरोलिरहेछ । यस अवस्थामा म कस्तो अभियानको थालनी गरुँ ? वा कसको स्वच्छ अभियानमा समाहित बन्न सक्छु ? न म अरुलाई बुझ्न सकिरहेको छु, न त बुझाउन नै । आँफैभित्र अस्तब्यस्त रही गुज्रिरहेकोछु । यो मेरो एउटा समस्या हो, त्यो भन्दा ठुलो समस्या चाँही म आफुलाई त्यसरी अरुहरु जसरी हरेक मोडमा बदल्नै नसक्नुमा छ । म कलियुगमा अनायस सत्ययुग बाँच्ने दुस्प्रयास गरिरहेछु । म अझै पनि भन्छु, हाम्रो देश बिग्रिसकेको छैन तर जुन मार्गबाट अगाडि बद्नुपर्थ्यो, त्यसमा बिचलित अबश्य भएकोछ । यसरी नै गलत प्रब्रितिलाई बदावा दिदै गयौ भने यहाँको भाबी पुष्ता अब गर्भबाट नै कुन मानसिकता लिएर जन्मने हुन्, कस्तो बातावरणमा हुर्किने हुन, त्यसले घरिघरी साह्रै चिन्तित तुल्याउने गर्दछ । यो यथार्थ हो, सत्य हो, तै पनि झिनो आशा लिएर यताउती खोजिरहेको हुन्छु, सुत्केरी आमाहरु र इमान्दार छोराछोरीहरु । म आँफैसँग बर्बराइरहेको हुन्छु," अब यहाँ मान्छेरुपी राक्षसहरुको होइन, मान्छेमुखी भगवानको मात्र जन्म र न्वारन हुनुपर्छ" ।
मेरो साथी!
हो, कुनै चिज परिवर्तन हुन दशकौ लाग्छ भन्ने भौतिक बिज्ञानलाई म मान्छु । मैले सडकको चोकतिर क्षणभरमै चमत्कार गर्ने जादुगर बन्ने दुस्साहस गरेको अबश्य होइन । हाम्रो देशमा जे हुँदैछ, त्यसमा मेरो केही दोष छैन भन्नेमा पनि सहमत नै छु । तर तिमीले भने झै आँखा चिम्लिएर मौन बस्न भने सकिरहेको छैन । एकछिन आँखा छोप्छु, नसुने झै गर्छु तर पनि आत्माभित्र शान्ति हुँदैन । मैले बिचित्रको द्रिश्य देख्छु, हाम्रो शहरका साँघुरा सडक-गल्ली भरी दुर्घन्धित फोहोरका थुप्रो हुन्छ, छेउछाउमा नाङ्ले पसलेहरु कान चनाखो पार्दै १/२ रुपैया हातमा च्यापिरहेका हुन्छन् । हुलका हुल बालकहरु एक हातले बोरा अठ्याउदै र अर्को हातले प्लास्टिक सुघ्दै यताउती कुदिरहेका हुन्छन् । भिख माग्नेहरुले हात पसार्दै हिंड्ने जतिको खुट्टा दोगिरहेका हुन्छन् । ति अनुहारहरुमा हाम्रो देशको भबिश्य यत्रतत्र छरपस्त देख्छु, आउने पुस्ताको जिन्दगी बारे सोचमग्न हुन्छु । ति निमुखा गरीबहरुले आफ्नो बालबच्चाको लागि साँझ बिहानको छाक टार्ने र जिउ दाक्ने धोको रातदिन दु:ख गरेर पनि पुर्याउन सकिरहेका हुदैनन् तर यही मुलुकमा केही मान्छेहरु राष्ट्रको दुकुती लुट्न र तिनै दुखियाहरुकै गर्धनमा टेकेर मोजमस्ती गर्न तछाड-मछाड गरिरहेका छन । यि यावत कुराहरु देख्दा देख्दै पनि नदेखे झै गर्न सक्दैनँ । मेरो मातोलाई चटक्कै माया मारेर गुमनाम बस्न पनि सक्दैनँ । त्यसो गर्न मेरो नेपाली मनले मान्दै मान्दैन । हुन त यतिखेर मैले बोल्ने सहि समय नहोला, मलाई कसैले नसुन्ला किन कि आफ्नै भबिश्य बनाउन संघर्ष गरिरहेको मैले, अरुको चिन्ता लिनु खोक्रो आदर्श जप्नु सरह हुनेछ । तर यो मेरो बोल्ने समय होइन भने, शायद चुपचाप हेरेर टोलाई रहने समय पनि त होइन । यस्तो लागिरहेको छ, यहाँ अधिकांस मान्छेहरु अन्धा छन, बहिराहरु मात्र छन, बहुलाहरु मात्र छन । तर कहिले काही यस्तो अनौठो सोच पनि आउछ, "शायद दुनियाँमा म मात्र यस्तो बुद्धु हुँ, जो समयसँग हिंड्न अझै सिकेकै छैन । म पागल!"
मेरो साथी!
आफ्नोलाई रुवाउने र शत्रुलाई हसाउने मेरो सोच हुँदै होइन । तिमी भन्छौ, "तिमी जस्तो शान्त मान्छेले जीवनमा आक्रोस ठेग्ने आँट गर्नुपर्छ, आक्रोस ठेग्न सक्नेले गहिरो पिडा पनि ठेग्न सक्नुपर्छ, आगो-पानी सबैमा जिउन तयार रहनुपर्छ ।" तिमीले भने झै म अहिले पनि शान्त छु, सहिष्नु नै छु । म आफुलाई अझै पनि संयमित त राख्न सक्छु तर निकै अधैर्य भैसकेको छु । अब सम्हालिनलाई एउटा शान्त ठाउँमा म र 'महरु' मात्र हुनुपर्छ । अहिले नै कुनै बिना आधार 'जन्मस्थललाई औधी माया गर्छु, मेरो देशलाई ठुलो योगदान गर्छु' भनेर राष्ट्रिय गान जपेर बस्नुको औचित्य छैन भन्ने राम्ररी नै बुझेको छु । म तिम्रो सल्लाह र आग्रहलाई पुरै नकार्न चाहन्न तर यस्तो स्थितिमा मातृभूमीलाई अलपत्र छाडेर पलायन हुन भने सक्दिनँ । स्वदेशमै आर्जेको पैसा, सिकेको सिप र बटुलेको ज्ञानले भोली म मेरो मातृभूमीलाई कुममा बोकेर थाम्न सक्छु, सक्दैन त्यो भबिश्यमै परीक्षण होला । तर आज ‘केही गरेर कोही बन्नुछ वा कोही बनेर केही गर्नुछ’ को द्धिबिधामा अल्झेकोछु । मलाई भबिश्यमा कतै मेरा प्रिय सपनाहरुकै लिलामी गर्नुपर्ला वा आँफै मलामी बन्नु पर्ला भन्ने ठुलो डर छ । यसो भन्नुको अर्थ, म बाँचेको दुनियाँप्रती पूर्ण घ्रिणा जागेको होइन । तर यो मेरो गहिरो असन्तुष्टि हो । मेरो चाहना सम्मानित जीवन बाँच्नु हो । मैले खोजेको शान्त र समतामुलक समाज हो । मेरो परिकल्पनाको संसार स्वतन्त्र र अनुशासित हो । एउटा मुलुक मात्र होइन, सिङो धर्तीभरी सम्रिद्ध चाहनु र मानवियी साइनोमा उनिएको समाजको खोजी नै मेरो भित्री उद्देश्य हो । जहाँ म मान्छे, सिर्फ मान्छेहरुको बिचमा एउटा सुन्दर जीवन जिउन पाउँ । मेरो यत्ती स्वार्थ हो । यही नै मेरो एउटै इच्छा हो ।
- उही, तिम्रो साथी
15 July 2011
Thursday, August 4, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment