Saturday, August 27, 2011

मान्छे! नमार मान्छेलाई

मान्छे!
तिमी बुद्धिमान छौ
सर्बशक्तिमान छौ
तिमी सर्वश्रेष्ठ हौ ।

के सक्दैनौ तिमी ?
सोच्न सकेकै छौ
बोल्न सिकेकै छौ
बाँच्न जानेकै छौ
शासन गर्न पाएकै छौ
सबैलाई जितेकै छौ
के गर्न सक्दैनौ तिमी ?
सबै सबै गर्न सक्छौ ।

मान्छे! अब भन
सोचेर भन
मान्छेले मान्छेलाई किन मार्दैछौ तिमी ?
जन्मेर सबै मर्नु नै त छ
तर, हतारिदै किन
उसैलाई मार्दैछौ तिमी ।

मान्छे! खोइ सोचेको
मरेकालाई बचाउने उपाय ?
मान्छे बुद्धु होइन
हिंसा धर्म होइन
बरु मान्छेका शत्रुलाई सखाप पार
एड्स र क्यान्सरका बिरुद्ध जुट
मलरिया र हेपाटाइटिसलाई निमिट्यान्न पार
मान्छे! मान्छेलाई मार्दै नमार
जन्मेकाहरु त बाँच्नुपर्छ
बाँचेकाहरु धर्ती सजाउनु पर्छ
संसार सर्वश्रेष्ठ मान्छेहरुकै हो
मान्छे! नमार मान्छेलाई
मान्छे मान्छे नै हो ।
27 August 2011

मान्छे-अमान्छेका मुल्य र भाऊ

मान्छेहरु अचेल दिनहुँ सुक्दै गैरहेछन
तर अमान्छेहरु भने
अचम्मै गरी फलि-फुलिरहेछन
बेमौसममा लहलह ।

निरसहरु सरस देख्छु
सरस जिन्दगीहरु निरस ।

अमान्छेहरु
ति बुझक्कड न परे!?
व्यबहारको ब्यापार गर्छन्
मोलमोलाई खुब जान्छन
हिसाबकिताब निकाल्छन
तुलोमा नाफाघाटा जोख्छन
अनी सम्बन्धको नयाँ खाता खोल्छन
बल्ल, अमान्छे भाऊ र मुल्य तोक्छ ।

मान्छे न पर्‍यो!
बिचरा! बुझ्दैन केही पनि
भाऊ माग्नेलाई मुल्य तिर्छ
मुल्य माग्नेलाई भाऊ सोध्छ
आँखाले हेरेर खुट्याउन सक्दैन
हातले छामेर छुट्याउन सक्दैन
भाऊ र मुल्यको फरक खोजे पनि
व्यबहारको बाङोतिङो ब्यवसायमा अल्मलिन्छ
बरु झन अर्थशास्त्रको ‘ब्ल्याकहोल’मा जाकिन्छ
अस्तीको जस्तै हिजो
हिजो जस्तै आज
र, पक्का यसै गरी अल्मलिरहनेछ
आज जस्तै भोली पनि ।

तर उ दोषी छैन
किन कि
उ अमान्छे होइन
उ त मान्छे हो ।
25 August 2011

Friday, August 19, 2011

अधल परे

अधल परे मै मरी जाउला, तँ चाँही बचेँस् है ।
मृत्‍युको रित मै टारि जाउला, तँ हाँसी रहेस है ।

इश्वरको कृपा पाएर हामी, सँगै छौ एक जोडी
दैबको आदेश मान्नु नै पर्छ, कोही अघी कोही पछी
म गए पनि खुशीको यात्रा जारी नै राखेस् है ।
अधल परे मै मरी जाउला तँ चाँही बचेँस् है ।

धिक्कार्दै कठै भाग्यलाई आमा, रुनेछिन् शोकमा
सम्झेर मलाई डुब्नेछन् सङी, आँशुको आहालमा
निधारको लेखा सकियो भनी सम्झाएर राखेस् है ।
मृत्‍युको रित मै टारि जाउला तँ हाँसी रहेस् है ।

अधल परे मै मरी जाउला, तँ चाँही बचेँस् है ।
मृत्‍युको रित मै टारि जाउला, तँ हाँसी रहेस् है ।
4 August 2011
(सम्पूर्ण 'तँ' हरु प्रती समर्पित)

Thursday, August 4, 2011

स्वदेशबाट प्रदेशतिर

प्रिय साथी!
म सकुशल छु र कुशलताको कामना गर्दछु ।

मैले तिमीलाई अकस्मात यो चिट्ठी लेखिरहेकोछु तै पनि कुनै आश्चर्य त मान्ने छैनौ होला तर जुन भिन्न बिषयमा लेखिरहेको छु यसले अबश्य अचम्म पार्नेछ । म स्वयम पनि अचम्मित छु किन कि यसरी मनका भावनाहरु चिट्ठीमा पोख्नु पर्ला भन्ने कहिल्यै कल्पेको पनि थिएनँ । म नेपाल आउनु भन्दा अगाडि मसँग धेरै सपनाहरु थिए र ठुलै आत्मबिश्वास थियो । अर्काको सम्पन्न मुलुकमा रहेर आफ्नो मातृभूमीको दुर्दशा टुलुटुलु हेरिरहनु पर्दाको अवस्था निकै पिडादायी हुदोरहेछ, त्यो मैले राम्ररी अनुभव गरें । त्यसैले, म स्वदेश फर्केर केही गर्छु भन्ने द्रिडता लिएर नै आएको थिएँ । मैले कुनै दिन एउटा निस्वार्थ भावना लिएर चालेको कदममा मेरो साथीहरुले, मान्छेले, सरकारले र पुरै देशले सहयोग गर्नेछ भन्ने लागेको थियो तर मैले आशा गरे जसरी साथ पाउन सकिरहेको छैन । मसँग निश्चित उद्देश्य छ तर कोसँगको सहकार्यमा विश्वाश गरुँ !? म बर्षौ प्रदेशमा पिरोलिएर बिताएँ तर स्वदेश आएर पनि दैनिकी उसै गरी पत्यार लाग्दो गरी बितिरहेकोछ । हरेक बिहान कोठा बाहिर निस्किनु भन्दा अघिसम्म निकै 'फ्रेश' हुन्छु तर जब बाहिर निस्किन्छु, तब मैले देख्नै नचाहेका मान्छेहरुलाई देख्नु पर्ने हुन्छ । मैले बोल्नै नचाहेका मान्छेहरुसँग बोल्नु पर्ने हुन्छ र जोसँग हिंड्न पनि 'सिकसिक' लागिरहेको हुन्छ, तिनीहरुसङै हिंड्नु पर्ने हुन्छ । तिमी भन्छौ, "के तिम्रो साथी, तिम्रो मान्छे र तिम्रो तोल खराब छ र ?" त्यस्तो कदापी हुँदै होइन । मलाई उनिहरुसँग केही पनि गुनासो छैन । बरु गुनासो त यहाँको धुलोसँग छ, हल्लासँग छ, भिडसँग छ, जो मेरो आफ्नै हुन्, जहाँ म घुलमिल भएर बाँच्नु परिरहेको छ ।

तिमीलाई थाहै छ, म स्वार्थी र छली मान्छेहरुसँग फोस्रो मित्रता र सहकार्य गर्न रुचाउदिनँ । तर, बिडम्बना! मैले नचाहेर पनि उनिहरुसँग देखावटी मित्रता कायम गर्न र सहकार्य गर्न वाध्य छु । मेरो हृदयलाई निमोठेर पनि उनिहरुको सामु शिर निहुराएर 'हजुर' भन्दै मान दिन बिबश छु । मेरो सपनाहरुलाई ठाँती राखेर आज राम्ररी महशुस गरिरहेकोछु, मान्छे, समाज र देश बदल्न त्यती सजिलो रहेनछ जती मैले सोच्ने गर्दथें भलै त्यो सकरात्मक दिशामै किन नहोस् । यहाँ एउटा मान्छेले अर्कोलाई आदर गर्ने चलन नै लगभग हराईसकेछ, न त आत्मअनुशासन नै बाँकी छ । सबैले आँफैलाई महान ठान्छन्, अरु कसैको अस्तित्व स्विकार्न तयार छैनन् । एक अर्काप्रतिको इर्श्याले जल्नु र घमण्डले फुल्नु नै उत्तम मान्छन् । मान्छेहरु कसैले पनि आफ्नो कर्तब्य र जिम्मेवारी बुझ्नु पर्छ भन्ने मान्यता राख्दैनन् । हरेक ब्यक्तिको सोचाइमा अधिकार र स्वतन्त्रताको आबरणभित्र अराजकता लहलह हुर्किरहेकोछ, दलालहरुकै हालिमुहाली छ । मान्छेहरुको भावना अपराधिक र दिमाग भ्रष्ट हुँदै गैरहेको छ । नियम, कानुन के हो र राज्यको उपस्थिती कहाँ छ केही पत्तो छैन । सबैले आदर्श फलाक्छन तर व्यबहारमा ठ्याक्कै उल्तो गरिरहेक हुन्छन् । आदर्श र व्यबहार तालमेल गराउन नसकेकै कारणले यि यावत समस्याहरु निराकरण गरिनुको साटो झन झन झाङिदै गैरहेका छन । युवाहरुमा तुलनात्मक रुपमा हेर्दा चेतना त आएको छ, खुब आएकोछ तर स्वतन्त्र रुपमा स्वबिबेक प्रयोग गर्न सकिरहेका छैनन । देशप्रती इमान्दार रहेर हृदयदेखी नै निर्णय नगर्दासम्म हप्तादिनको चर्को कृयाकलापको कुनै औचित्य पनि छैन । देशलाई अग्रगमनतिर डोर्याउने भए सचेत युवाहरुले एउटा पहलकदमी त लिनैपर्छ, चाहे जस्तोसुकै जोखिम मोल्नु किन नपरोस । तर अहिले त्यो सम्भावना न्युन देख्छु । अचेल अधिकांस ब्यक्ति आँफैप्रती पनि पारदर्शी र इमान्दार छैनन । साथी! मेरो देशको यस्तो हालत देखेर ब्यग्तिगत रुपमा जती नै आहत भए पनि त्यो हाम्रो साझा समस्या हो । एक दुई जनाको प्रयासले देखिने गरी केही गर्नै सकिदैन । मलाई लागेको थियो, मैले कठोर निर्णय गरेर थुप्रै पटक विद्रोह गर्नु पर्ने पनि हुनसक्छ, आँफैसँग, म बाँचेको समाजसँग र गलत राज्य प्रणालीसँग । तर कसका लागि, किन कैले भन्ने अन्योलले पिरोलिरहेछ । यस अवस्थामा म कस्तो अभियानको थालनी गरुँ ? वा कसको स्वच्छ अभियानमा समाहित बन्न सक्छु ? न म अरुलाई बुझ्न सकिरहेको छु, न त बुझाउन नै । आँफैभित्र अस्तब्यस्त रही गुज्रिरहेकोछु । यो मेरो एउटा समस्या हो, त्यो भन्दा ठुलो समस्या चाँही म आफुलाई त्यसरी अरुहरु जसरी हरेक मोडमा बदल्नै नसक्नुमा छ । म कलियुगमा अनायस सत्ययुग बाँच्ने दुस्प्रयास गरिरहेछु । म अझै पनि भन्छु, हाम्रो देश बिग्रिसकेको छैन तर जुन मार्गबाट अगाडि बद्नुपर्थ्यो, त्यसमा बिचलित अबश्य भएकोछ । यसरी नै गलत प्रब्रितिलाई बदावा दिदै गयौ भने यहाँको भाबी पुष्ता अब गर्भबाट नै कुन मानसिकता लिएर जन्मने हुन्, कस्तो बातावरणमा हुर्किने हुन, त्यसले घरिघरी साह्रै चिन्तित तुल्याउने गर्दछ । यो यथार्थ हो, सत्य हो, तै पनि झिनो आशा लिएर यताउती खोजिरहेको हुन्छु, सुत्केरी आमाहरु र इमान्दार छोराछोरीहरु । म आँफैसँग बर्बराइरहेको हुन्छु," अब यहाँ मान्छेरुपी राक्षसहरुको होइन, मान्छेमुखी भगवानको मात्र जन्म र न्वारन हुनुपर्छ" ।

मेरो साथी!
हो, कुनै चिज परिवर्तन हुन दशकौ लाग्छ भन्ने भौतिक बिज्ञानलाई म मान्छु । मैले सडकको चोकतिर क्षणभरमै चमत्कार गर्ने जादुगर बन्ने दुस्साहस गरेको अबश्य होइन । हाम्रो देशमा जे हुँदैछ, त्यसमा मेरो केही दोष छैन भन्नेमा पनि सहमत नै छु । तर तिमीले भने झै आँखा चिम्लिएर मौन बस्न भने सकिरहेको छैन । एकछिन आँखा छोप्छु, नसुने झै गर्छु तर पनि आत्माभित्र शान्ति हुँदैन । मैले बिचित्रको द्रिश्य देख्छु, हाम्रो शहरका साँघुरा सडक-गल्ली भरी दुर्घन्धित फोहोरका थुप्रो हुन्छ, छेउछाउमा नाङ्ले पसलेहरु कान चनाखो पार्दै १/२ रुपैया हातमा च्यापिरहेका हुन्छन् । हुलका हुल बालकहरु एक हातले बोरा अठ्याउदै र अर्को हातले प्लास्टिक सुघ्दै यताउती कुदिरहेका हुन्छन् । भिख माग्नेहरुले हात पसार्दै हिंड्ने जतिको खुट्टा दोगिरहेका हुन्छन् । ति अनुहारहरुमा हाम्रो देशको भबिश्य यत्रतत्र छरपस्त देख्छु, आउने पुस्ताको जिन्दगी बारे सोचमग्न हुन्छु । ति निमुखा गरीबहरुले आफ्नो बालबच्चाको लागि साँझ बिहानको छाक टार्ने र जिउ दाक्ने धोको रातदिन दु:ख गरेर पनि पुर्याउन सकिरहेका हुदैनन् तर यही मुलुकमा केही मान्छेहरु राष्ट्रको दुकुती लुट्न र तिनै दुखियाहरुकै गर्धनमा टेकेर मोजमस्ती गर्न तछाड-मछाड गरिरहेका छन । यि यावत कुराहरु देख्दा देख्दै पनि नदेखे झै गर्न सक्दैनँ । मेरो मातोलाई चटक्कै माया मारेर गुमनाम बस्न पनि सक्दैनँ । त्यसो गर्न मेरो नेपाली मनले मान्दै मान्दैन । हुन त यतिखेर मैले बोल्ने सहि समय नहोला, मलाई कसैले नसुन्ला किन कि आफ्नै भबिश्य बनाउन संघर्ष गरिरहेको मैले, अरुको चिन्ता लिनु खोक्रो आदर्श जप्नु सरह हुनेछ । तर यो मेरो बोल्ने समय होइन भने, शायद चुपचाप हेरेर टोलाई रहने समय पनि त होइन । यस्तो लागिरहेको छ, यहाँ अधिकांस मान्छेहरु अन्धा छन, बहिराहरु मात्र छन, बहुलाहरु मात्र छन । तर कहिले काही यस्तो अनौठो सोच पनि आउछ, "शायद दुनियाँमा म मात्र यस्तो बुद्धु हुँ, जो समयसँग हिंड्न अझै सिकेकै छैन । म पागल!"

मेरो साथी!
आफ्नोलाई रुवाउने र शत्रुलाई हसाउने मेरो सोच हुँदै होइन । तिमी भन्छौ, "तिमी जस्तो शान्त मान्छेले जीवनमा आक्रोस ठेग्ने आँट गर्नुपर्छ, आक्रोस ठेग्न सक्नेले गहिरो पिडा पनि ठेग्न सक्नुपर्छ, आगो-पानी सबैमा जिउन तयार रहनुपर्छ ।" तिमीले भने झै म अहिले पनि शान्त छु, सहिष्नु नै छु । म आफुलाई अझै पनि संयमित त राख्न सक्छु तर निकै अधैर्य भैसकेको छु । अब सम्हालिनलाई एउटा शान्त ठाउँमा म र 'महरु' मात्र हुनुपर्छ । अहिले नै कुनै बिना आधार 'जन्मस्थललाई औधी माया गर्छु, मेरो देशलाई ठुलो योगदान गर्छु' भनेर राष्ट्रिय गान जपेर बस्नुको औचित्य छैन भन्ने राम्ररी नै बुझेको छु । म तिम्रो सल्लाह र आग्रहलाई पुरै नकार्न चाहन्न तर यस्तो स्थितिमा मातृभूमीलाई अलपत्र छाडेर पलायन हुन भने सक्दिनँ । स्वदेशमै आर्जेको पैसा, सिकेको सिप र बटुलेको ज्ञानले भोली म मेरो मातृभूमीलाई कुममा बोकेर थाम्न सक्छु, सक्दैन त्यो भबिश्यमै परीक्षण होला । तर आज ‘केही गरेर कोही बन्नुछ वा कोही बनेर केही गर्नुछ’ को द्धिबिधामा अल्झेकोछु । मलाई भबिश्यमा कतै मेरा प्रिय सपनाहरुकै लिलामी गर्नुपर्ला वा आँफै मलामी बन्नु पर्ला भन्ने ठुलो डर छ । यसो भन्नुको अर्थ, म बाँचेको दुनियाँप्रती पूर्ण घ्रिणा जागेको होइन । तर यो मेरो गहिरो असन्तुष्टि हो । मेरो चाहना सम्मानित जीवन बाँच्नु हो । मैले खोजेको शान्त र समतामुलक समाज हो । मेरो परिकल्पनाको संसार स्वतन्त्र र अनुशासित हो । एउटा मुलुक मात्र होइन, सिङो धर्तीभरी सम्रिद्ध चाहनु र मानवियी साइनोमा उनिएको समाजको खोजी नै मेरो भित्री उद्देश्य हो । जहाँ म मान्छे, सिर्फ मान्छेहरुको बिचमा एउटा सुन्दर जीवन जिउन पाउँ । मेरो यत्ती स्वार्थ हो । यही नै मेरो एउटै इच्छा हो ।
- उही, तिम्रो साथी
15 July 2011

जुलाई '११

- Learning to Speak!!!
2 July 2011

- Give me a Hand!
4 July 2011

- Decisions are hard to make, hard to change!
6 July 2011

- क. प्रचण्डको बर्तमान कार्यशैलीले न शान्ति र संबिधान लेखन सार्थक निष्कर्षमा पुग्नेछ, न त नेपालमा जनवादी क्रान्ति नै सम्पन्न हुनेछ । जनयुद्ध लडेको ने.क.पा. माओवादी अहिले पतनको दिशातिर रफ्तारमा हुइकिरहेछ । अब राष्ट्रिय नेत्रित्वको बिकल्प सोच्ने समय आएकोछ । बेलैमा चेतना भया!
7 July 2011
(हरेक कम्युनिष्टले जनवादी क्रान्ति सम्पन्न गरेर समाजवाद हुँदै साम्यवादसम्म पुग्ने उसको जन्मजात सपना नै हो । उनिहरुले त्यो प्रस्थान बिन्दु पहिल्याउन हरसम्भव प्रयास गर्ने नै छन, अन्यथा बुझ्नु जरुरी छैन । हामीले Freedom को वकलात गर्छौ, कट्टर कम्युनिष्टहरुले Communism को । जब बिचार र दर्शनमै फरक भए पछी कुन सहि, कुन गलत भन्ने आ-आफ्नै दृष्‍टिकोणमा भर पर्ने कुरा भो । मुख्य कुरा देश यती लामो समय अस्थिर रह्यो, बर्बादितिर गैरहेछ, जताततै अराजक मानसिकताको हालिमुहाली छ । मैले भन्न खोजेको चाँही यत्ती हो कि, सबै जना सुध्रिनु पर्‍यो, सच्चिनु पर्‍यो नेताहरु र जनता पनि । प्रचन्डसँग राष्ट्रिय राजनीति र नेपालीको भबिश्य कता मोडिदिने भन्ने शक्ति छ तर उनको घेरा निकै साँघुरो भयो । राष्ट्रिय आवश्यकतालाई गम्भिर तरिकाले बुझेर जिम्मेवारबोध र कर्तब्यबोध नगर्दासम्म यही परिस्थिती रहने निश्चित छ जुन मुलुकको लागि राम्रो संकेत होईन । यस अवस्थामा न शान्ति आउनेछ, न त संबिधान नै लेखिनेछ, न क. किरणले भन्ने गरेको जनबिद्रोह नै सफल हुनेछ । बिना कुनै आधार बिभिन्न दलहरुका बिचमा न सहमति बन्नेछ, न त संघर्ष नै प्रधान हुनेछ । राजनैतिक छिनोफानोको कुरा त टाढा नै हुने भयो । तै पनि आशा गरौ, त्यो चेत चाडै फिर्नेछ र राष्ट्र अग्रगमनतिर तेज गतिमा बद्नेछ ।)

- I can digest everything.. thats wat Iam!
8 July 2011

- नेपाली!
अब शान्ति र संबिधानको कुरा छाडेर पहिले आफ्नै आचरण सुधारौं ।
15 July 2011
(यहा शान्ति र संबिधानको नाममा घ्रिणित राजनीति हुँदैछ, यसलाई बन्द गरेर हामी आँफैलाई सुधार्न तिर लाग्यौ भने शायद शान्ति पनि आउनेछ, संबिधान पनि लेखिनेछ र स्वत: मुलुक प्रगतिको मार्ग हुँदै चाडै सम्ब्रिद्ध बन्नेछ । आजभोलि नेताहरु खाली शान्ति र संबिधानको बहनाबाजी मात्र गरिराख्छन तर उनिहरुसँग त्यो इच्छाशक्ति छैन भन्ने त समयले छर्लङ बनाइसकेको अवस्थामा अझै पनि हामीहरु यो भ्रममा अल्झिरहनु हुन्न भन्ने मेरो निचोड हो । बरु सबैले आँफैसँग संकल्प गरौं, आ-आफ्नो ठाउँ बनाउँ, अब पनि अरु कसैको पनि भर नपरौं भन्ने मेरो आग्रह हो ।)


- धेरै खोक्छौं
झन धेरै भुक्छौं
हामी मान्छेहरु !
18 July 2011


- कमरेड! रोल्पालाई आफ्नै सन्तानको मंश लुछन र रगत पिउन वाध्य नपारियोस । रोल्पालीलाई भोक-प्यास लाग्दा के खाने र के पिउने भन्ने राम्ररी थाहा छ । रोल्पाले तिमीलाई सिकाएको हो न कि रोल्पालाई तिमीले ।
15 July 2011

- जातीय र क्षेत्रीय संकिर्णतालाई उच्च बौद्दिकता र सचेतना हो भन्ने भ्रम नछरे हुन्छ । त्यो फोस्रा अहम बाहेक केही हुँदै होइन ।
16 July 2011

- एउटा जमात छ,
जो बिरुवा रोप्ने र हुर्काउनेसम्म गर्छ तर फल टिपेर खान नै जान्दैन ।
अर्को जमात छ,
जो बिरुवा रोप्न र हुर्काउन चाहन्न तर फल टिपेर खान मात्र जान्दछ ।
शायद यहिनिर चेतनाको ठुलै भ्वाङ परेको हुनुपर्छ ।
17 uly 2011

- Sometimes, WE Need to Keep Walking Even if our Legs are Tired!
19 July 2011

- All the Best our Natinal Football Team! We All Nepalese are with you.. at least make it Draw! Go NEPAL Go!!! COME ON NEPAL!!!!!!!
23 July 2011

- Every Word has a Meaning, Every Meaning has a Question and Every Question has a Correct Answer!
25 July 2011

- Be Fresh.. Be Strong.. Be Optimistic!
Regain ur high spirits and Do ur Best!
Gud Luck National Futball Team!!!
27 July 2011

- Enjoyed watching a beautiful game with patients.
28 July 2011

- This is the Period.. this is the Time.. this is the Place.. and, all are Mine.
28 July 2011

- I was Impressed deeply while u came n impressed even at the time u Left away!
29 July 2011

- हिड् कान्छा हिड् ! कहिल्यै नथाकेर हिड् ।
30 July 2011

- प्रचण्ड, लाल, किरण र बादलको समायोजन बिछट्ट थियो, अब प्रकाशको समिश्रणले बिचित्रको बन्दैछ । नौलो सुनौलो काम गर्ने हकदार कमरेडहरु मात्र हो क्या रे !
32 July 2011