प्यारो भाइ
मुटुभरिको असिम माया ।
यो पत्र लेखेर हुलाकीको जिम्मा लगाउदासम्म त 'म सकुशल नै छु ।' भगवानको कृपाले त्यहाँ
पनि सबैलाई सधैं निका आरामै रहिरहने आशा गरेकोछु ।
प्रिय भाइ,
तिमी सानो छदा म हातखुट्टा टेकेर तिम्रो घोडा बन्थें र तिमीलाई काँधमा चदाएर वरीपरी डुलाउथें त कहिले कुममा बसाएर दगुर्थें । तिमीले कहिलेकाही मेरो चप्पल लगाएर मेरो भुइ चद्थ्यौ र मलाई खाँली खुट्टा चुथ्राको काँडैकाँडामा हिंड्न लगाउथ्यौ । ति दिनहरु साँच्ची अती रमाइला थिएँ । अब त बिस्तारै तिमी पनि ठुलो भैसक्यौ, धेरै कुरा बुझ्ने भैसक्यौ । त्यसैले, मेरो मनमा लागेको केही कुराहरु तिमीलाई भन्न मन लागेर यि शब्दहरु कोरिरहेकोछु । मैले आजको कुरा आज नै भनिनँ भने फेरी मेरो लागि भोली कहिल्यै नआउन पनि सक्छ भन्ने डर छ मलाई किन कि म प्रदेशमा मात्र छैन, युद्धभुमिमा छु । यो युद्धमा जतिबेला जे पनि हुनसक्छ अर्थात् दिनका हरेक पल र रातका हरेक प्रहर मार्न र मर्न तयार रहनु पर्छ । दुश्मनलाई मारियो भने जीत हुन्छ, संसारभर नामी वीर कहलिन्छौ तर मरियो भने हार हुन्छ । हामी सिपाहीहरु युद्धमा मर्यौं भने युद्ध मात्र हार्दैनौ, कसम, प्रतिबद्धता, जिम्मेवारी सारा हार्छौ र अन्तत: आफ्नै जीवनसँग पनि हार्छौ । हामी सधैं सधैंका लागि, सबै सबैका नजरमा सिर्फ हरुवा मात्र हुनेछौ ।
भाइ, मैले युद्धको कुरा गर्न पटक्कै चाहेको होइन । तिम्रो कलिलो वाल मस्तिष्कमा युद्ध ज्ञान भर्न खोजेको पनि हुँदै होइन । मेरो मृत्यु भएमा प्रतिशोध साध्न बलियो मानसिकता बनाउन वाचा गराउने मनसाय पनि कदापी होइन । मैले बिरगती प्राप्त गरेमा बक्सिस पाएको वीर शहीदको उपमा र शहीदको सम्मानमा दिइने तोपको सलामीमा लोभ्याउने चाहना त झन् हुँदै होइन । म त रातदिन बम र बन्दुकको संगतले अर्धपागल झै भएकोछु, आलो रगतले मातिएको बाघ झै भएकोछु । म साँच्ची अशान्त र आतंकले अर्धचेत भएकोछु तसर्थ मन र मस्तिष्कले म हिंस्रक भएकोले भित्रभित्रै बेचैन हुनुको उपज मात्र हो । यतिखेर मैले संयमता, धैर्यता र सन्तुलन गुमाउदै गैरहेकोछु तै पनि मेरो भाइको लागि भनेर आफुलाई सम्हाल्दै जिम्मेवार दाजु बन्ने हिम्मत पनि गरिरहेकोछु । मलाई थाहा छ, एउटा दाजुले आफ्नो भाइको लागि गर्नु पर्ने हरेक जिम्मेवारीबाट चुकेको छु तर पनि माफि माग्दै हृदयदेखी नै आशिर्वाद दिन चाहन्छु । मेरो बिचारमा यती भन्नु कुनै हक नभएता पनि मेरो कर्तब्य सोचेर यो पत्र कोर्दैछु । एउटा दाजु भएको नाताले भबिश्य कोर्दै गरेको आफ्नो भाइप्रति सानो जिम्मेवारी निभाउन मात्र खोज्दैछु ।
प्यारो भाइ, हाम्रो पुर्ख्यौली ईतिहास नै यस्तै छ कि जीजू-बाजेहरु मलायामा भयानक लडाईं लडे रे, बुवा-काकाहरु फोकल्याण्डमा त्यसरी नै भिडे रे । हाम्रो जेठा दाइ कारगिलमा अहोरात्र लड्दैछन्, माहिला दाइ ईराकमा भिड्दैछन् र म गोर्खाली सेना बनेर अफ्गानिस्तान युद्ध जित्न आफ्नो ज्यानको बाजी थापिरहेकोछु । बिगतका ति युद्धहरुमा बुवाबाजेहरु अनगिन्ती मारिए, धेरै बन्दी पारीए । कतिपय त झन् न लाश, न शासको पिडादायी अवस्थामा अलप रहिरहे र अनाहकमा अहिले हामी फेरी त्यही नियती भोग्ने क्रममा छौ । हामी युगौ युगदेखी पराइको आदेश इमान्दारिपुर्बक पालना गर्दै, झालेपाते झण्डा बोकेर, छिर्केबिर्के बर्दी ओडेर, आधुनिक बन्दुक भिरेर सार्वभौम नेपाल र स्वाधीन नेपालीको आत्मसम्मान, स्वाभिमान र स्वतन्त्रताको खिल्ली उदाइरहेछौ । हाम्रो जन्म, पौरख, श्रम, बहादुरी र बलिदान हाम्रै मात्रिभुमीको लागि एकलौटि हुनु पर्ने हो तर कस्तो बिडम्बना!? हामी त पराइको माटोमा अमूल्य जीवन सस्तैमा धितो राखेर, निसंकोच प्राण भेटि चदाउदै अर्कैका लागि निर्णायक युद्धहरु लडिरहेछौ । अरुको ब्यक्तिगत र राष्ट्रिय स्वार्थ, अहम र घमण्डलाई दाकछोप गर्न र जवर्जस्ती सहि साबित गर्नका लागि बिना हिच्किचाहत निर्दोष मान्छेहरुसँग भिडिरहेछौ । हाम्रो सधैं एउटै उद्देश्य हुन्छ, नूनको सोझो गर्न प्राण रहुन्जेल डटिरहनु, त्याग गरिरहनु र जसरी पनि जितिरहनु । किन र कहिलेसम्म!? हामीहरुसँग कुनै जवाफ नै हुँदैन किन कि हामीले गहिरिएर कहिल्यै सोचेकै छैनौ । हाम्रो बा-बाजेहरुले पहिलो विश्वयुद्ध लडे, दोस्रो बिश्वयुद्ध पनि लडे र म हाम्रो पुष्टाको रुपमा अघोषित तेस्रो विश्वयुद्ध लडिरहेको छु । म चाहन्छु, तिमी निकट भबिश्यमा हुन गैरहेको तेस्रो विश्वयुद्धको शिकार बन्नुहुन्न, हिंसा रोज्नुहुन्न । अरुको हार-जित हुने खेलको खेलाडी कसै गरी बन्नुहुन्न, कहिल्यै नटुङिने लडाईंको लडाकु बन्न उही बाटो पछ्याउदै बिदेश शयर गर्नुहुन्न । हाम्रो सुर्कोहरुमा हल गोरुहरु नार्न छाडेर अरुको बन्दुक समाउनु हाम्रो परम्परा होइन बरु यो त असमान सम्झौता हो, अध्यारो ईतिहास हो र त्योभद्ना पनि र
त्योभद्ना मुख्य
त झन् हाम्रो रोजीरोटीको वाध्यता हो । म चाहन्छु, यो ईतिहासलाई तिमीले नबुझिकनै अन्धचेतले निरन्तरता दिनुहुन्न । तिमीले यो सम्झौतालाई तोडेर, कालो ईतिहासलाई मेटाएर, नयाँ ईतिहास लेख्ने सुरुवात गर्नुपर्छ ।
म गोर्खाली पल्टनको फौजी भएर हरेक दिन गस्तिमा निस्कन्छु तर मेरो चौडा छाती गर्ब र उत्साहले फुलेको अहिलेसम्म महशुस गर्न पाएको छैन । गरीबका झुपडीहरुमा खानतलासी लिउछु, असहाय बुदाबुदीहरुलाई हप्किदप्की गर्छु, महिलाहरुलाई तथानाम गाली गर्छु । आफ्नै जीवनमा रमाइरहेका निशस्त्र युवाहरुलाई बिदेशी बुटले हिर्काउदै रिस पोख्छु, साना बालबच्चाहरुलाई बेस्सरी तर्साउछु तर किन? मसँग कुनै उत्तर हुँदैन । मलाई पनि ति सवै गर्न चाहना त हुँदैन तर यसो गर्न म वाध्य छु । मलाई थाहा छ, साँझ बिहान खान पनि नपुग्ने छाप्रोमा कुनै तोप-गोला भेटिनेछैन । ति निर्धा बुदाबुदीहरुले केही बिराएकै छैनन् । ति निरपराधी महिलाहरुको मैले अस्मिता लुट्न चाहे पनि चुपचाप सहनु बाहेक केही गर्न सक्ने छैनन् । ति निर्दोष अल्लारे बैंशका युवाहरुले मेरो कुनै प्रतिकार गर्न सक्दैनन् । ति अबोध बालबच्चाहरुले त झन् मेरो अक्रोसको भाषा नै बुझ्न सक्दैनन् । तै पनि, मैले नूनको सोझो गर्नैपर्छ, म गर्छु र इमान्दारिपुर्बक पालना गरिरहेको हुन्छु । यही दैनिकी लगातार दोहर्याइरहेको हुन्छु । मेरो भाइ, त्यतिखेर प्रेमको खानी सोचेको तिम्रो दाजु म अशली 'म' हुन पाउदैन, अरु कोही भैसक्नुपर्छ, भैसकेको हुन्छु ।
भाइ, यि सब सुनेर मलाई निकै बलियो र शक्तिशाली ठान्यौ होला । तर, तिमीले यथार्थ बुझ्नुपर्छ । वास्तवमा म निर्धा र अनाथ भएर यस्तो कुकार्य गरिरहेको हुन्छु । मैले आफ्नो स्वतन्त्रता र स्वाभिमान अरुलाई सुम्पिसकेर अरुको स्वतन्त्रता र स्वाभिमान पनि लुट्न खोजिरहेको एउटा आत्माहिन यन्त्र बनेको हुँ । त्यतिखेर मेरो कोमोल मन मभन्दा अन्त कतै बन्दी बनेको हुन्छ । तिमीलाई थाहै छ, यन्त्रले कुनै मानवीय मर्म बुझ्न सक्दैन । तर पनि परिवारलाई सम्झिदै एउटा क्षतबिक्षत हृदयमा ग्लानिबोधको लप्काले पोलिरहेको हुन्छ । ति अनकन्तार बस्तिहरु देख्दा, म हुर्के-खेलेको गाउँको यादले सताइरहेको हुन्छ । मेरो सामु लट्रिएका ति दुखी बुदाबुदीहरुको गाला र निधारमा देखिएका बुद्यौली रेसाहरुले दुरुस्त बुवा-आमाको अनुहार र उमेरले पिरोलिरहेको हुन्छ । ति महिलाहरुको टिठलाग्दो मुहार देखेर दिदिबहिनीहरुले भाइटिकामा लगाइदिएको चम्किले जमरा र माला सम्झिरहेको हुन्छु । मेरो सामु लकलक कामिरहेका अल्लारे ठिटाहरुको माझमा मेरो प्यारो दौतरीहरुले गरेका ख्यालठट्टा सुन्न खोजिरहेको हुन्छु । ति स-साना बच्चाहरुको टिलपिल आँखामा तिम्रो र छोरीको याद झलझली आइरहेको हुन्छ । म बाहिर आबेग र आक्रोसले बलिरहेको देखिन्छु तर यथार्थमा भित्रभित्रै बेस्सरी जलिरहेको हुन्छु, गलिरहेको हुन्छु । त्यसैले, युद्ध मैदानबाट मेरो पहिलो आग्रह वा शायद अन्तिम चाहना नै पनि हुनसक्छ । तिमी म जस्तो हिंस्रक मान्छे बन्नुहुन्न । तिम्रो त्यो अमुल्य जीवन अरुको उपयोगीताका लागि आधा सेकेण्ड पनि वाँच्नुहुन्न । तिमी आँफैले पूर्ण स्वतन्त्रतापुर्वक जिउनुपर्छ ।
कान्छा,
अचेल सुन्दैछु, हाम्रो गाउँ ठाउँमा पनि बम र बारुदको बिगबिगी छ रे । हाम्रो गाउँ टोलमा
पनि बिग्रह छ रे । मेरो समाज र मेरो घरपरिवार लथालिङ भैरहदा म भने यहाँ निरिही बनी
बाँचिरहेकोछु । बुद्धको देशमा हुने यस्तो हत्या र हिंसाको खबर सुनेर शिर झुकिरहेको
छ । भाइ, आपसी मेलमिलाप भनेकै राष्ट्रियता हो, राष्ट्रियता नै राष्ट्रको प्राण हो ।
अब तिमी र तिम्रो पुष्टाले सबैलाई मिलाएर एकताबद्ध पार्नुपर्छ । तिमीले नेपाली हुनुमा
गर्व गर्नु त छदैछ तर तिम्रो नाममा नेपालले झनै गर्व गर्न पाउनुपर्छ ।
मेरो
कान्छा, मैले त आफ्नो मलिलो माटोलाई रगत पसिनाले सिन्च्न नसक्ने कायर भएँ, मेरो लाशको
अपेक्षा पनि नराख्नु । मेरै शरीरका अङहरु कतिबेला आँफै क्षतबिक्षत वनेर मेरो जीवनको
अन्त हुने हो यकिन छैन । तर तिम्रो पुष्टाले त्याग गर्ने अठोट राख्यौ भने यस्तो दुर्दशा
अरुले कहिल्यै पनि भोग्नु पर्ने छैन । तिमी र तिम्रो सहपाठीहरु गाउँ गाउँसम्म पुग्ने
डाक्टर वनेर रोगले ग्रसित र असहायको सेवा गर्ने उदाहरणीय स्वास्थ्यकर्मी बन्नुपर्छ
। योग्य इन्जिनियर बनेर सुन्दर परिकल्पना कोर्दै अङभङ देशलाई नयाँ स्वरुप दिनुपर्छ
। राजनेता बनेर जनताको भावना बुझ्दै दुर्गम र सुगम विचको खाडल पुर्दै सामाजिक सुव्यवस्था
लागु गर्नुपर्छ । प्राध्यापक बनेर स्तरिय शिक्षा वाँडेर बौद्धिक आधार तयार गर्दै देशलाई
काँध थाप्ने कर्णधार र सिर्जिनशील युवाहरु जन्माउनुपर्छ । उद्योगी बनेर मुलुकको जीर्ण
अर्थतन्त्रलाई माथि उकास्न कलकारखाना खोल्दै सुनिश्चित लगानी बदाउनुपर्छ । आफ्नै माटोमा
श्रम-पसिना सिंचेर उत्पादन लटरम्म फलाउने फुलाउने र रमाउने पौरखी क्रिषक बन्नुपर्छ
। पर्यटन व्यवसायी बनेर हाम्रो कला, संस्क्रिती र प्राकृतिक सुन्दरतालाई देश बिदेशमा
चिनाउनुपर्छ । देशको सिपाही बनेर शान्तिसुरुक्षा कायम राख्दै चारै सिमानामा निगरानी
राख्ने जिम्मेवारी लिनुपर्छ । दुधको दुध र पानीको पानी छुट्याउने वकिल वनेर पीडितलाई
न्याय निसाफ दिलाउनुपर्छ । लेखक, साहित्यकार, संचारकर्मी बनेर राष्ट्र र जनता विरुद्ध
गरिने षड्यन्त्रका तानावाना पर्दाफास गर्नुपर्छ । सधैं जितिरहने खेलाडी बनेर आफ्नो
देशको शान राख्ने द्रिडता हुनुपर्छ । अवदेखी नेपालीको पाखुरीले नेपाललाई नै सिङार्नुपर्छ,
बेजोड सजाउनुपर्छ । मातृभूमीलाई रङरोगन भर्दै हराभरा र झिलिमिली पार्नुपर्छ । हामी
भरिपूर्ण छौं, अब सुसम्पन्न हुनुपर्छ । अरु जस्तै अशल नागरिक, बिकसित र आत्मनिर्भर
मुलुक बन्नुपर्छ । एक बनेर देश बन्दैन, देश बनाए सवै बनिन्छ । तिमी जे बन, राष्ट्रको
अशल सेवक बन । तिमी जे गर, जन्मभुमीको संव्रिद्धीमा सघाउ पुग्ने कार्य गर । देशलाई
अग्रगतीमा लाने एक अंश योगदान तिम्रो पनि होस् भन्ने आशा राख्दै छोटो पत्र बन्द गर्न
चाहन्छु । जिउदो रहे म फेरी लेखौला । बाँचेर फर्के त झनै हातेमालो गरौला । मरेछु भने
मेरो प्यारो भाइ, यही लाख-लाख आशिर्वाद र शुभकामना छ तिमीलाई ।
उही तिम्रो परदेशी दाजु
लाहुरे
हेल्मण्ड प्रान्त, अफ्गानिस्तान
अप्रिल, २०१०
http://www.facebook.com/profile.php?ref=profile&id=628643762#!/notes/chandra-gharti-magar/apresita-patra-bhailai-daiko-ciththi/398284851443
ReplyDelete