Thursday, July 26, 2018

वर्ल्ड कप २०१८

विश्व फूटबल जगतको पावर हाउस मानिने जर्मनीले विश्व कपमा राम्रो खेल्दाखेल्दै पनि गोल गर्न नसकेकै कारण लिग चरण पार गर्न सकेन । अर्जेन्टिनामा मेस्सी र पोर्चुगलमा रोनाल्डो जस्ता क्षमतावान खेलाडीहरु भए पनि समग्र टिमको संरचना हेर्दै उनिहरु सुरुदेखि नै दावेदार थिएनन् । स्पेनले विपक्षीलाई थकाउने, गलाउने, अत्ताउने र झुक्काएर गोल गर्ने टिकिटाका शैलीले २००८ र २०१२ को युरो कप तथा २०१० को विश्वकप जिते पनि अहिले त्यही परम्परागत शैली अपनाउदा खल्लो मन लिएर चाडै घर फर्किनु पर्यो । यसपाली पनि मेक्सिको, स्विडेन, कोलोम्बिया जस्ता राम्रा टिमहरु सधैं झै अभागी सावित भए । कोरिया र जापानले जित्नै पर्ने खेल गुमाए तर रोक्न समेत हम्मेहम्मे ठानिएको टिमलाई पराजित गर्दै सनसनी मच्चाएर एसिया अव युरोप र दक्षिण अमेरिकी मुलुकहरुको लेभलमा पुग्दै गरेको संकेत गरेका छन् । यस विश्वकपको मुख्य दावेदारको रुपमा हेरिएको ब्राजिलको टिम प्रविधिक रुपमा अव्वल हुँदाहुँदै पनि बेल्जियमसँग स्तब्ध हुँदै रित्तै आफ्नो देश फर्किन वाध्य भयो । आयोजक रसियाले आफ्नै घरेलु मैदानमा सक्दो राम्रो खेल्यो र क्वार्टर फाइनलसम्मको यात्रा तय गर्न सफल रह्यो । 

विश्वकप छनौटका खेलहरुमा राम्रो प्रदर्शन गरेका देशहरु नै सेमी फाईनलमा भिड्न आइपुगे । यि देशहरुबाट यस्तै प्रदर्शन गर्ने धेरै नै अपेक्षा गरिएको थियो र त्यो सत्य सावित गर्दै यहाँसम्म आइपुगेका पनि हुन् । अधिकांशको अनुमान इङ्ल्याण्ड र बेल्जियम फाईनल खेल्छन् भन्ने थियो किन कि यि दुवै टिममा प्रतिभाशाली युवा खेलाडीहरुले भरिपूर्ण थिए तर समुह चरणमै भिडेका यि टिमहरु विश्व कपमा प्रथम नभइ तेस्रो स्थानका लागि  पुन: मुकाविला गर्नुपर्यो । अव १९९८ को सेमी फाईनलिस्ट क्रोसिया र विजेता फ्रान्स २०१८ मा आएर पुन: फाईनलमा भिड्दैछन् । पुरै टिमलाई हेर्दा फ्रान्स केही बलियो जस्तो लाग्छ तर क्रोसियाले शतप्रतिशत खेल्न सकेमा कप उठाउने प्रवल सम्भावना छ । हरेक पोजिसनमा दुवै टिम सन्तुलित छन् र आआफ्नै बिशेषता रहे पनि फ्रान्सको बलियो पक्ष फर्वार्डहरु नै हुन् । यदी ग्रिजम्यान र बाप्पे लगायतले पाएको मौकामा गोल गर्न सके फ्रान्सलाई सजिलो हुनेछ । क्रोसियाको सवल पक्ष मिड्फिल्ड नै हो । यदी मोडरिक र राकाटिकले मिडफिल्डको कमाण्ड सम्हाल्दै चुस्त पासहरु निकाल्न सकेको खण्डमा फ्रान्सलाई धक्का दिदै निराश पार्न सहज हुनेछ । आजको खेलमा रेफ्रीको अन्तिम सिट्टीले नै फ्रान्सले आफ्नो जर्सीमा अर्को तारा थप्दै दुइ वटा तारा बनाउने हो वा क्रोसियाले पहिलो तारा सजाउन सफल हुनेछ भन्ने अन्तिम छिनोफानो गर्नेछ । जित्नेहरुले खुशी साट्दै अर्को जितको लागि तयारी गरून्, हार्नेहरुले खेलको नियम स्विकार्दै अझ मेहनत गरुन् । सम्पूर्ण खेलाडी र फ्यानहरुलाई रोमान्चक खेल र जितको शुभकामना छ ।

15th July, 2018

No comments:

Post a Comment