Saturday, October 15, 2011

म र मेरो घडी

मेरो हातको घडी
मन परे फनफनी घुमिराख्छ
मन नपरे मज्जाले सुस्ताउछ
यो अली बिशेष खालको छ
मेरो देशको घण्टाघर जस्तै ।

कहिले घडी सुत्छ, म उठ्छु
कहिले म सुत्छु, घडी चलिरहेको हुन्छ
कुनै दिन
मेरो घडी स्थिर हुन्छ, म चलायमान हुन्छु
कुनै रात
घडी चलाख हुन्छ, फेरी म अल्छि हुन्छु ।

म र मेरो घडी
यसै गरी बेतालमा कुदिरहेका हुन्छौ ।

देश सुतेको बेला जनता जागेको जस्तो
जनता जागेको बेला देश सुतेको जस्तो
ठ्याक्क मिल्दोजुल्दो छ
म सकृय रहन खोज्दा
मेरो घडी निदाइदिन्छ
म निस्कृय भैदिदा
घडी एकतामसले दौडिरहेको हुन्छ ।

अचेल बिना कारण
समय र मेरो बीचमा फाटो आइरहेकोछ
म ब्यूउझिदा घडी चीर निन्द्रामा हुन्छ
म निदाउदा घडी खुर्रर कुद्छ
दुनियाँले मलाई गल्ती देख्छन
मेरो आक्रोस बदेर आउछ
तै पनि,
घडीको सुई निस्फिक्री बिश्राममा हुन्छ
म माफ गरिदिन्छु
किन कि सम्झौता अनिबार्य छ
कहिले मलाई धोका दिन्छ
कहिले मैले धोका दिन्छु
यहाँको परम्परा यस्तै छ
न घडीले देश चलायो
न देशले समय चलायो
न मैले देश र समय नै चलाऊछु ।

अहिले, आजभोलि
तोल, देश र विश्वभरी
इमान-जमान खत्तम भएको बेला
समयसँग के गुनासो गर्नु!
आँफैसँग के चित्त दुखाउनु!
हिंडेर, कुदेर र सुतेर पनि
घडीले बजाएकै छ
म सुतेकैछु, जागेकैछु
जाबो तालमेल न नमिलेको हो
घडी र मेरो घनिष्ठता तोडिदा
युगको सराप लाग्नेछ, शायद
किन कि यहाँ अनिश्चित छ
शान्तीको र संबिधानको भाखा होस कि
बिकास र स्वतन्त्रताको साइत
तसर्थ,
घडीको चाल र मेरो ताल
निरन्तर यही हुनेछ
यसरी नै सधैं कायम रहनेछ
म घडीको दोष भन्छु
घडीले मलाई दोषी भनोस
बरु म घरिघरी
मेरो घडीको सुई घुमाउन तयार छु
मेरो समय तालिका बदल्न तयार छु ।
15 October 2011

1 comment:

  1. धेरै दिन पछि ब्लगमा आउनु भो तर साच्चै मिठो कबिता लिएर आउनु भो चन्द्र जी । यहाको लेखन शैली साह्रै राम्रो छ। सरल र सरस कवितात्मक शैलीमा यहाले भन्न आटेका कुराहरु छताछुल्ल पोखाइ दिनु हुन्छ । यसलाइृ निरन्तरता दिइ रहनुहोस ।

    ReplyDelete