Wednesday, January 16, 2019

सुनछहारी

सुनछहारी! 
पुस्तौदेखी बेहिसाव बगिरहेछ 
कलकल 
निरन्तर ।    

केवल पानी त कहाँ बग्यो र!?  
छालसँग खिइदै सुन पनि बगिरह्यो  
गहनाले सजिने आमादिदीहरुको रहरहरु 
बर्खे भेलले त झन निर्मम मुग्लान कटाइरह्यो ।  

नाक र कानहरु बुच्चै पारेर  
बगिरहेछ, पवित्र कहलिदै सुनपानी झरना 
सतिसाल झै ठिङ उभिएकोछ ईतिहास  
तर समयसङै ओझेल पर्दै गैइरहेछ रोल्पा । 

जती बाझै छन खेतका आलीहरु 
त्यस्तै छन रित्तिएका काख पनि  
जती उजाडिए रोल्पाली भिरपाखा 
त्योभन्दा खुइलिएका अचेल मनहरु 
कसले लायो - सुन 
कहाँ मिसियो - पानी 
मुल पुरै बेखबर छ 
जसरी बेखबर छन आमाहरु 
तिनै बगेका रहरहरु खोज्न निस्किएका सन्तान बारे । 

पानीसङै सुन बगिरहेछ 
जून रोज्दा आफ्नै गुण हराइरहेछ 
एउटा सिङो जुगको उर्जा भरेर     
सपनाको सफल उडान गर्दागर्दै 
अन्तै पो भएछ रोल्पाको आकस्मिक अवतरण । 
०१ माघ २०७५
15th Jan 019 

No comments:

Post a Comment