Thursday, January 24, 2019

पागलको विपक्षमा

ए! पागल  
कहिल्यै नखुल्ने भो चेत तिम्रो 
सतिले सरापेको मुलुक भन्थे  
तिमीलाई चाँही कसले सरापेछ हँ? 
आँफै अर्धपागल म 
धन्नै तिम्रो संगतले पुरै पागल भईनछु ।  

दुर्गममा चिकित्सक नपुगेर के भो र ?   
गरीब विरामी अकालमै मरे नि के भो र ? 
विपन्नले पढ्न नपाएर के नै हुने हो र ? 
माफियाले सरकार चलाए पनि 
नेताहरु विदेश गई उपचार गरेर आए पनि 
आखिर तिमीलाई हुने नाफाघाटा के छ र!? 

खानेलाई खान देउ 
मर्नेलाई मर्न देउ 
जसको शक्ति छ 
उसैको भक्तिगान गर्ने त हो 
सवै मान्छेलाई वरावरी देख्ने तिम्रो दृष्टिभ्रम 
सवै नागरिकलाई समान सोच्ने तिम्रो दोषी मन 
कठै! तिम्रो पागलपन । 

पुष्तौपुष्ता पुग्ने भ्रष्टाचार गर्नलाई  
न सत्ता चाहिएकोछ तिमीलाई   
न त भत्ता नै 
अपराधबाट चोखिन 
न कसैको सुरक्षा चाहिएकोछ 
न त राज्यको संरक्षण नै 
कुर्सीमा बस्नेका रङ धेरै फेरिए 
तिमी किन कहिल्यै फेरिन्नौ?  
बुदी आमाकोभन्दा वदी देशको माया गरेर  
आफ्नै ज्यानलाई मारेर गरीबको चिन्ता गरेर 
यस्तो के अनर्थ गर्न खोजिरहेछौ?   
कठै! तिम्रो बहुलापन । 

तिम्रो सोंच 
तिम्रो नैतीकता 
तिम्रो भावना 
सवै सवै त्यागिदेउ 
वरु गिज्याउनदेउ साँझ बिहान तिम्रै निष्ठालाई   
त्यागी न हौ तिमी  
त्यसै त अरुकै लागि जीवन त्याग्न तयार छौ  
न श्रीमती 
न छोराछोरी  
किन गर्दैछौ बेथितीको विरोध?     
कसका लागि बसाल्नुछ - संस्कार?   
ए! पागल
यो तिम्रो कस्तो जिद्दि मन !?  

वाणले छियाछिया शरीरको असह्य पिडा सहदै   
तिखा तीरैतीरैको ओछ्यानमा पल्टिरहेको भिष्मपितामह झै  
अविचलित, निसंकोच, द्रिद, शान्त, शान्त 
ए! पागल 
तिम्रो पाउ छोएर मेरो अन्तर्मनले प्रणाम भनिरहेछ  
तर 
तिमीले झै अन्न र पानी त्याग्ने आँट छैन मसँग 
मभित्रको लोभ, स्वार्थ, मोहलाई जितेर 
न त अरुको सुर्ता गर्दै पागल वन्ने सामर्थ्य नै  
ए! पागल  
अरुकै निम्ती प्राण दिन तयार 
यो तिम्रो कस्तो बिचित्र तन!? 
तिम्रो यो कस्तो पवित्र मन!? 

ए! पागल 
म पागल बन्न नसक्नेरहेछु
कृपया! तिमी नै अर्धपागल वनिदेउ 
फोहोरमा सुहाउने झिंगाहरुलाई 
भन्किनदेउ त्यतै रछ्यानतिर  
प्रिय! पागल 
निस्वार्थ सेवाको अभियोगमा यमराज  
जारी गर्दैछ अहंकारको रेडकर्नर नोटिस तिम्रै नाउँमा       
सत्याग्रहीको सम्मान गर्दै सरकार  
अभिनन्दनको शान्दार कात्रो बुन्दैछ  
तिमी भने निश्चिन्त 
बुझाईरहेछौ - सत्य र धर्म     
खोजिरहेछौ - कोठीमा बन्देज न्याय  
चाहिरहेछौ - मानवता 
मागिरहेछौ - नागरिक हक 
र बसिरहेछौ आमरण अनसन      
यो तिम्रो कत्रो आत्मबिश्वास!?  
तिमी कस्तो दुर्लभ पात्र!? 
तिम्रो यो कस्तो चरित्र!? 
प्रिय! पागल  
बिन्ती छ  
अरुकै लागि सर्वस्व त्याग्न तयार तिमी 
अव तिम्रै पागल ब्रम्हज्ञान पनि त्यागिदेउ ।   

११ माघ २०७५  
हुबेई, चाइना 

Wednesday, January 16, 2019

सुनछहारी

सुनछहारी! 
पुस्तौदेखी बेहिसाव बगिरहेछ 
कलकल 
निरन्तर ।    

केवल पानी त कहाँ बग्यो र!?  
छालसँग खिइदै सुन पनि बगिरह्यो  
गहनाले सजिने आमादिदीहरुको रहरहरु 
बर्खे भेलले त झन निर्मम मुग्लान कटाइरह्यो ।  

नाक र कानहरु बुच्चै पारेर  
बगिरहेछ, पवित्र कहलिदै सुनपानी झरना 
सतिसाल झै ठिङ उभिएकोछ ईतिहास  
तर समयसङै ओझेल पर्दै गैइरहेछ रोल्पा । 

जती बाझै छन खेतका आलीहरु 
त्यस्तै छन रित्तिएका काख पनि  
जती उजाडिए रोल्पाली भिरपाखा 
त्योभन्दा खुइलिएका अचेल मनहरु 
कसले लायो - सुन 
कहाँ मिसियो - पानी 
मुल पुरै बेखबर छ 
जसरी बेखबर छन आमाहरु 
तिनै बगेका रहरहरु खोज्न निस्किएका सन्तान बारे । 

पानीसङै सुन बगिरहेछ 
जून रोज्दा आफ्नै गुण हराइरहेछ 
एउटा सिङो जुगको उर्जा भरेर     
सपनाको सफल उडान गर्दागर्दै 
अन्तै पो भएछ रोल्पाको आकस्मिक अवतरण । 
०१ माघ २०७५
15th Jan 019 

मन्जुरिनामा

आमा!  
तिम्रै यादमा वेचैन छु अचेल 
ओखोतीमुलो लिएर पौरखभरी 
हतारमा छु बिसेक पार्नलाई । 

गोडा दुख्दा उठ्नलाई  
टेक्ने लठ्ठी वन्न सकिनँ 
खोकी लाग्दा जुध्नलाई  
कुनै वुटी दिन सकिनँ 
साथै नभए पनि 
छेउमा नरहे पनि 
मर्म बुझेकोछु आमै  
म वेस्सरी दुखेकोछु आमै ।   

आमा! 
गाउँ आफ्नो रहेन 
शहर आफ्नो भएन 
प्रदेश त झन कसरी आफ्नो होला र!   
एक्लै छाडेर टाढा जानलाई  
चाहना त मेरो कहाँ थ्यो र! 
मन नलाई नलाई 
आँखा रुवाई रुवाई 
कठोर वन्न विवश छु आमा । 

जती जती नजिक हुनखोज्छु 
त्यती त्यती टाढा धकिलिदैगाछु   
ताकेको दिशा नै फरक परेछ कि! 
हिंडेको पाइलाकै चाल विरेछ कि!  
बिहानी भेट्न हतारिदै जती पूर्व कुद्छु 
उत्ती नै पो हुत्तिदै पश्चिम पुग्छु 
जत्ती उत्तरतिर शिखर चद्न खोज्छु 
त्योभन्दा वेसी नै पो दक्षिण भास्सिन्छु  
शान्ति खोज्दाखोज्दै आँफै आशान्त वन्छु 
पुस्तक पद्दा पद्दै समाज झनै दुर देख्छु 
जसको डर छ मलाई  
उनैको भर छ तिमीलाई  
छुच्चोलाई जाती मान्छौ 
अल्छिलाई राम्रो ठान्छौ  
अमर्यादितलाई प्यारो भन्छौ 
तिम्रै पिरले आमै 
दिनहरु हाँसेर वितेका छैनन 
रातहरु निदाएर कटेका छैनन  
जती तिम्रो विसन्चोको खबर सुन्छु 
विक्षिप्त म अजङको ददेलो हुन्छु 
मभित्रको न्याय र धर्ममा आगो झोसेर  
भर्खरै गएर श्रद्धान्जली दिउ झै लाग्छ 
कुपुतहरुका सारा लस्कर भष्म पारुँ झै लाग्छ 
तर, अहँ सक्दैन 
अन्धा साङ्लोले वाँधिएका जागरुक कुकुरहरु  
अनिष्ट रोक्नलाई जोड जोडले भुकिरहेछन   
बहुला हात्ती वितण्डा मच्चाउदै सिंहदरवार पसिरहेछ 
म टुलुटुलु हेरिरहेछु  
आफ्नै आँशुमा डुव्छु र जवर्जस्ती निभ्छु 
जती सोच्छु, त्यती आफुलाई मुर्दा सम्झिन्छु 
आमा!   
वरु वैध अपराधी करार हुन राजी छु   
म तिम्रो वैध सन्तान अवैध जिउन चाहन्न  
म वैध अपराधी कवोल गर्न मन्जुर छु 
म वैध अपराधको सजाय भोग्न तयार छु । 
२०७५ पौष २३ 
9th Jan 019
स्याङ्याङ्, चाइना