Wednesday, August 28, 2019

ओलीको बोली र रविको छवि

जनयुद्ध र जनआन्दोलनमा जनताले गरेको बलिदान र त्यागले ल्याएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीतालगायत संविधानमा ब्यबस्था गरिएका सामाजिक न्यायका विरुद्ध विभिन्न बहानामा सडकबाट चर्को आवाज उठ्दै जानू राष्ट्रका लागि कदापि शुभसंकेत होईन ।

देशभक्त नेपालीले त्यत्रो खुनपसिना बगाएर ल्याएको परिवर्तनलाई एउटा पत्रकार रविरुपी आँधीले यति सजिलैसँग हल्लाइदिन खोज्नु देशको लागि निकै घातक छ भलै उल्टाउन सक्ने सामर्थ्य भने राख्दैन र तत्कालै त्यो संभावना पनि छैन ।

तर यिनै ऐतिहासिक परिबर्तनको विपक्षमा यस्तो नकारात्मक माहोल बन्दै जानुको सबैभन्दा जिम्मेवार चाहिँ राज्यसत्ताको गलत रवैया नै हो । अहिले देखिने अधिकांश भद्रगोल स्थितिको मुल कारक तत्व ओली सरकारको बोली, कार्यशैली र व्यबहार नै हुन् । एनसेल काण्ड, वायडबडी काण्ड, सुन काण्ड, निर्मला काण्ड, डा. गोविन्द केसी काण्ड, आदि जस्ता भ्रष्टाचार, अपराधिक घटनाहरु र जनतासँग प्रत्यक्ष सरोकार राख्ने जनजीविकाका सवालमा उचित सम्बोधन हुनुपर्छ भन्ने व्यापक जनचाहना हुनु तर सरकारले खासै चासो नदिनुले जनभावना उद्धेलित हुदैजानु स्वभाविक नै थियो । अनेकौं भ्रष्टाचार काण्डमा आँखा चिम्लेर बस्ने सरकार कहिले गायकको पछि, कहिले पाइलटको पछि त कहिले पत्रकारको हुर्मत लिनखोज्नु र सत्तापक्षका नेताकार्यकर्ताहरु पनि बिषयबस्तुलाई सुक्ष्म दंगले केलाएर प्रधानमन्त्री र मन्त्रीलाई सचेत गराउन छाडी बफादार अरिंगाल बन्ने होडबाजीमा लाग्नु नै परिस्थिति झन्झन् प्रत्युत्पादक बन्दै गएको हो भन्नेमा दुई मत छैन ।

रविले नेपाली नागरिकता त्यागेको सन्दर्भमा उनको घोर बिरोध पनि गरिएकै थियो । कार्यक्रम प्रस्तुत गर्दा सधैं आक्रामक शैली अपनाउनु पनि सबै प्रशंगमा त्यति शोभनीय देखिदैन । कतिपय बिषयबस्तुहरु केवल सस्तो लोकप्रियताकै लागि गरेको जस्तो भाण पनि पर्छन् । तर धेरै जनाले जहाँ जहाँ आफ्नो चित्त दुखेको महशुस गरे त्यहाँ उनको त्यहीँ बोलीले मल्हमको काम गर्दै गयो । जे कुरा बोल्न सकेका थिएनन् त्यस्तै अभिव्यक्ति रविले जोड जोडले दिदै गए । बिदेशमा अलपत्र परेका नेपालीदेखि देशभित्र देखिएका बेथितिको बिरोधमा उनले जसरी कार्यक्रम संचालन गर्दै गए त्यसले कुशासनले आजित मनहरुमा रहेको उकुसमुकुसलाई प्रकट गर्न मद्धत गर्यो । सामान्य नागरिकहरुले राज्य मेरो लागि पनि हो भन्ने अनुभुति गर्नुको सट्टा आफुलाई अनाथ सरह ठान्दै गएका थिए । राज्यले सम्बोधन नगरेका तिनै कुराहरुमा रवि आकर्षक दंगले चिच्याए, जुन सबैले सुने । कुनैबेला सबै समस्याको एकै उद्धारकर्ता कहलाइएका ओली समयक्रममा ओलीको बोलीभन्दा रविको बोली पृय लाग्न थाल्यो । यसै कारण रविको छवि यसरी उज्यालियो कि दुई तिहाईको घाम सरकार छाँयाको रुपमा आम जनमानसमा बुझिन थाल्यो । राज्यको हरेक अंगमा सुधारको अपेक्षा गरिएकोमा उल्टै भ्रष्ट र माफियासँग लहसिदै गएको आभास हुँदै गयो । देशलाई अनेक तरिकाले खोक्रो बनाउने धमिराहरुलाई सरकारले कारबाही गर्न छाडेर झन् उन्मुक्ति दिलाउने प्रयत्नमा पो लाग्दैछ कि भन्ने आशंका उब्जिदै जादा शक्तिशाली बाम सरकारले जनबिश्वास गुमाउँदै जानु निश्चित थियो ।

राजतन्त्रको विकल्पमा ल्याएको गणतन्त्रमा स्थानीयदेखि केन्द्रसम्मकै नेताहरु देश र समाजप्रति गैरजिम्मेवार देखिनु, पद र प्रतिष्ठाप्रति उत्तरदायी नहुनु, खुल्लमखुल्ला भ्रष्टाचारमा मुछिनु, कमिसन लिएर माफिया, दलाल र ठेकेदारहरुको पक्षपोषण गर्नु, प्रशासनिक क्षेत्रमा कुनै सुधार नहुनु, आत्मकेन्द्रित, गुटबन्दी र पारिवारिक लाभमा अल्झिने स्वार्थीहरुकै कारणले सिङ्गो ब्यबस्थाप्रति वितृष्णा र प्रश्न उब्जिनु तथा लुटतन्त्रको झल्को हुन थाल्दा सचेत र इमान्दार देशभक्तहरुको मनमा समेत आलोचनात्मक आशंका जन्मिनु नाजायज थिएन । जहाँ जहाँ सरकार चुक्दै गयो, सरकारको अभाव खड्किदै गयो त्यहाँ त्यहाँ रविले खरो आवाज बुलन्द गर्दै गए र जनताको निराश मनलाई केही हदसम्म तरंगित बनाउन सफल रहे । त्यसैको फलस्वरूप ओलीको बोलीमा विश्वास घट्दै गयो भने रविको मजबुत छवि स्थापित हुँदै गयो । जनताले सरकारलाई भन्दा बढी भरोसा रविलाई गर्ने आत्मनिर्णय गर्न बाध्य हुँदै गए । तसर्थ, जनता सिर्फ रविको पक्षमा उर्लिएका होइनन् बरु सरकारको अकर्मण्यताको विपक्षमा छन् भन्ने बुझ्न जरुरी छ । जब सरकारले तदारुकताका साथ जनचाहना अनुरुप काम गर्दै बिश्वास आर्जन गर्न थाल्छ तब जनताले आँखा चिम्लेर जे गर्छन् सहि गर्छन् भन्ने मनोभावना सिर्जित हुँदै जान्छ । तत्पश्चात स्वत: जनसमर्थन बद्दै जानुका साथै सडकको आकस्मिक आवेगहरु पनि मत्थर हुँदै जानेछन् । त्यसको पहिलो शर्त चाहिँ नेतृत्वपंक्ति पारदर्शी र नैतिकवान हुनैपर्छ ।

मुख्यतः रविको पक्षमा यत्रो दिन यत्रो जनलहर निरन्तर सडकमा उर्लिरहनुमा आफ्नै क्षमता र उनले गरेको सामाजिक कामहरुकै कारणले हो साथै राज्य संयन्त्रको निकम्मापनले पनि मलजल गरेको हो । अहिले धमिलो पानीमा माछा मार्न खोज्ने तत्वहरु सल्बलाउन खोज्नु कुनै अनौठो होईन । यतिबेला आआफ्नो स्वार्थ हेरेर धदिया थाप्ने पात्रहरु थुप्रै छन् । तर माथि उल्लेखित राजनैतिक र सामाजिक परिबर्तनका बिरुद्ध उठेका लोकतान्त्रिक असहमति बाहेक कुनै पनि अराजक कदमहरु न्यायोचित हुनैसक्दैनन्, तिनलाई नियन्त्रण गरिनै पर्छ । यी तत्वलाई सम्पुर्ण रुपमा निस्तेज र असफल पार्ने दायित्व सरकारकै हो । सरकारको जनमुखी कार्यले नै हो । देशलाई आवश्यक पर्दा जनता साथमा थिए र सधैंभरी साथमा हुनेछन् । अबको शासन ब्यबस्थाको विकल्प पश्चगामी होईन, अहिलेकोभन्दा अझै उन्नत मात्रै हुनसक्छ ।

रवि हुन् वा अरु कोहि । कुनै घटनामा मुछिएपछी कानुनी रुपमा छानबिन त हुनैपर्छ । दोषी भए सजाय पाउनुपर्छ, निर्दोष भए कोहि फसाइनुहुन्न र पीडितले जसरी नि न्याय पाउनैपर्छ । तर, महत्वपूर्ण कुरा त यो हो कि सरकार आफैं भरोसायोग्य हुनुपर्यो र न्यायालयप्रति आम जनतालाई बिश्वास दिलाउन सक्नैपर्छ । राजनैतिक भागबन्डामा छानिने न्यायाधीशहरु भएकैले न्याय/अन्यायको फैसला पनि राजनैतिक नेतृत्वबाट नियोजित र अभिप्रेरित हुनसक्छ भन्ने अविश्वासकै उपजस्वरुप सडकमा अनेक नाराहरु घन्किन थालेका हुन् । र ती नाराहरु देश र जनताको हितमा छन् या छैनन्, औचित्यपूर्ण छ या छैन भन्ने निर्क्योल गर्न सरकारले ढिलो गर्नुहुन्न । तिनको जवाफ नदिइ सरकारले कानमा तेल हालेर बसेर हुदैन, ब्यबहारबाट नै पुष्टि गर्दै जान सक्नुपर्छ । रविले आम मान्छेको बिश्वास जित्नु राम्रो हो तर उनीभन्दा पनि अझै भरपर्दो र बिश्वासिलो सरकार हुनुपर्छ ।

ओलीको शैलीबाट रविको उदय अनि रविको नालबाट परिबर्तनको हत्या गर्ने दुस्साहस कसैबाट नगरियोस् । बेलैमा चेतना भया!

Tuesday, February 19, 2019

सलाम! होमलाल भेनाजु

पश्चिमतिर फर्केको मुल दोका, रातो माटोले लिपेको घर । घरभित्र पस्ने सिंदी उक्लेर गएपछी सानो कोठा । त्यही भएको दोकाबाट भित्र पसेपछी मझेरी अनि विचतिर चुल्हो । चुल्होको दक्षिणतिर एउटा झ्याल । त्यही चुल्होमा पकाइएको आलुमा काउली मिसाइएको तरकारी र भात । धेरै जना जंकोटी युवाहरुले एकैसाथ सँगै मझेरीमा बसेर गफिदै खाना खाइरहेको द्रिश्य । घरबाहिर बाटोको छेउमा अग्लो मेवाको वोट अनि  त्यसको टुप्पोमा फलेको दुई वटा पाकेको फल ।

हामी सानो छदैदेखी माडिचौरको माघी मेला साह्रै चर्चित थियो । माघे संक्रान्तीको दिनबाट सुरु हुन्थ्यो, क्रमस: २/३ दिनमा मान्छेको ठुलो भिड लाग्थ्यो अनि फेरी पातलिदै गएर ४/५ दिनमा पुरै मेला फाट्थ्यो । त्यतिबेला मेला माडीखोलाको वारी खेतमा र पारी किनाराको मैदानमा लाग्थ्यो तर बदी चाँही पल्लोपट्टि नै भरिएको हुन्थ्यो । हामीहरु बुद्धी, अर्जुन, ज्ञानेहरुसँग जंकोटबाट त्यहाँको चहलपहल र होटेलबाट उडेका धुवाँलाई नियालेर बस्थ्यौ । अली ठुलो हुँदै गएपछी चाँही घरमा ५ रुपैयाँ खर्च मागेर आँफै मेला भर्न जानथाल्यौ । एक रुपैयाँको जेरी खान्थ्यौ अनि माडीखोलाको चिसो पानी तनक्कै हुनेगरी पिएपछी दिनभरिलाई भोक पुरै हराउथ्यो । अर्को एक रुपैयाँको सिट्टी किनेर फुक्दै यताउती कुद्थ्यौ, खोला तर्न डर लाग्थ्यो त्यसैले छेउमा गएर पानीलाई छुन्थ्यौ मात्रै । खोलाले बगाउछ भनेर आमाले अह्राउनु भएको कुरा सम्झेर पनि होला, किनारातिरै खेल्थ्यौ । खोलामा ससाना दुंगा र पातहरु चाँही फाल्थ्यौ र बगाउदै लगेको रमाइलो मान्दै हेर्थ्यौ । तर हाम्रै उमेरका देखिने माडिचौरका केटाहरु भने नदिमा पौडिएको देखेर अनौठो लाग्थ्यो । प्रायजसो दुई दिन मेला हेरेर घर फर्किन्थ्यौ । माघीमेलाका यस्ता थुप्रै सम्झनाहरु स्मृतिमा अझै ताजै छन् । ति कुराहरु प्रसँग आउँदा खोल्दै जानेछु । हुन त हाम्रो उमेर जसरी नै माडी खोलामा धेरै पानी बगिसक्यो । ती कुराहरुको अर्थ पनि छैन । समयसङै उहिलेको माघी मेला पनि अहिले त रोल्पा महोत्सवमा परीणत भईसकेकोछ ।

२०४९/५० सालतिर जस्तो लाग्छ, म पनि माघी मेला भर्न माडिचौर गएको थिएँ । जलजला युवा क्लबले क्लबका लागि केही आर्थिक जोहो गर्नलाई मेलामा साँस्कृतिक कार्यक्रम देखाउने तय गरेको थियो । त्यसका लागि केही समय अघीदेखी नै गाउँमा रिहर्सल पनि गरेको थियो । त्यतिबेला भलिबल, फुटवल र अहिलेको जस्तो अन्य विधाहरुमा प्रतिस्पर्धा गर्ने र पुरुस्कार जित्ने हुँदैनथ्यो । क्लवले साँस्कृतिक कार्यक्रम देखाउने भएकाले होला कलाकारहरुको टोली पनि अलिक ठुलै थियो । क्लबका सम्पूर्ण पदाधिकारी र कलाकारहरुलाई खान र बस्ने खर्च क्लवले व्यहोर्ने गरी सम्पूर्ण ब्यबस्थापन होमलाल भेनाजुले आफ्नै घरमा गर्नुभएको थियो । म पनि त्यही घरमा दिदीसङै बसेको थिएँ । मैले खाने खाना पनि क्लबको भान्सासङै पाक्थ्यो तर मेरो लागि भनेर अलिकती चामल र तरकारी चाँही होमलाल भेनाजुले छुट्टै थपिदिनुहुन्थ्यो । मैले फूल गोपीको तरकारी पहिलो पटक त्यही खाएको हुँ कि जस्तो पनि लाग्छ । मैले माथि सुरुमै उल्लेख गरेको घर होमलाल भेनाको हामी बसेको त्यही घर थियो । अहिले त त्यो घर भत्काएर त्यसको ठाउँँमा दुंगाले छाएको नयाँ घर बनाउनु भएकोछ ।

त्यतिबेला त्यहाँ पकाइने भात र तरकारी सवै होमलाल भेनाजु र दिदीले आफ्नै खेतमा उत्पादन गर्नुभएको भनेर मैले अलीअली सुनेकोथिए । आफ्नै खेतको चामल, आलु, काउली, टमाटर, प्याज, लसुनलगायत सवै आवश्यक खाद्द्य सामाग्रीहरु केही पनि अन्त किन्नुपरेको थिएन । त्यसबेला आम्दानी त कती नै पो गर्नुभयो होला र तर जुन व्यबसायिकता अपनाउनुभयो त्यो भने तारिफयोग्य छ । म माडिचौर पढ्ने बेलामा पनि स्कुलबाट घर फर्किदै गर्दा कहिले काही दिदीभिनाजुहरुसँग घरमुनिको खेततिरै भेट हुन्थ्यो । उहाँहरुले बेलाबेलामा आलु, बन्दा र टमाटरहरु झोलामा हालेर दिनुहुन्थ्यो । उहाँहरुले त्यसरी दर्शाउनु भएको आत्मियताको प्रभावले नै होला, मलाई उहाँहरु प्रतिको आदरभाव कहिल्यै कमी भएन । त्यती मात्रैले पनि पक्कै नहोला, उहाँहरु दिगो सम्बन्ध राख्न सिपालु, मिजासिलो र मिलनसार हुनुहुन्छ । अशल मान्छे भएकैले बरु उहाँहरु प्रतिको सम्मान झन् झन् बदेर गइरह्यो ।

रोल्पा नगरपालिकाद्वारा संचालित दोस्रो बृहत कृषि तथा औद्योगिक मेला प्रदर्शनीमा सहभागी भएर प्रथम हुनुभएको रहेछ । त्यो खबर सुनेर मनमनै हर्षले गदगद भएकोछु, हृदयदेखी नै हार्दिक बधाई पनि दिन चाहन्छु । यही सँगसङै मेरो मानसपतलमा अनायस मलाई मेरो बाल्यकालको त्यो झझल्को आइरह्यो । उहाँहरुले कहिलेदेखी आफ्नै बारीमा यसरी तरकारी खेती थाल्नुभयो ठ्याक्कै थाहा भएन तर मैले थाहा पाएदेखी नै उहाँहरु निरन्तर आफ्नै बारीमा उसैगरी खटिरहनु भएकोछ । हामीहरुले जागिर दिएनन् भनेर नेताहरुलाई गाली गरेर समय खेर फालिरहेका हुन्छौ, रोजगार छैन भन्दै जाँडरक्सी खाएर गाउँमा हल्लिदै हिडिरहेका हुन्छौ, पढ्नसक्ने अवस्था हुँदाहुँदै पनि पदाइ छाडेर बरालिरहन्छौ, देशमै केही गर्नसक्ने सम्भावनालाई लट्याउदै ब्याजमा ऋण खोजेर बिदेश जान लालयित हुन्छौ तर आफ्नै गाउँठाउँँमा केही गर्न सकिन्छ कि भन्ने तिर चाँही ध्यान नै दिन चाहन्नौ । होमलाल भेना, जो कम्तिमा पनि २५ बर्षदेखी आफ्नै खेतमा अनवरत पसिना बगाइरहनु भएकोछ । शायद उहाँले आफु र आफ्नो परिवारको जीवन धान्न र दैनिक आवश्यकता पुरा गर्न अहिलेसम्म कसैको ज्यालामजदुरी समेत गर्नुभएको छैन । अरुको हप्किदप्की सहनुपरेको छैन र अरुले आफुखुशी तोकिदिएको निश्चित भाऊमा आफ्नो श्रमपसिना बेच्नुपरेको छैन । बुवाले भन्ने गर्नुहुन्थ्यो,"सवैभन्दा ठुलो त दुंगामाटोसँग खेल्नु हो । खेतबारीमा जती पसिना बगाउन सकियो, त्यती आम्दानी दिन्छ । जमिनले हामीलाई कहिल्यै मार्दैन ।" होमलाल भेनालाई देख्दा बुवाले भनेको यही कुरा झलझली सम्झिन्छु ।

हामीले कल्पना गर्ने र भोग्ने यथार्थमा धेरै भिन्नता हुनसक्छ । अरुलाई देखाइने र गरिने चरित्रमा फरक पर्नसक्छ । केही अपवाद व्यक्तिहरु बाहेक हाम्रोसामु रहेको वास्तविकता तितो नै छ । हामीले राजनीतिको आडमा देशलाई लुट्न उद्दत हुन्छौ । समाजसेवाको बहनामा आफ्नो स्वार्थ पुर्ती गर्छौ । धेरै पढेलेखेको भनेर अरुको काँधमा जबर्जस्ती चद्न खोज्छौ । आँफैलाई मात्र धेरै जानेबुझेको ठानेर अरुको अपहेलना गरिरहेका हुन्छौ । हामीले अरुलाई पाठ पदाउन त निकै माहिर भएका छौ तर व्यबहारमा भने असाध्यै तुच्छ हुँदैगएका छौ । यी र यस्तै कारणले नै हाम्रो समाज सामाजिक आदर्शबाट च्युत हुँदै गैरहेकोछ र समतामुलक भावना र आत्मियता हराउदै गैरहेकोछ । खासमा दिनहुँ हामीभित्रको गुणलाई मारेर बैगुणलाई बदावा दिदै गैरहेका छौ र प्रतिदिन खोक्रो समाज र खोक्रो आदर्श बाँच्न वाध्य हुँदैछौ । हामीले हाम्रो लागि जुन महत्वहीन कुरा हो, त्यसमा बदी नै समय र महत्व दिइरहेका हुन्छौ तर जुन हाम्रो लागि असाध्यै महत्वपूर्ण छ त्यसलाई वास्ता नै गरेका हुदैनौ । एक निन्द्रामै रकेट चदेर चन्द्रमा पुग्ने, क्षणभरमै देशलाई कायापलत गरिदिने हावा गफ लाउन र सुनेर ताली बजाउन बानी परेकाछौ तर आफ्नै जीवनस्तर कसरी उकास्ने र सचेत समाज कसरी निर्माण गर्ने बारे चाँही जाँगर नै चलाऊन्नौ । हाम्रो आचरणलाई पवित्र देखाउन अनावश्यक अनेक स्वाङ र भ्रम पारिरहेका हुन्छौं । मेरो बिचारमा त हामीले जीवनमा खास बुझ्नुपर्ने धेरै कुराहरु छन् जस्तो लाग्दैन । हाम्रो दास मानसिकता र आफुलाई अरुकै ज्यामी ठान्ने बिचार बदल्न मात्र जरुरी छ । अरुको मुख ताक्ने प्रब्रितीलाई त्यागेर हामीले आफ्नो लागि आँफैले गर्नुपर्छ र त्यो गर्न आँफै सक्षम छौ भन्ने सोच र संस्कार बिकास गर्यौ भने त्यो सबै सम्भव पनि छ । जवसम्म आफ्नै खुट्टामा उभिन सक्दैनौ, आफ्नै पेट भर्न र जिउ दाक्न सक्दैनौ तवसम्म दुनियाँको जम्मै आविस्कार र चमत्कार सवै मिठ्या नै हुन् । अव 'भोटमा सुन छ, कान मेरो बुच्चै'को उखान दोहरिनु अगावै सचेत र सजगतापुर्बक आत्मनिर्भर हुने बाटो अवलम्बन गरिनुपर्छ । हामीहरु कसैको घोडा र लौरो बन्नुलाई नै वास्तविक परिवर्तन र प्रगती ठान्नु व्यर्थ छ । कुनै पनि परिवर्तन अरुले भन्दिदैमा आउने होइन, त्यो आफ्नै जीवनको हरेक बिहानसाँझ महशुस गरिनुपर्छ । अझै पनि आफ्नै पिशाबको न्यानोपनमा धेरैबेर भुलिरह्यौ भने एकछिनपछी पछुताउनु बाहेक अरु केही गर्नसकिदैन । हामीहरु अहिलेसम्म त चुकिसक्यौ तर अब त्यो गल्तीलाई सच्याउनैपर्छ । होमलाल भेनाले जस्तै आँफै मालिक र आँफै कामदार वनेर स्वरोजगार हुने बाटो अवलम्बन गर्नतिरै सोचौ, आफ्नै घरआँगनमा कुनै उपाय खोज्न थालौ र आँफैमा लागु गरौ । आफ्नै घरमा परिवारसँग साँझबिहान दु:खसुख बाड्दै, सँगै बसेर मिठोमसिनो खाँदै, आपतविपतमा छिमेकीसँग हातेमालो गर्दै जीवन ब्यथित गर्नु जस्तो सन्तुष्टि र आनन्द अरु के नै होला र! होमलाल भेनाजु आँफैमा एक अशल व्यक्तित्व, समझदार र सफल कृषकको उदाहरण हुनुहुन्छ । उहाँ जस्तै कसरी वन्न सकिन्छ, आफ्नै खेतवारीमा काम गरेर पनि सुखिखुशी जीवनयापन कसरी गर्न सकिन्छ, हामीले सो सिक्नैपर्छ । उहाँको स्वाभिमान, पौरख, परिश्रम र लगाव हामीले अनुसरण गर्नैपर्छ । हाम्रो समाजलाई अहिले होमलाल भेना जस्तै थुप्रै पौरखी र मेहनती व्यक्तिहरुको खाँचो छ र त्यो उत्प्रेरणा हामीभित्र पनि पैदा हुनैपर्छ । उहाँ जस्तै सोंच भएका व्यक्तिहरुले मात्रै आफ्नो जीवन, परिवार र सिङो समाजको अनुहार बदल्नसक्ने शक्ति र सामर्थ्य राख्नुहुन्छ । दिदीभेनाजुहरुको जीवनशैली, बिचार र निरन्तर श्रम गर्ने कलालाई हार्दिक सम्मान प्रकट गर्दै भबिश्यका लागि अझै प्रगतिको शुभकामना ।

२० माघ २०७५

Thursday, January 24, 2019

पागलको विपक्षमा

ए! पागल  
कहिल्यै नखुल्ने भो चेत तिम्रो 
सतिले सरापेको मुलुक भन्थे  
तिमीलाई चाँही कसले सरापेछ हँ? 
आँफै अर्धपागल म 
धन्नै तिम्रो संगतले पुरै पागल भईनछु ।  

दुर्गममा चिकित्सक नपुगेर के भो र ?   
गरीब विरामी अकालमै मरे नि के भो र ? 
विपन्नले पढ्न नपाएर के नै हुने हो र ? 
माफियाले सरकार चलाए पनि 
नेताहरु विदेश गई उपचार गरेर आए पनि 
आखिर तिमीलाई हुने नाफाघाटा के छ र!? 

खानेलाई खान देउ 
मर्नेलाई मर्न देउ 
जसको शक्ति छ 
उसैको भक्तिगान गर्ने त हो 
सवै मान्छेलाई वरावरी देख्ने तिम्रो दृष्टिभ्रम 
सवै नागरिकलाई समान सोच्ने तिम्रो दोषी मन 
कठै! तिम्रो पागलपन । 

पुष्तौपुष्ता पुग्ने भ्रष्टाचार गर्नलाई  
न सत्ता चाहिएकोछ तिमीलाई   
न त भत्ता नै 
अपराधबाट चोखिन 
न कसैको सुरक्षा चाहिएकोछ 
न त राज्यको संरक्षण नै 
कुर्सीमा बस्नेका रङ धेरै फेरिए 
तिमी किन कहिल्यै फेरिन्नौ?  
बुदी आमाकोभन्दा वदी देशको माया गरेर  
आफ्नै ज्यानलाई मारेर गरीबको चिन्ता गरेर 
यस्तो के अनर्थ गर्न खोजिरहेछौ?   
कठै! तिम्रो बहुलापन । 

तिम्रो सोंच 
तिम्रो नैतीकता 
तिम्रो भावना 
सवै सवै त्यागिदेउ 
वरु गिज्याउनदेउ साँझ बिहान तिम्रै निष्ठालाई   
त्यागी न हौ तिमी  
त्यसै त अरुकै लागि जीवन त्याग्न तयार छौ  
न श्रीमती 
न छोराछोरी  
किन गर्दैछौ बेथितीको विरोध?     
कसका लागि बसाल्नुछ - संस्कार?   
ए! पागल
यो तिम्रो कस्तो जिद्दि मन !?  

वाणले छियाछिया शरीरको असह्य पिडा सहदै   
तिखा तीरैतीरैको ओछ्यानमा पल्टिरहेको भिष्मपितामह झै  
अविचलित, निसंकोच, द्रिद, शान्त, शान्त 
ए! पागल 
तिम्रो पाउ छोएर मेरो अन्तर्मनले प्रणाम भनिरहेछ  
तर 
तिमीले झै अन्न र पानी त्याग्ने आँट छैन मसँग 
मभित्रको लोभ, स्वार्थ, मोहलाई जितेर 
न त अरुको सुर्ता गर्दै पागल वन्ने सामर्थ्य नै  
ए! पागल  
अरुकै निम्ती प्राण दिन तयार 
यो तिम्रो कस्तो बिचित्र तन!? 
तिम्रो यो कस्तो पवित्र मन!? 

ए! पागल 
म पागल बन्न नसक्नेरहेछु
कृपया! तिमी नै अर्धपागल वनिदेउ 
फोहोरमा सुहाउने झिंगाहरुलाई 
भन्किनदेउ त्यतै रछ्यानतिर  
प्रिय! पागल 
निस्वार्थ सेवाको अभियोगमा यमराज  
जारी गर्दैछ अहंकारको रेडकर्नर नोटिस तिम्रै नाउँमा       
सत्याग्रहीको सम्मान गर्दै सरकार  
अभिनन्दनको शान्दार कात्रो बुन्दैछ  
तिमी भने निश्चिन्त 
बुझाईरहेछौ - सत्य र धर्म     
खोजिरहेछौ - कोठीमा बन्देज न्याय  
चाहिरहेछौ - मानवता 
मागिरहेछौ - नागरिक हक 
र बसिरहेछौ आमरण अनसन      
यो तिम्रो कत्रो आत्मबिश्वास!?  
तिमी कस्तो दुर्लभ पात्र!? 
तिम्रो यो कस्तो चरित्र!? 
प्रिय! पागल  
बिन्ती छ  
अरुकै लागि सर्वस्व त्याग्न तयार तिमी 
अव तिम्रै पागल ब्रम्हज्ञान पनि त्यागिदेउ ।   

११ माघ २०७५  
हुबेई, चाइना 

Wednesday, January 16, 2019

सुनछहारी

सुनछहारी! 
पुस्तौदेखी बेहिसाव बगिरहेछ 
कलकल 
निरन्तर ।    

केवल पानी त कहाँ बग्यो र!?  
छालसँग खिइदै सुन पनि बगिरह्यो  
गहनाले सजिने आमादिदीहरुको रहरहरु 
बर्खे भेलले त झन निर्मम मुग्लान कटाइरह्यो ।  

नाक र कानहरु बुच्चै पारेर  
बगिरहेछ, पवित्र कहलिदै सुनपानी झरना 
सतिसाल झै ठिङ उभिएकोछ ईतिहास  
तर समयसङै ओझेल पर्दै गैइरहेछ रोल्पा । 

जती बाझै छन खेतका आलीहरु 
त्यस्तै छन रित्तिएका काख पनि  
जती उजाडिए रोल्पाली भिरपाखा 
त्योभन्दा खुइलिएका अचेल मनहरु 
कसले लायो - सुन 
कहाँ मिसियो - पानी 
मुल पुरै बेखबर छ 
जसरी बेखबर छन आमाहरु 
तिनै बगेका रहरहरु खोज्न निस्किएका सन्तान बारे । 

पानीसङै सुन बगिरहेछ 
जून रोज्दा आफ्नै गुण हराइरहेछ 
एउटा सिङो जुगको उर्जा भरेर     
सपनाको सफल उडान गर्दागर्दै 
अन्तै पो भएछ रोल्पाको आकस्मिक अवतरण । 
०१ माघ २०७५
15th Jan 019 

मन्जुरिनामा

आमा!  
तिम्रै यादमा वेचैन छु अचेल 
ओखोतीमुलो लिएर पौरखभरी 
हतारमा छु बिसेक पार्नलाई । 

गोडा दुख्दा उठ्नलाई  
टेक्ने लठ्ठी वन्न सकिनँ 
खोकी लाग्दा जुध्नलाई  
कुनै वुटी दिन सकिनँ 
साथै नभए पनि 
छेउमा नरहे पनि 
मर्म बुझेकोछु आमै  
म वेस्सरी दुखेकोछु आमै ।   

आमा! 
गाउँ आफ्नो रहेन 
शहर आफ्नो भएन 
प्रदेश त झन कसरी आफ्नो होला र!   
एक्लै छाडेर टाढा जानलाई  
चाहना त मेरो कहाँ थ्यो र! 
मन नलाई नलाई 
आँखा रुवाई रुवाई 
कठोर वन्न विवश छु आमा । 

जती जती नजिक हुनखोज्छु 
त्यती त्यती टाढा धकिलिदैगाछु   
ताकेको दिशा नै फरक परेछ कि! 
हिंडेको पाइलाकै चाल विरेछ कि!  
बिहानी भेट्न हतारिदै जती पूर्व कुद्छु 
उत्ती नै पो हुत्तिदै पश्चिम पुग्छु 
जत्ती उत्तरतिर शिखर चद्न खोज्छु 
त्योभन्दा वेसी नै पो दक्षिण भास्सिन्छु  
शान्ति खोज्दाखोज्दै आँफै आशान्त वन्छु 
पुस्तक पद्दा पद्दै समाज झनै दुर देख्छु 
जसको डर छ मलाई  
उनैको भर छ तिमीलाई  
छुच्चोलाई जाती मान्छौ 
अल्छिलाई राम्रो ठान्छौ  
अमर्यादितलाई प्यारो भन्छौ 
तिम्रै पिरले आमै 
दिनहरु हाँसेर वितेका छैनन 
रातहरु निदाएर कटेका छैनन  
जती तिम्रो विसन्चोको खबर सुन्छु 
विक्षिप्त म अजङको ददेलो हुन्छु 
मभित्रको न्याय र धर्ममा आगो झोसेर  
भर्खरै गएर श्रद्धान्जली दिउ झै लाग्छ 
कुपुतहरुका सारा लस्कर भष्म पारुँ झै लाग्छ 
तर, अहँ सक्दैन 
अन्धा साङ्लोले वाँधिएका जागरुक कुकुरहरु  
अनिष्ट रोक्नलाई जोड जोडले भुकिरहेछन   
बहुला हात्ती वितण्डा मच्चाउदै सिंहदरवार पसिरहेछ 
म टुलुटुलु हेरिरहेछु  
आफ्नै आँशुमा डुव्छु र जवर्जस्ती निभ्छु 
जती सोच्छु, त्यती आफुलाई मुर्दा सम्झिन्छु 
आमा!   
वरु वैध अपराधी करार हुन राजी छु   
म तिम्रो वैध सन्तान अवैध जिउन चाहन्न  
म वैध अपराधी कवोल गर्न मन्जुर छु 
म वैध अपराधको सजाय भोग्न तयार छु । 
२०७५ पौष २३ 
9th Jan 019
स्याङ्याङ्, चाइना