म निन्द्राभरी
बिचित्रको सपना देख्छु
र, दिनभरी
झन बिचित्रको यथार्थ भोग्छु ।
म हैरान भएकोछु
कतै इमान हराउँछु
कतै विश्वाश हराउँछु
कतै आत्मा नै हराउँछु
आँफैलाई खोज्दा-खोज्दै
म साँच्ची लखतरान परेकोछु ।
अब त हुँदा-हुँदा
स्वयम अलमल्लमा छु
कहिले स्वाभिमान हराउछ
कहिले माटो हराउछ
कहिले त देश नै हराउछ
यहाँ यस्तै-यस्तै अचम्म भैरहेछ ।
मेरा आदर्श पात्रहरु
दिउसै अध्यारो दुलो खोजेर
मग-मग बसाउदै भित्र पस्छन
म रनभुल्लमा पर्छुं
थस-थस गन्हाउदै बाहिर निस्किन्छन
न सुघन्ध बाँकी हुन्छ, न त रङ नै
म अर्को अन्योलतामा भासिन्छुँ ।
जहाँ-जहाँ म टेक्छु
अयोग्यताको चाङ भेट्छुँ
छल, घाट, घुस, चाकरी,
भनसुन,..
मक्किएका यि भर्याङभरी
मेरो अबगुणका खाट पाउछुँ ।
कतै जात नमिल्ने
कतै धर्म नमिल्ने
कतै भुगोल नमिल्ने
कतै साईनो नमिल्ने
मिल्नु पर्ने केही मिल्दैन
बिडम्बना!
मेरै देशले मलाई चिन्दैन
म कुजाती! म कुधर्मी! म पाखे!
मेरो पिडाको सुनुवाई
मेरी आमा निर्धक्क गर्नुहुन्छ,
"स्यावास! छोरा,
बल्ल देश बुझ्न थालेछस ।"
म नागरिक हुँ
मेरो देश नै सर्वस्व मान्छु
नेपाली जती आफ्नै ठान्छुँ
तर
यहाँ छालाको रङ हेरिदा
धर्मले उच्च मापन गरिदा
र, घरसम्मको दुरी नापिदा
हो, म स्विकार्छु
स्वदेशमै अपरिचित म
म बबुरो! कदापी योग्य थिइनँ/छैन ।
तर मन्जुर छ,
म एक हाँगा चुदिदा
मेरो देश पलाउँछ भने
म भुइमा पछारिदा
मेरो देश जित्छ भने
म चिचिलो निमोठिदा
देशको आयु थपिन्छ भने
मातृभूमी जिवीत राख्नलाई
स्विकार्य छ पटक-पटक
यसरी नै अयोग्य बन्न राजी छु
यसै गरी म अयोग्य हुन तयार छु ।
17 April 2012
Monday, April 23, 2012
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment