Monday, April 23, 2012

मेरो देशको खोजीमा

म निन्द्राभरी
बिचित्रको सपना देख्छु
र, दिनभरी
झन बिचित्रको यथार्थ भोग्छु ।

म हैरान भएकोछु
कतै इमान हराउँछु  
कतै विश्वाश हराउँछु
कतै आत्मा नै हराउँछु 
आँफैलाई खोज्दा-खोज्दै
म साँच्ची लखतरान परेकोछु ।


अब त हुँदा-हुँदा
स्वयम अलमल्लमा छु
कहिले स्वाभिमान हराउछ
कहिले माटो हराउछ
कहिले त देश नै हराउछ
यहाँ यस्तै-यस्तै अचम्म भैरहेछ ।

मेरा आदर्श पात्रहरु
दिउसै अध्यारो दुलो खोजेर  
मग-मग बसाउदै भित्र पस्छन
म रनभुल्लमा पर्छुं  
थस-थस गन्हाउदै बाहिर निस्किन्छन 
न सुघन्ध बाँकी हुन्छ, न त रङ नै 
म अर्को अन्योलतामा भासिन्छुँ ।

जहाँ-जहाँ म टेक्छु  
अयोग्यताको चाङ भेट्छुँ 
छल, घाट, घुस, चाकरी,
भनसुन,.. 
मक्किएका यि भर्‍याङभरी
मेरो अबगुणका खाट पाउछुँ ।

कतै जात नमिल्ने  
कतै धर्म नमिल्ने
कतै भुगोल नमिल्ने 
कतै साईनो नमिल्ने
मिल्नु पर्ने केही मिल्दैन 
बिडम्बना!
मेरै देशले मलाई चिन्दैन 
म कुजाती! म कुधर्मी! म पाखे!

मेरो पिडाको सुनुवाई
मेरी आमा निर्धक्क गर्नुहुन्छ,  
"स्यावास! छोरा,  
बल्ल देश बुझ्न थालेछस ।"

म नागरिक हुँ
मेरो देश नै सर्वस्व मान्छु  
नेपाली जती आफ्नै ठान्छुँ
तर
यहाँ छालाको रङ हेरिदा   
धर्मले उच्च मापन गरिदा    
र, घरसम्मको दुरी नापिदा  
हो, म स्विकार्छु 
स्वदेशमै अपरिचित म   
म बबुरो! कदापी योग्य थिइनँ/छैन ।
 
तर मन्जुर छ, 
म एक हाँगा चुदिदा
मेरो देश पलाउँछ भने
म भुइमा पछारिदा
मेरो देश जित्छ भने
म चिचिलो निमोठिदा 
देशको आयु थपिन्छ भने  
मातृभूमी जिवीत राख्नलाई 
स्विकार्य छ पटक-पटक
यसरी नै अयोग्य बन्न राजी छु
यसै गरी म अयोग्य हुन तयार छु । 
17 April 2012

Wednesday, April 18, 2012

महाशय

महाशय!
म महाशय नै भन्छु
दुनियाँ चाहे जे भनुन ।

महाशय!
अब बदी नै भयो कि!
अझै चुस्ने रहर नगरे हुन्थ्यो
सबैले गालेको
सबैले चाटेको
सबैले लुछेको
मंशहिन त्यो बासी हड्डी ।

महाशय!
भुस्याहा कुकुरहरु त
झुम्मिन्छन, नारिन्छन, मिल्छन
रात पार्नलाई, रात काट्नलाई
तर, दिनानुदिन
बफादारीतालाई त्याग्दै
तिमी पनि भुस्याहा बन्दै गैरहेछौ ।

महाशय!
ईशारा अझै भुलेका छैनौ भने
दुंगा जस्तो अपौष्टिक हाडखोरमा
लुछाचुँडी गर्न छाडेर चाडै
आलो आहारा खान हिंडे हुन्छ
घरमा थालीभरी भोजन तयार छ ।
24 March 2012

ऐना अगाडि उभिएर

म ऐनाको सामुन्ने ठिङ्ग उभिएकोछु
अर्थात,
मेरो अगाडि ऐना सजाइएको छ
र नै आँफैलाई घरिघरी
अपरिचित झै एकतमासले
शीरदेखी पाउसम्म नियालिरहेछु ।

मलाई थाहा थिएनँ, म को हुँ!
न थाहा थियो, म के हुँ!
धेरै पटक ऐनामा टोलाउदै
तल-माथि र माथि-तल चियाए पछी
आज बल्ल चिन्न थालेकोछु, 'म'लाई ।

यो सत्य थ्यो, कुनै दिन
मुहार नचिनिकनै मैले
काल्पनिक आक्रिती कोरेर
चित्रकार बन्न चाहेथें
म फन्तुस!

अहिले आँखाहरु चिम्लेर नै
सुन्दर 'म'लाई स्पष्ट देख्दा
चित्रकार बन्ने रहर फेरी पलाएकोछ
अब त्यही 'स्केच'लाई उतारेर
कतै 'ब्ल्याक एण्ड व्हाइट'मा
कतै रङहरुले चिटिक्क पोटेर
चाडै 'फ्रेम'मा कैद गर्न थाल्नेछु ।
21 March 2012