मेरो बाल्यकाल रोल्पाको डाँडापाखामा अत्यन्तै सुन्दर ढंगले बित्यो । मेरा दौँतरीहरुसँग पहाडको स्वच्छ हावापानीमा रमाइलो गर्दै हुर्किएँ । त्यो हुर्काईलाई विभिन्न कुराले प्रभाव पारिरहेको रहेछ । अहिले आएर सम्झिँदा मेरो शारीरिक र मानसिक विकासमा दुइटा चिजको जबर्जस्त भूमिका रहेको पाउछु, एउटा राजनीति र अर्को खेलकुद । राजनीतिमा प्रत्यक्ष संलग्न कहिल्यै भइनँ, नजिकैबाट नियाली मात्रै रहें तर फुटबलमा भने एक लेभलको अनुभव लिन पाएँ ।
गाउँमा दाइहरु प्रायः भलिबल खेल्नुहुन्थ्यो । हामीले चाहिँ बारी र झाँडीतिर फालेको मोजा खोजेर त्यसमा कागज र प्लास्टिक कोच्थ्यौं अनि भलिबलसँगसँगै खुट्टेबल अर्थात् फुटबल बनाएर खेल्ने गर्थ्यौं । त्यसो गर्दा खेलप्रति रुचि बढ्न थाल्नु स्वभाविक थियो । फुटबल खेलाडी कस्ता हुन्छन्, कस्तो खेल्छन् भन्ने आफ्नै आँखाले नदेखेको भए पनि साफ गेम हुँदा रेडियोमा प्रत्यक्ष प्रसारण सुनेको याद छ । रेडियो सुनेरै ईन्डियाका भाइचुङ भुटिया निकै राम्रो खेलाडी रहेछन् भन्नेसम्म चाहिँ ठोकुवा गर्न सकियो । सबै दौँतरीहरूको सल्लाहमा बाल संगठन स्थापना गरेर बेलाबेलामा खेलकुद प्रतियोगिता आयोजना गर्थ्यौं जुन कामको सबैले गाउँमा तारिफ गर्नुहुन्थ्यो ।
गाउँघरतिर टेलिभिजन, सिनेमा, मोटरगाडी, प्रविधि भन्ने हामीलाई केही थाहै थिएन । त्यतिबेला गाउँमा कहिलेकाहीँ सांस्कृतिक कार्यक्रम हुन्थ्यो । त्यसलाई नाटक देखाउने भन्ने चलन थियो । नाचगानको बीचबीचमा स्थानीय र अपरिचित आमन्त्रित युवाहरूले भाषण गर्नुहुन्थ्यो । कार्यक्रमको उद्देश्य देशमा भ्रष्टाचार र बेरोजगारी व्याप्त छ, सरकारमा बसेर नेताहरूले देश लुट्दैछन्, बेच्दैछन् अब देश बचाउन विद्रोह गर्नुपर्ने आग्रह हुन्थ्यो । शोसक सामन्तहरुको अन्याय र अत्याचार सहनुहुन्न बरु प्रतिकार गर्नुपर्छ, तल्लो जात र माथिल्लो जात, धनी र गरीब, महिला र पुरुष सबै बराबरी हुनुपर्छ भन्ने आशय हुन्थ्यो । अलि पछि त हरेकजसो जात्रामात्रा र पूजाआजामा कांग्रेस र कम्युनिष्टको झडप भयो रे भन्ने कुरा सुनिन थाल्यो । अहिले आएर लाग्छ, त्यस खालको सामाजिक साँस्कृतिक गतिविधिले मेरो बाल मस्तिष्कमा राजनीतिक चेतनाको विकास गर्न मद्दत गरेको रहेछ ।
सानै उमेरमा रोपिएको राजनीति र खेलकुदको बिउ बोकेर म पढाईको सिलसिलामा दाङ झर्नुपर्यो । मैले गाउँमा खेल्न नपाएको अन्य खेलहरु पनि स्कुलमा धित मरुन्जेल खेल्न पाउदा हर्षित थिएँ तर जनयुद्धको भीषण लडाइँमा दिनहुुँ मान्छे मरिरहेको समाचारले मर्माहत पनि थिएँ । आफुले चिनेका आफन्त र आफुसँगै पदेका खेलेका साथीहरूले समेत ज्यान गुमाएको खबर सुन्दा मनमा असह्य पीडा हुन्थ्यो । एउटा फुच्चे केटोको मनभित्र त्यस्तो आँधीबेहरी चलिरहेको कसलाई के थाहा ? अरुसँग गर्ने बाहिरी व्यवहार भने सामान्य नै हुन्थ्यो । गाउँमा कहिलेकाहीँ मात्रै गोरखापत्रको एकदुई पाना पढ्न पाइथ्यो तर दाङमा चाहिँ नियमित रूपमा टेलिभिजन हेर्न, युगवोध, कान्तिपुर, नेपाल समाचारपत्रहरु पढ्न पाइन्थ्यो । बाल पत्रिका मुनादेखि स्पोर्ट्स, जनआस्था, मूल्याकंन, दिशावोध, नौलो विहानीलगायतका पत्रिका र म्यागेजिनहरु नछुटाइ पढ्न थालेकाले देशको राजनीतिक र खेलकुद क्षेत्रको उतारचढावबाट कहिल्यै टाढा हुनुपरेन । यी दुई चिजप्रतिको चासो र चिन्ता उमेरसँगै झन्झन् बढन थाल्यो जुन मोह अहिलेसम्म पनि कायमै रह्यो ।
यसपटकको मंसिर ४ गते दोहोरो उत्साहको अनौठो संयोग जुर्यो । यता देशमा बिहानैदेखि प्रदेश र प्रतिनिधिसभाको चुनाव हुँदैथियो भने उता साँझदेखि विश्वकप फुटबलको शुरूवात हुँदैथियो । नेपालको चुनावले आगामी पाँच बर्षलाई पहिलो हुने दलको छनौट मात्रै नभएर भावी सरकार र देशले लिने दिशा पनि निर्धारण गर्दैथ्यो भने कतारमा चार बर्षका लागि विश्व च्याम्पियन टुंगो लाउन विश्वकप फुटबलको भव्य उद्घाटन हुँदैथियो । त्यो दिनको व्यग्र प्रतीक्षासँगै अब दुवैको परिणाम अन्तिम चरणमा पुग्दैछ । चुनावमा भाग लिएका दल र उमेदवार तथा विश्वकप खेल्ने टिम र खेलाडीहरुको पक्ष विपक्षमा सबैको आ–आफ्नै धारणा थिए र छन् भने हारजितको आँकलन पनि आ–आफ्नै थिए र हुनेछन् । अब परिणामको अन्तिमतिर आइपुग्दा जित्ने र हार्नेहरु थप यकिन हुँदै गएका छन् । कतिपयका मन पर्ने उम्मेदवारहरु चुनावमा जित्न सकेनन् भने कतिपय टिमहरु पराजित भइ नमिठो अनुभव लिएर छिट्टै आफ्नो देश फर्किन बाध्य भए । फुटबल फ्यानहरुलाई जित्नैपर्ने जस्तोले हारे, हार्ने जस्तोले जिते जस्तो लाग्नसक्छ तर चुनावी मैदान होस् वा खेल मैदान, एउटा निश्चित नीति नियमभित्र रहेर प्रतिस्पर्धा गरेपछि अन्तिम परिणाम जस्तो आउँछ सबैले स्विकार्नै पर्ने हुन्छ ।
राजनीति र फुटबलमा केहि समानता र केही भिन्नता छन् । यि दुवैमा सामुहिकता अर्थात् टिम गेम प्रमुख हुन्छ । संघर्ष, मेहनत र धैर्यता अनिवार्य हुन्छ । प्रत्येक खेलाडीमा जितको उन्माद र हारको आवेगलाई सन्तुलनमा राख्नसक्ने खुवीको जरुरत पर्छ । अनपेक्षित हारलाई स्विकार्दै थप मजवुत बन्ने दृढता चाहिन्छ । पार्टी वा टिमको हारजितमा उम्मेदवार र खेलाडीको गतिशीलता, सिर्जनशीलता र निर्णय क्षमताले नतिजामा परिवर्तन ल्याउने गर्दछ । मैदानमा गइसकेपछि खेलाडीको आत्मबल र विपक्षीको रणनीतिलाई बुझेर असफल पार्नसक्ने नेतृत्व भएमा मतपेटिका र मैदानको पोस्टमा गोल हुने संभावना प्रवल रहन्छ । एक जना मात्रै उम्मेदवार असल, इमान्दार र सक्षम भएर पार्टीले चुनाव जित्दैन । एक जना प्रतिभाशाली खेलाडीले मात्रै एक्लै खेल जिताउन सम्भव हुँदैन । सामुहिक प्रयास, भावनात्मक एकता र प्राविधिक पक्षको सवल समायोजनमा परिणाम निर्भर रहन्छ । पार्टीले चयन गर्ने उम्मेदवार वा टिम कोचले गर्ने खेलाडी छनौटदेखि प्रतिस्पर्धाका बेला खेलाडीले गर्ने प्रदर्शनले धेरै कुरा निर्धारण गरिदिन सक्छ ।
मैले टेलिभिजनमा फुटबल हेर्न थालेको सन् १९९८ देखि हो । पेले र म्याराडोनाको नाम भने गाउँमा हुँदै सुनेको थिएँ । रोमारियो, बाटिस्टुटा, रोनाल्डो, जिदान, रोनाल्डिन्हो, जाभी, इनिइस्टा, सुवारेज, क्रिस्टियानो रोनाल्डो, मेस्सी, लेभान्डोस्की, नेयमार हुँदै अहिले पेड्री, हल्याण्ड, म्बाप्पे पुस्ताको सिलसिला हेरिरहेका छौं । उनीहरुले मैदानमा प्रदर्शन गर्ने कलात्मक खेलमा मन्त्रमुग्ध भएर रमाइरहेका छौं ।
नेपालकै सन्दर्भमा पनि राजु शाक्य र मणि शाहका बारेमा सुन्दै हरि खड्का, बालगोपाल महर्जन, देव नारायण चौधरी, बसन्त गौचन, अनिल गुरुङ, बिराज महर्जन, किरण चेम्जोङ, रोहित चन्द, बिमल घर्ती, अञ्जन बिष्ट हुँदै अहिले आयुश घलानको पुस्ता राष्ट्रिय टिमको जिम्मा लिन अग्रसर भइरहेको छ ।
नेपाली राजनीतिमा बिपि कोइराला र पुष्पलाल श्रेष्ठको नाउँ सुन्दै मनमोहन अधिकारी, मोहनविक्रम सिंह, मदन भण्डारी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, केपी ओली, बाबुराम भट्टराई, प्रचण्डहरुको नेतृत्व स्विकार्दै हुर्किएका हौं ।
विश्व फुटबलमा चर्चित र स्थापित खेलाडीहरुलाई प्रतिस्थापन गर्दै नयाँ नयाँ क्षमतावान खेलाडीहरु उदाइरहेका हुन्छन् । एउटा कालखण्डपछि तिनीहरुको खेलकौशल निस्प्रभावी हुँदै जादा अझ प्रतिभाशाली युवा खेलाडीहरु फुटबल जगतमा जन्मिरहेका हुन्छन् । आफुभन्दा उत्कृष्ट युवाहरू उत्तराधिकारीका रूपमा आउन थालेसँगै अग्रज खेलाडीहरु क्रमशः आफै मैदानबाट ससम्मान बिदा लिइरहेका हुन्छन् । उनीहरुले खेल जीवनबाट सन्यास घोषणा गर्दैगर्दा लाखौं करोडौं प्रशंसक र दर्शकहरुले भावविह्वल भएर माया र सम्मान प्रकट गरिरहेका हुन्छन् ।
संसारभरका आम खेलप्रेमीहरुले पेलेलाई ६० बर्षपछि पनि उत्तिकै सम्मान गर्छन् भने उनको सुस्वास्थ्य र दिर्घायुको कामना गरिरहेका छन् । म्याराडोनालाई उत्तिकै श्रद्धापूर्वक सम्झिरहेका छौं । फुटबल इतिहासमा उनीहरुले गरेको योगदान र क्षमताप्रति कहिल्यै प्रश्न उठेको छैन । फुटबलप्रेमीहरुका लागि उनीहरु आदर्श पात्रका रूपमा रहिरहने छन् । एक समय विश्व फुटबलमा राज गरिरहेका खेलाडीहरु अहिले व्यवस्थापक, निर्देशक, प्रशिक्षकको विभिन्न भूमिकामा सक्रिय छन् । नयाँ नयाँ युवाहरूले फुटबलको कडा प्रतिस्पर्धामा आफुलाई अब्बल सावित गर्दै तहल्का मच्चाइरहेका छन् । तर नेपाली राजनीतिका खेलाडीहरु अझै उस्तै सोंच, उस्तै शैली, उस्तै गति र उस्तै दृष्टि लिएर आफै कोच आफै खेलाडीको सदाबहार भूमिकामा छन् । मैले फुटबल र राजनितीलाई सँगसँगै पछ्याउन थालेको हुँ । फुटबल हेर्दाहेर्दै लगभग ३–४ पुस्ता फेरिसक्दा पनि राजनीतिमा चाहिँ अझैसम्म नेताहरुको उहीँ पुस्ता हावी छ । म सानै हुँदा र अहिले वयस्क हुँदा पनि नेतृत्वमा उनै नेताहरुको पंक्ति छ । एकपटक सोचौं, यस्तो अवस्थाको सिर्जना कसरी भयो ? पटकपटक सांसद, मन्त्री, प्रधानमन्त्री भएर देशलाई केके योगदान दिए र अब केके अपेक्षा पूरा गर्न बाँकी छ ? हाम्रा नेताहरू के साच्चिकै निर्विकल्प भएकै कारणले यस्तो भएको हो त ? सबैले गम्भीर समिक्षा र मूल्याकंन गरौं ।
केही बर्षअघि नेपाली फुटबलका लागि अप्रिय घटना घटेको थियो । तत्कालीन राष्ट्रिय टिम क्याप्टेन सागर थापा र सन्दिप राईहरुले म्याच फिक्सिङ गरेबापत बिदेशीबाट पैसा लिएको सनसनीपूर्ण खबर फैलियो । उनीहरुलाई तुरुन्तै गिरफ्तार गरेर हत्कडी लगाइयो । प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरेपछि लगाइएको आरोप पुष्टि भएन तर प्रहरी अधिकारीहरुले गल्ती गरेकोमा भने माफी मागेनन् । खासमा उनीहरुको चरित्र शंकास्पद लागेमा राज्यको संयन्त्रमार्फत सुक्ष्म तरिकाले गोप्य अनुसन्धान र छानबिन गर्ने र अभियोग पुष्टि भएमा सार्वजनिक गरेर कडाइसाथ सजाय दिलाउनु पर्थ्यो तर प्रहरी अधिकृतहरुले गैरजिम्मेवार ढंगले हतारमै देशद्रोही सरह मिडियाबाजी गरेर चर्चा बटुल्ने काम गरे । राष्ट्रको गहना भनिने खेलाडीहरुको उत्कर्षमा रहेको खेल जीवनको दुखद अन्त्य त भयो नै, जिन्दगीभर अपहेलना पनि सहनुपर्ने भयो । आरोपित खेलाडीहरु दोषी प्रमाणित नभइसकेपछि छानबिनमा कमजोरी गर्नेहरू कारवाहीको भागिदार हुनुपर्थ्यो तर राज्यको सुबिधा उपभोग गर्दै पार्टीको टिकट लिएर चुनाव लडिरहेका छन् । यो दुर्भाग्यपूर्ण छ ।
यो घटना उल्लेख गर्न यस् कारणले सान्दर्भिक छ कि कानुन पालना गराउने निकाय अझ बढी संवेदनशील हुनुपर्छ । कानुनले सबैलाई बराबरी गर्नुपर्छ । राजनीतिज्ञहरु मुछिएका, प्रहरी प्रशासनको संलग्नता देखिएका वा पहुँच भएका व्यक्तिहरुले राज्य शक्तिको दुरुपयोग गरेर भ्रष्टाचारका शंकास्पद घटनाहरु सामसुम पारिएका छन् । मुद्दा दर्ता गर्नलाई प्रमाण पुग्ने जति भेटिएका प्रशस्त कागजपत्रहरु नष्ट गरिएका छन् । राज्यको उपल्लो ओहदामा रहेका व्यक्तिहरुको अडियो, भिडियो छरपस्ट हुँदा समेत सम्बन्धित निकाय छानबिन गर्न समेत जाँगर देखाउदैनन् । कानुनले शक्ति हेरेर कसैप्रति अन्याय र भेदभाव गर्न मिल्दैन । विश्वकप नियमन गर्न फिफा हुन्छ, व्यवस्थित गर्न विभिन्न टेक्निकल समिति उपसमितिहरु हुन्छन्, खेल संचालन गर्न मैदानभित्र र बाहिर रेफ्री हुन्छन् । अहिले त झन् भिडियो असिस्टेन्ट रेफ्रीको सुविधा समेत छ । खेल दौरानमा नियम नमान्ने खेलाडीलाई गल्तीअनुसार तुरुन्तै पहेंलो वा रातो कार्ड देखाउने अधिकार रेफ्रीलाई हुन्छ । त्यसले गर्दा खेल अनुशासित र मर्यादित ढंगले सम्पन्न गर्न सहज हुन्छ । त्यसरी नै अधिकार सम्पन्न निकायहरुले निष्पक्ष भूमिका निर्वाह गर्दा सिस्टमप्रति विश्वास जाग्छ । तर देशका आम जनतालाई राज्यका अंगहरु सिमीत व्यक्तिहरुको कब्जामा परेर त्यति जिम्मेवार र उत्तरदायी हुन सकेनन् भन्ने परेको छ । हुन पनि कानुन उल्लंघन गर्नेहरूप्रति कठोर हुनुको सट्टा मुकदर्शक भएर बस्नु भनेको मैदानमा खेलाडीले गम्भीर फल गर्दैगर्दा पनि रेफ्रीले सिट्ठी नफुक्नु जस्तै हो । त्यस्तो पक्षपात गर्ने अयोग्य रेफ्रीहरुलाई जनताले निर्णायकको भूमिका दिइरहनु आफ्नै खुट्टामा बन्चरो हानिरहनु सरह हुनेछ । साधुलाई शुली र चोरलाई चौतारीको गलत परम्परालाई बदल्नुबाहेक अरु विकल्प छदैछैन ।
खेल होस् वा राजनीति, नातावाद र कृपावादको धमिरा लाग्यो भने मक्किदै खिइदै गएर अस्तित्वहीन बन्न धेरै समय लाग्दैन । फुटबलमा एउटा खेलाडीले म्याच फिक्सिङ गर्दा टिमले खेल मात्रै हार्दैन, सारा खेलप्रेमीको भावना र पुरै खेलकुदले नै हार्दछ । राजनीतिमा घात अन्तर्घात गर्ने कार्यकर्ताका कारण एउटा उम्मेदवार मात्रै हार्दैन, सिङ्गो पार्टी, देश र राजनीतिले नै हार्दछ । कुनै पनि चिजको जब आत्मा मर्न थाल्दछ तब स्वभाविक रूपमा अर्थहीन र औचित्यहीन बन्दै जान्छ । समाज समाज जस्तै, राजनीति राजनीति जस्तै, धर्म धर्म जस्तै, खेल खेल जस्तै, मानव मानव जस्तै हुनुपर्छ भन्ने मान्यता सबैको मन मस्तिष्कमा बलियो गरि स्थापित हुन आवश्यक छ ।
कतार विश्वकप खेलाडीहरुका लागि क्षमता देखाउने उचित मौका हो भने उम्मेदवारहरुका लागि निर्वाचन आफुलाई परिक्षण र प्रमाणित गर्ने सुवर्ण अवसर हो । विश्वकपमा अरुभन्दा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु धनी क्लबहरुको तानातानमा पर्नेछन् । उनीहरुको विशिस्ट कला र प्रतिभाकै कारण चर्चाको शिखरमा पुग्नेछन् । फुटबलमा खेलाडीको देश, जात, धर्म, धन र रंगले केही फरक पार्दैन । खेलले मनोरञ्जनसँगै भावनात्मक रूपमा जोड्छ, तरंग र उर्जा पैदा गर्छ । राजनीतिले पनि समुदायलाई भावनात्मक रुपले एकीकृत पार्न सक्नुपर्दछ । एकले अर्काको खुट्टा तान्ने, प्रगतिमा ईर्ष्या र डाहा गर्ने, अरुको भुइँ चढेर होस् वा अरुको खुट्टा काटेर होस् जसरी पनि आफू अग्लो देखिनुपर्ने जुन प्रवृत्ति हावी छ, त्यो राजनीतिमा मात्रै नभएर समाजकै लागि घातक छ । राजनीति भनेकै सत्ता र शक्ति हो र त्यो जसरी पनि पाउनैपर्छ भन्ने विकृत महत्वाकांक्षाले राजनीतिलाई उल्टो गरि परिभाषित गरिरहेको छ । अरुलाई त्याग र निष्ठा पदाउने तर आफैं संकीर्णता र लघुताभासबाट ग्रसितहरुले राजनीतिमा रहेको फोहोरलाई सफाइ गर्लान् भन्नू असम्भव छ । राजनीति शान्ति, सुशासन र समृद्धि प्राप्त गर्ने सकारात्मक उद्देश्यको एक माध्यम हो र निस्वार्थ जनता र समाज सेवा हो भन्ने प्रष्ट नबुझ्दासम्म गलत अर्थ र अभ्यास भइरहनेछ । निर्वाचनमा उम्मेदवार बन्न र जित्न अपनाइने साम, दाम, दण्ड, भेदको अराजकतालाई निर्वाचन आयोग, अख्तियार, अदालत, प्रशासनले कानुनको कठघरामा उभ्याउने साहस गर्नैपर्छ । संवैधानिक निकायहरुमा गरिने भागबन्डा र राजनीतिक नियुक्ति खारेज गरेर स्वायत्वता प्रदान नगर्दा भविष्यमा अन्य विकृतिहरु निम्तिन सक्नेछन् । नयाँ आउने सांसद मन्त्रीहरुले पुरानो शैली परिवर्तन गरेर नौलो प्रकारले विधिको अभ्यास थालनी गर्न सक्छन् कि सक्दैनन् ? राज्यको चरित्र, संस्कार र व्यवहारमै परिवर्तनको अनुभुति दिलाउने गरी काम गर्छन् कि गर्दैनन् ? मुल बाटो बिराएको राजनीतिलाई सहि बाटोमा फर्काउने अठोट लिन्छन् कि लिदैनन् ? अहिलेको खास सवाल र सरोकार यहि नै हो ।
विश्वकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु हुँदैछन् भने चुनावमा प्रत्यक्ष सांसदहरू निर्वाचित भएर अब केहि दिनभित्रै समानुपातिक सांसदहरू चयन हुनेछन् । चुनावमा होमिएका उम्मेदवारहरुले जस्तै विश्वकपमा सहभागी प्रत्येक टिमले जित्ने सपना बुनेर आएका हुन्छन् । उनीहरुले व्यक्तिगत रूपमा पाउने मेडलसँग राष्ट्रले पाउने मान अतुलनीय हुन्छ । देशको जित र जनताको खुशीका लागि उपाधी दिलाउन मैदानमा शतप्रतिशत खटिएका हुन्छन् । हाम्रो राजनीतिक पार्टीहरुले पनि देश र जनताको लागि इमान्दारीपूर्वक त्यसैगरी लागिपर्ने प्रेरणा लिइदिए कति जाति हुनेथियो । नेता र सांसदरुपी खेलाडीहरु जनताप्रति उत्तरदायी भएको विश्वास दिलाउन उत्प्रेरित भइदिए अति उत्तम हुनेथियो । अझै पनि आफू नै सर्वेसर्वा कहलिने र म्याच फिक्सिङ गरेर देशघाती कामहरू गर्दै जाने हो भने मैदानबाहिर तिनीहरुभन्दा सक्षम अतिरिक्त खेलाडीहरु तम्तयार छन् र प्रशिक्षकले खराव खेलाडीलाई खेल्दाखेल्दै बदल्न पनि सक्छन् भन्ने हेक्का राखुन् । अहिलेको निर्वाचनले राजनीतिज्ञहरुलाई व्युतिन र सच्चिन ईमर्जेन्सी अलार्म दिएकोछ वा अझै नचेत्ने हो भने सक्किने विकल्प दिएको छ । विश्वकप कसैको इतिहास र अहंकारले जितिदैन । जसले राम्रो खेल्छ गोल गर्छ, उसैले ट्रफी जित्नेछ । अब चुनाव पनि त्यस्तै स्वच्छ प्रतिस्पर्धाको मैदान बन्न सकोस् र जसले देश र जनताको पक्षमा राम्रो भूमिका खेल्छ, उसैले जित्ने सुनिश्चितता हुनुपर्छ । टिम कोचले खेलाडी छनौटमा पक्षपात गर्ने, खेलाडीले विपक्षीको रणनीति नबुझ्ने, रेफ्रीहरु म्याच फिक्सिङ् र सेटिङअनुसारको निर्णय गर्नाले खेलको सुन्दरता नै कुरुप बन्छ । राज्य संयन्त्र र पार्टी संरचनामा विवादित व्यक्तिहरुको हालीमुहालीले अशलहरुको उपस्थितीलाई कमजोर बनाउनुको साथै समाजमा गलत मानक स्थापित भएको छ । राजनीतिक दुरवस्थाको प्रमुख कारण यस्तैयस्तै बेथितिहरु हुन् । देशको राजनीतिले कोल्टे फेर्नलाई अब जतिसक्दो छिटो नयाँ र सक्षमहरुलाई अस्तित्वमा आउनै नदिने ब्ल्याक होल पुस्तालाई ससम्मान बिदाई गर्नैपर्छ । जहिल्यै विधिको शासन र न्यायका पक्षमा वकालत गर्ने तर व्यबहारमा आफैले विधि मिच्ने र अन्याय गर्ने परिपाटी नतोडी सजिलै राजनीति सुध्रिन कठिन छ । अब बिस्तारै बुझिइएको राजनीति र भोगिरहेको राजनीतिको अन्तर हट्दै जानेमा आशावादी छु । विश्वका नामी फुटबल प्लेयरहरुबाट देशका पोलिटिकल प्लेयरहरुले पाठ सिकून् । अन्यथा, व्यवस्था बदल्न क्रान्ति गर्ने जनताले नेता बदल्न निर्मम नबन्लान् भन्न सकिदैन । विश्वकप सर्वोत्कृष्ट टिमले जितेर शानदार दंगले उत्सव मनावस् । निर्वाचनपश्चात् जनता विजेता बन्ने नेपाली जनचाहना र मनोकामना पनि पूरा हवस् । अबको राजनीतिले उज्यालो भविष्यको किरण छर्न सफल हुने विश्वास छ ।
हामी सबैलाई शुभकामना ।