कोरोना महामारीसँग लड्न सरकारको तयारी कस्तो छ भन्ने प्रश्नको जवाफमा मन्त्री भन्छन्, आफ्नो घरमा पाहुना आएकाछन्, हतार छ, बोल्दैन भनेसी बोल्दै बोल्दैन नि!
चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले संक्रमणको जोखिम कम गर्न पिपिइ माग गर्दा मन्त्री भन्छन्, भान्सामा लाउन समेत पिपिए मागे ।
स्वास्थ्य सामाग्री खरिदमा किन भ्रष्टाचार भयो भन्दा मन्त्री भन्छन्, जवाफ दिन आवश्यक छैन ।
क्वारेन्टाइनलाई व्यवस्थित पारौं भन्ने आवाज उठाउनेहरुलाई मन्त्री भन्छन्, तिनका आँखामा मोतियाविन्दु लागेको छ ।
पिसिआरको दायरा बदाउनुपर्छ, हस्पिटलहरुमा आइसियु र भेन्टिलेटर थप्नुपर्छ भन्दा मन्त्री भन्छन्, पिसिआरको गीत सक्यो अब भेन्टिलेटरको गीत गाउनेहरु गाइरहुन् ।
दिनहुुँ संक्रमित र मृत्यु दर बद्न थालेकाले कोरोना नियन्त्रण गर्न सरकारले अलि गम्भीर र प्रभावकारी काम गरोस् भन्नेलाई छुच्चो मन्त्री भन्छन्, तिनीहरुको मति सुध्रियोस्, शुभकामना छ ।
यी सबैको एकमुष्ट जवाफ प्रधानमन्त्रीले झन् सजिलैसँग दिन्छन्,"भ्रष्टाचार भएकै छैन, मन्त्रीको संलग्नता त झन् छदैछैन । देशमा त रामराज्य चलिरहेको छ ।" जब उनको दाबीलाई घटनाक्रमले गलत पुष्टि गर्दै लान्छ तब तुरुन्तै भन्छन्,"मलाई त थाहै छैन ।" उनी बल्ल सत्य बोल्छन्, हुन पनि आफ्नैं ईमान समेत थाहा नपाउनेबाट अरु आशा राख्नु नि व्यर्थ नै हो ।
हाम्रो समाजमा कथित जातीय अहंकार, सामाजिक विभेद, धार्मिक कट्टरपन्थी सोच, लैङ्गिक हिंसा, रुढीबादी संस्कार, जघन्य अपराध, आर्थिक-श्रम शोषण जस्ता तुच्छ कुराहरुलाई पनि जायज र स्वभाविक ठान्ने एउटा हिस्सा छ । त्यसले आफ्नो स्वार्थपुर्ती गर्न खराबलाई पनि सधैं सहि नै भनिरहन्छ । त्यही एउटा हिस्सा अझै पनि सरकार र मन्त्रीले गरिरहेका अनेकौं कुकर्मका वावजुद गुणगान गाउनमै ब्यस्त छ । तिनले सिर्फ दम्भ प्रदर्शन गर्नु, नीतिगत लुट मच्चाउनु, चलखेल र छलछाम गर्नुलाई नै सबथोक मानेका छन् ।
यतिबेला हामीलाई परिस्थितिले गम्भीर संकेत गरिरहेकोछ । अब उच्च ओहदा र तिनको पहुँचमा रहेकाले सरकारी र निजी अस्पतालहरुमा आफ्नो र आफ्नो परिवारको लागि आईसियु र भेन्टिलेटरहरु छुट्ट्याएर सुरक्षित राख्नेछन् । कोरोना संक्रमित सर्वसाधारण जनताहरु चाहिँ कोही अस्पताल जाने साधन नपाई घरमै टड्पिएर प्राण त्याग्नुपर्नेछ, कोही अस्पतालकै आँगनमा बेड खोज्दाखोज्दै छट्पटिएर मर्नुपर्नेछ । हाम्रै सामुन्ने कसैले आफ्नो आमाबुबा त कसैले छोराछोरी गुमाउनु पर्नेछ या आफैं मर्नेछौं । तर पनि त्यो अनैतिक झुण्डले यी सम्पूर्ण घटनालाई जायज र स्वभाविक नै ठानिरहनेछ । त्यो जमातले हाम्रो मरणमा कुनै सरोकार राख्नेछैन, कुनै पछुतो मान्नेछैन, आत्मग्लानी महशुस हुनेछैन, दु:ख मनाउ गर्नेछैन । उनीहरुको लागि राज्यको गैरजिम्मेवारीपनले आम मान्छे मरिरहनु कुनै समवेदनशील विषय नै हुँदैन । हाम्रो लागि कहालीलाग्दो विडम्बना होला तर तिनीहरुका लागि एक सामान्य परिघटना मात्रै हुनेछ ।
तसर्थ, आफू जोगिने र आआफ्नो घरपरिवार र आफन्तलाई जोगाउने कोशिस गरौं । कोरोनाले रातो बत्ती बालुन्जेल संयमित बनौं, केही समय धैर्यता अपनाऊ । समय कठिन होस् या सहज, सधैंभरी रहिरहदैन । यस सामुहिक युद्धमा तपाई हामी सबैजना उत्तिकै सशक्त योद्धा हौं । सबैले मनोबल उच्च राखौं । ०३ भाद्र ०७७